नेपाली साहित्यमा कविको रूपमा परिचित उमेश अकिञ्चनको जन्म मोरङको, बबिया बिर्ता गोहीगाडामा भएको हो । पचासको दशकबाट कविता लेखनमा सक्रिय रहेका उनका वि.सं. २०६४ मा “एक सागर, दुई तारा” गीत सँग्रह र वि.सं. २०६८ मा “मोनालिसा र मार्च ८” कविता सँग्रह प्रकाशित छन् । कथा, निबन्धमा समेत कलम चलाउने अकिञ्चनले विभिन्न पुरस्कार र सम्मान समेत पाएका छन् । अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता, २०६७ मा प्रथम पुरस्कार, रवि साहित्य सम्मान, २०६८ र साब्लाबुङ सम्मान हङकङ, २०७० द्वारा समेत सम्मानित प्रतिभा हुन । निजामती सेवामा कार्यरत उमेश अकिञ्चनको आधिकारिक नाम भने खड्ग राज राई हो।  प्रस्तुत छ साताको तीन कविता ।

अक्षर इच्छा   

                                                                                                    
फूलको पहाड बिसाएर जाँदैछु

यी लेख्दैं गरेका कविताका पाना पल्टाएर
बहिरहनेछ बतास

सम्झनु
हावामा मिसिएको हुनेछ
मेरो रोकिएको आवाज

प्रेमले मलाई सम्झिनेहरूले
टाढा गएको साथीको याद सम्झिनु

हतारमा हिडिरहेको यात्री
बाटोमा अलमलिन सक्छ
मैले माया दिन नसकेकाहरूले
एउटा रूखो अन्जान यात्री
कुनै स्टेशनमा छुटेको सम्झिनु

जानु अघि
जिन्दगीले जान्न नसकेका प्रश्नहरू
अधुरो छोडेर जाउँला
गतिशील पृथ्वीमाथि रोकिएको एक जोर
पाइला सम्झिनु

संगीत साधक शान्ती ठटालको मखमली
आवाज गुञ्जिरहनेछ

“ सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि होइन, जोवनको फूल”

स्मृतिको उही विशाल बाटो भएर ओइलिने
एक थुङ्गा घडी फूल
समयसँगैं ओइलिएको सम्झिनु ।


गोलो सम्झना

म सँग
गिटारको खोल मात्र छ

गिटार

गिटारको आवाज
तिमीसँगै बिलाए कहाँ……कहाँ………..

यो
वर्षाको समय
बगिरहेको बागमती जस्तो
धमिलो आँसु झार्दै
परीरहेछ झरी


तिम्रो सम्झनाको सप्कोले
ढाकिरहेछु रातो गुलाफ
कालो–सेतो खुइलिदै गएको
जेब्राक्रसमा

एक्लै छु
कुनै क्याफेको
टेबल न. २ मा
तर
सँगै बसेको छ
तिम्रो सम्झना

कालो कोकको बोतलमा पनि देख्छु
तिम्रै अनुहारको गोरो झझल्को

कहाँ सँगै छैनन् सम्झनाहरू?

यो सिंहदरवारको
फराकिलो गेटदेखि
त्यो सुदुर गाउँको
केरा झ्याङसम्म

अझै पनि
कुनै पहाडी बाटोमा
गुडने गाडीको पछाडि झुण्डिएको
गाउँले मान्छे वा उसको छायाँसरी
झुण्डिदैँ–झुण्डिदैँ पछयाइरहन्छ किन ?
तिम्रैं एक अँगालो अनुहार

भर्खरै देखिएको छ
चित्रकारको आलो पेन्टिङजस्तो
इन्द्रेणी
आकाशमा

यही इन्द्रेणीमुनि
तिमीलाइ सम्झेर लेख्दा
किन काम्छन मेरा हातहरू
सायद
माइकल ज्याक्सनको
मृत्यु झैं
दुखे मेराऔंलाहरू

यहिनेर हो यहिनेर
बच्चाले हिर्काएको फुटबलजस्तो
पुग्न नसकेर टाढा
रोकिएको थियो
हाम्रो गोलो यात्रा ।


मोटरसाइकलमा डाइनोसर

लोप भयो भनेको
डाइनोसर
हजार शताब्दीपछि
देखियो
मोटरसाइकलमा गुडिरहेको

डार्विनका चेलाहरू
ग्रेगर मेण्डलका साथीहरू
खोज्न थाले
नयाँ क्रोमोजमको म्यूटेसन

अचम्म
डेमलरलाई माथ खुवाउदै
किन रोज्यो डाइनोसरले
मोटरसाइकल

कहिले देखिन्छ
न्यूयोर्कको हडसन नदीमाथि
पिज्जा बोकेर दौडिरहेको

कहिले
संघाइको “बन्ड” छेउ
ट्राफिक पुलिसको भेषमा अडेस लागि
रहेको

कहिले
जोहान्सवर्गको सुनखानी छेउबाट
कामदारको भेषमा गुडिरहेको

नेपालको सडकैभरी
निम्न मध्यम वर्गीयको साधन मोटरसाइकलमा
निरन्तर
दौडिरहेछन् डाइनोसरहरू

दौडिदा ऊ मात्र दौडिदैन
दौडिन्छ
अजङ्गको ज्यान
एक्काइसौं शताब्दी उपभोगको दम्भ
समाजप्रतिको समर्पण
परिवारको पदचाप

कलिलो कसम

सबैभन्दा बढी
उसले पर्छ
सम्झौता गर्न
बाँच्नलाई

उसका आँखामा
ओहोर दोहोर गर्छन्
अत्यधिक सपनाहरू

मार्क्सवादको रातो कलम
पूँजीवादको पहेलो पापड
वातावरणविदका हरिया नारा
वान्थरी माथाइका रुख रोप्ने अभियान
कतै छाडेर

बदलिन चाहन्छ
डाइनोसरबाट मान्छेमा

तर
थाहै नपाइ संसारभरिका
निम्न वर्गका मानिसहरू
लोप हुन्छन्
डाइनोसर जस्तो

जो
थाम्न नसक्ने गह्रुङ्गो समस्या बोकेर
दुब्लो मोटरसाइकलमा जीवनभर
दौडिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया