सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा  बिद्रोह  गरिरहेका हुन्छन् ।  प्रस्तुत छ साताको तीन कविता ।


पहिचानकाे कुरा

लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काे
उघारेर
लेख्दालेख्दै मेरो देशको पहिचानकाे याद
आयाे
कुना कन्दराहरुमा
चाैक चाैताराहरुमा
अड्डा र गाैंडाहरुमा
फर्फराई रहेका झण्डाहरुलाई हेरें

हेर्दाहेर्दै देखें…..
भाेक लाग्याे भनेर चिच्याई रहेकालाई
काेही जाडोले कामिरहेका
काेही अस्मिता जाेगाउन सहयाेग मागिरहेका
झण्डाकै मुन्तिर देखे मैले
शाेकमग्न बस्ती जाे हरेक साल भाेकले दुख्ने
गर्छ

अनि साेच्न थाले अब म कुन पहिचान लेखुँ ?
मान्छेकाे भाेककाे पहिचान लेखुँ
मान्छेकाे शाेककाे पहिचान लेखुँ
मेरो माटाेको पहिचान लेखुँ कि मेरो बाटाेकाे
पहिचान लेखुँ  ?

मेरो देश स्वर्गकाे पनि स्वर्ग हाे भनेर लेखुँ कि
वा मेरो देश दुखहरुले स्थायी बसाेबास गर्ने
भनेर लेखुँ ?

मेरी आमाकाे चाउरी परेको गाला

मेरो बाकाे थिचिएकाे थाप्लाे कुन पहिचानको
कुरा लेखुँ ?

निर्मला पन्तकाे बलात्कारीकाे हुलिया
या
नवराज विककाे हत्याराकाे नालिबेली
खै म के लेखुँ के लेखुँ ?

म साेचमग्न छु –
के यी फर्फराइरहेकाे झण्डाले मेरो लाज छाेप्न
सक्छ ?

नागरिकको भोको पेट भर्न सक्छ ?
सक्दैन भने किन फर्फराईरहेछ याे झण्डा ?
हाम्रो दु:खमाथि गिल्ला गरेर

पहिचान लेख्न बसेकी म
आफैले आफैलाई पहिचान गर्न नसकेर हैरान
छु

काे हुँ म ?
सास फेर्दै गरेको एक थान शरीर या याे
समयकाे एउटा आवाज ?


बा र देश…..

बा-
निराशाको चिसाेमा नहिड्नु है
समय समयमा आत्मविश्वासको दबाई खान
पनि नविर्सिनु

आमालाई भनिदिनु है म गएँ भनेर ।

भाई बहिनी,छिमेकीले साेध्लान् 
पढ्न शहर गई भनिदिनु
यसरी चिच्याउदै शहर पसिन निरमाया
आफूसँगै राखिन  बाध्यताकाे पाेकाे
र एउटा कागजकाे टुक्रामा लेखिन् “नेपाल”
राखिन् आफ्नो छेउमा
कसैले टेके….
कसैले थुके….
अन्तिममा बलेसीबाट तप्प शीतकाे थाेपा झर्याे
चिसोले गल्यो कागज र मेटियाे “नेपाल “
उनी पुगिन् बन्द कालाे काेठरीमा
दैनिकी भयो प्रत्येक दिन
दर्जनौं यौनपिपासुको प्यास मेटाउने धन्दा
बन्द कोठाभित्र अनिदो बसेर रुने काम  ।

म कोसँग चिच्याउँ ?
कसलाई गुहार मागुँ ?
गाउँमा थाहा पाए भने वेश्या भन्नेछन्
धर्तीले च्याप्ने छ बालाई
पाखुरा बजारेर बल्लतल्ल जोगाको बाको
नाक
काटिएर खस्नेछ भुईमा  ।

कसलाई थाहा छ ?
एउटी नारीलाई यो सकथोक सहँदै
पीडा लुकाएर मुस्कुराउनुको विवशता
कसैले साेधे –
बालाई भनिदिनु सहरमा छोरीले
श्रम ,उमेर ,रहर ,खुसी बेच्दैछे
बाको नाक राख्न र खसेका आँसुले देशको
नक्शा जोगाउन ।


अर्को जन्ममा

एकाइसाै शताब्दीमा आएर पनि
डर, भय, घृणा र त्रास झेलेर अनेकौं शंका
उपशंकाबीच
चराको पिंजडा भन्दा सानो  सामाजिक
सोचको पिंजडाभित्र
आकाशभन्दा फराकिलो नदिभन्दा गहिरो
प्रेमलाई अंगालेर
बाँचिरहेकी छिन् निर्मलाकी आमा ।

एक थरीले उनलाई विधुवा भन्छन्
के उनी रहरले विधुवा भएकी हुन् ?
अर्को थरीले उनलाई सासु खाई यसले भन्छन्
के उनले सासुलाई प्लेटमा राखेर खाएकी
हुन् ?

घरमा त उनी एक्लो थिईन् नै
त्यसमाथि घाउमा नुन चुक थपेजस्तो
अझ अर्कोथरि समाजले थप्छ दलित
उनी चुपचाप तिरस्कार सुन्छिन्
उनी चुपचाप बहिष्कार सहन्छिन्
मानौँ, उनी पत्थर हुन्
जसले घन छिनोलाई पनि चुपचाप सहन्छ
मानौं, उनी निरीह पशु हुन्
जो भाकलको नाममा निरह मर्न बिवश छ ।

छानो र भित्ता चुहेर  झुपडी  पोखरी बनेको छ
कुवा छुन नदिएर काकाकुल बनेको छ शरीर
बिष्टले बाली नदिएर भोकभोकै छन् नानीहरू
जाती र धर्मको दम्भले चुलिएका मान्छेहरु
मान्छेलाई नै यसरी शोषण गर्छन्
ती मान्छेलाई पनि तह लगाउन
घरि भुईंचालो आउछ
घरि सुनामी आउछ
घरि कोभिड आउछ
घरि भोकमरी आउछ
सजिलो छैन मान्छेलाई मान्छे भएर बाँच्न
त्यसैले त सायद आमाको पाठेघरबाट रुँदै
जन्मिन्छ मान्छे
यो पृथ्वीको सप्पै असमानतालाई बढार्न
अर्को जन्ममा म हुरी भएर जन्मिने छु ।

तपाईको प्रतिक्रिया