आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ  साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।


सोच्दासोच्दै लोकतन्त्र

हामी प्रतिरोधमा सधैँ छौँ
जहिलेसम्म जरुरत पर्छ
प्रतिरोधमा उठिरहनेछौँ

हाम्रो लोकतन्त्र भन्नु
के त्यो निषेधित क्षेत्रमा
हामीले नै रोपिदिएको स्याउको रुखजस्तो मात्र हो त ?
या भनौँ,
लोकतन्त्र एउटा सार्वजनिक चिहान
जस्तो कि त्यो बालुवाटार…

वर्ग–समाजमा वर्ग–संविधान पनि
शीतल निवासको कार्पेट नै भयो

हामी मृत–शासकहरूको धरापमा फस्न चाहन्नौँ

फेरि पनि
भुईंमा
कारखानामा
सडकमा
बुलडोजर उक्लिरहेको गाउँमा
अविच्छिन्न प्रतिरोधमा छँदै छौँ

जसरी एक मुठी धुलो, एक टुक्रा रात
एक थोपा पानी, घामको एक धर्सो किरण
एक झोंका हावा
हामी सबैको बराबर
पृथ्वी पनि बराबर

यहाँ निषेधित क्षेत्रहरू क–कसले बनाउँदै आए ?
किन र केका लागि बनाइए ?

यसरी नै आज त्यहाँ फेरि हेरौँ
हेरेर मात्र हुँदैन, सोच्नै पर्छ
सहिद–गेट छ, सोचौँ !
अझै चार सहिदमाथि कसरी एउटा कल्पित सालिकले उच्चासान जमाइरहेछ ?
सिंहदरबारअघि पनि एउटा सालिक खडा छ,
त्यसरी हामी बेकारको भइरहन चाहन्नौँ

यसकारण है,
तिमीहरू जसरी सोचिरहेका छौ
अब बन्द गर त्यस्तो सोच्न

जहाँ हामीलाई छेक्छन्
त्यतै हामी जान तयार छौँ
हामीलाई रगतको भाषा नफर्काऊ
बुटमुनि थिचिराख्ने व्यवस्था मञ्जुर छैन
कुनै पनि आदेश कत्ति पनि मञ्जुर छैन
छँदै छैन, खुसी छैन
हामी फगत ‘टाउकोमाथि पारिएको बन्चरोमा बेरिएका रडको मुठो’ होइनौँ !


मलाई भन्यौ त्यसो किन ?

म न सानु न साँगुरो थिएँ
न त अर्कै थिएँ या दुःखी मात्र थिएँ
बस् एउटा ‘खोला’ बगिरहेथेँ
तर, पृथ्वीसँग नाफाको साउती मार्दै
मेरो बाटो र अस्तित्व लुट्दै गयौ
एकसाथ गाली र श्राप दियौ
नाम यस्तो दियौ, मलाई यसो भन्यौ
‘बाढी’ किन ?

न सानो न त ठूलै ‘गाउँ’ म
प्रकृतिमैत्री सभ्यता
हिमालमा मैलो–मैलो दाग थिएन
उज्यालो पर्थ्यो, आनन्द थियो
हुँदाहुँदै संस्कृति पनि पुँजीवादी कात्रोमा बेरिदियौ
अनि नाम दियौ मलाई
‘सहर’ किन ?

बजारछेउ जंगल र विकासे सरकारको कानेखुसी
बचेका केही रुखहरू माझ एउटा ‘पहाड’ म
एकसाथ हेरिरहेछु–
शासक र बुलडोजरलाई

मानिसहरूको बाटो, खेत, बच्चा खेल्ने घर–आँगन…
र, साराको प्राकृतिक जिन्दगी खै ?

के–के भनिदियौ
अन्ततः नामै फेरिदियौ
भन्यौ ‘पहिरो’ किन ?

त्यसरी भनिरह्यौ, आखिर मलाई त्यसो भन्यौ किन ?
साँचोमा म त त्यो हुँ, आदिवासीहरूमध्ये एक हुँ ।


सारा हात

लाग्दो रहेछ यस्तो पनि
कि सय वा लाख साल पैले जन्मेको भए हुन्थ्यो
मभित्र यस्तो सोच पनि नखेल्ने हैन
सय वा लाखै साल सास नफेरी
सास बचत गरेर
सय वा लाख सालपछि ब्युँझिन पाए हुन्थ्यो
यस्तो विचार पनि नआउने हैन
तर, तिम्रो हात
मेरो हात
यी दुई हात
र सारा संसारका मिल्ने–नमिल्ने हात साथ हुँदा
वर्तमानमा मौजुद यही एक पल खुब मूल्यवान् भैदिँदो रैछ ।

तपाईको प्रतिक्रिया