त्रीयुगा नगरपालिका ११ गाईघाट उदयपुर सम्झना राई असफल कविता लेखनमा चुपचाप लेख्न चाहने, कविमा पर्नुहुन्छ । आधा दर्जन भन्दा बढि संस्थाहरुको प्रमूख पदमा रहेर सामाजिक अभियान्ताको रुपमा सकृय, उहाँका आधा दर्जन कविताका कृतिहरु प्रकाशित छन । सधै भुइमान्छेको सरोकारहरु आफ्नो कविताको बिषयबस्तु बनाउनुहुने कवि सम्झना राई असफल नेपाली कविता लेखनको क्षेत्रमा एक शक्तीशाली हस्ताक्षर मध्ये एक हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता ।
मेरो देशको मुहार
मजदुर पेलेर मेसिनमा
मजदुरलाई नै प्यकेजीङ्ग गरे
मजदुरहरुले
तिनैलाई खाएर पेटभरी डक्रीयो सत्ता
गरिबीको भार थेग्न नसक्ने
ति निर्दोष पाउहरुमा
बिनिमयको जन्जीर बाँधेर
कथित समाजबाद कुर्लन्छ सत्ता
अर्ध पुजीवादको घुमाउरो घट्टामा
जब दिनहु लाखौं मजदुरहरु पिसिन्छन
तब सत्ताको आलिसान कुलरजडित महल बन्छ
यो मेरो देशको दर्दनाक अवस्था हो
मुठ्ठीभर सासकहरुले आफ्नै खातिर ल्याएको
अत्यन्तै सर्मनाक व्यवस्था हो
मजदुरहरु दिनहु पिसिएका छन्
घोटिएका छन्
असहाय छन्
दुर्गन्धले भरिएका भग्नावशेष डेरामुनी
बस्न विवश छन्
यो मेरो देशको नेताको नितिको
नाङ्गो चरीत्र हो
म, नचाहादा नचाहादै पनि
देख्छु ,भोग्छु,खेप्छु र लेख्छु
अझै पूरा कहाँ हुन्छन् र यी लेखाईहरु
निरन्तर आँधी चलिरहने सम्भावना छ !
जबसम्म शोषितहरु पनि
स्वशासित हुदैनन्
समकक्षीको भुमिकामा उभिन पाउदैनन्
तब सम्म !।
प्रेम अजम्बरी हो
म अभ्यासको कुम्लो च्यापेर
निस्किए बाहिर
खगोल बिचरण गर्न
सम्पूर्ण बुझ्न अनि समाज रुपान्तरण गर्न
तिमी मसंगै हिड्न सक्छौ ? अफ्ठ्याराहरुमा
साझेदारी गर्न सक्छौ ? दुख्नुहरुमा
यदि सक्छौ भने
मेरा अंगालो लालयीत छन्
तिम्रो अंगालोमा बाँधिन
तिम्रो साथमा साझेदारी गर्न
निसङ्कोच अप्ठ्यारो कुल्चन
असंख्य जीजीबिषाहरुलाई पुर्ण गराउन
हजारौं पिडाहरु सहन
जो संगै जीउदा झेल्नु पर्छ सबैले
सैयौं मिठासहरु पिएर रमाउन
जो जम्मामा बाँच्दा अनुभुती गर्नुनै पर्छ
सबै सबैले सधैं सधैं
जीवन न संभोगबाट सुरु हुन्छ
नत संभोगबाट नै अन्त्य
जीवन त प्रेमबाट सुरु हुन्छ
र
सामाजिक दायित्व बोकेर अन्त्य
माया नत चोखो हुन्छ ,नत जुठो नै
यी सबै बहाना हुन
दिग्भ्रमितहरुका लागि
तर जे होस प्रेम सिकाई हो
सिक्दा सिक्दै पनि अजम्बरी हो
जो , म र तिमी गर्छौं
उ र उनिहरु गर्दा हुन
ती र तिनिहरु प्रेम गर्दै परिस्कृत हुन्छन्
तर प्रेम न चोखो हुन्छ
न जुठो हुन्छ
प्रेम त सबैभन्दा उँचो हुन्छ
प्रेममा मान्छे हराएरै पनि
पुनः नवजीवन बाँच्न सिक्दछ
समाजलाई आदर्शको पाठ पढाउन जुट्दछ
अनगिन्ती समस्या र अफ्ठेरा पार गर्दै
प्रेम मादकता हैन ,
प्रेम बिद्दोता हो !
प्रेम निरासता हैन ,
जागरुपता हो !
प्रेम पिडा हैन ,
आशा हो !
प्रेम अन्त्य हैन ,
संभावना हो !
प्रेम मृत्यु हैन ,
जीवन हो !
प्रेम अजम्बरी हो ।
क्रान्तिको लहरमा म
म,सभ्यताको पगरी गुथेर शिरमा
चोमोलुङ्ममा झैँ उभिदिन्छु
मेरा रहरहरु चरा झैँ प्वाख फिजाएर
उड्छन आकाशमा
पुरातनवादी साङ्लोलाई तोडेर
मुस्कुराउदै ,सुस्केरा हाल्दै
माथी माथी माथी माथी
छुनलाई जुन र ताराका ताती
पुग्नलाई समताको बस्ती
मुस्काएर बाँच्नलाई जुन झैँ
मैले खेलेका भाँडाकुटी
मैले दिनहुँ वनभात खाएका
खेत खल्यानका गह्रा र आलिहरु
मेरै तालमा धानका बाला झुलाउछन
असार र मंसिरमा पहिले झैँ अहिले पनि
मेरी माटीले मलाई सितल छायामा राख्छिन
समयले पछार्दा मलाई सुमसुम्याउछिन
अनि अंगालो हाल्छिन
म,मेरा दर्दमय थोपाहरु मेरै जन्मभुमिको
छातिभरी पोखिदिन्छु छताछुल्ल
उनी शोषिदिन्छिन र सुबास छर्छिन
मग ,मग,मग ,मग
मैले न गाएर बसेँ पालाम ख्याली
कोइलीले गाउछिन
खोलिले सुसेल्छिन
अनि म नाच्छु साकेला शिली
प्रत्येक घर आगन चौक चौराहाहरुमा
लालुपातेका रंगभरी म फुल्छु बैँस
गुलाबका पत्रभरी म मगमगाउछु
बसन्तले भरीएकी लतिका झैँ
ॠतुबिचार को पगरी गुथेर शिरमा
जन्माउछु सृजनाका आलोकहरु
मेरा भावनाहरु तरंगीत हुन्छन्
संघर्षका भाकाहरुमा
आजाद हुँदै डुल्छन गोरेटा र बाटाहरुमा
पछारेर पुरुषबादी एकाधिकार
संस्कृतिका पहरेदारहरुलाई
सुसेल्दै मातृजागरणका सुसेली
सारेगमको हतियार उठाएर
गाउदै देश र जनताका गीत
जनबादी गीत ।