नेपाली साहित्य लेखनको विशेष गरेर बाल साहित्य लेखनमा स्थापित सर्जक सुशीला प्रधानाङ्गको हालसम्म बाल साहित्य सम्बन्धी एक दर्जन कृतिहरु प्रकाशित छ । स्वतन्त्र पत्रकारितामा लामो समयदेखि सकृय उहाँको लेखहरु विभिन्न पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएको छ । प्रस्तुत छ साताको तीन कविता ।
राष्ट्र ,सिमाना र अस्मिता
सदियौंदेखि मेरो देशको नक्शामा
हिमाल हाँसिरहेको बेला तराई खेत खलिहानहरुमा
कहिले धानको बाला…..
कहिले गहुँको बाली…..
कहिले सुनझैं टल्किने तोरीका फुलहरु देखेर दङ्ग परिरहेको बेला
मौसमी फुलहरु सँगसँगै लालीगुँरासहरुमा
छनछन बग्ने नदीहरुमा , उर्लिएका छालहरुमा
खुशी भएर-
निलो आकाशमा सुर्य चन्द्र बनेर मुस्कुराईरहेको बेला
डाँफे मुनाल र मजुरको ईन्द्रेणीको नृत्यहरुसँगै नाचिरहेको बेला
हो,खुशीले झुलिरहेको बेला
अचानक
छिमेकीको व्वाँसे पंजाले मेरो देशको नक्शालाई
चोट पु-याउने कुनियतमाथि हामीले हमला गर्नै पर्छ
छिमेकी भनेर संधैं मान्यता दिदा दिदै पनि
सिमाना मिच्न खोज्ने विस्तारवादी कालो व्वाँसोको
काला बदनियतहरुको बिरोध गर्नै पर्छ
लिपुलेक ,लिम्पियाधुरा,कालापानी
यस्तै यस्तै अन्य सिमानाहरुमा लगाएका गिध्दे दृष्टिको
अनि हाम्रो देशको अस्मितामाथि धावा गर्न खोज्ने
दुष्ट चरित्रको बिरोध मात्रै होईन
खुलेआम अन्त्य गर्न हामी नेपाली आज एक भएकाछौं
नेपालको सिमानामा छल गरेर मिच्न खोज्ने
मिचाहा छिमेकी होशियार !
हामी नेपालीको देशको नक्शा आज पनि हामीलाई प्राण जत्तिकै प्यारो छ ।
ईन्द्रेणी ,यौवन र सपना
कलिलो मुनाबाट-
यतिबेला ऊ यौवनको नखरमाऊलो गर्मीमा पनि
फक्रन खोजेको छ…….
उसको पाईतालालाई उसले चाहेर पनि धरतीमा टेकाएर
सकेको छैन हिंडाऊन बिना धरातल
यौवनको मदहोशीमा आफैलाई बिर्सेर ऊडन चाहन्छ
ऊ
आकाशमाथि माथि यतिबेला उसले आफ्नै वरिपरि ऊम्रिरहेका
निलकाँडाहरुलाई
बसन्तमा फुल्ने मखमली फुलहरु सम्झेको छ
उसलाई थाह छैन –
के हो काँडा ?
ऊसको वास्तविक कर्म के हो ?
उसलाई भरोसा छ आफु र आफ्नै मनमाथि
ऊ त आजकाल-
ईन्द्रेणी बनेर मजुरले पुर्ण प्वांख फैलाएर नाचे जस्तै
नाच्न चाहन्छ
आफ्ना सबै चाहनाहरुलाई ईन्द्रेणी बनाएर
तलाउको नाममा……
पोखरीको नाममा……
सागरको नाममा……
नदीको नाममा…..
आफु पनि त्यस्तै बनेर शान्त बनाउन चाहन्छ सबैलाई ।
दु:ख र व्यथालाई समेट्न चाहन्छ आफैभित्र
त्यसैले त आजकल ऊ यौवनको कसीमा
सुनलाई निखारेजस्तै निख्रेर बनेको छ हिमालको पानी जस्तै कञ्चन ।
उदास मन
घाम पनि उदास छ
किन हो कुन्नि –
आज घाम पनि ऊदास ऊदास छ
मेरो मन जस्तै
मेरो विश्वास जस्तै
मलाई लाग्थ्यो –
हिजोसम्म
घाम कहिले ऊदास हुन सक्दैन
मन कहिले निराश हुन सक्दैन
यहि मन त थियो मसँग
मात्र मेरो आफ्नो भन्नु
तर उसले पनि मलाई आफ्नो नसम्झेकोरहेछ
मेरो मनले मलाई बनाईदिईसकेकोरहेछ पराई
त्यसैले होला-
शायद आज घाम पनि उदास छ आज मेरो मन पनि उदास छ ।