कवि श्रीबाबु कार्कीले नेपाली साहित्यमा पचासको दशकदेखी निरन्तर लेख्दै आइरहेका छ्न। श्रीबाबु कार्की २०३३ सालमा तामाकोसी दुई झुले दोलखामा जन्मीएका हुन् । उनका कविताहरुले समाजमा भएका बेथितिहरुको बिरोधमा शालिनरुपमा बिद्रोह गरिहेको हुन्छ । हालसम्म उहाँका बिभिन्न बिधामा आधा दर्जन भन्दा कृतिहरु प्रकाशित छन । प्रस्तुत छ साताको तीन कविता ।

आगोको आत्मकथा

पढेको छ कसैले आगोको आत्मकथा ?

हो,
आगोसँग पनि छ
भीषण कथा
भीषण अनुभूति
भीषण इतिहास

आगोमा पढ्छु नैश्वरीय चेतना
पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु
संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा

हो,
आगो अमोघ अस्त्र
संसारमा
सर्वशक्तिमान छ – आगो
पल्टाउँछु आगोको प्रिय हृदय
केवल पाउँछु
हुरहुराउँदै र लपलपाउँदै बलिरहेको आगो ।

आगोका पन्ना पन्नामा
केवल सम्मोहित गर्दछन आगोका शालीन अक्षरहरु !

ईश्वरभन्दा सत्य छ आगो
पढेको छ कसैले आगोको आत्मकथा ?

अचानक-

सम्झौता गर्छु आगोसँग
परिवर्तनको महाशक्ति हो -आगो

जब बाक्लिदै जान्छ
बस्तीमा सघन अँध्यारो
म उमार्छु हत्केलामा आगोका भर्भराउँदा बिरुवा
र,
रोपिदिन्छु बस्तीका लाखौं हातहरुमा

सल्किन्छन हातहरुमा अथाह आलोक
सर्वत्र उजेलिन्छ रचमचमाउँछ – आगोको बर्णमाला

आगो –
जहाँ नीरवताले प्रार्थना गर्छ
निस्तब्धताको झुप्पाहरुमा
सल्काउँछन उज्यालोका दियोहरु

हाम्रा मस्तिष्कका
बाक्ला साँझहरुमा
हुर्काउनुपर्छ आगोका बिरुवा
जोगाउनु पर्छ आगोको सन्तान
र,
पढ्नुपर्छ आगोको आत्मकथा !

आमाहरु
अनन्त बीजारोपण गरुन आफ्ना गर्भमा -आगो
अनि
जन्माऊन् हजारौं मायादेवीहरु
सम्यक सम्बोधी बुद्ध

आगो जो बुद्ध जन्माउन सक्छ
आगो जो बुद्ध जलाउन सक्छ

पढेको छ कसैले आगोको आत्मकथा ?

अन्तिम चिठ्ठी

मैले लेख्ने अन्तिम चिठ्ठी हो यो
जो – अक्षरको जीर्ण शिविरबाट भागिरहेका
घाइते भावहरू किन नहुन् ।

ओ, प्रिय मान्छे !
तिम्रो अनन्त हृदयमा
पलपल यसरी अंकुरण हुनेछ मेरो याद
जसरी कुनै प्रेमिल कविको
स्मृतिमा फूलिरकोहुनेछ – शताब्दीको शक्तिशाली कविता !

तिम्रो आँखाको बगैंचामा
पाउलिँदै गरेको प्रेमको कलिलो – पाउला हुनूँ
तन्नेरी बिहानको हृदयमा सुसाउने नूतन गीत हुनूँ ।
अनि रातको शीतले छपक्क भिजाएको लाहुरे फूल हुनूँ
अथवा
तिम्रो आँखाको फ्रेममा सजिने तस्वीर हुनू
कति कठिन हुन्छ ?

यादहरूको बिस्कुन सुकाएर बस्नु बाहेक केही होइन रहेछ – माया !

हरेक दिन आँखाका डिलबाट
झरिरहेछन् – प्रेमका पराजित योद्धाहरू
भन-
तिमी कसरी गर्न सक्छौ – मायाको पोस्टमार्टम ?
तिम्रो सौन्दर्यको विषले मारिएको असफल प्रेमी हुँ म
शब्दका फिलुङ्गोहरूले डामिएको – एक मौनात्मा हुँ !

कुनै चिसो साँझ
गुँडमा जब खेल्नेछ्यौ तिमी प्रेमको भुतभुते
बिस्तारै बिस्तारै हराउने छ
तिम्रो इन्द्रेणी जस्ता सौन्दर्यका रङ्ग
भाँचिनेछन् बगैंचाको कलिला प्रेमका मुना
भत्केर झर्ने छन् यी आँखाबाट प्रेमको महल
हृदयबाट जबर्जस्त झर्नेछ स्मृतिका पहेँला पात

कुनैदिन
तिमीसामु सपना भएर आउनेछन् याद ।
जतिबेला
बिपनाका ढोका थुनेर कैदी झैं चुपचाप बस्नुपर्ने हुन्छ ।
थुनेर कसरी थुनिन्छ – प्रेमको सुवास ?
रोकेर कसरी रोकिन्छ – हृदयको गति ?
बाँधेर कसरी बाँधिन्छ – सपनाको संसार ?

हो -तिमीले जित्यौ र मैले हारें
हार्नु पनि त – जितको आधार र सुरुवात हो ।

कुनै दिन पक्कै लाग्ने छ मनमा बाडुल्की
यादहरूले पक्कै गर्ने छन् -हृदयमा मौन बिद्रोह !
मेरो अन्तिम शब्द तिम्रो घाँटीमा आएर गाँठो पर्ने छ
मेरो अन्तिम हेराइले पोल्ने छ तिम्रो मुटु
मेरा मौनताहरूले
तिम्रो बाँकी जीवनलाई पक्कै गेजो गरिरहनेछन् ।

एकान्तमा आइरहनेछन्
बगरमा हात समाउँदै हिँडेका स्मृति
अधरमा काउकुति लगाइरहने न्याना सम्बन्ध
नदीका सङ्लो र कञ्चन पानीमा बगिरहने
सपनाका सुकुमार पानी छाया
धुपीसल्लाका पातमा छोइँदै उड्ने हाम्रो प्रेमको सुवास
देउराली र नागीहरूमा पोखिएका गहिरा स्मृति चित्र

हेर्नू, आँखा चिम्म गरेर हेर्नू
हृदयको गति टक्क रोकेर हेर्नु -निरन्तर हेरिरहनु
म तिम्रो आँखाको बाँध भत्काउँदै गरेको – चिसो स्मृति हुँ ।

अजेय गति


एक बूँद पानी हुँ ।

नबिथोल्नु – मेरो साइत
नचलाउनु – मेरो भूगोल
नजिस्क्याउनु – मेरो ईमान
नचिथोर्नु – मेरो सपना
नरोक्नु – मेरो गति
नभत्काउनु – मेरो आस्था

म एक अजेय गति हुँ
म पृथ्वीको अप्रतिम सौन्दर्य हुँ ।

मलाई चुपचाप चुपचाप बग्न देउ ।

वर्षौदेखि यसैगरी बगिरहेको छु – आफ्नै लयमा
नदीलाई बाटो देखाउनु पर्दैन -नदेखाउनू

म-
एक थोपा आस्था
एक थोपा बिश्वास
एक थोपा विचार
एक थोपा आदर्श
र,
एक थोपा प्यास हुँ ।

म,
आगोलाई चपाउन सक्छु
पहाडलाई गलाउन सक्छु
मेरा अवरोधलाई भत्काउन सक्छु
हजारौं सपनाहरूलाई बगर बनाउन सक्छु

बञ्जरभूमि हराभरा बनाउने मै हुँ
प्यासीहरूको अतृप्त प्यास मेटाउने पनि मै हुँ

म एक बूँद पानी हुँ
पानीलाई आफ्नो बाटो बग्न देउ
नबिथोल्नू पानीको अविरल लय
नसिकाउनू पानीलाई पानीको दर्शन !

म आस्था हुँ
म बिश्वास हुँ

तिमीभित्र बगिरहेको शान्त काली-गण्डकी हुँ ।

तपाईको प्रतिक्रिया