भारतको गुवाहाटीमा बसोबास गर्नुहुने साहित्यकार डा. देवेन सापकोटा आसाममा बसेर नेपाली साहित्य लेखनमा कलम चलाईरहेका स्थापित लेखेकहरुमध्ये एक लेखक हुनुहुन्छ । पछिल्लो समय पर्या साहित्य लेखनमा सकृय सापकोटा प्राध्यापक, पशु चिकित्सा विज्ञान महाविद्यालय, आसाम कृषि विश्वविद्यालय, खानापारा , गुवाहाटीमा प्राध्यापन गर्नुहुन्छ । सन १९८० देखि नै साहित्य लेखनमा सकृय उहाँको हालसम्म नियात्रा, कथा, कविता प्रकाशन हुँदै आएको छ । प्रस्तुत छ साताको तीन कविता ।
पृथ्वीवाद
मियोमा अन्योलग्रस्त खडा छ
पर्यावरणीय समाचारहरूका ठेलमठेल झेल्दै
मेरो पृथ्वी
फोहोरको भारी बोकी हिँडेको धेरै भो उसले
च्यातिन लागेछन् आङका वस्त्रहरू पनि
अझै कति बोक्नु छ उसले यो भारी ?
कति टाढासम्म ?
कति नाङ्गिनु छ होला भविष्यमा ?
धेरै आशावादी थियो ऊ
आईपिसिसि अनि अल्बर्ट गोरले घन्टी बजाउँदा,
सन् २००७ मै
नोबेल पुरस्कार जितेर
सबैको आँखा उघ्रेजस्तो लागेको थियो उसलाई ।
तर भुसनिद्रामै सुतिरहे सब
नाबालिका ग्रेटा थुनबर्गले विश्वका देशाधीशहरूलाई
राता आँखा नपल्टाई भएन एघार वर्षपछि
संयुक्त राष्ट्रको जलवायु परिवर्तन अधिवेशनमा
‘कसरी आँट गर्यौ’ भनी औँला ठड्याउँदै ।
पहिरो जान्छ, बाढी आउछ, सुनामी उर्लिन्छ,
महामारी फैलिन्छ, चक्रवात घुम्छ, ग्लेसियर फुट्छ
निरन्तर……..
तर
सीमित रहन्छ यिनको चर्चा
टिभीको पर्दामा, अखबार या शोधपत्रमा
अल्पिन्छन् चियागफे बाफका साथसाथै
अनुसोचना देखाएजस्तो गर्छन् सबै
प्रत्येक दुर्घटनाको लगत्तै पछि।
तर
मसान वैराग्यमा पो रहेछन् उनीहरू त!
त्यसैले
दुःखी छ आज पृथ्वी
आफ्नै सन्तानहरूसँग
के सबै पर्खिरहेका छन् महाप्रलय आउनलाई
केही नबुझेको जस्तो स्वाङ पारी ?
प्वाल परेको छाता
खुसीको सास फेर्दै घर फर्के चेतनारायण
सिएको छाता बोकी !
“अहो, कति राम्रो टाल्नु भएछ हाम्रो छाता”
भुडुक्क छाता उघार्दै
उफ्र्यो नाति, बुर्कुसी खेल्दै
घुमाउँदै छाता फिरिरि
“डढ्नु, भिज्नु पर्ने थिएन होला मैले
बेलैमा यसलाई मरम्मत गरेको भए”….
सुस्केरा हाल्छन् चेतनारायण, अनायासै !
भावुक बन्छ नाति….
“हाम्रो पृथ्वीले पनि ओजोन ग्याँसको छाता ओढेको छ अरे,
तर बादलपारि अनि आकाशमुनि
छेँडै छेँड परेको छ
तिनै प्वालबाट सूर्यको पराबैजनी रश्मि छिरी
हानि गर्दैछ रे यो सारा विश्वलाई
हाम्री गुरुआमाले बुझाउनुभएको, स्कुलमा
पृथ्वीलाई पनि पीडा भएको छ
हजूरलाई भए सरह नै !
के ती प्वाललाई मरम्मत गर्न सकिँदैन ?
यो छाता टालेजसरी नै………?
सुमसुम्याउँछ नाति सिएको ठाउँमा
सुकोमल औँला डुलाउँदै
(ओजोनका प्वाललाई सियो धागोले जसरि टाल्न सकिँदैन, नातिले विज्ञान पढेको छ।)
“निश्चय सकिन्छ नाति
मानिसले
एयर कन्डिसनर र गाडीको प्रयोग कम गरेर,
चाहिने खाद्य, फलमुल आफै उब्जाएर,
वृक्षारोपण गरेर”।
केही क्षण घोरियो नाति
अनि उत्साही बन्दै
लिई कोदालो, थुर्पी साथमा
डोहोर्याउँदै लग्यो हजुरबालाई
बारीका कान्लातिर।
पृथ्वीलाई अझ हरियो बनाउन
ओजनको प्रकोप केही घटाउन ।
पहाडको पीडा
राति एक्कासि जुरुक्क उठ्छ पहाड
ऐँठन भएछ उसलाई
खङ्रङ्ग झरिगए
यत्रोबेर उसलाई छोपिराखेका सुकेका पातहरू
आलै पारी आङका घाउ र चोटहरू।
छिया छिया पारेको रहेछ
चिथोरी छाती…..
पाखण्डी क्रेनका निर्मोही नङ्ग्राले
रक्ताम्मे रातो माटोको भल बगाएर ।
व्यर्थ प्रयास गर्छन् अलकत्रे सडकबाट आएका
उडन्ते सेता पोलीथिनहरूले ब्यान्डेज लगाउन
आला घाउमाथि उसका…….
पीडित बिचरा, निर्वस्त्र
एक्लै सुँक्क सुँक्क गर्छ
साल, सगुन, पलासहरू
कोहि छैनन् छेउछाउमा, साथ दिन,
हराए चराचुरुङ्गीहरू पनि
सुमधुर गीत सुनाई सान्त्वना दिन।
फेदैमा,
रगतको पोखरीभित्र लत्पतिएको छ एक प्वाँख।
इतिहास सुनाउने प्रयासमा छ ऊ पहाडलाई,
ऋतुका अभिशापलाई नाघ्दै
हरियाली वृक्षहरू लहलहाउँथे कुनै समयमा
जसका डालीमा सुनौला गुँडभित्र
हुर्कने गर्थे उसका पुर्खाहरू ।
आकाशले कालो अनुहार सजाउँछ
बादल आत्तिदै गडगडाउँछ
बिजुलीले आँखा झिम्क्याउँछ
चट्याङ्ले त्रास निम्त्याउँछ
हावाले हुन्डरीलाई बोलाउँछ
अब यहाँ नटराजको ताण्डव नृत्य हुनेवाला छ
सावधान।
नोट :
पराबैजनी= ultraviolet
– आईपिसिसि = विज्ञान सम्बन्धित जलवायु परिवर्तनको मूल्याङ्कन गर्ने संयुक्त राष्ट्रसङ्घको एक अङ्ग।
– अल्बर्ट गोर = संयुक्त राज्य अमेरिकाका पूर्व उप राष्ट्रपति १९९३- २००१सम्म शासनमा रहेका थिए ।
– मसान वैराग्य = मसानमा गएका बेलामा आफूले गरेका दुष्कर्म सम्झेर मनमा उत्पन्न हुने अनुभव जुन बाहिर निस्केपछि बिस्तारै बिर्सिइन्छ ।
– ग्रेटा थुनबार्ग = एक स्विडेनी पर्यावरण कार्यकर्ता, जसले अन्तर्राष्ट्रियरूपमा विश्वका नेताहरुलाई जलवायु परिवर्तनका विरूद्ध तुरुन्त कारबाही गर्न चुनौती दिएकी छन्।