पचासको दशकमा उदाएका र हाल अमेरिमामा बसोबास गर्दै आउनुभएका कवि मणि भट्टराई  एक शसक्त  लेखक हुनुहुन्छ ।  कथा , कविता, गीत, निबन्ध  र बैचारिक लेखहरु मार्फत परिचित हुनुहुन्छ । हालसम्म उहाँको “देशविहीन देशभक्तहरू” कृति प्रकाशित छ भने करीब एक दर्जन जति गीत रेकर्ड भएका छन्  । उहाँको  लेखनले सामाजिक र राजनितिक बेथितिहरुको बिरोधमा चर्को बिरोध गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

अचेल कविता

कतै कविता –
दायाँ हात मात्र बोकेर हिँडिरहेको हुन्छ
कतै एउटा खुट्टा मात्र घिसारिरहेको
कतै नाक मात्र ठडिएको हुन्छ कवितामा
कतै जुँगा मात्र हल्लिरहेको !

कतै कवितामा ओठ मात्र चलिरहेको हुन्छ
कतै टाउको मात्र गुडिरहेको
कतै मुटु मात्र उफ्रिरहेको त
कतै नितम्ब मात्र नाचिरहेको !

अचेल धेरै भयो कवितामा
सिंगो शरिर छुटेको
हैरान छु म देखेर
कविता यसरी टुटेको ।

तलबाट कविता लेख्दै ल्याउँदा
कम्मरमै टुंगिन्छ
माथिबाट कविता लेख्दै जाँदा
छातीमै टुंगिन्छ
अचेल प्रगतिबादीका डायरीमा समेत छैनन्
पेटका कविता ।

डर लाग्छ मलाई पनि
कतै पेटमा पसेर कविता लेखूँ भने
पेटमै हराउने पो हुँ कि ?

अगाडिबाट लेख्दा पछाडि छुटिरहेछ
पछाडिबाट लेख्दा अगाडि छुटिरहेछ
फरक फरक पाटा लेखियो
सिंगो सिक्का लेखिएन कवितामा
फरक फरक पांग्रा देखियो
पुरै गाडा देखिएन कवितामा ।

अचेल कवितामा
देश लेख्दा परदेश छुट्छ
परदेश लेख्दा देश छुट्छ
नारी लेख्दा पुरूष छुट्छ
पुरूष लेख्दा नारी छुट्छ ।

मेरो जात लेखिरहँदा मैले
सयौं जातहरू छुटिरहेका हुन्छन्
मेरो धर्म लेखिरहँदा मैले
कयौं धर्महरू हराइरहेका हुन्छन्
मानवता विचाराधीन छ कवितामा –
अचेल म चिनिन मैले
म आफू हिंड्दा अरूलाई धक्का दिनुपर्छ ।

अचेल कविता
कविता हुनुपूर्व नै
आग्रहको बुईं चढिसकेको हुन्छ
कविता कविता नभई
कोरा नारा भइसकेको हुन्छ
तर पनि म दंग छु मेरो कविताप्रति
किनकी,
मेरो बस्तीमा सबैभन्दा विक्ने भनेकै
मेरा कविता हुन् ।


म पाजी मान्छे !

यसपाल पनि असिना पर्ला भनेर
फुल्न छोडेनन् आँपहरू
फल्न छोडेनन् आरूबखाडाहरू
चुपचाप उम्रिरहे हरेक साल मकैका बोटहरू ।

यसपाल पनि हावाहुरी आउला र उडाउला भनेर    
गुँड लगाउन छोडेन ढुकुरले गएँलाको रूखमा
यो बर्ष पनि डँढेलो लाग्ला भनेर
कठ्यौरीहरू बास बस्न छोडेनन् बयरका बुट्टाहरूमा
फेरी पनि केही नभए झैं फुलिरह्यो गुलाबको फूल
लाछिएको ठाऊँबाट फेरी पलायो दारिमको हाँगा ।

हरेक चोटी अरूले नै काढेर खान्छ महका चाकाहरू
तै पनि काममा निरन्तर खटिरहन्छन् कामदार मौरीहरू 
बर्सिनु त आँखिर धर्तीमा नै पर्छ
यो बुझिबुझि पनि पटक पटक उचाई लिइरहन्छ बादल ।

म जस्तो उदास यहाँ कोही देख्दिन
म जस्तो निराश यहाँ कोही भेट्दिन
दिन जस्तै / रात जस्तै
साँझ जस्तै / विहान जस्तै
धर्ती जस्तै /आकाश जस्तै
जीवन जस्तै / मृत्यु जस्तै
सब यथावत छन् / निरन्तर छन् ।

प्रकृतिको एक हिस्सा भएर पनि
कहिल्यै हुन सकिन म
प्रकृति जस्तै !
कहिले आफ्नै भावनाको तारमा रेटिएँ
कहिले आफ्नै बुद्धिको अंकुसमा उनिएँ
कहिले आफ्नै दम्भको पर्खालमा ठोकिएँ
पटक पटक भत्किएँ र पहिरो गएँ
वित्थाका आफ्नै महत्वकांक्षाका पहाडहरूमा ।

हिँड्दा हिँड्दा फाटे कुर्कुच्चाहरू
सरापेँ बाटोलाई
सधैं आकाश मात्र कल्पिएँ र धिक्कारेँ धर्तीलाई
बार बार निहुँ खोजिरहेँ जीवनसँग
गुनासो गरिरहेँ
भनेजस्तो कहिल्यै भएन – भनिरहेँ
न त साँझ, न त विहानलाई माया गर्न सकेँ
न त घर, न त चिहानलाई प्रेम गर्न सकेँ
म पाजी मान्छे !
कहिले आवेगमा आएँ त कहिले भावुक भइरहेँ
जन्मिंदा पनि रोएँ /मर्दा पनि रोइरहेँ ।


अन्त्यहीन सपना

शरीरभरी थकान छ
मनभरी हैरान छ
तै पनि,
निरन्तर चलिदिन्छु मेसिन जस्तो
निरन्तर बगिदिन्छु नदी जस्तो
मानौं कतै अक्करमा छ भविष्य –
सम्भावनाको तक्मा लगाएर
वर्तमानको ढाडमा ठडिन्छु
र माथि कतैतिर हेरिदिन्छु
गले पनि नगले झैं
पैतलामा गति उमारेर
लम्किदिन्छु उँभैतिर
जहाँ क्षितिज हरेकको सपना बन्ने गरेको छ ।

कहिलेकाहीँ
आफैले टेकेको धर्तीको भर हुन्न
आफैले फेरेको हावाको भर हुन्न
परदेशको के कुरा ?
देश देश हुन्न
घर घर हुन्न
शिषिरको रूख झैं हुन्छ मन
फेरी पाउलिने रहर हुन्न
तै पनि,
एउटा कमजोर समयको बुई चढेर
पहाड उक्लन खोजिरहेकै हुन्छु
हरीया घाँसे मैदानहरूमा फैलिरहेकै हुन्छु
मन न हो -छिनभरमै खुसीले फुरूंग भएको हुन्छु
र फेरी पाउलिसकेको हुन्छु
एकाएक अनुबन्धित भइसकेको हुन्छु
रहरका कोपिलाहरूमा
फुल्नु जो हरेकको सपना हुने गरेको छ ।

म जीवन हुँ
म मृत्यु भन्दा पनि ज्याद्रो हुन्छु
म रूँदारूँदै पनि –
पुरिइसकेका हुन्छन् मेरा कति घाऊहरू
म थाकेर विश्राम गर्दा पनि –
मेरो गति मैलाई उछिनेर गइरहेको हुन्छ ।

तपाईको प्रतिक्रिया