दुई दशकभन्दा लामो समयदेखि साहित्यिक सांस्कृतिक अभियानमा क्रियाशील कवि केशव सिलवालका वर्जित अवशेष (२०६३), धारिला मानिसहरू (२०६६) र चिबे चरा (२०७८) गरी तीनवटा कविता संग्रह  प्रकाशित छन् । उनको आफर (२०७३) संयुक्त कविता संग्रह  पनि प्रकाशित छ । उनले असहमतिका स्वरहरू (२०६२), आस्थाको स्तम्भ (२०६५), स्रष्टा चैत्र–३०, प्रतिभा प्रवाह लगायत साहित्यिक कृति तथा पत्रिका सम्पादन गरेका छन् । केही समय पत्रकारिता र पछि प्राध्यापनमा संलग्न सिलवाल प्रलेस पुरस्कार–२०७४ बाट पुरस्कृत छन् । प्रस्तुत छ साताको तीन कविता ।


मोडलिङ

टेलिभिजनबाट बजिरहेको छ
एकतमाससँग झर्कोलाग्दो पपगीत
मेरी छोरी नाचिरहेकी छ त्यसको तालमा
र म हाँसिरहेको छु हेरेर उसको आधुनिक नृत्य

समाचारको बीचमा आएको छ विज्ञापन
जसमा देखिन्छे अर्धनग्न एक युवती
ऊ घोषणा गर्छे लाखौँको पुरस्कार
र दिग्भ्रमित हुन्छन् गरिब टाउकाहरू

प्रेमीले लगाइदिएको छ प्रेमिकालाई
एउटा नक्कली औँठी पित्तलको
जसमा लगाइएको छ सुनको जलप
र प्रेमिका मख्ख छिन् औँठी चुमेर 

बाँच्नुको मोडलिङ गर्दागर्दै
थकित मेरो मित्र
उसलाई लागेको छ दमको रोग

बलात्कारको दृश्य छाप्न पत्रिकामा
पुनः बलात्कार गराउँदै छन्
फोटो पत्रकारहरू
विभिन्न मुद्रामा फोटोसेसन गराउँदैछन् नेताहरू
र बिकिरहेका छन् फोटो
सहरबजार र दुर्गम गाउँहरूमा 

सहरमा बसेर बुज्रुगहरू
गरिरहेका छन् गाउँमा मोबाइल
र पठाइरहेका छन् इमेलबाट गाउँको खबर
विदेशी मित्रहरूलाई

रयाम्पमा क्याटवाक गर्दै हिँडिरहेको छ संविधान
नयाँ–नयाँ परिधानमा सजिएर
जहाँ देखिन्छ त्यसको नाङ्गो, विकृत रूप

सहरको बीचमा छ
प्रजातन्त्रप्रति प्रतिबद्ध एउटा होर्डिङ्ग बोर्ड
त्यही पढेर
जानकारी लिइरहेका छन् मानिसहरू लोकतन्त्रको ।


परिचयविरुद्ध

नयाँ परिचयका लागि
मैदानमा खडा छु

तिनीहरूले दिएको परिचय
तिम्रो आफ्नो होइन
तिनीहरूको महान परिचयसँग
तिम्रो परिचय पनि मिसिएको छ

यो पहाडलाई चिन
र आफ्नो बनाऊ
यो नदीको गतिलाई बुझ
र त्यसमा डुङ्गा खियाऊ
यो सुवासिलो हावालाई
आफ्नो स्पन्दनमा समेट

कुनै गीत नसुन
कुनै आदेश नमान
दिनको उज्यालोमा आउने
निशाचरलाई चिन

जहाँ–जहाँ तिम्रा पैतालाले टेकेका छन्
ती सबै ठाउँमा सुवासिलो फुल फुलाऊ
तर ती फुल कुल्चिनेहरूलाई चिन

भोका मानिस
आऊ भोक नै मर्ने गरी
सँगसँगै बेस्सरी चिच्याऊ
र अघाएर सुतेकाहरूको निद्रा भङ्ग गर

हात छिनाएका मानिस
आऊ बेस्सरी चिच्याऊ
र हात भएकाहरूसँग
एउटा–एउटा हात माग

खुट्टा बाँधिएका मानिस
आऊ बेस्सरी बल गर
र खुट्टामा बाँधिएका
नेलहरू चुँडाल ।


आदत

जब रातमा भुक्दैनन् कुकुरहरू
निद्रा लाग्दैन मलाई
जब जाडोले हान्दैन कोर्रा
निद्रा खुल्दैन मेरो

म अचम्म मान्दिन
कुनै कर्मचारी सुतिरहनु सरकारी अफिसमा
र ऊ नउठेसम्म घण्टौँ कुर्नु
बानी नै परिसक्यो
एउटै कामका लागि बर्षाैँ धाउनु
र काम अझै  नबन्नु

जब लत पर्छ खराब कुराको
तब सुरु हुन्छ विनाश
ढोकामा स्वागत गरेर विनाशलाई
मस्त निद्रामा छु म

बाढीमा डुबिसकेको बस्तीको
कुनै एउटा घरको छानामा चढेर
उद्धारको प्रतीक्षामा हात हल्लाउँदै
बानी परिसक्यो मात्र आकाशतिर हेर्ने
घाँटी–घाँटीसम्म डुबेपछि रगतमा
आदत नै पर्दोरहेछ
मानिसको घाँटीमा सारङ्गी रेट्ने
र छटपटाहटको नृत्य हेर्ने

चाखेपछि कुनै कुरा
पखाल्न कठिन हुँदोरहेछ त्यसको स्वाद
र बारम्बार जाग्दोरहेछ तिर्खा

दुःखीलाई दुःख नै प्यारो
यो आदत हो खराब कुराको
जसलाई अँगालो हालेर
मुसुक्क हाँस्दै हिँडेको छु
निभेको आगोलाई मनभित्र राखेर
आगो ताप्ने आस गरेको छु ।

तपाईको प्रतिक्रिया