कवि कविता राई गाउँले नेपाली साहित्यको कविता बिधामा एक स्थापित र शक्तीशाली कवि हुन् । आफ्ना कवितामा जीवनका आरोह अबरोहहरुलाई अत्यन्तै शालिन र सुन्दर रुपमा राख्न सक्नु उहाँको बिशेषता हो । थोरै नेपाली महिला कविहरु मध्ये कविताको नाम अग्रस्थानमा आउछ । प्रचारप्रसार भन्दा चुपचाप लेखीरहन रुचाउने यी कविका कविताहरु आफैमा एक सुन्दर दस्तावेजहरु हुन् । प्रस्तुत छ साताको तीन कविता ।
बाटो
भुलेर पनि नसोध्नुहोला मलाई
नजाने गाउँको बाटो
बाटोले त अल्मलाएर मलाई
बाटोमै बन्दी बनाएर राखेको
वर्षौं भैसक्यो
जस्तो की
उठ्ने बित्तिकै उज्यालोलाई पछ्याएर हिड्न खोज्यो
घरभित्रै हराउँछ बाटो
कुनै बाटो
पुजा कोठामा पुगेर टुंगिन्छ
कुनै बाटो
चुलोको आगोमा पुगेर टुंगिन्छ
कुनै बाटो
पधेंरोमा पुगेर टुंगिन्छ
कुनै बाटो
कोठाको भित्ते घडीमा पुगेर टुंगिन्छ
कुनै बाटो
असरल्ल लुगाफाटोमा पुगेर टुंगिन्छ
कुनै बाटो
लथालिङ्ग भाँडाकुँडामा पुगेर टुंगिन्छ
कुनै बाटो
सोकेसको ऐनामा पुगेर टुंगिन्छ
ढोकाबाहिर पाइला राख्नेसाथ
आँगनभरी पोखिन्छ बाटो
जस्तो कि
एउटा बाटो पहिल्याएर हिड्न खोज्यो
अनायास एक परिचित अनुहारले छेक्न पुग्छ
र भन्छ –
के तिमीसंग मेरो अनुहार पन्छाएर अघि बढ्ने हिम्मत छ ?
फेरि
अर्को बाटो पहिल्याएर हिड्न खोज्यो
अचानक अपरिचित अनुहारको भिडले छेक्दै
यसो भन्छ-
के तिमीसंग यो भिडलाई छेउ लगाउने साहस छ ?
महासय
भुलेर पनि नसोध्नुहोला मलाई
नजाने गाउँको बाटो
किनकि
धमाधम खन्दैछु म त
मदेखि मसम्म पुग्ने बाटो ।
आमाको सिमान्त दुख
हर समय
अनुहारमा बाजा बजाएर
लम्पसार बाटोले आकाश हेर्दै एकोहोरो गाइरहेकोछ
प्रतीक्षाको गीत ,
त्यही बाटोको दाहिने किनारातिर
खस्न आटेको एक जोर आँखा हुँदै गुज्रिन्छ
भत्किदै गरेको मौनताको लय
र टक्क निहुरिन पुग्छ गह्रुंगो मन
बाटोको देब्रे कुनातिर …
नाजुक हावाको उकेरा लाग्दै सासले मुटु थर्थरिदा
अचानक आवाज बाहिरिन्छ –
हे भगवान !
उड्न खोज्दा खोज्दै
उड्न नसकेर पहाडको टाउकोमा टाँसिएको
बादलको टीका जस्तो
बाटोको निधारमा टाँसिएकोछ रातो टाटा
छेवैमा देख्न सकिन्छ
बिहान उठ्दै गर्दा असरल्ल परेको कपाल जस्तो
माडिएर कुरुप झाडीको अनुहार
कौतुहलताको बाँध फुट्न आँट्दा
केही तल भेटिन्छ
देब्रे खुट्टाबाट छुटेको फ्याट्फ्याटे एउटा चप्पल
चप्पल भन्दा पर….
जति खोजी गरे पनि नामोनिसान भेटिदैन केहीं
मानौं कसैले फुमन्तर गरे जस्तो
कुनै जादुइ शक्तिले आँखा छलेजस्तो
मान्छेहरूको लस्कर बिलाउदैछन त्यतै
याचनाका एक एक चिच्याहाट हराउदैछन त्यतै
प्रतिशोधका एक एक आवाज दबिदैछन त्यतै
नाराहरूको माला पहिरिएर सडक पनि टुंगिन्छ त्यहीं
उफ !
पोखाएर नसकिने दुख
बलिन्द्रा आसुँको धाराले धुन नसकिने पिडा
भगवान !
यतिबिघ्न निर्दयी परिस्थिति त शत्रुले पनि भोग्न नपरोस
चप्पल समातेर भक्कानिदै
अर्धचेतमा आमा बर्बराउछिन –
दोषी यहि भिडमा छ
मेरो नजिक
मेरो आँखाको सामुने
मेरै घरमा ….
अन्ततः आमाले आफैं सिंदुर पुच्छिन
पोते निकाल्छिन
र आखाँबाट आगो ओकाल्दै
पोते हुर्याउँछिन
पर……
पहरा जस्तो छातीमा अड्किएको
पोतेको लुंगबाट एक एक दाना पोते झरिरहेछन क्रमशः
के त्यो छाती आमाकै लोग्नेको हो ?
फाटकमा घाम
जब ओर्लिन्छ घाम आकाशबाट
तब मानेडाँडा छेउमा फुलेको
चाँपको फूलबाट खसेर हावा
यता जाउँकी उता जाउँ हुन्छ
हाम्रो फाटकमा…..
एकाबिहानै आँखा तन्काउन
घरका धुरीहरू खोजिहिड्ने
घामका मधुरा किरणहरू
प्रत्येक बिहान यसरी नै अल्मलिन्छ
घरी यता, घरी उता
घरका चिसा धुरीहरू माथी
हाम्रो फाटकमा….
शीतले कक्रक्क कक्रीएका
टिनको छानाबाट चिम्लिएर
फेरि अल्मलिन्छ घाम
पहिला आनीको आँखामा खसुँ कि ?
मेरा यी चिम्सा आँखामा खसुँ हुन्छ
हाम्रो फाटकमा….
जहिले घाम अल्मलिरहने ठाउँमा
यदि तपाईं नै आउनुभो भने पनि
पक्कै अल्मलिनुहुनेछ
कि
इतिहासले कोरिदिएको यो सिमानामा
म कहाँनिर उभिएकोछु भनेर,
हो , तपाईको दुई आँखाले मात्रै
कहिले छाम्न सक्दैन सिमाना
हाम्रो फाटकमा…..
आफ्नै लयमा धर्तीले
जब चाल्छ सुस्तरी ….सुस्तरी पाइला
तब त्यही लयमा
घामको छाँया बोकेर भ्रमित दौडिन्छ
घामसंगै घामको छाँया
आनी र मेरा दुई जोर चिम्सा आँखालाई
नाघेर र उछिनेर
अनि अर्को रेखा कोर्छ
तब म देख्छु
उही सिमाना
अदृश्य रूपमा
सरिरहेकोछ।।।सरिरहेकोछ
हाम्रो फाटकमा…..