कालेबुङ, पश्चिम बङ्गाल, भारतमा बसोबास गर्ने कवि भिमा राई ‘तोलाछा’ नेपाली कविता लेखनमा राम्रो सम्भावना रहेकी एक शक्तीशाली लेखक हुन् । उनका कविताहरुले आम मानिसको आवाजहरुलाई बुलन्दरुपमा बोलीरहेको हुन्छ । हालसम्म उहाँको हिउँ फुलेको देशमा तिमी हाम्रो मान्छे सन् २०१० र साङ्लाहरू सन् २०२१ प्रकाशित भएको छ । प्रस्तुत छ साताको तीन कविता ।

साङ्लाहरू

संसार सबैको हो भनेर
चुपचाप काम गरिरहेँ,
जहाँ हरिया फाँटमा हाम्रा नानीहरूले धित मरुन्जेल खेल्न पाओस्,
जहाँ आकाशका बादलले पनि धरतीका ती रगत र माँसुका डल्लाहरूसित
आरिस गरेको होस्,
वर्षाका रिमझिम ध्वनिले
तिनीहरूसित समाहित हुन
कैयौँ सेतु बनाएको होस्,
म यसरी सोच्दथेँ।

तिमी के गर्दैछौ, खोजी निन्दा गरिहिँड्ने मनै भएन
कारण आफ्नै थियौ,
घरको खाँबो थियौ

तर, तिमीले
मेरा हातहरूमा साङ्लो बाँधिसकेछौ
मेरा पाइलाहरूलाई भिराइएको लठारो के हात्तीलाई माकुराको जालाले अड्काउन खोजे जस्तो लाग्दैन र ? तिम्रा थरी थरीका लोलोपोतोलाई मैले प्रेमको संज्ञा दिएँ,
तिम्रा झुटा प्रेमका बहानाहरूलाई
मैले मायाको अँगालोले छपक्क छोपिदिएँ
जे जे गरेर तिमीले मेरो
स्वाधीन आकाश खोस्यौ,
मेरा सपनाहरूलाई बाहुन्ने सम्झियौ, हो, त्यही दिनदेखिको तिम्रो अनुकूलताको सिँढी फुस्किएको छ,
के के प्राप्तिको तिम्रो सम्पूर्ण प्रपञ्चलाई
मैले मेरो परिवार भनेँ,
त्यहाँ तिमी मालिक बन्यौ
म दासी भएर बसेँ।

तिम्रा एक एक आकाङ्क्षालाई
न्याय दिने ठाउँ
जसलाई मैले मेरो घर भनेँ,
मेहनत गरेँ, फुलहरू फुलाएँ, सजाएँ तिमीले त्यसलाई मेरो उडान छेक्ने पिँजडा बनायौ

र म
पल पल चिथोरिएर नङ्ग्याइएको, बेइमान हातले कोपरिएको
रक्तरञ्जित माटोमा उभिएकी छु
र यस्तो सोच्न थालेकी छु
बीसवटा हड्डी भाँचिएको जस्तो प्रसव पीडाको दर्द तिम्रो
गर्दनमा बर्साऊँ अनि
तिमीले बनाएको पिँजडा
हुर्हर सल्काइदिऊँ,
त्यसपछि…
एउटा कठोर आदेश जारी गरूँ-
कि त्यो भस्मबाट
‘एउटा रहरलाग्दो प्रेमको गीत गाऊ !’

इतिहास

रात परेको छ
बिहान उज्यालो हुन्छै हुन्छ
यद्यपि म अन्धकारको विरुद्ध
एउटा दियो जलाउँछु।
सयौँ तन्नेरी ऊर्जामाथि
हिमपात भइरहन्छ,
न्यानो भुप्रो फुक्छु फुक्छु ।

हातमा नेल ठोकिएको छ,
हेर्नलाई आँखाहरू प्रतिबन्धित छन्
सम्पूर्ण इन्द्रियहरूलाई बन्दी बनाए पनि
मस्तिष्कमा सङ्ग्रामको बिरुवा रोप्छु रोप्छु ।

कुन देश,
कुन गाउँ,
कुन धर्म,
कुन जात,
यी सबैलाई ललकार्छु
मान्छे पृथ्वीको सन्तान,
मान्छे आकाशको सन्तान,
सिमाना सिमानामा कोरिएका बन्दुकका रेखा मेटाउँछु, मेटाउँछु।

जत्ति नै क्रूरताको खेती गरियोस्
मर्ने छ एक दिन तिम्रो निरङ्कुशताको बियाड
जसरी मर्दै आएको छ इतिहासमा।

चियाबारीमा इप्सिताहरू

इप्सिताहरू
सधैँ कमान जान्छन्
पत्ती टिप्न
कलम काट्न
छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन्,
एकाबिहानै गहुँ र मकैका सातु होप्च्याएर गत्तिलो भारी घाँस ल्याइवरी
गोठका धन्धा सिद्ध्याउँछन्।

कुनै बेला इप्सिताहरू
मन्सी र बैदारलाई
गालाका मसिना खोपिल्टाहरू देखाएर होस्
या तीनपाने रक्सीको स्वाद चखाएर होस् सजिलो मेलो हत्याउँछन् ।

आठ फेल
माध्यमिक फेल
नामै लेख्न नसक्ने
मेरा इप्सिताहरू
आपनै देशको नाम जान्दैनन्,
आफैले उब्जाएको चियाले
विदेशी बजारमा कति भाउ पाउँछ
त्यो पनि जान्दैनन्।

इप्सिताहरू फुर्सद पाएमा टिभी हेर्छन्, टिभीमा कट्रिना, करिना र ऐशहरूका केश, आँखा, मुख, गाला खुबै हेर्छन्, पन्ध्रको खर्च लिन
आइतबारे बजार जाँदा
रासिनको चामल, आँटा र मट्टीतेलसँगै तीन रुपियाँको लिपस्टिक
पाँच रुपियाँको गाजलको डिब्बा लिएर घर फिर्छन्।

टलक्क टल्किने नाइलनका कुर्तीहरू लगाएर
हिजोआज इप्सिताहरू कहाँ जाँदैछन् ?
अचेल इप्सिताहरू
घरमा घुर्की लगाउँछन्,
पेवा पालेका पठेक्री
फुल पार्ने पोथीहरू बेचेर
सेकेन्डह्यान्ड मोबाइल किन्दैछन्
कुन्नि किन अचेल इप्सिताहरू बेइमान हुँदैछन्
सुकेनासले फोक्सो आधा खाइसकेकी आमा
सुक्खा खोक्दै भन्छिन्-
इप्सिताहरू रातभरि गाउँन थालेका छन्।

जे भए पनि, जसले जे भने पनि
मेरी इप्सिता पसिना बेच्थिन्,
इन्टरनेट नजानेकी इप्सिता हावाजहाज नचढेका, संसार डुल्न र चिन्न नसकेका
मेरा इप्सिताहरूलाई
संसारका रूप र रङ्ग देखाऊँ भन्दाभन्दै सुन्दर, स्वाधीन र स्वाभिमानी इप्सिताहरू
मुक्त आकाशमा पुतलीहरू जस्तै रमाउँदै
माथि-माथि उडेको हेरुँ भन्दाभन्दै दिल्ली र पुणेका कोठीहरूतिर लगिसकेछन्,
यतैतिरका होटलहरूमा पनि
रातैपिछे हुन्छन् रे नि इप्सिताहरू

कुन पहाडले छेक्यो मलाई कुन हातहरूले रोके मलाई
कुन व्यस्तताले अल्झायो मलाई
तिम्रो समीपमा पुग्नै सकिनँ
भन न इप्सिता, भन मेरा यी ग्लानिले चिहान चिहान परेको मनमा
प्राण अवश्यै भरिन्छ भनेर ।

तपाईको प्रतिक्रिया