मिक्लाजुङ गाउँपालिका -१, पाँचथरमा २०४८ सालमा जन्मिएका कवि बच्चु हिमाशुं नेपाली साहित्यमा पछिल्लो पुस्तामाँझ आलोचनात्मक अभिव्यक्ति राख्ने प्रिय कवि मध्ये एक हुन् । समाजसेवामा विशेष रुपमा रुचि राख्ने यी कवि धेरैजसो सडकमा भेटिन्छन् । नागरिक आन्दोलनमा आवद्ध रहेका हिमाशुं आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घको सचिवको रुपमा कार्यरत छन् । यीनका कविताहरुले भुई मान्छेको मुद्दाहरुलाई प्रखररुपमा उजागर गरेका हुन्छन्।। प्रस्तुत छ साताको तीन कविता ।

सोमिप्मेको नाममा

ए सोमिप्मे
सुन्यौकि हृदयको यो आवाजलाई
मारुङतेम्बेको बतासमा बयेली खेल्ने मुजिङ्नाखेयङ्नाको वैँशालु सुसेलीजस्तो
तमोर किनारमा बसेर समर्पणको धुन भर्दै गाइने हाक्पारे साम्लोजस्तो
माङयुङ लुङमा पाती चढाएर जाने बटुवाको मनोकामना जस्तो
चाहनाको पखेटा फिँजाएर तिम्रो मनतिर उडान भरिरहेको

महसूस गर्यौ कि यो चीजलाई
एक थुङ्गा सेक्मुरी फुङजत्तिकै जीवन्त
मेरो अस्थिपन्जरको तारघेरा नाघेर तिम्रो ममताको छहारीमा हाम फालिरहेको यो पकलुङ

निम्तो छ आऊ सुकाऔं हाम्रा सपनाहरुको बिस्कुन सेहोरुनाम्लाङको छातीमा
संकल्प छ उतारौं हाम्रा दुःखहरुको डुङ्गा मिक्लाजुङको पाखामा
कामना छ बदलौं तमोर र माईखोलाको प्रेमकथालाई सुखान्तमा

साक्षी राखेर खुवालुङ
थालौंकि एकसाथ जीवनको नयाँ अध्याय
कि यो जीवन, मूलबाटो अन्तै मोडिएपछिको उजाड देउराली नबनोस्
न बनोस् जीवन, रहरका भंगालाहरु छिचोल्दाछिचोल्दै बगरमा बिलाई जाने रतुवा खोला
सिँचिदेऊ मेरो बन्जर हृदयलाई तिम्रो स्नेहको काबेलीले
उभ्याऔं हामी यही भूगोलमा प्रेमको एउटा छुट्टै मुक्कुमलुङ

ए सोमिप्मे
गाह्रो छ विनाशको हुरी थामेर एक्लै फक्ताङलुङ उभिइरहनु
जति गाह्रो छ सबैसबै सुकाउने चेतनाको खडेरीमा यो सभ्यताको नदी बगिरहनु
आऊ ढाकौं मस्तिष्कहरुको फुङ्सेनलाई रोपेर सिङ्जाङ्गो फुङ जागरणको

लाखे है
कसैले लुकाई राखेको हुनसक्छ हतियार अरुण नदीको बगरमा

नडराउनू ए सोमिप्मे
अब त विचारको बलियो हतियार छ हाम्रो हातमा ।

अभियुक्त थारुको बयान

सरकार
म अपराधी हुँ

२०७२ भदौ ७ को दिन
मैले अचानक एउटा जघन्य अपराध गरेँ
मैले आफ्नो खोसिएको अधिकारको ढडिया
स्वयं न्यायमा कङ्गाल यो राज्यसँग खोस्ने दुस्साहस गरेँ

यो उर्वर भूमिको मनमुटु छाम्ने पहिलो मानव हुनु
मेरो पहिलो अपराध हो सरकार

मैले यहाँका जङ्गल, जमिन र जल
आफ्नै शरीरको अङ्ग सोचेर स्याहार्नु
मेरो अर्को अपराध हो

मैले त भएको जिउनी पनि
आप्रवासीहरुका नाममा गरिदिनुपर्थ्यो
जिन्दगीको लिलामी कागजमा, चोबेर आफ्नै रगत, औंठाछाप गरिदिनुपर्थ्यो
म त सोझो, सोझो, महासोझो भइबस्नुपर्थ्यो

मैले यही माटोमा हलोको निबले अक्षर कोरेँ
फसलहरुको कविता लेखेँ
यो जङ्गलको हरेक रुखका हाँगाहाँगामा
मेरो जीवनको अर्थ दिने शब्दहरुको पात उमारेँ
मलाई मेरै नशामा बहने रगतजस्तो लाग्छ यो नदी
यसकै बहावको सरगम सापटी लिएर कयौं गीत गाएँ
मैले मेरी आमाजस्ती यो माटोको पूजा गर्न हुन्नथ्यो सरकार
मैले यो जङ्गलका जीवजन्तूको नक्कल गरेर नाच्न हुन्नथ्यो
मैले यो राज्यको कुनै कुरा पनि आफ्नो ठान्न हुन्नथ्यो

राम्रो त यो हुन्थ्यो सरकार
मैले आजसम्म कमैया हुन राजी हुनुपर्थ्यो
मैले मेरै जमिन हडपेर बनेको नयाँ मालिकलाई
पुस्तौंपुस्तासम्म पालक मानिरहनुपर्थ्यो
मेरा छोरीचेलीहरु कम्लरी नै रहिरहून्
तिनले यो कथित लोकतान्त्रिक देशमा
आधुनिक दासत्व स्वीकार गरिरहून्
उनीहरुको अस्मितामाथि मालिकको पन्जा परिरहोस्
मैले त यस्तो पो कामना गर्नुपर्थ्यो

तर अचानक
हाम्रो एउटा पुस्ताले केही नबुझी
पढ्न थालेछ लोकतन्त्रको कथा
गाउन थालेछ अधिकारहरुको भाका
देख्न थालेछ मुक्तिको सपना
गल्ती भयो सरकार
उनीहरुले भुत्ते भएको हाम्रो मस्तिष्कमा चेतनाको पाइन लगाइदिन हुन्थेन
उनीहरुले एक घर एक विचारको बन्दुक घरघरमा थम्याइदिन हुन्थेन
सरकारसँग यसरी जोरी खोज्नै हुन्थेन

तर सरकार
कसरी सहनु आफ्नै देशमा अनागरिक हुनुको पीडा ?
कसरी बोक्नु यो हृदयमा दास बनिरहनुको हीनताबोध ?

तपाईं सयौं वर्षदेखि सत्तामा विराजमान हुनुहुन्छ
हामीभने देहातमा पनि सिमान्त हुँदै गएका छौं
तपाईं हामीलाई दया गरेर केही दिएजस्तो गर्नुहुन्छ
मनमा के कुरा खेल्छ र फेरि त्यो आफैँ खोस्नुहुन्छ
तपाईंलाई प्राप्त संरचनाको लाभांश
तपाईंलाई यति प्यारो लाग्छ, यति प्यारो लाग्छ
तपाईं बिर्सनुहुन्छ
तपाईंको असंवेदनशील अहंकारको फौजले हामीलाई निरन्तर लखेटिरहेको छ

सरकार
हाम्रो भूमिमा तपाईं जथाभावी नक्साङ्कन गर्नुहुन्छ
हाम्रो भविष्यको ठेक्का तपाईं लिन चाहनुहुन्छ
हाम्रो चेतनाको चिहानमा समृद्धिको महल खडा गरिदिनुहुन्छ
संविधानमा हाम्रोजस्तो देखिने धाराको मुहान थुनिदिनुहुन्छ
हाम्रो मुखमा ताल्चा र हातखुट्टामा साङ्लो लगाएर
तपाईं समावेशी समानुपातिकताको लड्डु बाँड्नुहुन्छ
तपाईं आरक्षण त आफ्नो करेसाबारीको तरकारी सम्झनुहुन्छ
तपाईं यो देशको भूमिपुत्रलाई पटक्कै गन्नुहुन्न
यसरी त कसरी चल्छ ?

जब हामी प्रतिरोधको मसाल बोकेर सडकमा उत्रन्छौं
तपाईं त्यसलाई सिंहदरबारतिर हान्निएको मिसाइल देख्नुहुन्छ
अनि भएभरको शक्ति बटुलेर दमनमा उत्रनुहुन्छ
तपाईं के सोच्नुहुन्छ, यो आगोको लप्का अब तपाईंले फू गर्दा निभ्छ ?

हतियार त हामीसँग पनि छ, विचारको
शक्ति त हामीसँग पनि छ, विद्रोहको

हो मैले अपराध गरेँ
अपराधीको अपराधका विरुद्ध प्रतिरोध गर्नु अपराध हो भने
मैले जरुर अपराध गरेँ

मेरो प्रतिरोधलाई अदालतले अपराध करार गर्छ भने
यो अपराधी राज्यलाई सिध्याउन म अरु अपराधीहरु जन्माउन तयार छु

के तपाईंको कारागारले हाम्रो विचारलाई थुन्नसक्छ ?
के तपाईंको मेसिनगनले चेतनाको लङमार्चमा लामबद्ध सबैलाई भुट्नसक्छ ?

तर हाम्रो विचारको हतियारले अब विद्रोह गर्नसक्छ

हो म अपराधी हुँ सरकार
यो विभेदकारी राज्यका विरुद्ध
प्रतिरोधी आगोको फिलिङ्गो बाँड्ने
म थारुहरुको विलियम वालेसु हुँ ।

संकल्प

बनाउन खोजेको थिएँ
समृद्धिका बुट्टाहरु भरेर देशको एउटा चित्र

तर जतिपटक मुटु निचोरेर रगतले देशको क्यानभासमा
बनाउन खोज्छु मैले देख्ने सपनाको चित्र
कुची समाइरहेको मेरो हात आफैँ लत्पतिएर क्यानभास बिद्रुप बन्छ

चित्रमा देख्छु
नाम्लोसँगै सडकमा लडिरहेको सूर्यबहादुर तामाङको लाश
घोंगी टिप्दै गर्दा पक्राउ परेको आदिवासी थारु
उपचारको अभावमा अन्तिमपटक सास फेरिरहेकी सुत्केरी महिला
भोक चपाइरहेका नानीहरु
मान्छेहरुले मान्छे नठानेको एउटा मान्छे
तुइनमा झुन्डिरहेको देशको प्रतिबिम्ब
न्यायालयको अगाडी न्याय कुरिरहेका अनागरिक आँखाहरु

केके केके उफ

यसरी कतिन्जेल चल्न दिने हो समयलाई शासकको मुटुको रफ्तारमा ?

अब म उठाउँछु चेतनाको कलम
त्यसको नीबले घोच्छु शासकको मुटुमा
निकालेर रगत तानाशाहको
कोर्छु भुईँमान्छेले गाउने गीतको धुन

यसपटक मेरो हात लर्बराउने छैन
आतुर छन् यात्रामा निस्कन शब्दहरु

म यो युगले गाउने एउटा गीत रच्दैछु ।

तपाईको प्रतिक्रिया