यो समय साहित्यमा आइरहेको नश्लवादी चेतलाई गहिरोसँग अध्ययन, अनुसन्धान गरिरहेका कवि , समालोचक तथा रङ्गकर्मी बच्चु हिमांशुले मुन्धुम अध्येता तथा लेखक थाङसाङ लाओती ‘महामूर्ख’सँग गत बिहिबार प्रकाशित उनको किताब ‘मुन्धुम परम विज्ञान’माथि गरेको कुराकानी ।
प्रश्न: तपाईंको किताब ‘मुन्धुम परम विज्ञान’मा तपाईंले मुन्धुम र विज्ञानबीच अन्तर्सम्बन्ध छ भनेर तर्क गर्नुभएको छ । किन तपाईंलाई यो विषयको उठान सान्दर्भिक लाग्यो ?
जवाफ: यो किताबको मुख्य ध्येय मुन्धुम विज्ञानसम्मत छ भन्ने बुझाउनुमात्र होइन । त्यो भन्दा पर वस्तु अर्थात पदार्थमाथिको अन्वेषणमा मात्र सिमित नरही चेतना, आत्मादेखि परमात्मासम्बन्धि आफ्नो स्पष्ट दृष्टिकोण राख्नु हो ।
प्रथमतः विचार प्रधान कि पदार्थ प्रधान भन्ने अन्तहीन विवादको निवारण गर्दै मुन्धुम निश्कर्ष दिन्छ, चेतना र पदार्थ अलग होइनन्, एकै सिक्काका दुई पाटा हुन् । मुन्धुमले चेतना पदार्थभन्दा अलग होइन भन्छ ।
दोश्रो, ब्रम्हाण्डको आरम्भ र अन्त गतिमा निर्भर छ भन्छ मुन्धुम । अर्थात मुन्धुम भनेको नै गति हो । यो ब्रम्हाण्ड एक अद्भुत बल वा शक्तिले चलायमान हुँदाको परिणाम नै उत्पति र अन्तको कारण हो भन्छ मुन्धुम ।
तेश्रो, मुन्धुम अनेक विधाहरुको संग्रह हो । तसर्थ विज्ञान विषय स्वतः मुन्धुमअन्तर्गत पर्दछ र मुन्धुम आफैँमा विज्ञानसम्मत हुने नै भयो।
प्रश्न: मुन्धुमलाई विज्ञानसम्मत छ भनेर तर्क गर्दै गर्दा यो त पुरानो मान्यतातर्फ फर्किन खोजेको जस्तो देखियो । नेपाली समाजलाई नजिकबाट हेरिरहेका मान्छेहरुले अबको नेपाली समाजलाई आवश्यक दर्शन भनेको आदिवासीवाद हो भनेर दाबी गरिरहेको पाइन्छ । के तपाईंको निचोड पनि यही हो ?
जवाफ: मुन्धुमी मान्यता पुरानो वा नयाँ मान्यतासँगमात्र सम्बन्धित छैन, मानवसमाजको रुपान्तरणको सवालमा होस् वा आत्मिक मुक्ति वा अधिकार प्राप्तिको सवालमा, यसले सबल र सापेक्षिक धारणा व्यक्त गर्दछ । नेपाली समाजलाई आवश्यक दर्शन भनेको आदिवासीवाद हो भन्ने जो दाबी छ, त्यो आफैँमा कति सापेक्षिक छ भन्ने सवालमा मुन्धुमले त्यसको वैचारिक आधारको सबल प्रक्षेपणलाई आधार मान्छ । यतिचाहिँ भन्न सकिन्छ, मुन्धुम नेपाली समाजलाई विगतदेखि वर्तमानसम्म कहिँ न कतै डोर्याइरहेको एउटा महत्त्वपूर्ण दर्शन हो । यसो र, आदिवासीवाद मुन्धुमी मान्यताभन्दा फरक हुनसक्दैन भन्ने मेरो आफ्नो धारणा हो । यदि आदिवासीवादले मुन्धुमको वैचारिकीलाई अंगीकार गर्दछ भने यो अबको उत्कृष्ट वाद बन्नसक्छ ।
प्रश्न: हिजो हाम्रो समाजले उठान गरेका विषयवस्तुहरुमाथि अब हामी आत्मालोचनात्मक चेतका साथ प्रस्तुत हुनुपर्छ भन्ने केही विश्लेषकहरुको मान्यता पाइन्छ । यसको ठिक विपरित तपाईं भने पुर्खाहरुले जे बोले वा लेखे, त्यो सतप्रतिशत सही थियो भनेर तर्क गरिरहनुभएको छ । यस्तो किन त ?
जवाफ: हाम्रा सम्बुद्ध पुर्खाहरु जसले मुन्धुमी अवधारणा प्रस्तुत गर्न सक्षम भए, उहाँरुलाई हामी सम्मान नगरिरहन सक्दैनौं । तर कालान्तरमा मुन्धुमी अवधारणालाई संस्कारगत तहमा मात्र उपयोग गरिएको अवश्य हो । मुन्धुमको सबल वैचारिक मान्यताप्रति हाम्रो समाज मौन रहेको अवस्थामा यो किताबले विषयवस्तुको उठान गरिदिएको भनेर बुझ्नुपर्छ ।
प्रश्न: किताब पढ्दा वा तपाईंले दिइरहनुभएको जवाफ सुनिरहँदा के बुझिन्छ भने, मुन्धुमलाई नै तपाईंले समाजको चालन सिद्धान्त मान्नुभएको छ । यो त तपाईंमा मात्रै लागु हुने कुरा भयो नि ? मुन्धुमका कुरा नमान्न पाइँदैन र ?
जवाफ: नमान्न पाइन्छ तर मुन्धुमभित्रको सर्वमान्य मान्यतालाई कसैले इन्कार गर्न सक्दैन भन्ने मेरो कुरा हो । सबल र सापेक्षिक मान्यता जो मुन्धुममा विद्यमान छ, त्यसलाई हामीले अब उजागर गरेर मानव चेतनामा भर्नुपर्छ । हिजो विज्ञानलाई अस्वीकार गर्ने समाज र जमात आज विज्ञानकै पछिपछि कुदिरहन बाध्य छ, यो पनि हेर्नुपर्छ ।
प्रश्न: उसोभए तपाईंको किताब पढिदिने पाठकहरुबाट के अपेक्षा राख्नुभएको छ ?
जवाफ: यो किताब पाठकहरुले अध्ययन गरेर मुन्धुमको सापेक्षिक मान्यताहरु उजागर गर्न सबैजना लागि परौं । मुन्धुमलाई संस्कारगत तहबाट माथि उठाएर मानवसमाजलाई रुपान्तरण गर्न र जगतप्रति अब्बल धारणा विकास गर्न सबैजना तत्पर होऊन् । यो किताबले मुन्धुममाथि सर्वमान्य धारणा बनाउन र जनमानसको हृदयमा स्थान बसाउन सकोस् भन्ने मेरो अपेक्षा छ ।