धरानको विजयपुरमा जन्मीएका लेखक तथा अभियन्ता अमित थेवे मिहाङ लिम्बुवान आन्दोलनका एक शक्तीशाली खम्बा हुन् । हाल बेलायतको केन्टमा रहेका थेवेले व्यवस्थापनमा स्नातक गरेका छन् । एक दर्जन भन्दा धेरै महन्वपुर्ण संस्था र पदमा रहेर काम गरिरहेका यी सर्जक हाल विश्व नेपाली साहित्य महासंघ , दक्षिण यूकेको सचिवको रुपमा कार्यरत छन् । लेखन, पत्रकारिता, अध्ययन अनुसन्धानमा संलग्न र करिब पाँच सय बढी फुटकर रचना, सिर्जना एवम खोजमूलक लेखहरू प्रकाशनमा ल्याइसकेका उनको सृजना र बिचारमा पहिचानको बिषय जबरजस्तरुपमा आएको हुन्छ । यी सर्जकले नेपालमा चलीरहेको हरेक पहिचान सम्बन्धी आन्दोलनमा लेखेर, बोलेर आफ्नो उपस्थीति जनाइरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।
न्वारान
उहिले उहिले
एउटा पहाड ब्यूँझेर उठ्यो
तम्मरको किनार छेउबाट
हिँड्दा हिँड्दै
सायद थाकिन् युमा माङ
र
आराम गर्न अल्पिइन् त्यहीँ पहाडभित्र
अलिकपछि
आफ्नो भोक मेटाउन
सुसुवेङ लालावेङ धनुकाँड भिरेर
सिकार खेदाउँदै आइपुगेँ पहाडनेर
अनि,
सावायेत्हाङसाका सन्तानहरू
पहाडलाई फन्को मारेर बसे
डाँडाका जङ्गलहरूमा
निकै जुगपछि
एक हूल जोगीहरूले टेके थुम्को
र,
देखेँ रगतको भोग खाने देवीको अवतार
सबैभन्दा अन्तिममा
हामी
आइपुगेका छौँ
डाँडामाथि प्रश्नसहित
-कहाँ अलप भइन् हाम्री युमा माङ ?
-कहाँ हरायो हाम्रो डाँडाको नाम ?
पतझड
चकमन्नतामा
डुब्दैछ धर्ती
बिस्तारै….बिस्तारै…. ?
आकाशमा उड्दै गरेको शीत लहरको विमान
मुटुको फेदमा बस्न छ तम्तयार ! ! !
हिउँका गोला टाउकोमा झर्न छ ठिक्क,
हाँगाका कुहिनाहरूबाट एक एक गरी चिप्लिँदैछ पात
त
ल
बिस्तारै..बिस्तारै… ??
देवलिङ्गेको खेतभन्दा पहेँलपुर भएर
चाउरिन्दैछ समयको अनुहार
खोलाको किनारका वस्तीहरूमा डोजर चलेझैँ
एकैपटक उजाड बनाउँदैछ वन र मन
अब, सायद
केही क्षण गहिरो निँदमा जानेछ शरद
सधैं जसो गरी
र,
पातको कार्पेट बिछ्याएर
स्वागत गर्नेछ हिउँदलाई ।
एकान्तमा
पस्दैछ धर्ती
बिस्तारै…बिस्तारै…???
ऐना
बिनाबित्थामा
अगाडिको भित्तामा
कसले झुण्डाइरैछ
थोत्रो ऐना ?
कुल्चिराख्या माटोभन्दा आदिम
देखिराख्या कट्टुसभन्दा बूढो
अनि,
केसामी नाम्सामीको मिथभन्दा पुरानू
यी अनुहारहरू किन फिटिक्कै देखिन्दैनन् ?
एउटै फ्रेमभित्र परे पनि
किन तेस्कै अनुहार कान मात्रै ?
किन तेस्कै नाक मुस्कान मात्रै ?
– जस्तो कि हामेरको अनुहारै छैन !
– जस्तो कि कवाडी भैसक्यो ऐना !
सप्पैलाई थाभाको कुरो,
– हजारौं थोपाले बन्छ समुन्द्र
– हज्जारौं टुक्राले बन्छ ऐना
अनि,
– हज्जारौं अनुहारले बन्छ देश
तिमेरलाई थाभाको कुरो,
– घटेन भने पानी समुन्द्र नै पोखिन्छ
– अटेन भने टुक्रा ऐना नै टुक्रन्छ
हामेरलाई थाभाको कुरो
– ऐना र देश उस्तै हुन्छ ।