भारतको नागालैण्डमा २०२२ साल मंसीर १९ गते जन्मिएका चन्द्र घिमिरे चालिसको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन् । बाल्यकाल नागालैण्ड र धरानमा बिताएका घिमिरेले युवावयदेखि धरानबाटै लेखन शुरु गरे । धरानमा छँदा ‘अर्को जमात’ नामले चर्चित समूहसँग आवद्ध घिमिरेका हालसम्म दुई कविता सँग्रह ‘डन्ट टच मी कविताहरु’ (फाइनप्रिन्ट) सन् २०१२ मा र ‘काठको बाकस’ (साँग्रीला बुक्स) सन् २०१६ मा प्रकाशित छन् । उनका थुप्रै फुटकर कविता, संस्मरणात्मक निबन्ध र कथा प्रकाशित भईसकेका छन् । पछिल्लो केही समय यत्ता उनी उपन्यास लेखनमा पनि सक्रिय रहि आएका छन् । नर्वेको बर्गेन विश्वविद्यालयबाट एमफिल, त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल सहित एम पिए र एम बिए साथै बिएल गरेका घिमिरेको हाल काठमाण्डौंको किर्तीपुर न.पा. मा बसोबास छ । पेशातर्फ लामो समय नेपाल सरकारको उच्च अधिकारीका रुपमा कार्यरत रहेकामा सेवा निवृत्त भए पश्चात घिमिरे हाल व्यापार तथा औद्योगिक नीति अनुसन्धानकर्ताका रुपमा सक्रिय देखिन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

कम्रेडको जितपछि

भोट गन्ती सकिएकै थिएन
गाउँलेसँगै रौसिएर त्यसदिन
रकेट झैँ उड्यो नजरमान बम्जनको खुसी
र आकाशको चउरमा मडारियो
नमडारियोस पनि किन !
ऊ पनि लाल मतदाता थियो
खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट !
सट्टामा
प्रिय कम्रेडलाई मेयर पाए
दिनैभरी खाए, पिए, खादा लाए
र,
ठानेँ दुनियाँलाई पाइतालामुनि अटाए ।

राती अबेर नजरमान घर पुग्यो
ऊ अलि मुडमा ओर्लियो
चरिमायातिर लच्किँदै बतास लायो–
‘सुन् ! बूढी, आजबाट हामी नि सार्वभौम भयौँ !’
सुनेर चरिमायाको चम्केको आँखाले खोज्यो
– “बूढा ! अरब जाने टिकट हो यो ?”
भेउ नपाएर उसलाई छिँयु लाग्यो
र,
भोली बुझ्ने तारिख लिँदै भारी बिसायो
चरिमाया त्यस रात खुबै उदार भई ।

भोली दिनैभरी विजय जुलुस हिंड्यो
अबिरमा पुरिएको थियो नजरमान
बेलुका मूड मात्रै लिएर रित्तो फिर्यो
जवाफ नभेटेकी चरिमायाको मन यत्ता पिर्यो
र,
उसको त्यो रात अनुदार बस्यो ।

चरिमाया छेउ नपरेकी त्यो चिसो रात
तनावले नजरमानको निन्द्रा खलबलियो
डोकाले छोपेको कुखुरो हेर्दै सोच्यो
त्यो ‘सार्वभौम’
–खेत थियो कि बारी ?
–वृद्ध बाउको ओखती थियो कि छोराको स्कूले–फी ?
कस्सिएको बिर्को खुलेन
कम्रेडलाई त्यही सोध्न अर्को बिहानै बिम्झियो
कुल्ला नगर्दै नजरमानको नजरमा चढ्यो
पऽऽर कम्रेडको डिलमाथि अनौठो जन्तु
दौडेर ऊ निमेषमा त्यो छेउ पुग्यो
मौरी जस्तै गाउँलेबाट जो घेरिएको थियो
कम्रेडकी दुलहीसँग एकथरी धूप–अछेता छर्दै थिए
त्यो रहेछ
– कम्रेडको नयाँ डोजर
यसरी गाउँले काखातिर
डोजर गाउँ छिर्यो र बंगुरझैँ जताततै खोदल्न थाल्यो ।

त्यस यत्ता
डोजरलाई भ्याइ–नभ्याइ भो
रमिताका लागि धुले केटाकेटी धुइरिए
घरका कुनाकानीमा खोकि बस्ने बूढाबूढी ओइरिए
परदेशिएका लाहुरेका पियारीहरु सोहोरिए
यसबीच-
गाउँलेको बातचितमा धमिलो खहरे पनि मिसियो
–घरी डोजर चालक र सातमा पढ्ने धनमायाको हल्ला
–घरी धनमायाको समवयी पेमासँग खलांसीको सल्लाह
यसबीच
आगलागी भो, महामारी भो
जेजे भएनि गाउँलाई एउटै सन्तोक भो
कम्रेडले विकासको नयाँ अवतार गाउँमा हुल्योे ।

गएको असार
बाटो डोजरले खन्दै जाँदा
आधारातमा पहाड खस्यो
त्यो पहाडमुनि नजरमानको घर फस्यो
बाटोको मुआव्जा नपाएर ऊ सँधै पिरोलिन्थ्यो
ऊ सपरिवार नभेटिएको पनि
आज उन्नाइस दिन कट्यो
केवल
चरिमायाको टुहुरो चप्पल भेटियो ।

कम्रेडको डोजर निष्फिक्री चलिरह्यो !

जोसँग अनुहारै थिएन
१.
ज्वरो आउँदा–आउँदै
बम्बै दादर स्टेशनबाट हिंडेथ्यो
एकतिस वर्षे जोगी साउद गौरीफण्टा आई नपुग्दै
पलिया रेल स्टेशनबाट निक्लँदा निक्लँदै भाउन्नियो ऊ ।
जसोतसो
शिरको बोरा बिसायो
हातको ट्याँका आँफै खस्यो
लत्रेर ऊ बाटो मै लम्पसार पर्यो ।

छेउमा डराएर कुकुर भुक्यो
केही छिनमा रेल्वे पुलिस देखिए ।
ठानियो
उसको मृत्युले यात्रुको बाटो छेक्यो
र लास टिपेर हिंडे ।
यसरी बिदा भए
सन् १८०९ तिर
काँगडामा अमरसिंह थापाको भारी बोक्दै
सीमाना बढाउन बाजुराबाट हिंडेको नागी साउद
उसको जनाती जोगी साउद
तिन्ले परदेशमा बाँच्न लडेका
लेख्न कसैको नजर नपरेका फुटकर कथाहरु !

२.
सन् २०२० को एक दिन
कतारतिर उम्लियो कोरोना
असारे सार्की पनि रोगायो
सँगै बस्ने साथीहरुले उसलाई अलग्याए ।
एक्लिएको ऊ
दिनदिनै गल्यो
पर्समा राखेको बाटुली सार्कीको तस्बीर
र,
अहिलेसम्म नदेखेकी छोरीलाई किन्दिएको गुडिया, नियाल्दै ।
गुडिया नि नचिन्नेगरी
ऊ झनै थलियो
अप्रिल २३ को साँझ
ऊ अन्तिमपल्ट हल्लियो
प्लास्टिक पोकामा बिदा लियो ।
मुख्तियार भिमसेन थापाको हरेक जुत्ता सिलाएकोे
मुख्तियारको खुट्टा सजाएको
र पनि नाममा अपमान कमाएको उल्के सार्की थियो ।
उसैको जनाती थियो, दोहामा बितेको
–त्यो अलिखित विरासतको हकवाला !

३.
पन्ध्र नटेक्तै
पार्वतीले गरेको बिहे टिकेन ।
एक्ली छोरी माइतीमा छाडेर
एउटा झुण्डमा झुण्डिएर
ऊ दिल्ली पहाडगन्ज आइपुगी ।
त्यहाँबाट उछिट्टिएर
केन्यामा नाच्न थाली
एकदिन
नैरोबी घुम्दा अपहरणमा परी
त्यो पछि के के भो, नखोलौँ ।
मोबाइल मात्रै ज्यूँदै भेटियो
एकलासको मकैबारीमा
मोबाइलमा नफर्काएको अन्तिम मेसेज देखियो
–छोरीको
ओखलढुङ्गा लिखुबाट आएको !
बालखैदेखि उसँग थियो
बूढो हजुरबा कान्छा तामाङ्गले भोटबाट ल्याएको
र राती सुताउनलाई छोरीलाई सुनाउने गरेको
–भोटको लडाइँमा बाँचेको सवाइ !

४.
बाइसा उमेरमा
उषा थापा मगर काठमाडौं पसी ।
पहिले उसले कविता लेखी
बाँची
पत्रकारिता गरी
बाँची
भलिबल खेली
बाँची
एक दिन निधो गरी
अमेरिका पस्ने !
बाटामा
रसिया पुगी
ब्राजिल पुगी
पेरु पुगी
धेरैपल्ट
दिनभरी सुत्नु र राती लुकि लुकि हिंड्नु थियो
बाँची
एक दिन घना जङ्गल छिचोल्नु थियो
बाटामा लुटालुट भो, चुटाचुट भो
बाँची ।
अर्को एक दिन
डुंगामा समुन्द्र तर्नु थियो
नौका डुब्यो
ऊ सन्तान थिई
–सिन्धुलीगढीको लडाइँमा भिडेको
गोर्खाली लडाकु तुला थापा मगरको
कप्तान किनलकको निधारमा
कस्सेर बजाएको गुलेली उसैको थियो
डुबेकी उषा यसपाला फिरिन ।
बाटामा चिनेको सिरियाली मुस्तफा थियो
उसले फुकेको पिरतीको बेलुन फुट्यो
सिन्धुलीगढी लडाइँ बाँचेको कथा डुब्यो !

५.
स्वास्नी थलिँदा पनि
छेदु चौधरी हात्तिसारमै रैछ
बाढीमा गाउँ बग्दै गर्दा पनि
ऊ हात्तिसारमै रैछ
एक रात
आमालाई बाघले घिच्याउँदै लग्यो
ऊ हात्तिसारमै रैछ
अर्को एक दिन
अजिङ्गरले दुधे बाच्छो निल्यो
ऊ हात्तिसारमै रैछ ।
द्धन्द्वमा टुरिष्ट नआएको निहुँमा
जागीर उसैको चिप्लियो ।
त्यसपछि
ऊ एकाएक हरायो
एउटा अमिलो–धमिलो साँझ
घरमा ऊ एकाएक झुल्किँदा
स्वास्नीले देखि, छेदुसँग–
सौता जस्तो भिसा उभिएको !
एकै हप्तामा
ऊ मलेशियाको तातो हावामा तैरियो
तर ऊ कहिलै फिरेन !
–भन्थे,
मेशीनले तानेथ्यो, उसलाई !
जस्तो कि
सन् १८५८ मार्चको कुनै एक दिन
मानकलीलाई डोहोर्याउदै
उसको माउते जिजुबुबा पुलिस चौधरी
लखनऊ छिरेथ्यो
जो नबाबहरुलाई दबाउन
श्री ३ जङ्गबहादुर राणाको भारी बोकेर उत्ता खटिएथ्यो ।
लडाइँ लड्दै इमामबाडाको गल्लीमा पसेथ्यो
लडाइँ निख्रेपछि
लुटेको लखनऊ बोकेर
गोर्खाली दलबल फिर्यो
बाँके, बर्दिया, कैलाली, कन्चनपुर पनि फिर्यो
तर पुलिस चौधरी फिरेन !

ती जो थिए
हाम्रो साँध–किला जोड्नेका सन्तान थिए
उभिने माटो पाएनन
र नउदाउँदै– परदेशमै अस्ताए !

काठको बाकस

आमा हल न चल
निर्यात हुन्छन्
उनको पासपोर्टधारी
महँगा छोराछोरी
र आयात हुन्छ
काठको बाकस ।

खाइलाग्दो छोरो माइँला
कोक्रो छोडेदेखि
आमा समूहको रिनको बाख्रा चराउँथ्यो
तन्नेरीमा
जुनेलीलाई आलोकाँचो प्रेमपत्र थमाएर
भुर्र उडेपछि
सिसा पुछ्ता पुछ्तै
जुनेलीको आँसुले लफक्क त्यो कुसुमे रुमाल
खस्यो सोह्रौँ तल्लाबाट
काठको बाकसमा ।

रहरलाग्दी छोरी दिलकुमारी
आमाको चुल्ठी बाटिदिन्थी
लिखा टिपिदिन्थी
गालाको झ्याङमा स्याउ नपाक्तै
छोरी थिई
स्वास्नी बनायो
सिँदुरको धुलोले
बयालिस दिने बालख छोरो र खसमबाट छुटाएर
दूर देशको साहुको घरमा हुल्दियो दलाल पदमबहादुरले
खुत्रुक्क खस्यो त्यो काँचो स्याउ पनि
प्याकेजिङ भएर
काठको बाकसमा ।

छोराछोरीका पराजित हस्तरेखाहरु
दुधको भारा तिर्न
एकाध महिनाको कमाइसाथ
उत्तानो बाकस चढेर
आमाको पाउ ढोग्न आइपुग्छन्
र माफी बिसाउँछन्
पठाउँदा रिन लागेका बाबाका गोडामा ।

देशव्यापी बन्दमा पनि
नटेरी आमाका तकियामा
जन्मिए, हुर्किए
अनगन्ती काठका बाकसहरु
बेहोस आमालाई पानी छ्याप्तै घाटतिर दौडिए ।

यसपाला भोट माग्नेले
फलामे मुटु हालिदिने बचन दिएका छन् आमालाई ।

तपाईको प्रतिक्रिया