कविता कथा उपन्यास लेखनमा सकृय कवि कविता राईको हालसम्म ‘आमा र जून’ कविता संग्रह प्रकाशीत छ प्रस्तुत साताको तीन कविता
नाति
प्रत्येक तीन महिनामा
वृद्ध–भत्ता थाप्छु म
अनि छेवैमा बस्छ मेरो नाति
खल्तीबाट झिक्छु
र,
दिन्छु हजारको नोट
उसलाई थाहा छ
मेरो छेउमा कति पटक आउनु पर्छ
ऊ आइरहन्छ र म दिइरहन्छु
हजारको नोट, अन्तिम पटकसम्म ।
सम्झन्छु आफूलाई
ऊ बेला
वेसाहा बोकेर खुवाउने
बा थिए
बाको आँखा छलेर
पैसा दिने आमा थिइन्
खैनी माडिन्थ्यो
सुसेल्दै हिँडिन्थ्यो डाँडा–डाँडा
हिरोनीको कुरा गरिन्थ्यो
पछि लागेर रुनेहरूको
हुलै थियो
जवानी थियो
के थिएन ?
सब थोक थियो ।
मेरा लागि मरिमेट्ने
स्वास्नी थिई
उसका लागि मसँग समय थिएन
तर, मेरा लागि ऊसँग भरपुर माया थियो
अहिले मसँग समय छ
तर उसको साथ छैन
जाँगर छ तर ताकत छैन
घाम झुल्कन लाग्दा चिरबिराउने
घाम अस्ताउन लाग्दा बास बस्ने
चराले सिकाएकै थिए
कौशीमा घुर्ने परेवाले
पढाएकै थियो
समयको आफ्नै प्रहर हुन्छ
समयको आफ्नै कहर हुन्छ ।
म भन्छु यी कुरा
ऋतु दोहोरिए जस्तो
रुखका पालुवा फेरिए जस्तो
प्रत्येक पूर्णिमामा जून आए जस्तो
पुरानो हाँगामा प्रत्येक वर्ष गुलाब फुले जस्तो
यही जिन्दगी आउन सक्दैन फेरि
पत्याउँदैन मेरो नाति
निभ्न लागेको आगो
अस्ताउन लागेको घाम
कसलाई मन पर्छ र हगि !
प्रेम गीत
एउटा प्रेमिल देश
जहाँ थिए
मुटुले बनेका राज सिंहासन
विश्वास र भरोसाले लेखिएका
सार्वभौम संविधान
प्रणयको राजदण्ड समाएर
सिरा–धमनी जडित मुकुटमा
मुस्कुराइरहेका एक राजा
त्यो तिमी नै थियौ रे !
राजदरबारको बाटो भएर हिँडेकी
एक यायावर युवती
जसको एक झोँक्का स्पन्दनको निश्वासमा
निस्किएछन् संगीतका आलापहरू
अनि मिसिएछन् त्यहाँ सातै स्वर
निर्माण भएर गुञ्जिएछ
एउटा सुन्दर गीत
मिलेर इन्द्रणीका सातै रङ
बनेछ एउटा सुन्दर आकृति
जहाँ उसले भरिलो महसुस गरिछे ।
रुखले पालुवा फेर्न
बैशाख पर्खेछ
फूलले वैंश छर्न
बसन्त पर्खेछ
हर शिशिरमा
गुमनाम भएछन् सरिसृप
किनारा फैलाउन खोलाले
साउन पर्खी बसेछ
बिहान मात्र उदाएछ घाम
घाम भन्दा शक्तिशाली बनेर
बसन्त भन्दा रङ्गीन भएर
आइरहेछ उनैको सदावहार याद
फैलिएछ बेहद सम्झनाका आयातन ।
गुलाबले कसलाई प्रेम गर्छ ?
तर सबैले गुलाबलाई प्रेम गर्छन्
छोडेर जान्छन् हजार प्रेमीहरू
अस्तित्व लुट्छन् चुँडेर खुलेआम
डसेर जान्छ भमरो
भाव–शून्य मुस्कुराइरहन्छ गुलाब
प्रेमको प्रतीक बनेर
अनि,
रचिरहन्छन् पागल प्रेमीहरू
यसरी नै वियोगका प्रेम गीत
बाटैमा रोकिएर सोधिछे युवतीले
के तिम्रो देशमा
यस्ता गीत गाउन मिल्छ ?
देश खोज्दै जाँदा
इष्टिकोटको भित्री गोजीमा
प्रियतमाले हालिदिएको नागरिकता बोकेर
आमाले झोलामा हालिदिएको
अलिकति गुन्द्रुकको अचार र सातु पोक्याएर
निस्किएँ म देश खोज्नलाई ।
अक्कर काटेर
अरुणको बगरै बगर लेगुवा पुग्दा
असाध्यै धापिएँ
नदीमा पानी तिर्खा मेरो आँतमा
नसक्नुको प्यास रहेछ देश भनेर
बुझेँ पहिलो पल्ट ।
धनकुटा काटेर चुरे चढ्दै गर्दा
छिप्पिएर आएछ भोक
आमाले हालिदिएको सातु पनि सकिएछ
पाङ्ग्रा र भलाया प्रिय लागेनन्
अघाउँछु कि भनी
ढुङ्गा र माटो उठाएर सुँघेँ
झनै बटारियो पेट
नसक्नुको भोक रहेछ देश भनेर
बुझेँ दोस्रो पल्ट ।
बल्ल–बल्ल भेडेंटार उक्लिएर
थकित मन मस्तिष्क बिसाएर
सुस्ताउँदै गर्दा
हिँड्दा हिँड्दा पिल्सिएका पैताला
सुम्सुम्याउँदै गर्दा
झमक्कै साँझ परेर आयो
हत्केलाले एकाकार गर्न खोजेँ दृश्यलाई
तारा जस्तै पर
चम्कँदै थियो धरान बजार
कहीँ आकाश गङ्गा कहीँ ब्ल्याक–होल रहेछ देश
भनेर बुझेँ तेस्रो पल्ट ।
सोध्न बिर्सेछु आमालाई
हिँड्ने बेलामा
कहाँ हुन्छ देश
आकाशमा उदाउँछ कि
माटोभित्र हुन्छ देश ?
पूर्णाङ्कमा कहाँ हुन्छ देश ?
हराएँ देश खोज्दा खोज्दै
गाउँदेखि शहरसम्म
मैदानदेखि हिमालसम्म
कहाँ खोजिन देश
मैले बोक्ने इट्टाका थाकहरूमा
मैले चाल्ने बालुवाका कणहरूमा
मैले पकाउने च्याँख्लाहरूमा
अहँ, कहीँ भेटिनँ देश ।
सुदूर गाउँमा
मेरो काजक्रिया सकियो होला
अझ यो फुलेको दाह्रीजुँगाले
बोल्दो हो कि त देश
मेरो उदासीले
सुस्काउँदो हो देश
मेरो नागरिकताले भेट्दो हो देश !