हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ । बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेका हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेवल  नलगाई आफ्ना  कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनका कविताहरुमा पाइन्छ । प्रस्तुत छ साताको तीन कविता ।

वंश युद्ध

एउटा सङ्कल्प यो
एउटा अठोट यो…!

प्राचीन पितृसत्ताले रचेकोे
जञ्जिरजस्तो समाजभित्र
अंशमा नपरेको मेरो अस्तित्व
र, तिम्रो वंशमा स्वीकार नगरिएको
मेरो गर्भको अनाम शिशुलाई
अब जन्म दिनु छ यस धरतीमा
र, दिलाउनु छ
गर्भमै खोसिएको उसको हक–अधिकार
र, निर्माण गर्नुछ
आत्मसत्ताको स्वाभिमानी संसार !

पुरुष–परम्पराले कोरेका
एक एक लक्ष्मणरेखा पार गर्दै
उठाउनुु छ आत्मसम्मानको ग्रेटवाल
सृष्टि जोगाउने नारीलाई
कमजोर ठान्ने अहंविरुद्ध
उभिनुछ अटल पहाड !

रणभूमिमा उभिएको योद्धाले
गरयो भने आफ्नो प्राणको माया
कहाँ कहलिन्छ र ऊ वीर योद्धा
हो, म आफ्नै प्राणको मोह त्यागेर
उभिएकी छु रणभूमिमा
तयार छु रणमा होमिन ।

कसलाई अनुमान छ कि
म ज्वालामुखी हुँ
यसै धरतीको गर्भमा लुकेको
विष्फोट हुन सक्छु कुनै पनि बेला ।

रणमा म मारिन पनि सक्छु
यदि मारिएँ भने
अमर वीर योद्धाको सम्मानद्वारा
सम्मानित हुनेछु
स्मारकमा सजाइनेछु,
रणमा म लुटिइन पनि सक्छु
यदि म लुटिएँ भने
आरोपित हुन सक्छु चरित्रहीन शब्दले
किनकि,
पितृसत्ताको जो अवेशष छ
त्यसले सताइरहने नै छ
तर, त्यस्तो हुने छैन
किनकि,
यो रणमा जीत मेरै हुनेछ
जीत एउटी वीरङ्गनाकै हुनेछ ।

म विष्फोट भएँ भनेँ
ढल्नेछ गर्ल्याम्म पुरुष–अहंको पहाड
र, उठ्नेछ मेरो वंश–शिखर
जारी रहनेछ सृष्टिको निरन्तरता ।

रातो नदी

हरेक महिना शरीरबाट
एउटा रातो नदी बगाएर
नित्य दिनचर्या
विश्व समाजको चिन्तन
र चासोसहितको चट्टानी आँट लिएर
जीवनको युद्ध लडिरहेकी
रणभूमिकी एक योद्धा म ।

रातो नदीको निरन्तर बहावले
निश्चित अवधिभर गलेको यो देहमा
केही दिनपछि अनायास
अनौठो ऊर्जा तरङ्गित भएको पाउँछु
कोमलताले सुसज्जित छु
तथापि भित्रभित्रै सूक्ष्मरूपमा
आगो दन्किरहेको महसुस गर्छु ।

हरेक महिना मेरो शरीरबाट
बग्दछ उही रातो नदी
कतै हीनताको पातपतिङ्गर बगाउँदै
कतै कुरीतिको बाँध भत्काउँदै
कतै संस्कृति/परम्परा जोगाउँदै ।

यसरी बग्दै–बग्दै रातो नदी
प्रत्येक महिना मलाई
पुनः माटो बनाएर जान्छ
तर आफैँभित्र म
अनन्त तेजिलो ताकत पाउँछु
अजस्र उर्वरता अनुभूति गर्छु ।

हरेक महिना दोहोरिने
रातो नदीको बहावको चरणबद्ध दबाबले
म चट्टानी आकारमा परिणत हुन्छु
आफैँभित्रको सुन्दर सृष्टिले मलाई
पुनः परिपक्व जिन्दगी दिन्छ ।

लाज, घिन र हीनताबोध
अब रातो नदीको अस्तित्वमा रहनु हुन्न
जसले आफ्नै अस्तित्वको अर्थ दिएको छ
धर्म, संस्कृति र समाजले बनाएका सीमा
रातो नदीको बहावमा बग्ने
आँधीले अब नामेट पार्नुपर्दछ ।

भो अब नगर
विज्ञानको काँध टेकेर
धर्मका ठूला-ठूला व्याख्याहरू
तिम्रो खोज सुरु हुनुभन्दा अगावै
मैले मभित्र बाह्रै महिना
रातो नदी बगाइरहनुपर्छ
सृष्टिलाई जोगाइरहनुपर्छ ।

मलाई गर्व छ
रातो नदीको अस्तित्वमा
सक्षम छु म आफैँ
रातो नदीको परिभाषा बोध गर्न ।

रातो नदी
नारी सौन्दर्यको चिनारी हो
सृष्टिको अनुपम परिभाषा हो
जहाँ म हुनुको अर्थ अलग छ
हो, यो रातो नदीले
प्रकृतिको सौन्दर्य बोक्दछ
ब्रह्माण्डको अस्तित्वको थाम्दछ ।

सिरु झार

धर्तीको बक्षस्थलमा उभिएर
लहराइरहेको
सिरु झारको यौवन
उल्लासले खुलीरह्यो शरदमा

लाग्छ!
उसले आकाशतिर फर्केर
जलिरहेको सुर्यलाई चुनौती दिदै छ
र दिनको टेको लगाएर
समिपका वस्तु राख पार्ने सुर्य
रातको साम्राज्यमा कतै हारयो
उ केवल झार
सुर्यलाई चुनौती दिन सक्ने खुवी राख्दछ ।

जावो सिरु झारको चुनौती
हास्यास्पद ठान्ला मान्छेले
यद्यपि
उसको चुनौतीमा वोध छ
वोध यो
कि सृष्टिमा हरेक चिज परिवर्तनशिल छ
हरेक चिज अस्थिर छन
भ्रुण/ बालस्य / यौवन वश्यक
र वृद्धकालको वोध !

र सिरु झारको वोधको अर्थमा
जीवनको समानता नाप्नुपर्छ
कि मान्छे जस्तै:
त्यो सिरु झारले एकदिन
धर्तीको छातीमा
आफ्नो यौवनको समापन जो गर्नु छ !!

तपाईको प्रतिक्रिया