नेपालको स्थायी घर लमजुङ हाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आउनु भएको साहित्यकार पदम विश्वकर्मा नेपाली साहित्यमा स्थापीत नाम मध्ये एक हो । हालसम्म उहाँको प्रकाशीत कृतिहरुमा `शब्द सुमन´ कवितासंग्रह `तमसुक ´कथा संग्रह `क्वारेन्टाइन ´उपन्यास प्रकाशित छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष २०१८ देखि हालसम्म रहेका उहाँका लेखनमा सामाजिक मनोदशाका बिबिध पक्षहरुलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत भएका हुन्छन् प्रस्तुत छ साताको तीन कविता ।
होमलेस माइकलहरु
होमलेस माइकलहरु,
दिनहुँ सडकको चोकमा
कार्ड बोर्डका प्लेकार्ड लिएर
हेल्प मी,हेल्प मी भन्दै
एउटा पुरानो थोत्रो झोलामा
जिन्दगीका कथाहरु बोक्दै
बर्षौं बर्ष बिताईरहेछन्।
जिन्दगीको आकांक्षाहरु बोकेर
थकाइले भरिएका नग्न पैतालाहरु
अह्रोरात्र सडकभरि छाप्दै
निरन्तर हिडिरहेछन्, हिमालका भरिया दाइहरु जस्तै
सडक र गल्लीहरुमा थकाई बिसाउदै
एक बोत्तल पानी रक्सीसंग साट्दै
जीवनका कथाहरु बुन्दै
हरेक चुस्कीसंगै मस्त निदाइरहेका
प्यासले भरिएका ओठहरुमा
अर्को चुस्की लगाउदै
जीवन मृत्यु सैयामा पर्खिरहेछन्।
न आलिसान महलको सपना छ
नत प्रत्येक नजरबाट चिप्लिने
चिल्ला कारको सपना छ
न पाँच तारे होटलमा बित्ने रातहरुको कल्पना छ
छ केवल,
एक टुक्रा ब्रेड, एक चुस्की रक्सी र
ओत सहितको न्यानो रात
बर्षौं भिजेका आँखाहरु
न घाम, न पानी, न हिउँको वर्षा
निरन्तर भिजिरहेछन्
अन्तिम सास बिताउने रहरमा ।
भूगोलका रेखा जस्तै
थकित अनुहारमा
चिरा चिरा परेका रेखाहरु
चाउरिएका छाला जस्तै
पसिना बोक्ने खोल्सा बन्दै भरिएका छन्
आँसुका थोपाहरु बग्ने खोल्साहरुमा
जीवनको अन्तिम आश बिसाउने रहरमा ।
थर थर काम्दै गरेका हातहरु,
हरेक यात्रु तर्फ लम्काउँदै र
बाइ बाइ गर्दै
जीवन बितिरहेछ, सडकका गाडीहरु गन्दै
अनि
नजिकैबाट चिप्लिने कारबाट झर्ने ……
अर्को एक निकल पैसा गन्दै
जीवनको अन्तिम सास फेरिरहेछन्
हजारौं होमलेस माइकलहरु ।
युद्ध
यतिबेला म युद्धमा होमिएको छु
देश युद्धमा होमिएको छ
निमुखाहरु युद्धमा होमिएका छन्
शीत युद्ध चलिरहेछ ।
तर तिमी,
गल्तीहरु लुकाएर
उक्साइरहेछौ – अझै भेदभाव गर्न
उद्धत छौ – ढाकछोप गर्न
प्रपन्च रचिरहेछौ – घटनाहरु सिर्जना गर्न
ढाढस दिइरहेछौ – सामन्तीप्रथा जिवन्त राख्न
जातिप्रथा बचाइ राख्न र भेदभाव जारी राख्न ।
तिमी,
प्रगतिको उकालो चढ्दै गयौ – मलाई बोक्न लगाएर
धनाढ्य बन्दै गयौ – मलाई गरीब बनाएर
सत्तामा पुग्यौ – मलाई बन्दुक थमाएर ।
नबिर्स तिमी,
राष्ट्रिय एकिकरणमा – मेरो साथ
प्रजातान्त्रिक आन्दोलनमा –मेरो योगदान
बहुदलिय आन्दोलनमा – मेरो समर्पण
जनयुद्धमा – मेरो बलिदान
र नबिर्स,
हाम्रो दुखाई – पशुजस्तै नीरिह जिउनुको पीडा
हाम्रो भोगाइ – जाँतोमा पिसिएका घुनजस्तै पिसिनुको पीडा
हाम्रो रुवाई – थिचोमिचोको पहाडले थिचेको पीडा ।
त्यो पनि नबिर्स तिमी,
तिम्रा बारीमा पसिना चहाउँदै विलाएका – हर्केहरुलाई
तिम्रा शरिर ढाक्न जीवन सिलाएका – काले हरुलाई
तिम्रा पाइताला नविजाउन जुत्ता बुनेका – बीर्खेेरुलाई
युद्धमा उठाएका बन्दुक बनाउने – बीरेहरुलाई
तिम्रै खेत कान्लामा पसिना चुहाउँदै गरेकी – न्याउरीहरुलाई ।
सह्यौं हामीले,
युगौं युगदेखिका – अन्यायका पीडाहरु
युगौंयुगदेखिका – अत्यचारका पहाडहरु
युगौंयुगदेखिका – थिचोमिचोका चोइटाहरु
युगौंयुगदेखिका – शोषणका भड्खलाहरु ।
अब त अति भो,
सहनुको पनि – सीमा हुन्छ
सहनुको पनि – समय हुन्छ
सहनुको पनि – अर्थ हुन्छ ।
त्यसैले यतिबेला,
म युद्धमा होमिएको छु
देश युद्धमा होमिएको छ
भेरीमा बगेको रगतको पानीझैं
कर्णालीमा बग्न सक्छ,
गण्डकी र कोशीमा बग्न सक्छ भोली
देशभर रक्तपात हुनसक्छ ।
अन्याय, अत्यचार, थिचोमिचो र शोषणका
पर्खालहरु नतोडिएसम्म,
छुवाछुत र भेदभावका रेखाहरु नमेटिएसम्म
युद्ध निरन्तर चलिरहने छ ।
दक्षिणबाहु
यसपालि पनि राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न शीतलनिवास धाउन सकिन।
देशमा बाढी आयो, पहिरोले सारा बगायो,
भूकम्पमा विदेश बस्नेहरूको पसिनाको खोलो बग्यो
पीडितहरूको सहयोगमा लाखौं डलर त्रिपाल, कम्बल र सिटामोल बने
देश अझै रेमिटेन्सले चलिरहेको बेला विदेशमा बस्नेहरूलाई
दक्षिणबाहुले सम्झन सकेन
केवल तिनै कम्बल र त्रिपाल कुम्ल्याउनेहरू विभूषित बने
त्यसैले राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न यसपालि शीतलनिवास धाउन सकिन ।
दक्षिणबाहु,
तस्कर, घुस्याहा र रातारात महल खडा गर्नेहरूलाई पुरस्कार बन्यो
जनताका छातीमा गोली हान्नेहरूलाई हौसला बन्यो
मनपरीतन्त्र चलाउनेहरूलाई तक्मा बन्यो
वेश्यावृत्तिका नाइके र गुण्डाहरूलाई प्रेरणा बन्यो
देश धितो राख्नेहरूलाई पदवी बन्यो
त्यसैले राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न यसपालि शीतलनिवास धाउन सकिन ।
दक्षिणबाहु,
उहिले पनि तिनै चाकरी, चाप्लुसी र ठगहरूमा सिमित थियो
आफन्त र भाइ भारदारहरूमा
अहिले पनि उनीहरूमै सीमित भयो
के फरक भयो त दक्षिणबाहु ?
केवल लिने र दिनेहरूबीच फरक
नारायणहिटीबाट शीतलनिवास
त्यसैले राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न यसपालि शीतलनिवास धाउन सकिन ।
दक्षिणबाहु,
जुम्लाका छाप्रोहरूमा कहिले टाँगिन्छ होला ?
हुम्लीको भोको पेटमा कहिले भरिन्छ होला ?
च्यातिएका छानोमा टालो कहिले हालिन्छ होला ?
गरिब नानीको खाली आँङ कहिले ढाकिन्छ होला ?
सहिद पत्नीहरूको आँशु अझै बगिरहेछ
गोलीले ढलेका छोराका आमाको आँशु सुकेका छैनन्
रोल्पा, रुकुम र रामेछापमा
रगतको टाटो अझै सुकेका छैनन्
त्यसैले राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न यसपालि शीतलनिवास धाउन सकिन ।
देशको मायाँ आफ्नै आफ्नै मुटुमा च्यापेर
विदेशका गल्लीहरूमा भौंतारिंदै हिँड्नेहरू,
देश दुख्दा आफू दुख्नेहरू,
अनि
देश रुंदा आफू स्वयं रुनेहरू
आफ्नो गास काटेर देशको विकासमा सदैब हात फैलाउनेहरू,
देशको भाषा, साहित्य र संस्कृतिलाई सगर्व
विदेशका कुना कुनामा फैलाउनेहरूको के गल्ती थियो र ?
त्यसैले राष्ट्रपतिज्यू,
दक्षिणबाहु ग्रहण गर्न यसपालि पनि शीतलनिवास धाउन सकिन ।