रमेश केसी
हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्ध, ताओ र जेन दर्शनहरूले परम चेतनाको अनुभूति प्राप्त गर्ने स्रोत मस्तिष्कलाई नै मान्छन् ।
जेन, बौद्ध दर्शनमा त ‘नो माइन्ड’ भन्ने गम्भीर र सूक्ष्म दर्शनसमेत पाइन्छ । हिन्दुहरू आनन्दमय कोषमा पुग्नका लागि चेतनाको शुद्धीकरण र तालिममा जोड दिन्छन् । बुद्धले निर्वाण र संसार दुवैै मस्तिष्कमा छन् भने । ताओ धर्मदर्शनले त चेतनाको उत्पत्ति, लय र गतिकै बारेमा भन्छ । बीसाैं शताब्दीका प्रख्यात भारतीय दार्शनिक जे. कृष्णमूर्तिले त मस्तिष्क र विचारको चरित्रमाथि आफ्नो दर्शन नै तयार गरे । अर्का दार्शनिक यू.जी. कृष्णमूर्तिले मस्तिष्कलाई मिथक जस्तो काल्पनिक अवधारणा हो भनेका छन् । उनले चेतनाको उत्पत्ति कहिल्यै पनि थाहा पाउन नसकिने ठोकुवा समेत गरेका छन् । तिब्बती धार्मिक गुरु दलाइ लामाले त बौद्ध धर्म दर्शनलाई मस्तिष्कको विज्ञानसम्म भने ।
पूर्वीय आध्यात्मिक चिन्तनमा मस्तिष्कको सर्वोच्चता र गम्भीरतालाई ज्यादै महत्व दिइएको छ । अर्का हिन्दु दार्शनिक अरबिन्द घोषले त मानव जीवन मन, अधिमन र अतिमन हुँदै जाने विकासवादी धारणा पेस गरेका छन् । पूर्वमा जस्तै पश्चिममा मस्तिष्कसम्बन्धी आधुनिक अवधारणा ल्याउने फ्रान्सका गणितज्ञ र दार्शनिक रेने डेकार्ट हुन् । उनकोे महत्वपूर्ण भनाइ छ, ‘म सोच्छु त्यसै कारणले म छु ।’ डेकार्टलाई आधुनिक परिभाषा दिने दार्शनिक मानिन्छ । उनी द्वैतवादी हुन् ।
उनका अनुसार शरीर र मस्तिष्क दुई भिन्न वस्तु हुन् । शरीर भौतिक रूपमा छ तर चेतना रहस्य र शरीरभन्दा ठूलो फैलावटमा छ । डेकार्टको यो अवधारणा अहिले त्यति प्रचलनमा छैन, शास्त्रीय रूपमा मस्तिष्कलाई अध्ययन गर्ने विषयलाई फेरेनोलोजी पनि भनिन्छ । अहिले स्नायुविज्ञानको विकासको सम्बन्धमा मस्तिष्कसम्बन्धी नयाँ अध्ययन र अनुसन्धान भएका छन् । हामी मस्तिष्कलाई रंगीन रूपमा सञ्चालन भइरहेको हेर्न सक्छौं । सन १९४९ मा प्रकाशित गिल्बर्ट रायलेको पुस्तक ‘दी कन्सेप्ट अफ माइन्ड’ ले डेकार्टको द्वैतवादी अवधारणालाई खण्डन गरेर भौतिकवादी अवधारणा पेस गरेको थियो । केही अघिसम्म मस्तिष्कको नक्सा खिच्नु भनेको मूर्खहरूको कार्य मानिन्थ्यो तर त्यो अहिले सम्भव भएको छ ।
मस्तिष्कको नयाँ नक्सा
सूक्ष्म रूपमा भन्ने हो भने मानव जीवन स्नायुहरूको संसदबाट सञ्चालित छ । हाम्रा आशा,निराशा, इच्छा, ज्ञान, स्मृति र सपनाहरूको निर्माण–विनिर्माणमा स्नायुहरूको अहम भूमिका हुन्छ । अन्तरिक्षमा अरबौं ग्रह, नक्षत्र भए जस्तै हाम्रो मस्तिष्कमा अरबौं न्युरोन्स र न्युरो ट्रान्समिटरहरू छन् । यो बुझ्न अत्यन्त जटिल छ कि यसले हामीलाई कसरी मानव बनाएको छ । मान्छेको सम्पूर्ण निर्णय र कार्य सञ्चालन गर्ने यो अंग आज विज्ञानको अन्तिम अध्ययन क्षेत्र बनेको छ ।
यी एक सय बिलियन न्युरोन्सले हाम्रो विश्वास, भ्रम र ज्ञान सिर्जना गरिरहेका छन् र हामी हुनुको बोध दिलाएका छन्, किनभने गान्धी विवेक र शुद्धताले महात्मा बने भने हिटलर विकृति र हिंसाले नरसंहारकर्ता । दुवैको व्यक्तित्व उनीहरूको मस्तिष्कको संरचनामा खोज्नुपर्ने हुन्छ । यही महत्वलाई बुझेर अहिले स्नायु वैज्ञानिकहरू मस्तिष्कको रहस्य उदघाटन गर्न लागेका छन् र विश्वलाई मस्तिष्कको विविध नक्सा प्राप्त भइरहेका छन् ।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टिभन पिंकर मानिसमा विचारको उत्पत्ति ‘न्युरल एल्गोरिदम’बाट हुने बताउँछन् भने अर्का भारतीय मूलका स्नायु वैज्ञानिक भी.एस. रामचन्द्रण मस्तिष्क आध्यात्मिक अनुभव संकलन गर्ने स्थान रहेको निष्कर्ष निकाल्छन् । भौेतिकवादी डेनियल सी. डिनेट चेतनाको उत्पत्तिको व्याख्या जो अहिलेसम्म सम्भव छैन, अब सम्भव हुने बताउँछन् । स्नायु वैज्ञानिकहरूका लागि सबैभन्दा जटिल विषय भनेको चेतनाको उत्पत्तिको परिभाषा नै हो । यो उत्पत्तिको कारण र चरित्र थाहा भयो भने ज्ञानको क्षेत्रमा सबैभन्दा ठूलो क्रान्ति त्यही हुनेछ ।
बीसौं शताब्दी सिग्मन्ड फ्रायडको शताब्दी थियो । उनले आविष्कार गरेका चेतन, अवचेतन र अचेतन मनका वरिपरि समाज र जीवनको परिभाषा र अध्ययन गरिएको थियो । तर अहिले न्युरोन्स, न्युरोट्रान्समिटर, डोपामीन र सेरोटोनिन जस्ता कोष र जैविक रसायनहरूको वरिपरि अनुसन्धान चलेको छ । मस्तिष्कको भित्री अध्ययन लामो समयसम्म भिक्टोरियन युगमा यौनको प्रतिबन्ध भए जस्तै निषेधित विषय थियो । अब त्यो रहेन । आज मान्छेमा म, मेरो भन्ने जस्ता विषयगत अनुभव न्युरल कम्प्युटेसनबाट जन्मिन्छ भन्ने पत्ता लागिसकेको छ । एकथरी वैज्ञानिक भन्छन्– मस्तिष्क भनेको अरू केही होइन ब्रेनकै गतिविधि हो । भनिन्छ, मस्तिष्कभित्र ब्रेन हुन्छ तर ब्रेनभित्र मस्तिष्क हँदैन । आज एमआरआईले मानिसको विचारलाई ब्रेनमा भएको रक्त प्रवाहको अध्ययनबाट वैज्ञानिकले पढ्न सक्छ ।
चेतनालाई दैविक दान नभएर जैविक प्रक्रियाको रूपमा प्रमाणित गर्ने गरिएको छ । यसर्थ मस्तिष्क विज्ञानको क्षेत्र आज अल्बर्ट आइन्स्टाइन जस्तो प्रतिभाशाली वैज्ञानिकको प्रतीक्षामा छ जसले यस क्षेत्रको सापेक्षताको सिद्धान्त अविष्कार गरोस् । हुन त अक्सफोर्ड विश्वविद्यालयका गणितज्ञ रोजर पेनरोज मास्तिष्कमा विचारको उत्पत्ति प्रमात्रा भौतिकीमा जस्तै अणुहरूको अन्तरक्रियाबाट उत्पत्ति हुने बताउँछन् । आज विश्वको प्रमुख अनुसन्धानको विषय बनेको यो मस्तिष्क विज्ञानलाई नयाँ उचाइमा लगेका छन वैज्ञानिक मिचियो काकुले ।
अन्तरिक्षमा घुम्ने चेतना
सन २०१६ मा प्रकाशित भौतिकशास्त्री मिचियो काकुको पुस्तक ‘दी फ्युचर अफ द माइन्ड’ मस्तिष्क विज्ञानको क्षेत्रमा एउटा क्रान्तिकारी कदम हो । उनले सय भन्दा बढी कृत्रिम बुद्धिका अनुसन्धानकर्ता, स्नायु वैज्ञानिक, भौतिकशास्त्री र जीव वैज्ञानिक आदिसँग अन्तर्वार्ता लिएर तयार गरेको यो पुस्तक मस्तिष्क ज्ञानको सबैभन्दा पछिल्लो उत्तम किताब हो । उनले भनेका छन्– एक दिन मानव चेतना शरीरको बन्धनबाट निस्केर अन्तरिक्षमा घुम्नेछ र फेरि शरीरमै फर्कनेछ । सयौं वर्षदेखि बन्द रहेको मस्तिष्क अहिले खुला भएको छ । यसले कसरी मानव जीवनलाई रूपान्तरण गरिरहेको छ भन्ने उदाहरण उनले पेस गरेका छन् ।
न्युयोर्क सिटी युनिभर्सिटीका यी प्राध्यापकले मानिसको विचारलाई अडियो टेपिङ गरेर पढ्न सकिने बताएका छन् । एमआरआई मेसिनले ब्रेनको थ्रीडी इमेजहरू उत्पादन गर्नसक्छ जसबाट हामी भाषा, स्मृति र चेतनाका रहस्य थाहा पाउन सक्छौं । उनले आफ्नो ‘स्पेस टाइम थ्योरी अफ कन्ससनेस’ पनि आविष्कार गरेका छन् । उनले चेतनालाई डाउनलोडसम्म गर्नसकिने बताएका छन् । कृत्रिम मानव रोबोर्ट मानिसको साथी हुनेछ । आत्माहरूको पुस्तकालय समेत बनाउन सकिनेछ । मस्तिष्कलाई न्युरोन्समा ढाल्न सकिनेछ जसले हाम्रो मृत्यु, जीवन, सपना, यथार्थ र आत्मासम्बन्धी सोचाइहरूमा परिवर्तन ल्याउनेछ । उनले एलियन माइन्ड, मानसिक रोग र सिलिकन कन्ससनेसका बारेमा पनि लेखेका छन् । यसरी जैविक रसायन, स्नायु र जिनले बनेको मानव जीवनको उत्खनन गरेर हामीलाई उत्तरमानव समाजतर्फ संकेत गरेका छन् ।