नरजित राइ

कहिलेकाही आफ्नो ब्यस्ततालाइ सम्झिएर छ्क्क पर्छु। मलाई समयले प्रत्येक दिन, घण्टा, मिनेट,सेकेन्डमा तानेर दौडाइ रहेछ। म उसको पछिपछि घिस्रीदै भए पनि पछ्याइ नै रहेको छु । घडिको आविष्कार नभएको भए सायद आफ्नो खुसीले हिडिन्थो, डुलिन्थो, खाइन्थो होला। मात्र दिन रात गन्दै जिन्दगीलाई सहज र सरल तरिकाले भविष्यको खोजी नगरि बाचुन्जेल बिताइन्थो होला।

म हरेक क्षण समयको दास बनेर कर्मलाई पछ्याइ रहेछु । यो बाध्यता हो या कर अनि रहर ? यो उमेरसम्म आइपुग्दा पनि  समय संगै दगुरी नै रहेछु। मानिस जन्मनुको वास्तविक अर्थ अर्थोपार्जनका लागि नै दौडनु रहेछ। कहिल्यै भेट्न नसकिने उज्ज्वल भविष्यका लागि  लोभी मन लिएर मरिमेट्नु पर्ने कस्तो सकस हो। सम्झन्दा दिक्क लाग्छ। अहिले बिदेशी भुमिलाई कर्म क्षेत्र बनाएको छु। भाग्यमा जे लेखिएको त्यो भोग्नै पर्ने रहेछ, भोगिरहेछु।

मेरो अति व्यस्त दैनिकी नदी झै अविरल बगिरहेछ। मेरो यो एकदिनको प्रतिनिधि दिनचर्या हो। बिदेशी भुमिमा २७ बर्ष सम्म जिन्दगीको यात्राहरु प्रायः यसरी नै चलाइरहेको छु। यो बास्तबिकता र तितो सत्य हो।

५:०० बजे । बिहानी पखको मीठो निन्द्रा। नसोचेका रमाइला सपनामा दौडिरहेको हुदो रहेछु। बेलुकी मोबाईलमा सेट गरिएको किर्किरे आवाजले ब्युझाउदा हदै नै अल्छि मान्दै उठ्छु। आवाजसंग निकै झर्को लागेर किर्किरेलाइ बन्द गर्छु। समय चाँडो बितेकोमा थोरै रिसाउछु। म पुनः एक मिनेटको समय लिएर ओछ्यानमा पल्टन्छु। कहिलेकाही धेरै सुतिदिदा अतालिदै जुरुक्क उठछु। बिहानको रुटिन तलमाथि  हुँदा कहिले त मिलाउन निकै गाह्रो हुन्छ। म सकभर नियमित  बिहान ५:०५ बजे दिउसोको लागि खाना बसाउछु। दाल तरकारी बेलुकी नै पकाएर रेफ्रीजेरेटरमा राखिएको हुन्छ। बिहान माइक्रोवेभ ओभनमा तरकारी तताएर भाँडामा (हट केस) राख्छु।

बिहानको ५:१०  देखि  ५:२० बजे दुई गिलास (७०० एमएल) मन तातो पानी पिउँछु। बिहान पिएको पानी शरीरका नशा – नशामा दौडिरहेको आभास हुन्छ। मलाई ताजा र फूर्तिलोपन प्राप्त भएको अनुभुती हुन्छ। पेटलाइ सफा गर्न शौचालय जान्छु। कहिले पेट सफा हुन्छ त कहिलेकाही कन्स्टिपेसन समेत हुँदा दिक्क मान्छु। शरीर आलस्य र गलेको अनुभव हुन्छ। ५:२० बजे हातमुख धुने,दात ब्रस गर्ने,पातलो दारिजुङा चट पारी अप टु डेट हुने कोशिस गर्छु।

५:२५ बजे  कोभिडको र्यापिड एन्टिजेन टेस्ट ( RAT) गर्छु। रयाट टेस्ट गरेको मिति र आएको परिणामको फोटो खिच्छु। कम्पनीको सामुहिक व्हाटसएपमा फोटो पठाउछु। यो नयाँ थपिएको कार्य हो। कोभिड-१९ संग भेटघाट छ छैन भन्ने सजिलो चेक अप सिस्टम हो यो । यो ब्यक्तिगत चेक अप प्रणाली फेब्रुअरी २०२२ देखि हङकङमा शुरु भएको हो । नत्र पिसिआर चेक अप गर्न विभिन्न टेस्टिङ सेन्टरमा समय मिलाएर जानू पर्दथ्यो। ५:४० बजे खाना पाक्छ ।   दाल,भात,तरकारीलाई हटकेसमा प्याक गरि झोलामा खाँद्छु ।

५: ५० बजे कार्यस्थल तिर हिड्नका लागि तयार हुन्छु। झोलामा सबै समान छ छैन एकपटक छामछुम गर्छु। मुख्यतः कोठाको चाबी र वालेटलाइ ध्यान दिन्छु। ५:५५ बजे झोला बोकेर कोठाबाट हुरिन्दै भुइँमा पुग्छु। ६:०२ बजे  पसलमा पाउरोटी किन्छु। बिहानै खाजा खाने बानी छ। ६:०५ बजे पार्कमा बसेर पाउरोटी र लेमन टि जुस आनन्दले खान्छु। त्यही हाइपरटेन्सनको औसधि  (Amlodipine Besylate 10 mg) पनि एक चक्कि निलि दिन्छु। मैले औषधि प्रयोग गर्न थालेको ८-९ बर्ष भयो। यहाँको अस्पतालले ३ -३ महिनाको मात्र औसधि दिन्छ, पुनः फलो अप गैइ रहनु पर्छ। प्रत्येक ६-६ महिनामा डाइबिटिज, कोलेस्ट्रोल चेकका लागि फास्टिङ तथा नन फास्टिङ रगत र पिसाब जाँच गरि रहनुपर्छ । कहिले आँखाको जाँच त कहिले डाइटिसियनको लेक्चर सुन्न सम्बन्धित अन्य अस्पतालमा एपोइन्टमेन्ट दिई रहेको हुन्छ। कहिलेकाहीं त अस्पताल धाउनु पनि तारिक धाए झैं लाग्छ। तर आफ्नो स्वास्थको लागि डाक्टरको सल्लाह ,सुझाव मान्नै पर्यो, मानी रहेको छु।

६:१० बजे जमिन मुनि अवस्थित तु क्वा वान रेल स्टेसन पुग्छु। रेल चढ्नको लागि अक्टोपस कार्ड मेसिनमा छुवाइ भित्रीन्छु। हङकङमा रेलका लागी जमिन मुनि ट्रयाक निर्माण गरिएको छ। ट्राफिक अवरोध नहुने भएकाले समयको धेरै बचत हुन्छ। म पुनः शौचालय  तिर छिर्छु। बानी नै परेकाले गर्दा त्यहाँ पुगे पछि कताकता पेट दुखे झै हुन्छ। ६:१९ बजे रेलमा चढ्छु।

लामो सफर भएकाले केही लेख्ने कोशिश गर्छु। समयको माग अनुसार  मोबाइल एप्सलाइ नै लेख्नका लागि प्रयोग गर्न थालेको छु। अल्छी लागे मोबाइलका अन्य एप्सहरुमा ब्यस्त हुन्छु। ६:५५ बजे लङ पिङ स्टेशनमा उत्रिन्छु। मेरो बासस्थान तु क्वान वान स्टेसनबाट लङ पिङ ११ स्टपमा पुगिन्छ। सन २०२१ बाट तु क्वा वान क्षेत्रमा रेल सन्चालन भएको हो। मलाई अहिले निक्कै सुबिधा भएको छ। नत्र बसबाट जोर्डन पुगि हिडेर अस्टिन स्टेशनबाट रेल चढ्नु पर्दथ्यो। ७:०५ बजे कार्य क्षेत्रमा पुग्ने K68 बस आउँछ, चड्छु। यो रेल कम्पनी कै बस भएकाले पुनः भाडा लाग्दैन।

७:२० बजे । बसदेखि गन्तव्य स्थानमा उत्रिएर कार्य क्षेत्रमा प्रवेश गर्छु। ७: २३ बजे  नाम लिस्टमा हस्ताक्षर गर्दै “लिभहोमसेफ, क्यु आर कोड” कोभिड -१९ एप्सको तस्बिर खिचेर कम्पनीलाई जानकारी गराउछु। हाजिरी मेसिनमा कार्ड छुवाएर मुहारको पृन्ट दिन्छु। यो तनाखा प्राप्तिका लागि अनिवार्य भएकाले बिर्सिदिन, नत्र तनाखामा गडबड हुन सक्छ। ८:०० बजे बिहान देखि जागिर शुरु भइ दिउँसो १२:०० बजे खानाको (लन्च) बिदा हुन्छ। दुखको माना भन्छन,झोलाबाट खानाको  बक्स( हटकेस) निकाल्छु। मित्रहरू सङ्ग तरकारी साटासाट गर्दै खान्छु। दुनियाँमा के भइ रहेछ थाहा पाउन मोबाईलमा सरर अन लाइन समचारहरु हेर्छु। एकछिन भए पनि ढाडलाइ तन्काउन आराम गर्छु। दिउसो सुत्ने बानी परेकोले करिब १५-२० मिनेट झ्याप्प निदाउछु। दिउँसो खाना खाने बितिक्कै सुत्नु हुन्न भन्छ्न तर कहिलेकाही त खाना बजाउदै गर्दा नै निन्द्राले छोप्ला झै हुन्छ। घ्याम्पे भुँडी कहिल्यै नघट्ने मुख्य कारण खाने बित्तिकै सुत्ने बानीले गर्दा पनि हो भन्छन मित्रहरू। मैले दिउँसो सुत्ने बानी हटाउन निकै प्रयास गरे तर कहिल्यै सफल भइन। दिउँसो सुतिएन भने जिउ गह्रौं र आलस्यको अनुभुती हुन्छ। १:०० बजे दिउँसो देखि पुनः जागीरमा ब्यस्त हुन्छु ।

बेलुकी ६:०० बजे  । बिदा हुँदा निक्कै खुसी  हुन्छु। कहिलेकाही अतिरिक्त समय बस्नु पर्दा भने दिक्क लाग्छ। मुहारलाइ पृन्ट मेसिनमा देखाएर आउट हुन्छु। ६:०३ बजे बेलुकी रेल स्टेशन सम्मका लागि पुनः k 68 बस चढछु। मिनि बस पनि तुरुन्तै आइ हाले त्यसलाई पनि  उपयोग गर्छु। यसले गन्तव्यमा अलिक चाँडै पुर्याउछ। ६:२५ – ३० बजे बेलुकी बासस्थान तु क्वा वानका लागि रेल चडछु। मोबाईलमा फेसबुकका पानाहरुलाइ पल्टाउदै,मन पर्ने गीतहरु सुनेर आनन्द लिन्छु। ७:२० बजे तु क्वा वानमा रेलबाट उत्रिएर हानिन्दै लोक सान रोडमा अवस्थित कोठा तिर पाइला चाल्छु। ७:३० बेलुकी लखतरान भएर कोठामा पुग्छु। थाकेर भुत्तुकै भएको महशुस हुँदा ओछ्यानमा आँखा चिम्लिएर एक छिन सुस्ताउछु।

७:४५ बजे बेलुकी खानाको भाँडालाइ सफा गर्छु।नुहाउनका लागि  गिजर मेसिन अन गरि पानी तताउँछु। ८:०० बजे नुहाइ धुहाइ गरेर निकै फूर्तिलो (फ्रेस) हुन्छु । ८:१५ बजे १-२ क्यान बियर आनन्दले पिएर बेलुकीको खाना खान्छु। डेस्कटपलाइ अन गरेर विश्व समाचार, यु ट्युब, फेसबुक हेरेर मजा लिइरहेको बेला
निन्द्राले बिस्तारै झ्याप्प छोपे झै हुन्छ। १०:०० – १०:३०  बजे बेलुकी भित्र ओछ्यानमा पल्टिँन्छु, भुस्सै निदाउँछु। कहिलेकाही भने निदाउन निकै नै गाह्रो हुन्छ। वल्टिपल्टी गर्दा गर्दै निकै समय बित्दा  दिक्क लाग्छ। भोलि बिहान ५:०० बजेको दैनिक दिनचर्यामा का लागि तयार हुन्छु।

बिदाको दिन बिहान ७:०० बजे सम्म निदाउदा आराम भएको महसुस गर्छु। त्यो बिहानभरी कम्युटरमा नै झुण्डिन्छु। केही लेख्ने कोशिस गर्छु तर नियमित कहिल्यै लेखपढमा लिप्टी कस्दिन। यु ट्युबमा समाचार,फिल्म, हास्यब्यङ्ग र गीतहरु सुनेर, हेरेर आनन्द लिन्छु। कुनैकुनै बेला संघ संस्थाको कार्यक्रम भए सहभागी हुन्छु।कहिलेकाही साथीहरुसंग हङकङको डाडा पाखा तिर पदयात्रा गरेर रमाउछु।

जिन्दगीका गाडी दगुराउदा – दगुराउदा थोत्रो हुन थालेको महशुस गरि रहेको छु। मेरो शरीर पनि फाट्न थालेकाले टालटुल गर्न थालेको छु। कहिले र कति समयसम्म टाल्न सकिने हो वा ठुलो भ्वाङ परेर टाल्न नसकिने हो। यसैको प्रतीक्षारत हुनुपर्ने दिन आइ रहेछ। अन्ततः पृथ्वीमा रहेका मानव, जीव , किरा फटयांग्रो ,बनस्पतिले आफ्नो  कर्म गर्दै समय आएपछि संसार त्याग्नै पर्ने शास्वत सर्ब सत्य नियम नै छ। यसै गरि बिदेशमा बिताइ रहेछु  दुई दिने घाम छाया जिन्दगी ।
           


०५ मार्च २०२२
तु क्वा वान,हङकङ

तपाईको प्रतिक्रिया