नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा “नमन” गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता ।
मेरो सपनाको भुमेथानमा तिमी
विछ्याएर धरती
ओढेर आकाश-
निदाउछु प्रत्येक रात
तिमीलाई-
पर्खन्छु सपनाको भञ्ज्याङ्गमा
रमाउँछु सधैं मधुमासमा
हावामा सुबास छर्दै आउँछु- जुनकीरी जस्तै पाउना बनेर
तिमी पनि आउँनु मेरो निद्राको साँझमा……
राती ट्याम्केको आँखैबाट
बगेर झरेको जुन-मनको जस्केलाबाट
-पसेर
तिमी जस्तै म भित्र वास माग्छ
चोमोलुङ्मामाको शीरमा फक्रेको बादल
टप्लक्कै खेल्छ
हृदयको अगेना छेवैमा
कयौं पटक हावामा शिली टिपेर
कसको केशराशीहरु- शाकेला नाच्छ
मेरो मुटुको ढोल झ्याम्टाको तालमा
सिम्मा……!
बरु, मलाई सक्छौ देख्न
ती साकेला नाचमा
तिम्रो त्यो शीरफूलमा
नोक्छङ्ले मन्साएको जोखनामा
लिम्चिङ्वुङको आँसुमा
सक्छौ, सुन्न मेरा केही आवाज
ख्याङ्से र सैलीमाको सङ्गीतमा
सिम्मा…….!
पर्खि रहुला म
मेरो सपनाको भूमेथानमा
आउनु तिमी-
सिर्फ,
बोकेर ल्याउनु मेरो लागि
कोसेली-
मलाई कहिले नब्युँझ्याउने आवाज ।
आप्पा
आप्पा-
वर्षौं अघि तारा भइसके
म त्यही ताराहरु- आजभोलि
गनेर-
बसिरहेछु
कतै हाम्रो आप्पा
त्यही तारा पो होकि !
यौटा सत्य
यो सहर
देख्दा मात्रै भीडैभीड देखिन्छ
यदि-तपाईं मन्नुस या नमान्नुस
तर-
सधैं यहाँ प्रत्येक मान्छे
एक्ला- एक्लै नै हिडिरहेका हुन्छन् ।