मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारिएको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

मान्छे माटो गन्हाउँछ

दूबोको एक सुइरो पात म
धरतीको काखीमा उम्रेको यौटा रौँ
धरतीको काखी मलाई मीठो गन्हाउँछ ।

माटोले लिपेको माटोको घ्याम्पाभित्र
जाँडमा उब्जेको कीरा – मान्छे
माटो छिप्पेको जाँड गन्हाउँछ ।

बालुवाको गर्भबाट जन्मेको कछुवा
बालुवाको ओथ्रामा अन्डा पार्छु म
ती अन्डाबाट धरतीको माया पल्हाउँछ ।

अश्वमेध यज्ञ गरी छाडिएको घोडा म
मेरा टापहरुको गतिलाई
धुलो उठेर माटोले पछ्याउँछ ।

चिलब्लेन चिलाइरहेको मेरो पैतालाभरि
आफ्नै मानचित्र खोप्दै धरतीले
क्षितिजदेखि क्षितिजसम्म यात्रा ओछ्याउँछ ।

गौंथलीको मुखमा थोप्ला थोप्ला हिलो चेपिँदै
अन्जुली जस्तो गूँडभरि सृष्टि बोकेर
धरती मेरो घरको सिलिङमै टाँस्सिन आइपुग्छ ।

खानीभित्रको मजदुर कि सबम्यारिनभित्रको नाविक होस्
या त स्पेस-सटलभित्रको एस्ट्रोनट नै किन नहोस्
मान्छे त हरक्षण माटो नै गन्हाउँछ

मेरी किराँती आमा

एक खाँटी किराँती आइमाई
मेरी आमा
मनुवा-दहको सप्फा तरल ऐनामा
सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार
सुम्निमाको सन्तान अनि
पशुत्व र मान्छेत्वको अनन्त द्वन्द्वलाई
सेक्मारी फूल र ओन्दोङ फूलको कलशहरुमा
जोखना हेर्दै
चुपचाप
सुर्ताले सुकिरहेकी तिगेनजोङनाकी नातिनी
मेरी आमा
तरुनी छँदा लामो केशमा
लहरे फूल लाछा भएर लहरिन्थ्यो रे
दूबोको हरियो चौरको चौबन्दी बाँधेर
अनि फूलहरु फुटिनिस्केको
धरतीको पन्ध्र हाते फरियामा बेह्रिएर
एक फोक्टा उर्वर धरती हिँड्थिन् रे उनी

बारीमा आफैले फलाएको कोदोलाई
उत्साहको जाँड बनाई छिप्पाउँथिन्
अनि सुत्केरीमा त्यै खाएर तीन दिनमै तँग्रिन्थिन्
उत्साह र आँटको त्यै अमृत
उनको स्तनबाट चुसेर म हुर्कें
नाबालक मलाई कोक्रोमा बोकी
काम गर्दै मीठो स्वरमा पेरेङ्वा साम्लो गाउँथिन् आमा
र त्यै साम्लो सुनेर निदाउँथें म

ज्वरोले सपनाहरु डढाउन खोज्दा
अर्थात् टाउको दुखेर विपनाहरू बाङ्गिन थाल्दा
मेरी आमा उनैको कथाकी परी भएर
मलाई चिम्फिङ खानाक्पा खुवाउँथिन्
अगाध स्नेहको अविजाल झोल पिलाउँथिन्
भविष्य निरोगी रहोस् भनेर
कहिले एकाबिहानै बिखुमाको टुक्रा निल्न दिन्थिन्
अक्षर नचिन्ने आँखाले हेरेरै
साँझपख डुलिहिँड्ने सामहरू चिन्ने गर्थिन्
त्यसैले साँझ परेपछि सुसेली नमार्नू
छो-छो नगरी नखानू भन्थिन्
अक्षर नचिन्ने तिनै चिम्सी आँखाले
रातका रहस्यहरु पढ्थिन्
बिहानै माङहरुसित बात गर्थिन्
सुकेको तितेपाती धुपौरोमा हालेर धुप मगमग बाल्थिन्
युमा पुज्थिन्
युमा पुज्दा पुज्दा
मेरी किराँती आमा
अब आफै युमा भइसकिन्

मेरो शब्द ( ? )

फूलको पराग यौटा अक्षर पाएँ ।
एक छेस्का ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरू नै भइदिए । अनि यी अक्षरहरूलाई
एक थोपा पसीना र एक थोपा आँसुले मुछेर
यौटा शब्दको आकृति दिएँ
र मेरो सासको गन्ध हालेर
मेरो स्वरको तरङ्गसित छोडिदिएँ ।

मबाट छुटेपछि
त्यो शब्द पूरै डुलन्ते भयो ।
जता गयो त्यतैको भयो । जोसित बस्यो उसैको भयो ।
तर अडिएर कतै बस्न सकेन ।
अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि
त्यसले मात्रै चिन्छ मलाई । म राम्ररी चिन्दिनँ त्यसलाई ।
त्यसले कहिले काहीं बोलाउँछ मलाई । तर त्यसको स्वर
निकै भिन्दै भएको छ । भिन्दै भइरहन्छ ।

एक पल्ट सोधेँ त्यसलाई —
‘तँ किन यसरी बद्लिरहन्छस् हँ, मेरो शब्द ?’
त्यसले ठाडै जवाब दियो —
‘अरे ! तिमी चैं किन बदलिन चाहँदैनौ ?
के तिमीले आफूलाई कहिल्यै नबद्लिने भगवान सम्झेको?
बद्लिरहनुमा आनन्द छ । बद्लिरहनुमा त
गति छ अनि जीवन छ । बुझ्यौ ?’

तपाईको प्रतिक्रिया