दर्जनौं साहित्यीक कृतिको लेखक साहित्यकार विवश पोखरेल नेपाली साहित्यको केन्द्रमा चार दशक भन्दा लामो समयदेखि लेखन र विभिन्न साहित्यीक आन्दोलनहरुमा त्यतिकै सकृय हुनुहुन्छ । बिशेष गरि पुर्वको हरेक साहित्यीक गतिबिधिदेखि पछिल्ला पुस्तालाई साहित्यीक क्षेत्रमा रहीरहन स्नेह र प्रेरणा दिदै आउनु भएको छ । कयौं साहित्यीक सम्मान र पुरस्कारबाट सम्मानित पोखरेलको लेखनले मानवीयता र सदभावको वकालत गरिरहेको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।
आमा र गीत
आँखामा कहिले आँँसुका गीत
ओठमा कहिले मुस्कानका गीत
जीवनका हरेक शून्यतामा र कोलाहालमा
अँध्यारोमा उज्यालोमा
सधैं सधैं सुनिरहेको हुन्थें म
तपाईले गाएका मीठा गीत
भाइलाई बुबुमाम ख्वाउँदा पनि
गीत नै गाइरहेको सुन्थें
बहिनीलाई झोलुङ्गोमा हल्लाउँदा पनि
गीतमा नै रमाइरहेको देख्थें
रुँदा दिदीलाई र दाजुलाई र मलाई
फकाउँदा पनि
गीत नै गुनगुनाइरहेको देख्थें
नढाँटी भन्नुस् आमा
तपाईले जीवनमा कति गीत गाउनु भो ?
मेलापातमा दाउरा घाँसमा
सँगिनीमा तिहारमा र जात्रा र पर्वमा
जीवनका हरेक यात्रा र उत्सवमा
जब तपाई गाउनु हुन्थ्यो
खुसी र विरहका गीत
मलाई ती गीत
रेडियोमा बज्ने गीतहरू भन्दा पनि मीठा लाग्थे
टेलिभिजनमा बज्ने गीतहरू भन्दा पनि मीठा लाग्थे
तपाईं गीतमा नै रेटिरहनु भएको हुन्थ्यो जिन्दगीका राग
तपाईभित्र गीतमा नै छल्किरहेको हुन्थ्यो, खुसीको तरङ्ग
गीतमा नै ओठमा फुलाउनु हुन्थ्यो सपनाको इन्द्रेनी फुल
गीतमा नै झर्थे तपाईका आँखाबाट तप्प तप्प आँसु
अहिले मेरा हरेक गणित फेल भएका छन्
हिसाब राख्न सक्दिन
तपाईंभित्रका त्याग, समर्पण, माया र निष्ठा नाप्दानाप्दै
जिन्दगीका तराजु र तूलो भाँच्चिएको छ
सोध्न पनि सक्दिन म तपाईंलाई
जीवनमा तपाईं कतिपल्ट दुख्नु भो ? कतिपल्ट रमाउनु भो ?
बतासझैं थाहै नदिई आउने आफुभित्रका उत्कण्ठालाई
कतिपल्ट छाडिदिनु भो र कतिपल्ट समाउनु भयो
नढाँटी भन्नुस् आमा, तपाईंले जीवनमा कति गीत गाउनु भो ?
मलाई तपाईं देख्दा
आफ्ना छातीमा मायालु घाम जून र ताराहरू सुताएर
आफू जाग्राम बाँचिरहेको आकाशजस्तो लाग्थ्यो
चराहरूका चिरबिरमा श्रमका पसिनामा
फूलको सौन्दर्यमा र नदीका सुसेलीमा
जब म तपाईंलाई देख्थें र सुन्थें
मेरा हरेक मौनतामा तपाईको आवाजको प्रतिध्वनि
वात्सल्यको शीतल बतास भएर मुटु छोएर जान्थ्यो
मेरो हृदयका अन्तरकुन्तरमा
मायावी नदीको छङछङ आवाज भएर बग्थ्यो
त्यति बेला साँच्चै नै स्तब्ध हुन्थें म
सम्झिन्थें मेरी आमा त्यो गीत हो
जहाँ हाम्रो हरेक खुसी गाँसिएको छ
मेरी आमा त्यो रङ्ग हो
जहाँ जीवनका हरेक रङ्ग घोलिएको छ
मेरी आमा त्यो देश हो
असन्तोषी छोराछोरीहरूलाई
अंशबण्डामा मुटु नै काटेर दिए पनि नदुख्ने
यो मेरो अन्तिम प्रश्न हो आमा
तपाईंले मुटुबाट अंकुरित प्रगाढ वात्सल्यको बिउ रोपेर
जीवनको रुखो बारीमा कति खुसी उमार्नु भो
कति दुःख फलाउनु भो ?
नढाँटी भन्नुस् आमा
तपाईले जीवनमा कति गीत गाउनु भो ?
ऊसँगको भेटमा
व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा—
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।
शुष्क भएछन् ओठ
चाउरी परेछन् गाला
एकाएक हराएछ
हिमाल झैं अनुपम सौन्दर्य
मेटिएछन् हत्केलाका भाग्यरेखाहरू
फेरि सोधें
ठूली, असमयमा नै बूढी भइछौ नि
उसले मुसुक्क हाँस्दै फेरि थपी
के गर्छौ यस्तै हो
उज्यालो कुर्दाकुर्दै बूढी भइयो ।
सुरु सुरुमा मीठो गीत गाउँथी ऊ
सुन्दर लेख्थी कविता
अतीत कोट्याउँदै फेरि सोधें
अचेल गीत गाउँदिनौ ?
लेख्दिनौ कविता ??
उसले उदास हुँदै भनी
जुन दिन कसैले मेरो
आँखाको स्वर्णिम सपना र
ओठको मुस्कान लिएर भाग्यो
त्यसै दिनदेखि मरयो मभित्रको कविता
र हरायो मभित्रको गीत ।
स्मृतिको धमिलो छालमा अझ हराएँ
र फेरि सोधें
सँगै कोसीको बाढीमा
केराको थामको डुङ्गा
चढेको याद आउँदैन ?
एउटै आँपको कोया
दुइटैले चुस्दै खाँदै
झगडा गरेको याद आउँदैन ?
खमारमा परालका बोझाहरूको घर बनाएर
माटाको भाँडाकुँडीसँगै
बेहुला बेहुली भएर खेलेको याद आउँदैन ?
उसले आफ्ना आँखाबाट पग्लिएर झर्न आतुर
आँसुलाई हत्केलाले पुछ्दै भनी
असम्भव कुराको याद गरेर के गर्नु
त्यही यादलाई बिर्सन त म
फूलको सुन्दर गाउँबाट
काँडाको यो विषालु सहर आएको छु ।
ढुङ्गा
उपेक्षित थिएँ
देउरालीको एउटा किनारामा,
तिमीले उठाएर राख्यौ
एउटा सानो घरभित्र
म बस्ने घर मन्दिर बन्यो
र म भगवान
फरक केही छैन
देउरालीमा उपेक्षित ढुङ्गा र
मन्दिरमा स्थापित भगवान हुनुमा
मात्र तिम्रा लागि एउटा आदर्श बनें म
अलिकति आस्था बनें
मेरो नियति हिजो पनि ढुङ्गै थियो
आज पनि ढुङ्गै छु
फरक यति छ
हिजो अनवरत यात्रामा हिंडेका
थकित मान्छेहरू
मेरो छातीमा
बिसाउथे आफ्नो थकान
तिमी चढाउछौ
श्रद्धाको एक थुङ्गा फुल
हिजो अँगारले मेरो छाती कोरेर
बाघचाल खेल्थे गोठालाहरू
तिमी दल्छौ
निधारमा केशरी चन्दन र अबिर
हिजो पनि उपवासमा थियो जीवन
आज पनि उपवासमा छ
अभिशप्त छु खोलाको कुनै बगरजस्तै
आखै अगाडि नदी बगिरहेको छ
म निरन्तर तिर्खामा छु
ढुङ्गा हुँदा पनि देवता हुँदा पनि
जीवनको दुवै पाटो उस्तैउस्तै छ
हिजो स्वतन्त्र थिएँ आकाशजस्तै
तिमीले भगवान बनाएपछि
कैद छु र साँगुरिएको छु
तिम्रो उदेश्यको अँंध्यारो कारागारमा ।
तिम्रो स्वार्थको चङ्गुलबाट
कहिले मुक्त हुनु मान्छे ?
मलाई कुनै स्तुति र भजनहरू मन पर्दैन
कुनै किर्तन र प्रवचनहरू मन पर्दैन
मभित्र घामले पोल्नुको आनन्द बेग्लै छ
झरीले रुझ्नुको आनन्द बेग्लै छ
तिम्रो सन्तुष्टि र आनन्दमा
प्रतिवाद छ मेरो म जे छु, ठीकै छु
मलाई केही फरक छैन
देउरालीमा उपेक्षित ढुङ्गा र
मन्दिरमा स्थापित भगवान हुनुमा ।