छुदेन काविमो भारतेली मूलका नेपाली भाषी लेखक हुन्। कालेबुङमा जन्मिएर हुर्किएका काविमोको पहिलो कथा संग्रह 1986 हो। 2015 मा प्रकाशित उक्त संग्रहले 2017 को आशरानी राई स्मृति पुरस्कार मणिपुर प्राप्त गरेको छ। यसको लगत्तै 2018 मा सोही पुस्तकलाई युवा साहित्य अकादमी, नयाँ दिल्ली प्राप्त भएको हो। पाठकलाई उनको लेखनले यसरी तान्छकी तपाईं उनले लेखेको उपन्यास , कथा , जे पढे पनि किताब पढि नसकी तपाईंको मस्तिष्कले छोड्न मान्दैन । अनि यो साचो हो भन्ने महसुस गर्न तपाईंले फातसुङ पढ्नैपर्छ । गोर्खाल्याण्ड आन्दोलनलाई केन्द्रमा राखेर लेखिएको उक्त उपन्यास नेपालबाट फाइनप्रिन्ट अनि भारतबाट सम्वोधन पब्लिकेशनले एकैसाथ प्रकाशित गरेको छ । उपन्यासको बंगाली अनुवाद 2019 मा नै समीक चक्रावर्तीले गरेका हुन्। जसको पहिलो संस्करण मनफकीरा कलकत्ता अनि दोस्रो संस्करण लालीगुरास प्रकाशनले प्रकाशित गरेको छ। उपन्यासलाई अजित बरालले अंग्रेजीमा अनुवाद गरेका छन्। जसलाई यूकेबाट ब्यालेस्टियर प्रेस, नेपालबाट फाइनप्रिन्ट र भारतबाट रचना बुक्सले एकै साथ प्रकाशित गरेको छ। उपन्यासको हिन्दी अनुवाद डा. नम्रता चतुर्वेदीले गरिरहेकी छिन्। उनै लेखकसँग विमला तुम्खेवाले गरेको कुराकानी ।
हाल के लेखिरहनु भएको छ ? नेपाली साहित्य बजार र पाठकहरूले तपाईँको रेसपोन्स महत्वपूर्ण कस्तो छ तर तपाईँ आफैलाई चै कस्तो लाग्छ ?
निकै लामै समय भयो, नयाँ उपन्यासको काम गरिरहेको छु। पहिलो ड्राफ्ट यही सालभित्र सक्ने योजना छ। यसो भइदिए नयाँ सालसँगै रिराइट सुरू गर्ने हो। तर, भने जस्तो रफ्तारमा लेख्न सकिरहेको छैनँ। नेपाली लेखकको समस्या त्यही हो, कथाको लाइन र जीवनको लय दुवै मिलाउँदै हिँडनुपर्ने हुन्छ। त्यसमा म अझै ढिलो लेख्ने लेखक परेँ। जेहोस्, लेख्ने क्रम जारी छ। अझै एक-दुइचोटि रिसर्चको निम्ति दगुर्नुपर्ने अवस्था छ। तैपनि अहिलेको मुख्य फोकस भनेको नयाँ उपन्यास लेखनी नै हो।
पाठक बिना त लेखक अधुरो नै हुने हो। मलाई लाग्छ, किताब लेखिसक्दैमा एउटा लेखकको काम पूरा भइहाल्दैन। जब पाठकसम्म किताब पुग्छ र उसँग कथाले कुरा गर्न सक्छ; तब नै एउटा लेखकको लेखनी पूरा हुने हो। यस अर्थमा नेपाली पाठकले मेरो लेखनीलाई माया दिएकै छन्। कथासँग कुरा गरिदिएकै छन्। लाग्छ, त्यही मायाले थप चुनौती पनि थपिदिएको छ। र, म त्यही चुनौतीसँगै नयाँ लेखनीमा छु।
तपाईका पात्रहरू जबरजस्त र जीवनवादी छन्। विद्रोही पनि पात्रहरू अथवा विषयवस्तु यसरी जबरजस्त रूपमा आउनुको पछि लेखकको मनोदशा र समाजशास्त्र कुन चाहिँ पक्षले ज्यादा महत्व राख्दो रहेछ ?
पढ्दा होस् वा लेख्दा, समाजको तल्लो तप्काका मानिस र उसको जीवनको कथा मलाई जहिले प्रिय लाग्ने गर्छ। शायद, मान्छेलाई आफू उभिएजस्तै धरातलहरू प्रिय लाग्ने भएकोले नि होला ? म चाहिँ जहिले समाजको पिँधमा रहेका पात्रहरूको कथा भन्न रूचाउँछु। तपाईँ कथा लेख्नुहोस् वा उपन्यास। अथवा कविताकै पात्र किन नहोस्, जो बनिनमा लेखक बाँचेको समाजको भूमिका सबैभन्दा धेर हुने गर्छ। यसको अर्को पनि कारण छ। लेखकको मनोदशा तयार हुनमा पनि उसले बाँचेको समाजकै भूमिका धेर हुनेगर्छ। तपाईँले फातसुङकै पात्रहरूलाई हेर्नुहोस्, ती हरेक पात्रहरूको गुण र उसको व्यवहारमा कतै न कतै मैले बाँचेकै समाजको छाप छ। चाहे त्यो विभेदको कुरा होस् वा पात्रको सोझोपनाको कुरा होस् । अथवा उसको विद्रोहीपनको कथा नै किन नहोस् ? यसैले मलाई लाग्छ, एउटा कथाको पात्र बन्नलाई धेरै थोक चाहिन्छ। जसमा लेखकको मनोदशा, उसले बाँचेको समाज र कथाले मागेको प्लटको भूमिका सबैभन्दा धेर हुनेगर्छ।
नेपाली साहित्यमा इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री, हरिभक्त कटुवाल, पारिजात सबैले पुर्याएको योगदान अत्यन्तै महत्वपूर्ण छ। वर्तमान समयमा लेखिरहेका भारतीय मूलका नेपाली लेखकको अवस्थालाई चाहिँ कसरी हेर्नु हुन्छ ?
यी नाम लगायत छुटेका केही नामहरू नै हुन्, जसले भारतेली नेपाली साहित्यलाई दुनियाँमा चिनाए। तर, यी नामसँगै लेख्नेहरू त अरू नि हजारौँ थिए नि, होइन र ? जसमा राम्रा र कमसल दुवै किसिमकाहरू पर्थे। आजको भारतेली नेपाली साहित्य पनि उस्तै छन्। जहाँ राम्रा नि छन् र कमसल पनि छन्। हजारौँले लेखिरहेका छन्। तर, जति लेखिए नि, अहिलेलाई यति चैँ हामीले स्वीकार गर्नैपर्छ, भारतेली नेपाली साहित्यको अवस्था नेपालको तुलनामा अहिले पनि थोरै नै छ। त्यसमा केही समस्याहरू पनि छन्। यहाँ भने जस्ता राम्रा प्रकाशन गृहहरू छैनन्। जसको कारण लेखकले आफ्नै गोजीको पैसा हालेर किताब निकाल्नु परिरहेको छ। आफ्नै गोजीको पैसा हालेपछि जे छापे नि भइहाल्यो। यसो हुँदा, लेखकले आफ्नो लेखनीमा धेरै कसरत गर्न नसक्ने रहेछ। त्यसैले होला, यहाँका लेखकहरूमा रिसर्च गरेर लेख्ने परम्परा एकदमै कम छ। लेखेको कुरालाई रिराइट गर्नेहरू थोरै मात्र छन्। यसै त, एउटा किताब लेखिनु लरतरो कुरो होइन। एउटा राम्रो कविता लेख्न नै वर्षौँ लाग्नसक्छ। तर, यहाँ त कहिलेकाहीँ एउटा लेखकले एकै दिनमा दसबाह्रवटा किताब एउटै मञ्चबाट विमोचन गरिदिन्छन्। हुन त त्यो लेखकको आफ्नै खूबीको कुरा पनि होला । तर, मलाई चै कमसेकम यस्तो लाग्छ, लेखकले किताबको नम्बरमा होइन, किताबमा नै फोकस गर्न जरूरी छ।
अर्को समस्या यहाँ किताब वितरणको पनि छ। तर, पछिल्लो समयमा धेरैवटा अनलाइन प्लेटफर्महरू आएका छन्। जसले घर घर किताब पुर्याइरहेका छन्। तर, दुःख गरेर अनलाइन मार्फत् घर घर किताब पुर्याउन चाहने साथीहरू नै अहिले गुनासो गरिरहेका हुन्छन्, ‘हाम्रोतिर लेखकहरूले नै चै किन किताब कम पढ्छन् ? विशुद्ध किताब मात्रै पढ्ने पाठकहरूले नै अहिलेलाई अनलाइन प्लेटफर्महरू बँचाइरहेका छन्। नत्र त, सय जना किताब मगाउनेको सूची हेरे दस जना पनि हाम्रा लेखक कवि हुँदैनन्। यस्तो किन हुन्छ ?’ जे होस्। यी तमाम समस्यासँग जुझ्दै भए नि यहाँ लगातार नेपाली साहित्य लेख्ने कार्य भइ नै रहेको छ। र तीमध्ये केही राम्रा कृतिहरू पनि आइ नै रहेका छन्।
दुई देशबीच भाषा, साहित्य,कला संस्कृतिको माध्यमबाट एक आपसमा गर्न सकिने सकरात्मक पक्षहरू के के हुनसक्छ ?
धेरै कार्य छन् । तर, सबैभन्दा ठूलो कुरो नेपाली किताब मेची पूलबाट तार्नै गाह्रो छ। पहिले यसमाथि काम हुन जरूरी छ। जुन सिमानाबाट दुवै देशका मान्छेलाई ओहोर दोहोर गर्न केही समस्या छैन, त्यहीँबाट दुई देशका लेखकका किताब छिराउन चैँ किन मुस्किल भएको होला ? यसमाथि सबैभन्दा पहिले पहल हुनसके राम्रो हुने थियो।
एक लेखक, एक भारतीय मूलको नेपाली। यो दुई दृष्टिकोणबाट हेर्दा नेपालको डेड़ दशक यताको राजनैतिक परिघटना र त्यसबाट उत्पन्न नेपाली साहित्यले छुटाएको पक्ष के हो जस्तो लाग्छ?
हरेक लेखकको आफ्नै सीमा हुन्छ। मसँग पनि केही सीमाहरू छन्। त्यसैले मैले पढेका किताबहरूलाई आधार मानेर, यो भयो र त्यो भएन भन्नु शायद गल्ती हुनेछ। तर, मलाई लाग्छ, आन्दोलनका पाटाहरूलाई केलाएर लेख्ने कामहरू नेपालमा धेरथोर भइरहेकै छन् । उपन्यासहरू आइरहेकै छन्। गैर आख्यान पनि लेखिएकै छन्। छुटेका कुराहरू अझै थपिँदै जालान् नि। होइन र ?
राजनैतिक परिवर्तनसँगै सामाजिक परिवर्तन एकै रफ्तारमा हुनुपर्ने हो। तर दक्षिण एशियाली मुलुकहरूमा सामाजिक समस्याहरू ज्युँका त्युँ छन्। सुशासन, शान्ति सुरक्षा,मानव अधिकार तथा महिला अधिकार जस्ता लोकतन्त्रको महत्वपूर्ण पक्षहरू गौण छन्। जसले गर्दा सिमान्तकृत र पिछड़िएको वर्गका मानिसहरूको जीवनमा परिवर्तन सपना मात्र भएको छ। तपाईँलाई के लाग्छ ?
उसो त राजनीतिभन्दा पहिले बनिएको त समाज नै हो। तर, बिस्तारै समाजमाथि राजनीति यसरी हावी बन्दै गयो, जसले अब समाजको हरथोकको निर्णय गर्न थाल्यो। अझ हाम्रोतिर त समाजमाथि राजनीति यति धेरै हावी भएको छ, जसले हरेक थोकलाई उठबस गर्न लगाउँछ। समाजको हरेक कुरा बनाउनु र भत्काउनुमा राजनीतिकै भूमिका सबैभन्दा धेर हुन्छ। तर, यही राजनीतिलाई सुशासन, शान्ति सुरक्षा र मानव अधिकारभन्दा ठूलो कुरा त उसको सत्ता नै भइदिन्छ। जसले आफ्नो सत्ता बचाउनाको निम्ति यी सब मुद्दाहरूलाई जहिले साइडलाइन गरिरहन्छ। यसको सबैभन्दा ठूलो कारण, राजनीति समाज केन्द्रित नभएर व्यक्ति केन्द्रित बन्नुले गर्दा पनि हो। मलाई लाग्छ, यो समस्या त दक्षिण एशिया मात्रै होइन, विश्वकै राजनीतिमा पनि उतिकै छ। भलै त्यहाँ समस्या अर्को होला। माध्यम अर्कै होला। तर, समाजलाई राजनीतिले पीड़ा त दिई नै रहेको छ। त्यही भएर होला, यहाँ जतिकै त्यहाँ पनि राजनीति र सत्ता विरूद्धको आवाज उठिरहेको देखिन्छ। विद्रोहको आवाज उठ्नु भनेको राजनीतिले समाजको सास थुनिदिनुकै परिणामको कुरा त हो। तर, दुःखको कुरा यो छ कि, जुन समाजले राजनीति बनायो; हाम्रोतिर त्यही राजनीति दाइँको मे जस्तो बनिदिएको छ। जसले समाजको हरेक थोकलाई आफ्नै वरिपरि घुमाइरहन्छ। जब राजनीति अघि आउँछ, यहाँको हरेक मुद्दा गौण बनेर गइदिन्छ।
भारतीय नेपाली समाजको परिपेक्ष्यमा त यो समस्या अझ धेर गाड़ा बन्दै गइरहेको देखिन्छ। यहाँ सिमान्तकृतहरूको कुरा, जनजातिको मुद्दा, महिला अधिकारको कुरा, श्रमिकहरूको समस्याको कुरा त राजनीतिमा छाड़िदिऊँ, साहित्यमा पनि धेरै अटाइँदैन। किनकि, त्यहाँ पनि त धेरथोर राजनीति छाएकै हुन्छ।
तपाईँको लेखनमा मानवीय संवेदना आक्रोश र उनीहरूको अन्तरदशाहरू यसरी जबरजस्त रूपमा चित्रित भएको हुन्छ कि पाठक आफैले पनि मेरै कथा लेखेछ भन्छ, जब उसले तपाईको कृति पढ्छ। तपाईँ एक सफल लेखक हुनुहुन्छ। तर, आफैले चाहिँ आफ्नो बारेमा भन्नुपर्दा के भन्नुहुन्छ ?
आफ्नोबारे आफैले बोल्नु जस्तो गाह्रो कुरा केही होइन। तपाईँले प्रश्नमा जति बोलिदिदिनु भयो, त्यो नै मेरो निम्ति धेरै हो। अरू त मसँग कमजोरीहरू मात्रै छन्।
तपाईँको मन पर्ने लेखक, कृति र फिल्म कुन-कुन हो ?
हरेक किताब जसलाई पढ्दा म कथाभित्र रूमलिन सक्छु। पात्रहरूसँग गफ गर्नसक्छु। ती मलाई मनपरेका किताब हुन्। त्यसैले मेरा निम्ति लेखक भन्दा धेर किताब महत्वपूर्ण हुन्छन्। यस्ता राम्रा किताबहरूको सूची मसँग निकै लामा छन्। सबैलाई यहाँ उल्लेख गर्न गाह्रो होला ! अनि, लामो समयसम्म दिमागमा घुमेको फिल्म चै ‘द स्टोनिङ अफ सोरायम’ नै हो।
फातसुङपछि नयाँ कुन कृतिको तयारीमा हुनुहुन्छ ?
मैले शुरूमा नै भनिहाले, उपन्यासको काम गरिरहेको छु। दिमागमा अझै नयाँ दुइवटा विषय घुमिरहेका छन्। अब अलि कामको रफ्तार बड़ाउनु पर्ला कि ?