छेवाङ योञ्जन भारतेली नेपाली भाषी कवि हुन् । एक दशकदेखि नेपाली कविता लेखिरहेका योञ्जन आम मान्छेको कथालाई कविता मार्फत् सुनाउन खप्पीस छन् । अनुवादमा पनि शसक्त उनले अरुन्धती रायको किताब अनुवाद गरेका छन् ” जातको उन्मूलन ” । हाल भारतमा खोलिएको किताब घरका अभियन्ता समेत रहेका रहेका छन उनी । प्रस्तुत छ साताको तीन कविता ।

नयाँ टुसा

अकस्मात यो मनलाई
बित्यास पऱ्यो प्रिये
त्यसैले तिमीसम्म पठाइरहेको छु
ढुकढुकी रहने यो मुटुबाट
पिडक भूइचालोका केही तरङ्गहरू

लाग्यो तिमीलाई पनि झकझकाउन्
स्मृतिका परकम्पहरूले
तिमीलाई पनि हल्लाउन्
एकान्तका सुस्तारीहरूले
र नियास्रो तुवालो माझ तिमीले पनि
देख्न सकून् एउटा विद्रोही सपना

तिमीलाई थाहा छ प्रिये?
झरीमा रूझ्दै भिझ्दै पैयू बोटमा
झुक्रिरहेका जुरेलीका जोडाहरू
अलिकति ओभानो हुनासाथ
बास जाने सपना देख्छन्
जसरी हामी बेस्सरी अस्रुग्यास सहेर
जुलूसबाट फर्कन्छौँ

असिनाका हेपाईहरूबाट
गर्धन नै निहूराएर
माटोमा लम्पछार परेका गोदावरी,
लालुपाते र सुनाखरीका थुंगाहरू पनि
मुसलधार जीवनपछि दह्रो उठ्ने आँट गर्छन्
जसरी जेलमा बसेर नाराहरू
लेखिरहन्छन् केही सालिन कविहरू

तिमीलाई भनि राखौँ यी कुरा पनि-
हेर त ! गाऊँले हेपाइमा परेका कुनै पनि अजाति घुम्तीहरूले
आजसम्म जुलूस रोकेका छैनन्
जति नै देशभक्त भए तापनि
अर्कै देशबाट आएका हावाहरूलाई
रोक्न सक्दैनन् यी जङ्गी सिमानाहरू

हिमालबाट बामे सर्दै सर्दै मरूभूमितिर जान्छ
सधैं एउटा घाम
मरणच्यासे संसद भवन र लाचार संविधान
ढाड सेकेर उठ्छ
समाधिभित्रको गणतन्त्रलाई बेस्सरी विषपान गराउँछ

अरू थोक के भनौं?
हाम्रा संवेदना रोक्न
ब्यारिकेट बोकेर कुद्धा कुद्धा कुद्धा कुद्धा
लुते भइसकेको छ यो देश पनि

मेरा आत्मीय प्रिये!
साच्चै जोखिममा छन् हाम्रा हरेक यादगार विगतहरू
जोखिममै छन् प्रेम लेख्ने हाम्रा रक्तिम अक्षरहरू
त्यसरी नै
कानुनी निगरानीमा छन् मैले तिमीसम्म
पठाएका यी हरफहरू पनि

तर…
दण्डनीय ठहरिएका मेरा हृदयका कुनाहरूमा
केही थोपा भुप्रोहरू अझैसम्म ताजै छन्
तिम्रा बाडुलीका हिकहिकहरूमा पनि
केही झिल्को हिम्मतहरू जियालै त छन्

बस् यति बेला
मुठ्ठी उठाएर आऊँ प्रिये
फुकी दिऊँ बरू राजधानीको मुटु माझै
एउटा प्रेमिल डडेलो
जहाँ उम्रउन् वर्ग बिहिन देशको
विप्लवी नयाँ टुसा।

पुल

यी पुल भएर दिनहुँ हिँड्छन्
मुला, फर्सी र आलुका सपनाहरू
बजारसम्म पुग्छन्
र दिनभरि दलाली मोलभावको ठक्कर खाएर
साँझमा निराश फर्कन्छन्
जसोतसो बल्छ बस्तीको बूढो चुल्होमा
पिलपिले भोकको आगो

अहिले कुच्चोका तन्नेरी पसिनाहरू
पुल तर्ने रहरमा छन्
केही तरूनी डुकुहरू
पुल तर्नलाई सिङ्गारिएका छन्

अलैँचीको महङ्गो सुस्केरा,
केराको नक्कले आयु,
घर मौरीको गुलियो स्वाद,
मगमगाउँदो धानको स-साना पाइलाहरू
जम्मै जम्मै अहिले पुल तर्ने झोँकमा छन्

मलाई थाहा छ पुल तरेकै दिन
यिनीहरूले पनि गुमाउने छन्
आफ्नापनका गाउँले नाताहरू
र, बन्ने छन् यिनीहरू
कञ्जुस रुपियाँको फितलो विश्वास

एउटा रहर न हो शहर आउनु
जो आइसकेर फिक्का लाग्छ

एउटा सपना न हो शहर पस्नु
जो पसिसकेर दिक्क लाग्छ

तर पनि यो पुल भएर
दिनहुँ एउटा गाउँ शहर छिर्छ
शहरको नाङ्गोपनलाई
जैविक खास्टो ओढाएर
ऊ आफू लाचार फर्किन्छ

प्रिय पाठक,
पुल पारि मुस्कान, फूल र प्रेम छ
पुल वारि नाफा, व्यापार र धोका

पुल पारि बादल झरना र खेतहरू छन्
पुल वारि नाफाखोरी मानसिकताका
अग्ला अग्ला हिमालहरू

सत्य होला महाशय,
पुल पारि मासूम एउटा गाउँ छ
पुल वारि भयंकर बदमास शहर।

कठिन बिम्ब

दिनभरि बगरको बालुवामा
जीवनको धर्साहरू कोरिरहन्थे
बोरा भरि भरि खाँदेर
उमेरका रङ्गहरू
कता कतातिर पठाइदिन्थे

हरेक दिन
शान्त नदीसँगै बगाइ पठाउँथे
निधारका मोती दानाहरू
तब पो साँझमा चुल्हा जल्थ्यो
र निर्धक्क निधाउँथ्यो
आधापेटको एउटा पहाड

हातमा छिनो मार्तोल लिएर
ज्यामीहरूसँगै हुन्थे
सडकपेटीका कथाहरूमा

काँधमा हलो जुवा लिएर
किसानहरूसँगै गीत गाउँथे
न्वागी पर्वका दिनहरूमा
त्यसैले त
उनी हाँस्दा गोठ उज्यालो हुन्थ्यो
मधुमासमा सुन्दर
चोर घाम पनि लाग्थ्यो

अभावका भऱ्याङ्गहरू चढ्दा चढ्दै
देशको मानचित्र झै
खुम्चिएको थियो गालाका केही हरफ रहरहरू

थाप्लोमा साहुको ऋण बोक्दा बोक्दै
देशको अर्थव्यवस्था झैं
कमजोरिएको थियो छात्तीको आलो रगतहरू

उमेरको पखेटा टुक्रिँदै गएपछि
देशको कानुन झैं
अलिकति दुब्लिएको थियो
उनको सहास

तर उनी हारेका थिएनन्
लाचार संविधान झैं
उनको सपना मरेको थिएन

उनी सबेरै ढाकारभरि मेहनत लिएर शहर जान्थे
साँझमा सा-साना अक्षरहरूसँग घर पस्थे

उनको हातको चक्रहरू मेटिरहँदा
म पृथ्वी पढ्ने भइसकेको थिएँ

अहिले उनको सम्झना
तिनै चोक, गल्ली, सडक,
बगर र खेतका आलीहरूतिर छन्

म उनी झैं
‘बाउ’ बन्न नसकुला कि भन्ने भयमा
यो कविता लेखिरहेको छु

साँच्चै बरू आकाश छुन
सहज होला
हावाहरूसँगै मितेरी साइँनो गाँसेर
जीवनलाई चङ्गा झै उडाउनु पनि
सहज नै होला
बिम्बहरूसँग मस्कि मस्कि कवि हुन पनि
सहज नै होला

तर “बाउ” झैँ बाउ बन्न
बेहद कठिन पो रहेछ।

तपाईको प्रतिक्रिया