नन्द कन्दङवा

किरात झन्डा

किरात र याक्थुङ


प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात र याक्थुङको सम्बन्ध छ भन्ने ४ वटा महत्वपुर्ण आधारहरु रहेका छन् । ती  ४ आधार बाहेक अरु पनि आधारहरु छन् । तर तिनीहरुको यहाँ चर्चा गरिन्न । यहाँ ति ४ वटा महत्वपुर्ण आधारको मात्र चर्चा गरिन्छ ।

पहिलो आधार हो, कन्दङवा, खेवा, थेगिम, पापो, सातरेनुहाङ, खोक्याहाङ लगायत धेरै लिम्बु बंश जसलाई मुन्धुममा तेमेन वरङसा र खाम्त्रोङबा लुम्बोङबा भनिन्छ । तिनीहरुको मांगेन्ना मुन्धुम प्राचीन नेपाल र सोको आसपास र तराई मधेसबाट आउँछ । अझ थेगिमहरुले सेनको शाखा दावी गरेकोले उनीहरु दक्षिण भारतको डेक्कन प्लेटोबाट बंगाल (गौड) मा शासन गरि त्यहाँबाट एउटा शाखा तिरहुत–मिथीला, सिमरौनगढ, मकवानपुर, बिजयपुर हुदै लिम्बुवान भूमीमा आएको ईतिहासले देखाउँछ । सेनकै अर्को शाखा प्रयाग हुदै पाल्पा पुगेको देखिन्छ । यसको अर्थ तिनीहरु किरात समुहका मानव समुह हुन भन्ने स्पष्ट हुन्छ । कन्दङवा र खेवा लिम्बुका पुर्खाहरु प्राचीन नेपाल र त्यसको आसपास हुदै कोशी नदी तथा सिमरौनगढ भएर आएको कुरा उनीहरुको माङगेन्ना मुन्धुमले वर्णन गर्दछ । यसको अर्थ ती बंश समुहहरु प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात समुहका हुन भन्ने स्पष्ट हुन्छ ।

दोस्रो आधार हो, युमा र कप्पोबा साम्माङ मुन्धुममा “सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे” र “सुसुवादेन लिलिमहाङ याक्थुङहाङ सावायेहाङसा” भनेर बर्णन आउँछ । लिलिमहाङ भनेका प्राचीन नेपालबाट किरातहरुको राज्य शासन समाप्त भएर पुर्वतिर लागेपछिका किरात समुहका पछिल्लो पुस्ताका मानिस हुन् । तिनै समुहका मानिसहरु रहने गाउँलाई मुन्धुममा याक्थुङ पाङफे (याक्थुङ गाउँ) भनिएकोले किरात नै यकताम्म्बा – यक्तुम्बा – यक्तुम्सा (यकवाला मानव समुह) हो भन्ने प्रमाणित गर्दछ । यहि यक्तुम्बाको अपभ्रंस नै याक्थुङ हो भन्न सकिने ठाउँ छ ।

तेस्रो आधार हो, प्राचीन किरातकालीन नेपालका ठाउँ गाउँ, खेत, डाँडा, चुचुरा, स्थान तथा सरकारी कार्यालय र कर लगायतका नामहरु लिम्बु (याक्थुङ) भाषामा अर्थ लाग्ने र कतिपय नामहरु लिम्बु (याक्थुङ) भाषासंग एकदमै नजिक रहेको देखिन्छ । यो कुरा धन बज्राचार्यले ३०० भन्दा बढी लिच्छवीकालिन अभिलेखहरु संकलन गरि प्रकाशन गरेकोबाट थाहा लाग्छ। ती अभिलेखहरुमा किरातकालीन ठाउँ गाउँ, खेत, डाँडा, राज्य कार्यालय, कर तथा स्थान बिशेषका जिम्मेवारी बोकेका व्यक्तिहरुका नामहरु लिच्छवीहरुले संस्कृतकरण गर्न नमिलेका कारण लिच्छवी अभिलेखहरुमा उल्लेख भएका छन् । उदहरणको लागी केदुम्बाट, सिङकर, चोक्फारा कर, चाङगु, सनिगु, इृचङगु आदी रहेका छन् । यसले प्राचीन नेपालका किरात नै पुर्व क्षेत्रमा आएर तेमेनसा, खाम्बोङबा लुम्बोङबा, याक्थुङ र लिम्बु भएका हुन भन्ने देखिन्छ ।

चौथो आधार हो, फेरी किरात भन्ने शब्द  किरयातबाट बनेको हो जसको अर्थ भुमध्यसागरिय मोआवाईट भाषामा गढ – किल्ला (यक) – शहर भन्ने अर्थ लाग्छ । जेनेटिक अध्ययनबाट (Y chromosome DNA) हाप्लोग्रुप समुहको मानव तिब्बत  र अल्टाई पहाड बीच  म्युटेसन भएर बिकास भयो भन्ने जेनेटिक अध्ययतकर्ताको दावी छ । उक्त  हाप्लोग्रुपको पुर्खा पश्चिम एशिया (अहिलेको गल्फ कन्ट्रीको कुनै भाग तथा किरगिज पहाड आसपास) बाट उक्त क्षेत्रमा आएको मानिन्छ । सोही हाप्लोग्रुपबाट म्युटेसन भएर के(K) हाप्लोग्रुप  मानव भयो सो के (K) बाट छुट्टीएर (split) अथवा म्युटेसन (mutation)भएर एनओ (NO) हाप्लोग्रुप मानव समुह बन्यो । त्यसै एनओ(NO)को ओ(0) हाप्लोग्रुप हिमाल दक्षिणका किरात भनिएका मानव समुहमा पाईने भएकोले शायद किरात नाम पश्चिम एशिया र मध्य एशियाबाट नै आयो र निरन्तर प्रयोगमा रह्यो । त्यसैलाई, आर्यहरुले सापट लिएर किरयात शब्दलाई गलत अर्थ लगाउन र गाली गर्न प्रयोग गरेको देखिन्छ जुन उनीहरुको ईसापुर्व १३–११ शताब्दीको अथर्व वेदमा पहिलो पल्ट समाबेश गर्न पुगे । यस्तो किल्ला (गढ-यक) हरप्पा सभ्यताका हरेक बस्तीमा बस्तीको पश्चिम पट्टी या बस्तीको नजिकै रहेका ती बस्तीहरुका उत्खनन (excavation) बाट पत्ता लागेको छ । बस्तीसंगै गढ (यक) तथा किल्ला रहने प्रचलन लिम्बु भनिएका मानव समुहमा रहेको छ । लिम्बु बंश भनेका यक (गढ-किल्ला) वाला मानव समुह हुन । मांगेन्ना यक नभएको लिम्बु नै हुदैन । यद्यपी माङ्गेन्ना यक र राजनीतिक प्रशासनिक यक फरक फरक हुन् । पछिल्लो समयमा संघीय राज्य शासन संचालन  गर्दा १० वटा मुल प्रशासनिक यकहरु र अन्य सानातिना यकहरु निर्माण गरी शासन सन्चालन गरेकाले यकवाला समुहलाई प्रतिनिधित्व  गर्ने शब्द  यकताम्बा – यक्तुम्बा – यकतुम्सा हुदै याक्थुङ भएको देखिन्छ । यसले किरात भनिएका मानव समुह नै लिम्बुवान भनिएको क्षेत्रमा कोही खाम्बोङवा लुम्बोङबा भए भने कोहि तेमेनसा तथा याक्थुङ भए भन्ने स्पष्ट गर्दछ ।

राजा यलम्वरको साम्राज्य

याक्थुङ र लिम्बु


पहिलो त याक्थुङ र लिम्बु शब्दको अर्थ न लिम्बु भाषामा लाग्छ न संस्कृत या नेपाली खस भाषामा लाग्छ । यसको अर्थ ति दुबै लिम्बु भाषाको मौलिक शब्द  अपभ्रंस  भएर बनेका हुन । याक्थुङ र लिम्बु शब्द  फरक फरक समुहलाई चिन्हाउन प्रयोग नभएर एउटै मानव समुहलाई चिन्हाउन प्रयोग भईआएको छ । यी  दुई शब्द अदलबदल (interchangeably) गर्दै प्रयोग भईआएको छ ।
याक्थुङ शब्द यकसंग जोडिएर बनेको हो र यो थिबोङ याक्थुङका साथै दश लिम्बुवान राज्य (थिबोङ याक्थुङ लाजे) संग सम्बन्धित छ भने लिम्बु शब्द लुम्बोङबा खाम्बोङबा भन्ने आदिवासी – भूमी पुत्र भन्ने अर्थमा लुम्बोङबा – लिलिम्सो – लिलिमहाङ – लुम्बासुम्बाका बासिन्दाबाट लिम्बु शब्दको विकास भएको हो । यो भनेको एउटा मानिसको दुई वटा पहिचान माक्सते र कुमाक्हाङ भने जस्तै हो । दुईटै नाम संस्कृत या नेपालीकृत (खसभाषाकृत) छैन तर गाउघरमा चिन्ने नाम माक्सते र बाहिरतिर चिन्ने नाम कुमाक्हाङ भए जस्तै हो । यसै सन्दर्भमा एउटा कुरा के बिर्सन हुन्न भने कान्तिपुरका शाह राजासंग भएको बि.सं. १८३१ को सन्धिमा लिम्बु शब्द परे पनि अघिदेखि चलन चल्तीमा रहेको लिम्बु, लिम्बुवान नपरेको कारण नन्द राय र जामुन रायहरुले बिद्रोह गरे । त्यसको परिणाम स्वरुप लिम्बु र लिम्बुवान समेटिएको छुट्टै लालमोहर जारी गर्नु पर्यो । त्यसैले, याक्थुङ र लिम्बु शब्दमा धेरै गलफत्ती गरिरहनु समय खेर फाल्नु मात्र हो भनेर बुझ्नु पर्दछ ।

लिम्बुवान

लिम्बुवानको सन्दर्भमा दश लिम्बुवान कहिले बन्यो भन्ने निश्कर्षमा पुग्न अघि हामीले केही तथ्यहरुलाई हेर्न र केलाउन आवश्यक हुन्छ । प्रमाणको रुपमा रहेको पहिलो कुरा, मकवानीको समयमा महाफेदाप थियो भन्ने कुरा बि.सं. १८३७ मा देवान देशबन्धु राना सरदारले मन्जित रायको नाममा पठाएको फेदाप सुभांगी सिर्तोक पत्रले देखाउँछ । मकवानी भनेको सेन मकवानकालीन बिजयपुर राज्य हो । बिजयपुर पनि पछिल्लो समयमा राखिएको नाम हो । सो राज्यमा संस्कृतकरण पन्ध्रौ शताब्दी अर्थात बि.सं. १४५० कै दशकतिर भएको देखिन्छ । यसको अर्थ बिजयपुर राज्यमा सेन राजा भए पछि बिजयपुर सेन मकवानको राज्य भयो । बिजयपुरमा लोहाङ सेन अर्थात पहिलो पटक सेन राजा भएको बि.सं. १६६६ (ईस्वी १६०९) मा हो । सेनहरु राजा हुने हुँदा सेन राजा हुनु भन्दा अघिका बिजयपुर राज्यका कृयाकलाप तथा कामहरुलाई पनि मकवानी समय भन्ने प्रचलन रहेको देखिन्छ ।
यस भनाई तथा बि.सं. १८३७ को देवान देशबन्धु राना सरदारको पत्र लेखाईले महाफेदाप टुक्रिएर दश लिम्बुवान बनेको नवौ शताब्दीदेखि १३ शताब्दीसम्म होईन भन्ने स्पष्ट गर्दछ । किन भने नवौं-दशौं शताब्दीदेखि १२-१३ शताब्दीसम्म मकवानी राज्यको उदय नै भएको थिएन । बंगाल (गौड) को सेन राज्य ईस्वीको १३ औं शताब्दी (ईस्वी १२०५–१२२०) को शुरुतिर समाप्त भयो । बिजयपुर तथा सेन मकवानपुर राज्यहरु ईस्वी १४ औ शताब्दी (इस्वी १३८४ आसपास अर्थात बि.सं. १४४१) को आसपासमा उदय भएका हुन् । त्यस अघि ति राज्यहरुको अस्तित्व ईतिहासमा देखिन्न । ईतिहासमा सेन भन्दा अघि मोरङ सहितको क्षेत्रमा पाला (एबबि) राजबंशको राज्य शासन रहेको ईतिहासले देखाउछ । ईस्वीको १३ औं शताब्दीमा  मुस्लिमद्धारा बंगाल (गौड) को सेन राज्यको समाप्ती पछि मात्र बिजयपुर र मकवानपुर राज्यहरु उदय भएका हुन् ।

हाल दाबी गरिएको लिम्बुवान भुमि गाढा निलो रंगमा । ऐतिहासिक लिम्बुवान फिका निलो रंगमा
लिम्बु समुहको फोटो सन १८६८ तिर खिचिएको।

दोस्रो तर्क तथा प्रमाण, मकवानीको समयमा महाफेदाप भएको तर सो महाफेदाप त्यसपछि टुक्रियो र टुक्रिएको महाफेदाप ४ वटा थुम (लिम्बुवान देश) छथर, खपन, फेदाप र आठराई भए सहित मैवा–मेवा, तमोर, याङवरक, पान्थर, फाकफोक (चारखोल) र मिकलुक (चौविस) गरि दश लिम्बुवान बन्यो भन्ने कुरा मुरेहाङ खेवाङ पछि पानोहाङ खेवाङ फेदापको तर्फबाट बिजयपुरको चौतारियामा प्रतिनिधित्व गरेकोले प्रमाणीकरण गर्दछ । बाजाहाङका बाबु मुरेहाङ खेवाङको समय अघिसम्म महाफेदाप थियो र मुरेहाङकै समयमा उक्त महाफेदाप टुक्रिएको भन्ने कुरा मुरेहाङ फेदापका राजा थिए भन्ने उल्लेख गरेकोबाट प्रष्ट हुन्छ । उक्त कुरा बि.सं.१६६८ (ईस्वी १६११) तिर तिब्बतका राजा दलाई लामा (तेस्रो या चौथो ?) ले बाजाहाङको छोरालाई फेदाप देश (फेदापसा) सदर गरिदिएको तिब्बति मोहरले पनि सदर गर्दछ । सो तिब्बती मोहरमा फेदाप देश (फेदापसा) का बाजाहाङले आफ्नो राजभार छोरालाई सुम्पिएको उल्लेख भएको छ । बाजाहाङका छोरा भनेका पानोहाङ हुन् भने बाजाहाङका बाबु मुरेहाङ हुन । महाफेदाप नभनी फेदाप मात्र उल्लेख भएकोले उक्त निश्कर्ष निस्कन्छ । अझ सो तिब्बती मोहरमा बाजाहाङका पिता पुर्खादेखि पाई खाई चर्ची ल्याएको फेदाप बाहेक नुहाङमा, भागासुम सहित अरु तराईसम्म फैलिएका सात देशहरुको उल्लेख रहेको छ । यसको अर्थ बाजाहाङका पिता पुर्खाको समयमा महाफेदाप थियो जसले नुहाङमा, भागासुम सहित तराईसम्म फैलिएका अरु सात देशहरुलाई पनि समेटेको थियो भन्ने अर्थ दिन्छ । तर ती सात देशहरु कुन कुन हुन कहिँ उल्लेख छैन ।


मुरेहाङ खेवाङ र बिजयनारायण रायको सम्बन्ध राम्रो भएकाले उपल्लो पहाडी भागका आपुंगी राजाहरुसंग बिजयपुर राज्यको सम्बन्ध मुरेहाङकै पालामा बिस्तार भयो । मुरेहाङलाई बिजयनारायण रायले मृत्युदण्डको सजाय गरेकोले मुरेहाङका छोरा बाजहाङहरु बिजयनारायणको बिरुद्धमा लडे र बिजयनारायण रायलाई पराजित पनि गरे । बिजयनारायण रायको राज्य समय भनेको बि.सं. १६४१ देखी बि.सं. १६६६ सम्म (ईस्वी १५८४–१६०९) हो । बाजाहाङ खेवाङ (खेवा?) बि.सं. १६७५ (सन १६१८) मा गिद्धे पहाडको लडाईमा मारिएकोले उनको समय पनि बि.सं. १६४०-५० देखि १६७० कै दशक हो । तत्कालिन तिब्बतका राजाका अनुसार उनी बि.सं. १६६८ तिरका हुन् । यिनका बाबु मुरेहाङको समय भने बि.सं. १६३०-४० को दशक हो भन्ने स्पष्ट हुन्छ ।


यसको अर्थ बि.सं. १६६६ (ईस्वीको १६०९) को आसपास अर्थात बि.सं. १६३०-४० को दशक या सो समय केही अघि पछि मात्र दश लिम्बुवान राज्य बन्यो भन्ने देखिन्छ । यो कुरालाई योगी नरहरीनाथको संकलन रहेको र ईतिहास प्रकाश सन्धि पत्रमा सेन मकवानका जुटबडा देवानले बि.सं. १८२४ मा उपल्लो पहाडी १० लिम्बुहरुको नाममा जारी गरेको श्याम (सेन) मोहरमा लिम्बु, दश लिम्बु भनि उल्लेख गरेको श्याम (सेन) मोहरले पनि प्रमाणीत गर्दछ । शायद त्यसबेला तल्लो मधेस क्षेत्रमा मुस्लीमहरुको प्रभाव र राज्य बिस्तार चलिरहेकोले पनि बिजयपुरको पहलमा माथिल्लो पहाडी अपुंगे राजाहरुलाई एक जुट गराउन १० लिम्बुवान बनाउन आवश्यक भयो होला भनेर अनुमान गर्न मिल्छ ।

लिम्बु र खम्बु

मुन्धुममा आउने लुम्बोङबा खाम्बोङबा धेरै अगाडिको  हो । मुन्धुममा आउने पुरानो मानव समुह नै खाम्बोङबा लुम्बोङबा हुन । यहि लुम्बोङबा खाम्बोङबाबाट समयको अन्तरालमा २ वटा समुह लुम्बोङबा र खाम्बोङबा छुट्टिएको संकेत मिल्छ । लुम्बोङबाबाट लिम्बु भयो भने खाम्बोङबाबाट खम्बु (खाम्बोङसा) भयो । त्यहि लुम्बोङबा समुहले केही (येहाङसा र येत्हाङसा) मानव समुहलाई समेटेर या स्विकार गरेर सावायेहाङसा (सावाला सा येत्हाङसा) हुन पुग्यो भन्ने मुन्धुममा तिनलाई उच्चारण गर्ने क्रमबद्धताले बताउछ । साम्सोघा मुन्धुममा आउने सावायेहाङ र लाईक खम्बु तिनै समुहको प्रमाण हो । त्यसैगरि, पक्लुङ लेप्मा मुन्धुममा आउने खाम्जीरि खाम्बोङसा लुङजिरी लुम्बोङसा नभनेर खाम्जीरि खाम्बोङसा मात्रको बर्णन आउनुले पनि प्रमाण दिन्छ । मुन्धुममा आउने लाईक खम्बु भनेका हाल राई भनिएकालाई नभनेर हाल लिम्बु या याक्थुङ भनिएका भित्रैको खाम्बोङसा समुह हो भन्ने संकेत मिल्दछ । शायद त्यहि खम्बु (खाम्बोङसा) समुह दश लिम्बुवान बनेको स्थितिमा याक्थुङ (लिम्बु) मा बिलय भएको देखिन्छ । यो कुरा ईतिहासमा आठ खाम्बोङबा राजाहरुलाई विश्वासमा लिएर या जितेर दश लिम्बुवान संघीय  राज्य बनाएको कुराले पनि प्रमाणित  गर्दछ ।


सिलामसाक्मा र पक्लुङ लेप्मा मुन्धुममा आउने खाम्बोङसा र सावायेहाङसा तिनै मानव समुह हुन । यी दुई मुन्धुमबाट एउटा चाख लाग्दो कुरा खुल्छ । पक्लुङ लेप्मा मुन्धुमले होडा र ईवा तेम्बेमा खाम्जीरि खाम्बोङसा रहेको कुरा आउछ तर सावायेहाङसाहरु रहेको बर्णन आउदैन । बरु सावायेहाङसाहरुलाई खाम्बोङसाहरुले सो स्थानमा रहन र पक्लुङ खेल्न नदिएको बर्णन आउछ । सिलामसाक्मा मुन्धुममा होडा र ईवा तेम्बेमा सावायेहाङसाहरु रहेको र उनीहरुलाई दुख बिमारले सताएको कुरा आउँछ । यसले समयको अन्तरालमा लुम्बोङबाबाट सावायेहाङ भए र खाम्बोङसाहरु खाम्बोङबाकै रुपमा रहे भन्ने देखिन आउँछ । समयको अन्तरालमा यी  दुबै सावायेहाङसा र खाम्बोङसा दुबै समुहलाई समेटेर यकवाला मानव समुहको रुपमा यक्ताम्बा हुदै यक्तुम्सा र याक्थुम्बा हुन गएको कुरा यूमा र कप्पोबा साम्माङ मुन्धुममा उच्चारण हुने ‘सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे र सुसुवादेन लिलिमहाङ याक्थुङहाङ सावायेहाङसा’ भन्ने मुन्धुमी बर्णनले संकेत गर्दछ । यी सबैलाई मिलाएर थिबोङ याक्थुङ (दश लिम्बुवान) संघीय  राज्य बनेपछि ती मानव समुहलाई लिम्बु-याक्थुम्बा या याक्थुङ भन्न थालियो भन्ने कुरा यस मुन्धुमी प्रमाणले देखाउँछ । यो दश लिम्बुवान (थिबोङ याक्थुङ) संघीय राज्य बनेको समय भनेको ईस्वीको सोह्रौं शताब्दीको उत्तरार्धतिर हो भन्ने कुरा माथी नै बिश्लेषण भएको छ । दशौं एघारौं शताब्दीतिर निर्माण भएका मुन्धुममा याक्थुङ पाङफे, याक्थुङहाङहरुको बर्णन आए पनि ति शब्दहरुको प्रचलन चल्न लामै सयम लिएको देखिन्छ । ति शब्दहरु क्रमश चल्दै गए र आखिर सोह्रौं शताब्दीतिर दश लिम्बुवान (थिबोङ याक्थुङ) संघीय राज्य बनेपछि मात्र ति शब्दहरुले व्यापकता पायो र जनजिब्रोमा झुण्डीयो । त्यसभन्दा अघि उक्त मानव समुहलाई खाम्बोङसा लुम्बोङसा, सावायेहाङसा, तेमेन वरङसा र सिन्युक मुदेनसा मात्र भनिन्थ्यो ।


प्राचीन नेपालबाट आएका किरात (यकवाला) का शाखाहरु लुम्बोङबा र खाम्बोङबा छुट्टिएको समय भने सम्भवत आठौं शताब्दीदेखि एघारौं बाह्रौं शताब्दीतिर नै हुन सक्छ जुन कुरा स्व. ईमानसीङ चेम्जोङले पनि छैटौं  शताब्दीतिर लिम्बुवान र खम्बुवान छुट्टिएको भनि उल्लेख गर्नु भएको छ । अहिलेको याक्थुङ र लिम्बुको विवाद जस्तै लामो समयको अन्तरालमा कोही लुम्बोङवा भन्नेतिर गए भने कोही खाम्बोङबा भन्नेतिर गए भन्ने अनुमान हुन्छ । लिम्बुवान र खम्बुवान राज्यकोरुपमा छुट्टिएको भने नहुन सक्छ । शायद तिनीहरुले आ–आफ्नो क्षेत्र भने छुट्याएको हुन सक्छ । नाहेन मुन्धुम मा खाम्जीरि साहा खाम्बोङबा साहा, लुङजिरी साहा लुम्बोङबा साहा भनेर बर्णन आए पनि साम्सोघा मुन्धुममा लुम्जीरि साहा लुम्बोङबा साहाको बर्णन नआएर सावायेहाङसा र खाम्जीरि साहा खाम्बोङबा साहाको मात्र बर्णन आउछ ।


मिसाम सेप्मा मुन्धुममा बर्णन गरिने लुङथुङहाङ, काईहाङ, पापोहाङ, तपेसुहाङ, पेरुङहाङ, लेलेहाङ, येहाङ, सेच्छेरे सेनीहाङ, पेरीहाङ, चङबाहाङ, उपाहाङ, वाधाईहाङ, तेन्दुमहाङ, लारासुहाङ, पाङवोहाङ, सुदहाङ, लिलिमहाङ, सेनसेनगुम फेदापहाङ, फेदहाङ भनेका व्यक्तिहरु आठौ शताब्दीदेखि १३-१४ औं शताब्दीसम्मका विभिन्न ठाउँका स्थानिय राजा तथा शासक हुन भन्ने कुरा पापो, चङबाङ लगायतका बंशहरुको बंश पुस्ता सहितको समयकालखण्ड गणनाले देखाउँछ । अझ सेच्छेरे सेनीहाङ दावी गर्ने बंशको हिसावले त सेच्छेरे सेनिहाङको समय १५-१६ औं शताव्दीतिर हो भन्ने देखिन्छ । यस अनुसार लाहादोङना र सुहामफेबाको समय पनि १२-१३ औं शताब्दीका नभएर त्यहि १५-१६ औं शताब्दीतिरका हुन भन्ने निश्कर्ष निस्कन्छ । फेदहाङ आफ्नो पुर्खा भएको दावी गर्ने लिम्बु बंशको पुस्ता संख्या र गणनाले फेदहाङ भनेका व्यक्ति पनि १२-१३ औं शताव्दीतिरका हुन भन्ने हिसाव निस्कन्छ । यि नामहरु मध्ये लालासो पाङबोहाङ र तप्पेसो पेरुङहाङ नामहरु नावा चईत मुन्धुममा पनि आउने हुदा यी व्यक्तिहरु एउटै समयका होईनन भन्ने देखिन्छ ।
साम्सोघा मुन्धुम लगायतका मुन्धुममा आउने लाईक खम्बु र सावायेहाङ (सावारा साहा येत्हाङ साहा) भने सोही क्षेत्रमा रहेका खाम्बोङबा र लुम्बोङबा उर्फ सावायेहाङ हरुलाई भनिईएको हो । यो धेरै पछिको भएकोले यसको समय करिव दशौं शताब्दी  पछिको हो भन्ने देखिन्छ ।

नोटः यो लेख क्रीटिकल्ली लेखिएको छ । यस लेखसंग सहमत या असहमत जे भए पनि कमेण्ट पाउन अनुरोध छ । – लेखक
                                                     चैत २०७८

तपाईको प्रतिक्रिया