रमेश केसी
अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन जियोपोलिटिक्स” भारत स्वतन्त्र भए पश्चातको विदेशनीतिका उतारचढावहरुको विवरण दिदै कौटिल्य कुटनीतिको पक्षपोषण गर्छन ।
उनको भनाई अनुसार विगत ८० वर्षमा भारत अहिले अवस्थामा आर्थिक र सैनिक रुपमा सुगम अवस्थामा पुगेको छ । हुन त भारत सन् १९४७ देखि १९६० सालसम्म संक्रमण अवस्था, त्यसपछि आणविक खतराको शीतयुद्ध, सन् १९७२ मा अमेरिका चीन मीत्रता र सन् १९८९ मा भएको शीतयुद्धको अन्त्य जस्ता अवस्थाबाट गुज्रीसकेको छ । र अहिले चीनको उदय पश्चात देखिएको विश्व सामरीक असन्तुलनले भारतको विदेशनीतिलाई निर्देशन
गरीरहेको देखिन्छ । भारतको इतिहासमा कुटनीतिक विचारधाराको कमी थियो नै । कौटिल्य विचारलाई आदर्श मान्नेहरु नै अहिले नीति निर्माता बनेका छन । तर चीनको आर्थिक, प्रविधि र सैन्यशक्तिको उदयले भारतलाई चिन्तित तुल्याएको छ। भारतको चीन्ताका कारणहरुमा जम्मु काश्मिर देखि अरुणांचल प्रदेश सम्मको सीमा विवाद, चीन–पाकिस्तानको बाह्रमासे मीत्रता, तिब्बत प्रश्न र दक्षिण एसियामा चीनको बढदो उपस्थिति नै हुन । के भारत सीधै चीनको विरुद्ध जान सक्छ ? प्रश्न यति सजीलो छैन ।
वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार
अमेरिकासँग नजिकिएको छ । इण्डो प्यासीफीक गठबन्धन र क्वाडमा भारत संलग्न भएको छ । भारतका विदेशमन्त्री एस. जयशंकर भारतले बहुसंलग्नता र मोलमोलाइको नीति लिने बताउछन् । यस कारण भारतसंग सामरिक रुपमा धेरै अवसरहरु छन । चीनसँगको व्यापारीक सम्बन्ध र उसले आर्जेको नयाँ शक्तिबाट फाइदा लिन भारत तयार देखिन्छ । आज चीन बाह्य रुपमा आक्रमक र आन्तरीक रुपमा दमनात्मक हुदै गएको छ ।
अमेरिकीहरु मानव अधिकारको मुद्दालाई चीनसँगको सम्बन्धमा महत्वपूर्ण ठान्छन । हालै सम्पन्न अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रजातान्त्रिक राष्ट्रहरुको शीखर सम्मेलन चीनलाई वैचारीक
आधारमा एक्ल्याउने नीति हो । जसमा भारत समावेश थियो भने चीन, रुस, टर्की र ब्राजील समावेश थिएन । यस शक्ति राजनीतिको महाखेलमा विश्व विभाजीत हुदैछ ।
स्वतन्त्र भारतपछिको महत्वपूर्ण घटनाहरुमा भारतले सन् १९७४ मा आणविक बम परिक्षण गर्नु र सन् १९९० मा आर्थिक उदारीकरणको नीति लिनु हुन । शीतयुद्धको बेला भारत सन् १९७१ को सोभियत-भारत मैत्री सन्धी मार्फत साम्यवादी सोभियत संघको रणनीतिक साझेदारीमा थियो भने सन् १९७२ मा अमेरिकी राष्ट्रपति रीचर्ड निक्शनले चीनसंगको सम्बन्ध सुधार गरेका थिए । जसले एसियाली भू–राजनीतिमा आमूल परिवर्तन ल्यायो । शीतयुद्धको अन्त्यसंगै अहिले ३० वर्षपछि चीन र अमेरीका आमनेसामने भएका छन । यस परिस्थितिमा भारतका लागि अमेरिका देखाएर चीनसँग मोलमलाइ गर्ने, चीन देखाएर अमेरिकासँग मोलमलाइ गर्ने अवसर छ । भारतका लागि यस महाखेलमा जापान, अष्ट्रेलिया, यूरोप जस्ता शक्तिहरुसँग साझेदार गर्ने अवसर पनि छ । भारत बहुध्रुवीय एसिया र बहुध्रुवीय विश्व चाहन्छ भने चीन बहुध्रुवीय विश्व र एकध्रुवीय आफुमा
केन्द्रित एशिया चाहन्छ । अमेरिका आफ्नो एकध्रुवीय विश्वव्यवस्था कायम राख्न चाहन्छ । शीतयुद्ध युरोपमा लडिएको थियो । त्यसपछि मध्यपूर्वमा केन्द्रित अमेरिका राष्ट्रपति बराक ओबामाको एसिया दि पीभोट नीति आयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले र बाइडेनले यो नीतिलाई नीरन्तरता दिए । अहिले चीनको विरुद्ध गठबन्धन बनाउन अमेरिका अग्रसर छ । यस गठबन्धनमा भारतको भुमिका अहम छ । यही नै भारतको पुँजी हो । सन् १९९० को परिवर्तन पछि भारत अमेरिका सम्बन्धमा सामीप्यता बढेको हो । यो सम्बन्ध सन् २००८ सम्म आई पुग्दा भारत अमेरीका नागरिक आणविक सहयोग सम्झौतामा टुङ्गीयो । भारत मान्यता प्राप्त आणविक राष्ट्र बन्यो ।
चीन-अमेरीका शक्ति सन्तुलनमा भारतको भुमिका महत्वपूर्ण छ । तर चीन भारत द्वन्द सामुद्रीक क्षेत्रमा भन्दा हिमालयमा खतरा छ । आज चीन उसको बेल्ट एण्ड रोड कार्यक्रमको समिक्षामा लागेकोछ ।अमेरीकालाई पनि परम्परागत मित्र पाकिस्तान भन्दा भारतको खाँचो छ । आतंकवाद विरुद्धको युद्धपछि आज अमेरीकीहरुले सबैभन्दा धेरै समय र श्रम खर्चिएको मुद्दा चीन हो । त्यसैकारणले वासिङटनमा भारतको हैसियत बढेको छ । शीतयुद्धको बेला सोभियत खतराबाट चीनले अमेरिकाबाट धेरै फाइदा लिएको र अहिले चीन नै चुनौती भएको कुरा रणनीतिक मामलाका जानकार डा. संजय बारु बताउँछन। उता चीनका रणनीतिकारहरु चीनको उदय ध्वंसात्मक नभएको दाबी गर्छन।
करिब पाँच सय वर्षको निरन्तर विश्व नेतृत्वपछि पश्चिम अहिले क्षयात्मक अवस्थामा छ । यसैले एसियाका राजधानीहरुमा पश्चिमको क्षय र पूर्वको उदय जस्ता बाणीहरु गुन्जयमान छन । तर मेननका अनुसार अहिले कोहि पनि चीन केन्द्रित विश्व व्यवस्थाका लागि तयार नभएको दाबी गर्छन ।उनका अनुसार आर्थिक रुपमा अहिले विश्व बहुध्रुवीय नै छ । तर भारतको अर्थतन्त्र ४ ट्रिलियन डलर हो भने चीनको अर्थतन्त्र १५ ट्रिलीयन डलर हो । ताइवान प्रायद्विपमा अहिले तनाव भए पनि अमेरिका आफै चीन अर्थतन्त्रमा यस्तरी जोडिएको छ कि जसलाई तिलान्जली दिएर युद्धमा जान हम्मे पर्छ । भारत यो कथित शीतयुद्धको परिप्रेक्ष्यमा अझै एशियाली खेलाडी हो । उसलाई पाकिस्तानसँगको कटु सम्बन्ध सुधार र अन्य दक्षिण एसियाली छिमेकीहरु बंगलादेश, नेपाल, भुटान, श्रीलंका, र माल्दिभ्ससँगको सम्बन्ध पनि चुनौतीपूर्ण छ । छिमेकीहरुसँगको सम्बन्ध सुधार नगरी महाशक्ति बन्न गाह्रो हुन्छ । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तापछि खाली स्थानमा सबैभन्दा पहिले चीन प्रवेश गरयो । अहिले भारत तालीवानसँग सम्बन्ध सुधारको अवसर खोजीरहेछ । विगत केहि समययता विश्व भुराजनीतिमा अनेकौं महत्वपूर्ण घटना भएका छन । पश्चिम अहिले प्रजातन्त्रको नाममा शीतयुद्धकालिन
वैचारिक लडाइ लडन सक्दैन । अमेरिकी प्रजातन्त्र र यूरोप नै अहिले संकटमा छ ।
शीतयुद्धकालिन प्रजातन्त्र नामको आकर्षक मूल्य अहिले प्रजातान्त्रिक भनिने मुलुकहरुमा नै विघटनको स्थितिमा छ । स्वयं पश्चिमी सञ्चार माध्यम भारतको प्रजातान्त्रलाई “हिन्द फाँसीवाद” को संज्ञा दिइरहेका छन । असंलग्न आन्दोलन अहिले भूत्ते भएको छ । भारतले सन् १९४७ यता आफुलाई असंलग्न आन्दोलनको पर्यायको रुपमा चीनाएको थियो । अहिले गठबन्धन, सहकार्य र नयाँ प्रविधि शक्तिको हैसियतले राष्ट्रको पहिचान बन्दैछ । आन्तरिक रुपमा
भारत आफै गरिब, अशिक्षा, जातीय भेद र असमानताले ग्रस्त छ । आन्तरिकरुपमा राष्ट्र बलियो नभई बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्दैन । आर्थिक विकासका हिसाबले चीनसँग प्रतिस्पर्धा गर्न भारतले अझै केहि दशक कुर्नुपर्छ । तर भारत शैन्य रुपमा विश्वको चौथो र जनसंख्याको हिसाबले दोस्रो राष्ट्र हो । । सन् १९६२ मा चीनसँगको सीमा युद्धमा पराजीत भारत अझै त्यो धङधडीबाट मुक्त हुनसकेको छैन । हो केहि वर्ष यता भारतले आर्थिक वृद्धिदर लगभग ७ प्रतिशतको हिसाबले हासिल गरेको छ भने सैन्य हिसाबले धेरै सक्षम भएको छ ।
अमेरिकी कुटनीतज्ञ एवं राजनेता हेनरी किसिन्जरले सन १९९० मा एक्काइसौ शताब्दीमा भारत विश्वको एक प्रभुत्व शक्ति बन्ने भविष्यवाणी गरेका थिए जो सत्य प्रतित हुदैछ । तिनै किसिन्जर जसले आफु राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदा चीन सँगको सम्बन्ध सुधारमा महत्वपूर्ण भुमिका खेले । आज उनी रुससँग
अमेरिकाले सम्बन्ध सुधार गरेर चीनलाई सन्तुलन गर्नुपर्ने सम्मको धारणा राख्दछन । राष्ट्रले शक्ति आर्जनपछि आफ्नो हैसियत देखाउन थाल्छ । कुनै समय रोमन साम्राज्य कहिले पतन हुदैन भनिन्थ्यो । तर त्यो पतन भयो । अमेरीकी साम्राज्य पनि सन् १९९० को दशकमा एक्लो महाशक्ति थियो अहिले क्षयोउन्मुख छ र भारत र चीन अहिले आफ्नो इतिहास र सामर्थ्य बोकेर महाखेलमा समावेश भएका छन् ।