बर्तमान समयको पछिल्लो पुस्ताहरु माझ कवि अन्जना राईको कविताहरु शसक्तरुपमा नेपाली साहित्यको कविता फाँटमा आईरहेछन । उनका कविताहरुले मानवीय संवेदनाको गहिरो सुस्केराहरुलाई स्पष्ट र निर्धक्करुपमा अभिव्यक्त गरिरहेको हुन्छन भने नेपाली समाजमा महिलाले भोग्दै आईरहेको असमानताहरुलाई मिहिनरुपमा बिरोध गरिरहेको हुन्छ । त्यसो त उनको कविताको अर्को जबरजस्त स्वरुप भनेको पहिचानका आवाजहरुलाई प्रखररुपमा संकेत गर्नु पनि हो। प्रस्तुत छ साताको तीन कविता ।
रुखका फेदहरुमा जनावरहरुले …र आमा कविता लेखिरहन्छिन
बिरामी छोराले कसैगरी दबाइ खान नमानेपछि
आमालाई नै हनहनी ज्वरो आउँछ
र कविता लेख्न बस्छिन आमा
दाहिने हातमा थर्मोमिटर
र देब्रे हातमा पानीपट्टी लिएर
कविताको पहिलो हरफमा अनायासै लेख्न पुग्छिन–
छोरी मान्छेले कविता लेख्न सजिलो छैन…
हो, कहिले तरकारी डढछ
कहिले नुन कडा हुन्छ
गेटमा घन्टी बज्छ
चुल्होमा दुध उम्लिएर पोखिन्छ
झरी पर्छ अचानक
कौसीमा सुकाइएको कपडा भिज्छ
बिहानको चिया उमाल्न ढिलो हुन्छ
छोरीको सर्टको टाँक
तलको माथि-माथिको तल हुन्छ हतारमा
चुल्ठो बाटन भियाइदैन
टिफिन बक्समा फलफूल हाल्न छुटछ
जुत्ता पोलिस गर्न भियाइदैन
स्कुलमा प्रिन्सिपलले
छोरीको सर्टको टाँक र चुल्ठो हेरेर
बेग्लै लाइन लाउँछ
अनि नोटिस आइपुग्छ घरमा
बेलुका छोरीको रातो आँखा देखेर
फेरि आमालाई अर्को कविता फुर्छ
‘उहिले गाँउमा-
असारमा आमाले मलाई
एक डोको कोदोको बीउमाथि
तुनौरी हालेर मेलोसम्म बोकेको
मंसिरमा एक थुन्से कोदोको बालामाथि
मलाई बोकेर मेलोबाट घरसम्म ल्याएको’
गाउँमा आमाहरुले असारदेखि मंसिर
मंसिरदेखि असार यसरी नै
कयौं जिन्दगी कविताहरु लेखिरहे लेखी नै रहेछन अहिले पनि
यता सहरमा छोराले
स्ट्रवेरी फ्लेभरको ७ः५ एमएल निको झोल
र एक गाँस मफिन ननिलिदिदा
मलाई-
गाउँमा निमोनिया हुँदा उहिले
आमाले चिराइतोको जरा भिजाएर
अमिलो रस मुखमा चुहाइदिएको याद आउँछ
आमाको जीवन कवितै कविताले भरिएर पनि
आमालाई नै कविता लेख्न किन गाह्रो हुन्छ हँ ?
आमा धरती हो-
धरतीले अप्ठेरो ठाउँमा पनि फैलिएर बस्न जान्दछिन
आमा सुनगाभा हो
सुनगाभाले भीरमा पनि मुस्कुराएर फुल्न जान्दछिन
आमा-
भीर, पखेरा, सिलौटा, छपनी, चाल्नो,
हँसिया, कोदालो, मुर्चुगा, विनायो जताततै कविता देख्दछिन
र लेखिरहन्छिन आफूजस्तै कविता
आजकल आमाले कवितालाई
संसद, शिक्षा, सुरक्षा, खेलकुद
र पालिका केन्द्रहरुमा पनि देख्छिन
गाडीको चक्कामुनि किचिएर
विरूप-विरूप हुदै
सहरी नारा बोकेर
गाउँ पस्दै गरेको पनि भेटदछिन
आमाको कविताभित्र
कतै उनको कुर्कुच्चा जस्तै
पटपट फुटेर चिरा परेको देशका छाती भेटिन्छ
कतै परिश्रम गर्दागदै भेटिएका आमाका
हत्केलाका रेखाहरुजस्तै देशका सिमानाहरु भेटिन्छ
जस्तोसुकै अप्ठेराहरुलाई
सहज बनाएर रहरलाग्दो माला गुथ्ने आमा नै हुन
जोखिमहरुलाई अंगालेर जीवन हिडाउने आमा नै हुन
तसर्थ
आमा
सधैं कुरूप समयलाई सुन्दर बिम्बमा ढालेर
निरन्तर कविता लेखिरहन्छिन ।
मान्छे फल्ने रुख
पहिले पहिले रुखका बोटहरुमा
रुखकै फूलहरु मात्र फूल्थे, फलहरु मात्र फल्थे
फूल र फलहरु झुण्डिन नमिल्ने
अप्ठेरा भागहरुमा
बरु चराका गुँडहरु लाग्ने गर्थे
बचेराहरुले त्यही हाँगामा बसेर घाम ताप्ने गर्थे
शितल ताप्ने गर्थे, मीठो सपना बुन्ने गर्थे
तिनीहरुका सपना फैलिदै-फिजिदै गएर
रुखभन्दा बृहत बन्थे
मृगहरु दौडन्थे गहुँ बारीभरि
मान्छेभन्दा पहिला पुग्थे आलु खन्न दुम्सीहरु
सुर्योदयसँगै
चराहरु गएर छरिन्थे उवा र धानबारीभरि
मान्छेले तिनीहरुलाई देखिसहेन
बन्दुक देखाउदै तर्साउन थाले
जनावरहरु बिस्तारै रुखहरुबाट
अलग्गिन थाले
मान्छेले गुलेली बोक्न
र पासो थाप्न थालेपछि चराहरु भाग्न थाले
जनावर र चराहरु भाग्न थालेपछि
मान्छेले खोलाका माछाहरुलाई जाल हान्न थाले
माछाहरु पनि भाग्दैभाग्दै
समुन्द्रतिर हेलिए
तब मान्छेले
जनावरलाई हान्ने तीर र बन्चरो
रुखतिर सोझ्याउन थाले
रुखहरुले आत्मसमर्पण गरे, सबै ढले
ढलेका रुखहरुमा गोडा अल्झिएर
आफै लडन थालेपछि
मान्छेले आवेशमा आएर
मान्छेतिर नै
तीरको निशाना लगाउ थाले
बन्दुक सोझ्याउन थाले
मान्छेको यस्तो प्रवृति देखेर
लहराहरुलाई विरक्त लाग्यो
फर्सी, लौका, घिरौला, चिन्डो
र लहराजन्य सबै फलहरुले
लहरामै झुण्डिएर तपस्या गर्न थाले
मान्छेलाई सदबुद्धि आओस भनेर
शान्त-सौम्य लहरामा नै पिङ खेल्दै तिनीहरुले
मान्छेलाई प्रकृतिसंगै खेल्न सिकाए
मान्छेहरु
तिनीहरुमाथि नै जाइलागे
खुँडा, तरवार, चुलेसी इत्यादी प्रहार गर्न थाले
कतिलाई जराबाटै उखेलेर फाल्न थाले
फेरि कुन सपना बोकेर
मानिसले मान्छे फल्ने रुख रोप्न थाले
रुखहरु ठूला भएपछि
त्यहाँ चराहरुले गुँड लाएन
न फलहरुले पिङ खेले
न त फूलहरु मुस्कुराए
त्यही समययता
रुखका हाँगाहरुमा मान्छेहरु आफै झुण्डिन थालेका हुन
अहो ! कस्तो विभत्स
यसरी रुखका हाँगाहरुमा
मानिस फलेको दृश्य त
न फलले पिङ खेलेजस्तो देखिदो रहेछ
न त फूलले तपस्या गरेजस्तो ।
शिकारी
ऊ भन्छ– शिकारी हुँ म
मसंग सत्ताको बन्दुक छ
र मेरो हत्केलामा कोरिएको छ
तिमीहरुको आयु
स्वास सहजै नफेर भन्दै उसले
मुस्किलको सनासोले
हाम्रो किल्किले अठ्याउँछ
हाम्रो घाँटी खसखसाउँदा
प्रतिबन्धको सुपरगुल्प मुखमा दलिदिन्छ
आफ्नै घरमा राति अबेर मसरला पिस्न
मजबुरीको कुरा गर्न
र ढोका बाहिर अपरिचित चप्पल राख्न मनाही छ
आफ्नै शौचालयको चुकुल पनि
सास थुनेर लाउनुपर्छ हामीले
राति निदाएको बेला कोल्टे फेर्न पनि
कुशलाताको शिल्प जान्नुपर्छ हामीले
भान्सामा हाम्रो हातबाट चिप्लिएर पन्युँ झर्दा
कुर्सीको दरबार भत्कन्छ भनेर उस्तै
आशंकाको चन्द्रागिरी चढछ ऊ
हाम्रै श्रमको लन्च र डिनर गर्दै ऊ
हामी तिरै संदेहको सिसिटिभी फर्काएर
विभाजनके रेखा कोरिरहेछ
र हामीलाई एक कित्तामा उभ्याएर
ऊ सुरक्षाका जोन खोजिरहेछ
खास यतिखेर ऊ सोचिरहेछ–
एउटा सामान्य मानिस भत्काउन सके
सेलाएर जान्छ
त्यो मानिसभित्रका विद्रोही लाभाहरु
तर उसलाई थाहा छैन
संसारमा भोकापेट भएका मानिसहरु
र आधामुठी कसिएका
हातहरुसंग जिस्कनु
सबैभन्दा खतरनाक हुन्छ ।