नेपाली साहित्यको केन्द्रमा पर्या साहित्य लेखनको अभियन्ताको रुपमा स्थापित साहित्यकार विजय हितान करिब दुई दशकदेखि साहित्यको माध्यमबाट कसरी पर्यावरणलाई संरक्षण गर्न सकिन्छ भन्ने तर्फ लागी पर्ने एक जबरजस्त नाम हो । उनको लेखनमा प्रकृति, प्रेम र मानिसका अन्तरभावहरु शसक्तरुपमा आएको हुन्छ । करिब एक दर्जन जति कृतिका लेखक हितान वातावरण विज्ञानमा वेलायतबाट स्नाकोत्तर उत्तिर्ण गरेर अहिले त्यहाँको एन्भाएरोमेन्ट एजेन्सीमा वातावरण विज्ञको रुपमा बेलायत सरकारको निकायमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
बन्दुक होईन कलम चलाउनु छ
दुइ सय बर्षसम्म बन्दुक बोकेर हिँडीरहेँ
युद्धका मौदानहरुमा…..
घना जंगलहरुमा….
यो जिन्दगी बाँचीदिएँ बारुदको थुप्रोहरुमा
सिधा हिडने हो भने मैले हिडेको डोबहरुले पृथ्वीलाई पुरै चक्कर लगाउन सक्छ ।
र ,
लेख्न सक्छ जीतको सुन्दर इतिहास ।
जसरी-
मेरा संवेदनाहरुले सधैं सम्झना गरिहरन्छ
म परदेश हिडने बेला आमाको आँखाबाट
आँशुका धाराहरु कसरी बगीरहेका थिए भनेर…. ।
तर, समय त्यस्तो रहेन
अलिकता बन्दुकको कथा
अलिकता घरको कथा
अलिकता सम्झनाको कथा
आखिर यी सबै त बन्दुकबाट छुटीगएको गोली जस्तै रहेछ ।
भो, मेरो काँध थाकीसकेको छ
एउटा लाहुरेको संवेदना
घरको सम्झना आएर दुख्दोरहेछ
अलिकता सत्रुको बिरुद्धमा रगत भएर उम्लीदोरहेछ
अलिकता पत्नीको रातो सिन्दुर भएर सम्झना आउदोरहेछ
जहाँ मायाको गहिरो स्मृतिहरु छन
कहिलेकाहीँ हिँडने बाटोहरुमा एम्बुसमा परेर जिन्दगी एकपलमै सकिदोरहेछ ।
यतिखेर पल्टनको एकान्तबासबाट सम्झीरहेछु
मुटु कमाउने यो चिसोमा
मसँग यो बेला त्यही बन्दुक छ र स्थीर मनस्थिति
साच्चै मलाई के बनायो बन्दुकले
जीवनको आधी उमेरमा
अब म अक्षरहरुसँग चियर्स गर्न चाहन्छु
अनी त म अब यस्तो सन्धी लेख्नेछु
जसले तमाम अन्यायको बिरोधमा लेख्ने छ
उन्नाइस सय सन्तानब्बे र समानताको कथा ।
चुम्न मन लागेको छ
यो शरदको ऋतु
कृष्ण बनेर वृक्षरुपी गोपिनीहरुसँग
कुहिरोभित्र लुटपुटिएर
रंगीन पातहरु धर्तीको गर्भमा स्खलित पार्दै
रत्यौली खेल्दै गरे जस्तो
लाग्छ मलाई आजकल ।
किनकी
केही महिनापछि
शरद ऋतुले बसन्त तानि ल्याउँदै छ नि त ।
यो देखेर
शरदसँग
खुबै डाह लागेको छ आजकल मलाई
त्यसैले मलाई
सिरेटोले सेक्दै तिम्रा कोमल आङभरि
शितका थोपाहरुका स्पर्श छर्न मन लागेको छ
चरी जस्तै बनेर
तिम्रो नग्न डालीमा
भुर्रभुर्र उडदै चुम्न मन लागेको छ ।
रूखो रूखहरु
विकासको बन्चरोले
प्रकृतिको तिघ्रामा बज्रपात पार्दै जाउ र ढाल्दै जाऊ हामीलाई
समृद्धिका लागी संरचना निर्माणका नंग्राले
हाम्रा छातीमा कोतार्दै जाउ र नंग्याऊँदै जाऊ हामीलाई ।
तिमी-
यी रुखका बोटहरु
र गौचरनका घाँसे मैदानहरुबाट
हामीलाई प्रतिस्थापन गर्दै जाउ
हाम्रो भुभागहरुमा डढेलो सल्काएर
बस्ती, सडक, र बिमानस्थल बिछ्याउँदै जाउ
थुपार्दै जाउ अतिक्रमणकारी र अतिउपभोक्तामुखी आफ्नै मान्छेहरु
अनी गुडाउँदै जाउ नाइट्रोक्साइड उत्सर्जन गर्ने डिजल गाडीहरु
उडाउँदै जाउ कार्बनडाइ अक्साइड उत्सर्जन गर्ने वाइडबडी जहाजहरु ।
हामी कार्बनडाइ अक्साइड फेरेर बॉच्दछौं
थाहा छ कि छैन
तिम्रो प्राण हामीद्वारा उत्सर्जित हुने अक्सिजनका मोलोक्युलहरुले धानिएको छ ।
तर पनि किन हामी उपर
बन्चरो, चेन शो, बुल्डोजर तेर्साइरहन्छौ ?
हामीले भनेको सुन्दैनौ भने
Extinction Rebellion बनेर
पस्नसक्छौं तिम्रो शहर
यातायातका सबै सडकलाई बन्द गरेर
गर्न सक्छौं भोक हडताल
बस्न सक्छौं अनसन र सत्याग्रह
ग्रहण नगरिकन एक गास CO2 को भोजन
एक सर्को CO2 को वाफ बर्षौं बर्षसम्म
अनी त हामी हेर्नेछौं तिमी कसरी बाँच्दा रहेछौ ।
ख्याल गर-
हामी संख्यामा बढीछौं तिमीभन्दा
विविधतामा पनि
तिमी त मात्रै काला, गोरा, र खैरा छौ
हामी –
हरियो, रातो, पहेलो, खैरो अनेक रंगमा छौं
हेर हामीलाई हेर-
झार, दुबो, खर, झाडी, बिरूवा र बोट अनेक रूपमा छौं
तिमीभन्दा होचा पनि छौं र अग्लो
त्यसैले ईभोलुसनको अर्को च्याप्टरमा
हामी त जिवित रहन सक्छौं भन्ने पुर्ण विस्वास छ
तिमी कतै डायोनोसोर जस्तै
यो धर्तीबाट लुप्त भएर जाने छौ कि भन्ने हामीलाई ठुलो चिन्ता छ ।
त्यसैले बुझ्ने प्रयास गर
हामीलाई निमट्यान्न पार्न खोज्दा
आफ्नै वंशको अस्तित्व मेटिएला
ईभोलुसनको क्रममा हामीले तिमी भन्दा
धेरै अगाडि बस्ती बसालेका हौं यस पृथ्वीमा
र,
गुज्रीसकेका छौं धेरै जोखिम र जटिल परिस्थितिहरूबाट
जसले बनाएको छ हामीलाई एक रूखो रूख
त्यसैले याद गर
न हामी कहिल्लै ढल्नेवाला छौं न त समाप्त नै हुनेछौं हामी त अनन्तसम्म रहनेछौँ ।