केशव सिग्देल

पटक­ पटक जीवनमा धोखा खाएपछि अनिरुद्रले घर छोडेर हिडने निश्चय गरयो। ऊ चाहन्थ्यो अब जोगी बनूँ र कुनै एकान्त जङ्गलमा गएर तपस्या गरुँ ।आखिर किन मानिसहरु जीवनको जालोमा बेरिन्छन र दुःखलाई वरण गर्छन ! मायावी जालो उत्पादन गर्ने त्यो रसायनले किन यो पीडाको संकेत पहिल्यै गर्दैन ! कहिले गरिवीको शिकार, कहिले राज्य व्यवस्थाको उत्पीडनको शिकार। कहिले आफैले सर्वश्व ठानेर होमिएको राजनीतिको दाउपेचको शिकार त कहिले आफ्नै महत्वाकांक्षाहरुको शिकार । यसरी पटक­ पटक आफ्नै सपनाहरुको मलामी कति गइरहनु ? बरु सपनाहरु नै परिवर्तन गर्नु राम्रो । कि त सपना नै नदेखेको बेस । उसको मनमा बारम्बार यो सोच आइरह्यो।

युवक छँदैताका अनिरुद्रको एउटा मिल्ने साथीले कालिन्चोकको जङ्गलमा रहेको एउटा अनाम गुफाको बारेमा बताएको थियो। त्यस डाँडाको फेदबाट बग्ने सुनकोशीमा पौडी खेलेर गौरीशंकर र लाङटाङ हिमालको दृष्य हेरेको कुरा साथीले सुनाउँदा उसले खुब चाख दिएर सुनको थियो। त्यसमाथि फागुन चैतमा फुल्ने विभिन्न थरीका गुराँसहरुको कुरा गर्दा अनिरुद्र झन आल्हादित भएको थियो। स्थानीय गाउँलेहरुले ती गुराँसहरु रुघा, खोकी, र पेटसम्बन्धी उपचारका लागि प्रयोग गरेको प्रसङ्ग पनि उसले साथीबाटै सुनेको थियो।

अन्ततः अनिरुद्रले पहेँलो बस्त्र धारण गरयो र निधारमा खरानी घसेर एकदिन कालिन्चोक पर्वतको घना जङ्गलतिर पस्यो। मानव वस्ती भन्दा निकै पर एउटा गुफाभित्र पुग्यो र ध्यान गर्न बस्यो।

‘ए स्वप्न सुन्दरीहरु, अब कसैले मेरो स्वप्नमा प्रवेश गर्ने चेष्टा नगर्नू। अब यो स्वप्नद्रष्टाको सपना नै परिवर्तन भएको छ। हे मायावी संसार! अब यो मायाबाट म मुक्त हुन चाहन्छु। हे इश्वर ! मलाई तिम्रो शरणमा लेऊ ।’ यति भनेर उसले आँखा चिम्लियो।

ध्यानको पहिलो चरणमा जीवनमा घटेका अनेकौँ घटनाहरु उसको स्मृतिपटलमा एक-एक गर्दै भरिन थाले । सांसारिक जीवनका घटनाहरुको स्मृतिबाट मुक्त भएपछि मात्र ध्यानको दोस्रो चरण शुरु हुन्छ भन्ने उसले सुनेको थियो। ध्यानको दोस्रो चरण शुरु होस भनेर तन्मयका साथ प्रयासरत थियो । स्मृतिमा भने विगतका घटनाहरु दोहोरिँदै गए, तेहेरिँदै गए। तर उसले आफ्नो प्रयत्न छाडेन। तीन दिन बितिसक्दा पनि उसको मथिङ्गल शान्त हुन सकेन । ऊ बल गरेरै बसिरह्यो।

चौंथो दिनको मध्यरातमा ऊ ध्यानमा बसेको जङ्गलको बीचबाट केही आवाज आएको जस्तो उसले अनुभव गर्यो।
‘बाघ भालु त होइन ?’ उसलाई केही डर जस्तो लाग्यो।
‘जे सुकै होस, एक तपस्वीलाई के को डर,’ ऊ फेरि ध्यान मै केन्द्रित हुन खोज्यो।

त्यो आवाज फेरि दोहोरियो। यसपटक भने उसको स्मृतिमा सलबलाइरहेका घटनाहरुलाई यो आवाजले किनारामा पारिदियो । अब उसले ध्यानपूर्वक त्यही आवाज पछ्याउन थाल्यो। आवाज अस्पष्ट भएपनि क्रन्दनमिश्रित र कोलाहलपूर्ण थियो।

ऊ गुफा बाहिर निस्कियो। वरिपरि चकमन्न अध्याँरो थियो। जङ्गली किराहरुको एकनाशको तिखो आवाजले वातावरणको शान्ति केही भङ्ग भए जस्तो लाग्थ्यो। त्यसमाथि घरिघरि नयाँ आवाज पनि मिसिएर आउँथ्यो । उसले निकै सावधानीपूर्वक चारैतिर हेरयो। आकाशमा उदाइरहेका सप्तताराको ठिक मुनीपट्टि एक चोक्टा फराकिलो उज्यालो फैलिएको उसले देख्यो।

‘यो बीच जङ्गलमा केको उज्यालो होला ? यो कोलाहल पनि त्यतैबाट आइरहेको जस्तो लाग्छ। केको कोलाहल होला ?’ उसले आँफैसँग प्रश्न गरयो।

त्यसपछि ऊ त्यही उज्यालो देखिएको दिशातिर लम्कियो। तर अध्याँरोमा उसले त्यहाँ पुग्नेबाटो पहिल्याउन सकेन र गुफामै फर्कियो। अब उसले कुनै ध्यान गर्न सकेन । सोच्यो, ‘मभित्र अझै प्रशस्त असन्तुष्टीहरु छन, र मोह पनि। जसले मलाई गहिरो ध्यानमा जान रोकिरहेको छ ।’ जीवनमा ध्यान र ज्ञानको मार्ग त्यति सहज छैन भन्ने उसलाई ज्ञात भयो। उज्यालो भएपछि राती उज्यालिएको त्यो ठाँउतिर जाने निधो गरेर अनिरुद्र निदायो।

बिहान भयो। दिनको उज्यालोसंगै राती देखिएको उज्यालो कुन दिशाबाट आएको थियो भन्ने उसले मेसो पाउन सकेन। सप्ततारा उदाउने दिशाको अनुमान गरेर ऊ अघि बढ्यो।

तिन चार घण्टा हिडेँपछि जङ्गलको बीचभागको एउटा क्षेत्रफल अग्लो कम्पाउण्डले घेरिएको फेला पर्यो। ऊ आएको ठिक विपरित दिशामा त्यहाँसम्म पुग्ने गोरेटो बाटो खनिएको रहेछ । जसलाई पहाडबाट निस्किएका ढुङ्गाहरुले नै ग्राभेल गरिदिएका थिए।

‘यो बाटो कहाँबाट आइपुगेको होला ?’ एकछिन उभिएर उसले गोरेटो बाटोलाई निकै परसम्म नियाल्यो । त्यहाँ बिजुली र टेलिफोनको टावर पनि जोडिएको थियो। तर त्यो जङ्गलबाट निकै तल रहेको मानव बस्तीसम्म पुगेको थिएन। बस्तीका मान्छेहरु सल्लाको खोटो बालेर नै निर्वाह गरिरहेको उसले जङ्गल पस्नु अघि देखेको थियो।

‘झण्डै छ फिट अग्लो पर्खाल भित्र के छ ?’ त्यो उसलाई थाहा थिएन। तर मध्यरातमा झिलिमिली बत्ती बलेर यो ठाउँमा उज्यालो भएको उसले देखेको थियो।

‘सम्भवतः यहीँबाट निस्केको कोलाहलले हुनुपर्छ मेरो ध्यान भङ्ग गरिदिएको !’ उसले अनुमान गरयो।

‘खोइ के गर्न हो, वेलाबखत केही विदेशीहरु त्यता जङ्गलतिर जान्छन।’ जंगल पस्नेबेला गाँउको चिया पसलमा उसले यो कुरा पनि सुनेको थियो। उसको अग्लो र गोरो जिउडाल देखेर होला गाउँलेहरुले उसलाई पनि एक विदेशी सम्झिरहेका थिए। चिया पसलको त्यो कुरा सम्झेपछि भने अनिरुद्रले त्यो कम्पाउण्डलाई कुनै जङ्गल रिसोर्ट हुनसक्ने अनुमान गरयो।

‘आइ त सकियो, एक पटक यो जङ्गल रिसोर्टको पनि अब अवलोकन गरुँ, बरु त्यसपछि कुनै शान्त ठाँउ खोजेर तपस्यामा लीन हुनु पर्ला ।’ यही सोचेर उसले त्यो अग्लो कम्पाउण्डको गेट धकेल्यो। गेट बन्द नभएकाले विस्तारै खुल्यो । गेट खुल्नासाथ उसको आखाँ एउटा सूचनापाटीमा पर्यो।

प्रिय आगन्तुक,
तपाईंलाई यो स्थानमा हार्दिक स्वागत छ। यो मानवहित प्रर्वद्धनका लागि निर्माणभएको प्रयोगशाला हो। यस कम्पाउण्डभित्र तीन खण्डहरु छन। भित्र पस्नासाथ देखिने फूलको बँगैचा पार गरेपछि उत्तरी मोहोडामा सुविधायुक्त आवासगृह रहेको छ जहाँ अनुसन्धानकर्ताहरु, तिनका सहयोगीहरु र सुरक्षा गार्डहरु बस्ने गर्छन। पूर्वी मोहोडामा एउटा आधुनिक प्रविधियुक्त प्रयोगशाला छ। र, दक्षिणी मोहोडातिर मानव क्लोन राख्ने क्याविनहरु छन । तपाईंको काम के हो, कसलाई भेटनु छ, त्यसका आधारमा कुन भवनमा जाने आफै तय गर्नुहोला।
धन्यवाद !

भित्र प्रवेश गरेपछि अनिरुद्रले मूल ढोकाको छेउमा लेखिएको जानकारी पढ्यो । तर ऊ कसलाई भेटन आएको हो त्यो ऊ आफैंलाई थाहा थिएन। ऊ कुनै काम विशेषले त्यहाँ गएको पनि थिएन।

‘प्रयोगशाला ! अनुसन्धानकर्ता ! पक्कै यो कुनै अनुसन्धान केन्द्र हुनुपर्छ। मानिसको जात न हो। ज्ञानको असन्तुष्टीले यो अनकन्टार जङ्गललाई पनि जङ्गल रहन दिएन।’ अनिरुद्रले मनभित्रको उकुसमुकुसआफैंलाई सुनायो। अशान्ति र असन्तुष्टिको दलदलबाट बाहिरिन जङ्गलको बाटो रोजेको ऊ असन्तुष्टीकै सबैभन्दा ठूलो प्रयोगशालाभित्र आइपुगेकोमा दिक्दार भयो। अब उसलाई त्यहाँबाट अगाडि बढन मन लागेन र गेटतिरै फर्किन खोज्यो।

‘मलाई नबाँध, छोड, तिमीहरु राक्षस हौ। तिमीहरुका हातमा किरा परुन ।’ गेटबाट बाहिरिनै लाग्दा एकाएक उसको कानमा यी आवाजहरु आएर ठोक्किए । जसै मान्छेको कल्याङ मल्याङ बढेर गयो, बाहिरिन खोजेका उसका खुट्टा त्यहीँ स्थीर भए । एकछिन शान्त भएर उसले ती आवाजहरु फेरि ध्यानपूर्वक सुन्यो। ती आवाजहरु दक्षिणी मोहोडातिर रहेको भनिएको मानव क्लोनका क्याबिन भएतिरबाट आइरहेको थियो।

‘मानवहित प्रर्वद्धनका लागि निर्माण भएको प्रयोगशाला भनिएको छ । फेरि यो दर्दनाक आवाज ? यहाँ अरु नै केही भइरहेको त होइन ?’ अब उसका रोकिएका पाइतलाले त्यही आवाज पछ्याउँदै गए । बाहिर लेखिएको जानकारी कै आधारमा ऊ अघि बढ्यो । फूलको बँगैचा र त्यसपछि आवासगृह पार गरेर ऊ सुरक्षा गार्ड रहने स्थलमा पुग्यो। त्यतिबेला त्यहाँ सुरक्षा गार्डहरु थिएनन। सायद ति आवाज आएकै स्थलतिर पुगेका थिए। प्रयोगशाला हुदैँ ऊ मानव क्लोन क्याविनतिर हानियो । त्यहाँ एकैनाशका देखिने होस्टलका जस्ता क्याविनहरु थिए। र सबै क्याविनमा एक-एक युवा राखिएको थियो। कसैको आँखामा कालो पट्टी बाँधिएको थियो । कसैका हातखुट्टा बाँधिएको थिए। प्रत्येक क्याविनभित्र सुत्ने ठाँउ र शौचालयको ब्यवस्था पनि थियो। फलामको बारले घेरेको सानो झ्याल जस्तो खण्डबाट सुरक्षा गार्डहरुले उनीहरुलाई खाना उपलब्ध गराइरहेका थिए ।

‘प्रयोशाला भनिए पनि यो कुनै गोप्य जेल त होइन ? जो कसैलाई थाहा नभएको होस। यसलाई कसले संचालन गरेको होला? सरकार या अरु कुनै तत्व ?’ अनिरुद्रले आफैलाई प्रश्न सोधिरह्यो। तर ती सुरक्षा गार्डलाई यी प्रश्न सोध्ने हिम्मत उसले गर्न सकेन। उसले लुकी लुकी ती दृष्यहरु हेर्दै गयो। त्यसपछि ऊ फलामे डण्डीले सुरक्षित गरिएको क्याबिन नजिक पुग्यो जसभित्र एक युवक जोडजोडले चिच्याइरहेको थियो।

‘सक्छौ मलाई मार । तिमी हुतिहाराहरु । मलाई यसरी बाँधेर नराख।’ ऊ घोक्रो सुकाएर कराइरहेको थियो। सेतो मास्क लगाएको अलि पाको जस्तो देखिने एकजना व्यक्ति र उसका सहयोगीहरु त्यो युवकलाई जवरजस्ती कुनै इन्जेक्सन दिन खोजिरहेका थिए। तर युवक पुरै शक्ति लगाएर प्रतिकार गरिरहेको थियो । अन्तिममा उसको केही लागेन। इन्जेक्शनको प्रभाव सुरु हुनासाथ उसको आवाज क्षीण हुदैँ गयो।

‘बुझ्यौ, अब नयाँ क्लाइन्ट आयो भने सप्लाई लिस्टमा सब भन्दा पहिला यसलाई नै राख्नु । सारै दुःख दियो यो मूर्खले।’ त्यो समूहको सिनियर जस्तो देखिने ब्यक्तिले अरु दुई सहयोगीतिर हेर्दै भन्यो। ‘ओके सर।’ दुवैले एकै स्वरमा जवाफ फर्काए।

‘प्रयोगशाला, क्लाइन्ट, डिल, सप्लाई, यो के भइरहेको हो?’ अनिरुद्र झन अचम्मित भयो। उसले आफूले देखेको कुरा के हो भनेर बुझ्न सकिरहेको थिएन। ऊ झन गहिरो भय मिश्रित आश्चर्यमा परयो। उसको मनमा झन धेरै प्रश्नहरु थपिदै गए।

‘नयाँ बलीको बोका आइपुगेछ, अब यो पनि मर्छ । मलाई थाहा छ यसको क्याविन नम्बर दुइसय सत्ताइस हो।’ १०४ लेखिएको क्याबिनबाट एउटा युवकले खित्खिताउँदै अट्टाहस गरयो। ‘सुस्स्स्स्स……!’ चोर औँला ओँठमा लगेर उसले आफ्नै आवाज सानो पारयो र अनिरुद्रलाई हेरयो। अनिरुद्रले पनि उसैलाई हेरिरहेको थियो।

‘तिमी नयाँ डाक्टर हौ?’ उसले आवाज सानो पारेर सोध्यो।
अनिरुद्रले होइन सङकेतमा टाउको हल्लायो। ‘नयाँ सुरक्षा गार्ड हौ?’ उसले फेरि सोध्यो।
‘होइन,’अनिरुद्रले पनि सासैले जवाफ दियो।
‘मान्छे किन्न आएका ब्यापारी हौ?’
‘होइन।’
‘मलाई पहिले नै थाहा थियो, तिमी बलीको बोको बन्न आएका हौ।’ अनिरुद्रलाई झस्काउने गरी ऊ फेरि हाँस्यो ।

‘तिमी जो हौ, यहाँबाट भाग, नत्र क्याविन नम्बर २२७ तिम्रो प्रतिक्षामा बसेको छ,’ युवकले भन्यो।
‘मैले त्यस्तो के गरेको छु र ?’ अनिरुद्रले उसलाई सोध्यो।
‘हामीले पनि केही गरेका थिएनौ,’ युवकले प्रत्युत्तरमा भन्यो।

‘यहाँ भइरहेको चाहिँ के हो! मैले केही बुझ्न सकीरहेको छैन।’ अनिरुद्रले अज्ञानता र डर मिसिएको भावमा भन्यो।

‘यहाँ पहिला क्लोन गरिएका भ्रुणहरु विकसित गर्ने गरिन्थ्यो रे। तर अहिले गाउँगाउँबाट युवाहरुलाई बेपत्ता पारेर ल्याइन्छ। र उनीहरुको अङ्ग बिक्री गरिन्छ। मलाई पनि केही काम छ भनेर घरबाट बोलाएका थिए। दश दिनपछि मात्र थाह पाएँ म अपहरणमा परेको रहेछु। केही वर्ष बितिसक्योे मलाई यहाँ ल्याइपुरयाएको । म शान्त बस्छु त्यसैले मेरो पालो आएको छैन। यहाँ हल्ला गर्ने र विद्रोह गर्न खोज्नेको काल सबै भन्दा छिटो आउँछ। तिमीलाई उनीहरुले अझै देखेका छैनन त्यसैले यहाँबाट जतिसक्दो छिटो भाग। बरु हाम्रो बाटो बसिरहेका आफन्तहरुलाई यो खबर पुरयाइदेऊ।’ त्यो युवकले बेलिविस्तार लगायो।

१०४ नम्बर क्याविनमा थुनिएको युवकको कुरा सुनेर अनिरुद्र स्तब्ध भयो। मानवता संरक्षणका लागि मानव क्लोनको उपयोगिताका बारे काठमाण्डौको एउटा पाँचतारे होटलमा भएको सम्मेलनको स्मरण भयो । मानव क्लोनबाट मानव सभ्यतालाई के फाइदा हुन सक्छ भनेर सियोल विश्वविद्यालयका बैज्ञानिक प्राध्यापक हाउ लु—जिनले दिएको विशेष मन्तब्यको पाठ उसले टिभिमा सुनेको थियो। त्यो भन्दा अघि बीबीसीको हार्ड टकमा स्कटल्याण्डको एडिनबरामा भेँडाको क्लोनीङ गरेर दुरुस्तै किसिमको भेँडा विकास गरेर ‘डली’ नामको पहिलो क्लोन भेँडा तयार गरिएको बारे पनि चर्चा भएको थियो।

भक्तपुरको पोल्ट्री फर्टिलाइजेशन एण्ड प्रडक्सन प्रा.लि.ले पनि क्लोनिङ प्रविधिबाट कुखुरा उत्पादन गरिरहेको समाचार छापिएको थियो। कुखुराको मासुमा आत्मनिर्भर हुने चर्चाले त्यसबेला खुब बजार पाएको थियो। तर पछि भारतीय बजारबाट बेरोकटोक आयात हुने ब्रोइलर र अन्य कुखुरासँग प्रतिस्पर्धा गर्न नसकेपछि त्यो उद्योग धरासायी भएको थियो। स्थानीय पत्रिकामा छिटो र धेरै मासुका लागि गिद्ध र ब्राजिलियन कुखुराको क्लोनिङ गराएर गिरिराज प्रजातीको कुखुरा उत्पादन गरिएको समाचार पनि छापिएपछि उद्योग झनै सङकटमा परेको थियो। त्यस बखत गिद्धको हाइब्रिड भन्ने इमेज मानिसहरुको मनबाट हटाउन पोल्ट्री फर्मले खुबै विज्ञापन गर्नुपरयो।

प्राध्यापक हाउ लु-जिनको मन्तव्यमा एउटा अर्को महत्वपूर्ण मुद्दा क्लोन मानवका अङ्गहरु अन्य मानवमा प्रत्यारोपण गर्न मिल्ने या नमिल्ने भन्ने विषय थियो। मानव क्लोन निर्माणको प्रक्रियामा स्त्री डिम्बको न्युक्लियसलाई हटाएर पुरुषको डिएनए कोषसँग विद्युतीय प्रविधिबाट फ्युजन गरिँदा त्यसमा आमाको जिन नसर्ने भएकाले तिनका अङ्गहरुको उपयोगलाई नैतिक प्रश्नसँग जोडेर हेर्न नमिल्ने तर्क लु-जीनले गरेका थिए । अस्पतालहरुमा ‘अर्गान फेलर’का कारणले मृत्युको मुखमा पुगेका लाखौं मानिसहरु क्लोन मानवबाट अङ्ग लिएर पुनर्जीवन प्राप्त गर्न सक्छन जुन मानव सभ्यतामा एउटा ठूलो उपलब्धी हुनेछ भन्ने उनको मन्तब्यको सार थियो।

लु-जीनले दिएको कि नोट स्पिचमा तररर ताली पिटेर सम्मेलनमा उपस्थित अतिथि नेता, समाजसेवी, पत्रकार सबैले यसकुराको समर्थन गरेका थिए। बेलुकीको ककटेल डिनर र रातो लिफाफाको उपहार लिएपछि धन्यवाद दिएर उनीहरु फर्केका थिए।

संसारभरि शरिरका अङ्ग प्रत्यारोपण गर्नु पर्ने लाखौं रोगीहरु छन । यो सोचलाई कार्यान्वयन गर्न सकिए त्यस्ता तमाम मानिसहरु अकालमा मर्ने थिएनन भन्ने ऊबेला अनिरुद्रलाई पनि लागेको थियो। तर मानव क्लोनको उत्पादन र व्यवसायिक उपयोग र विक्रीको बाटो भने प्रष्ट थिएन। नेपालमा प्रत्यारोपणका लागि अङ्ग दान सम्बन्धी केही कानुनी प्रबन्ध भए पनि मानव क्लोनबाट अङ्ग दान लिन सकिने बाटो खुलेको थिएन।

त्यसैबेला सिँगापुरमा ह्युमन अर्गान डोनेशन ब्याङकको स्थापना भइसकेको जानकारी आएको थियो। त्यहाँ प्रत्यारोपणका लागि आवश्यक पर्ने अङ्गहरु उपलब्ध हुने सूचना पनि सार्वजनिक भएको थियो।

ह्युमन अर्गान व्याङक एउटा च्यारिटीको रुपमा स्थापना भएको संस्था हो। जसरी संसारभरी ब्लड ब्याङकहरु खुलेका छन । त्यहाँ मानिसले स्वेच्छिक रुपमा दान गरेका अङ्गहरु उनिहरुको इच्छा बमोजिम अङ्गको प्रकृति अनुसार जीवतै हुँदा वा मृत्युपश्चात शरिरबाट निकालिन्थ्यो र तिनलाई रासायनिक प्रविधिबाट संरक्षण गरिन्छ। हुन त शहरका फ्रेसहाउसहरुमा पनि खसी वा राँगाका अलग अलग अङ्गहरु जस्तै कलेजो, जिब्रो, फोक्सो, मुटु, आदि बेच्ने गरेको अनिरुद्रले पनि देखेकै हो। तर अर्गान ब्याङकहरुमा राख्ने भनिएको क्लोन मानवका अङ्गहरुको विषय अलि भिन्न थियो। मानव क्लोनको उत्पादन खर्चिलो थियो। त्यसैले यसलाई महङ्गो शुल्क तिर्न सक्नेले व्यक्तिले मात्र प्रत्यारोपण गर्न सक्थ्यो। मानवताकोसेवा भनिए पनि यो पूँजी बजारको एउटा महत्वपूर्ण हिस्सा बनिसकेको थियो। क्लोनहरुबाट महत्वपूर्ण अङ्ग निकालेपछि बाँकी रहेका शरिरका भागहरुलाई अन्य उपयोगमा ल्याउने बारे पनि बैज्ञानिकहरुले सोचिरहेका थिए। कुनै दिन यसको उपस्थिति प्रोसेस्ड ह्युमन मिटको रुपमा डिपार्टमेन्टल स्टोरहरुमा हुनसक्नेबारे पनि चर्चा चलेको थियो।

यो सबै सम्झेपछि भने अनिरुद्रलाई पूँजी बजारले निर्माण गरेको ह्युमन क्लोनको व्यवहार शास्त्र छर्लङ्ग भयो। प्रोसेस्ड ह्युमन मिट!उफ! सम्झेरै उसलाई दिगीमिगी लाग्यो। सन्त बन्न हिँडेको उसको आत्मा छटपटाउन थाल्यो। उसलाई यहाँबाट जतिसक्दो छिटो भाग भनिरहेको युवक निदाइसकेको थियो। उसलाई त्यहिँ छोडेर अनिरुद्रले बाँकी क्याविनहरु हेर्दै गयो। प्रत्येक क्याविनमा एक­एक जना युवकहरु झोक्राइरहेका थिए।

हेर्दै जाँदा ती युवकहरु उसलाई कुनै अर्थमा क्लोन जस्ता लागेनन । केही आर्यन अनुहारका, केही मङ्गोलियन अनुहारका। केही गोरा र केही अलिक काला काला पनि। उनीहरु पीडाले, चिन्ताले, र भयले आक्रान्त थिए। कोही सुँकसुकाएको जस्तो गर्थे, कोही बर्बराएको जस्तो । अनिरुद्रलाई अब विश्वास भयो केही ठूलै गडबडी भएको छ। किनकि विदेशी वैज्ञानिकहरुले केही महिना अघि नै त्यो मुकाम छोडेर गइ सकेको समाचार पनि बाहिर आएको थियो। तर फेरि कसले यसलाई प्रयोगमा ल्यायो ? प्रश्न गम्भीर थियो।

हेर्दै जाँदा उसलाई एउटा क्याविनमा रहेको युवकको अनुहार चिने जस्तो लाग्यो। आफ्नै घर नजिकका एकजना छिमेकीको छोरो जस्तो लाग्यो ऊ । बेपत्ता पारिएको छोरोलाई सार्वजनिक गर्नमाग राखेर उसका बुढा आमाबाबु लामो समयदेखि धर्नामा छन । द्वन्दका बेला काम छ भनेर घर बाहिर बोलाइएका उनिहरु फर्केर नआएको थुप्रै घटनाहरु सुनिएको थियो। उनीहरु अपहरणमा परेको अनुमान सबैले गरे । तर कसले अपहरण गरयो कसैलाई थाहा भएन । कसैले जिम्मेवारी लिन जरुरी पनि ठानेन।

आफ्नै घर नजिकैको छिमेकी युवकलाई त्यो अवस्थामा देखेपछि अनिरुद्र खङग्रङ्ग भयो । युवकको आँखामा कालोपट्टी बाँधिएको थियो। ‘विवेक…!’ उसले बोलाउन के खोजेको थियो एउटा सुरक्षा गार्ड त्यहाँ आइपुग्यो । उसले देख्ला भन्ने डरले अनिरुद्र त्यहाँबाट अर्को पट्टी लाग्यो ।

के गरौं, कसो गरौं भएर ऊ प्रयोगशालातर्फ लाग्यो। प्रयोगशालामा केही युवकहरुलाई सुताइएको देखेर ऊ त्यहीं अडियो । सेतो मास्क लगाएका मानिसहरु अपरेशन गरेझैँ युवकका शरिरमा विभिन्न औजार चलाइरहेका थिए। लाग्थ्यो उनीहरुको शरिरका विभिन्न अङ्गहरुको माग भइरहेकाले त्यसको पूर्तीका लागि उनीहरु यो कार्यमा जुटिहरेछन । उसले हेर्दा हेर्दै ति शरिरबाट छुट्याइएका मानव अङ्गहरु विशेष प्रकारका शिशाका कन्टेनरहरुमा राख्न थालियो। सम्भवतः ती कन्टेनरमा प्रिजरभेटिभ रसायन पनि राखिएको थियो। अनिरुद्र घोर आश्चर्यमा परयो। तर त्यो आश्चर्य एकैछिनमा डरमा परिणत भयो। ‘के ती हराएका मानिसहरु……….?’ सोध्नै नसकिने एउटा प्रश्न उसको घाँटीसम्म आएर अडकियो। उसले केही सोच्न सकेन। जे देख्यो त्यो सत्य हो भन्ने पत्याउन सकेन। धेरैबेर आफ्ना आँखालाई अविश्वास गरिरह्यो।

रानीपोखरीको पश्चिमपट्टीको खाली भागमा केही मानिसहरु आफ्ना बेपत्ता पारिएका आफन्तहरुको स्थिति सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेको समाचार प्रयोगशाला बाहिर झुण्ड्याइएको टिभिमा आइरहेको थियो। त्यहाँ भावविह्वल श्रीमतीहरु, शोकले आक्रान्त बाबुहरु, टुहुरा भएका छोरीहरु आफ्ना प्रियजनहरुको फोटो छातीमा टाँसेर बसिरहेका थिए। मानौं उनीहरुको पुकारा सुनेर ती आफन्त एकदिन फर्कि आउनेछन । उनिहरुको छातीमा टाँगिएका केही तस्विरहरु र मानव क्लोन क्याविनमा कालोपट्टी बाँधेर राखिएका केही अनुहारहरु अनिरुद्रलाई उस्तै उस्तै लाग्न थाल्यो। उसको छातीमा एकाएक दबाब बढेको जस्तो भयो। निधारमा चिटचिट पसिना आउन थाल्यो। जति अविश्वास गर्न खोज्दा पनि उसले बेपत्ता भएका मानिसका फोटो र क्याबिनका मानिसहरु उस्तै होइनन भन्न सकेन। त्यसपछि ऊ बर्बराउन थाल्योः `बन्द गर यो वैज्ञानिकताको ढोंग ! पापीहरु ! अधर्मीहरु ! मान्छेको मासु बेचेर खाने राक्षसहरु !’

प्रयोगशालाभित्र आएको पहेलो बस्त्रधारी अपरिचितलाई एकाएक त्यो रुपमा देख्दा सेता मास्कधारीहरु अत्तालिए। उनिहरुको हात थर्थरान थाल्यो र हातमा भएका औजारहरु भुईंतिर झरे । त्यसपछि ‘सेक्यूरिटी… सेक्यूरिटी….’ भन्दै उनीहरु चिच्याउन थाले। अनिरुद्रले आफूलाई समात्न आएको सुरक्षा गार्डको हातबाट पेस्तोल खोस्यो र सिधै प्रयोगशालाभित्र प्रवेश गरयो।

`द्वन्द्वको नाजायज फाइदा उठाउने नालायकहरु, तिमीहरुले बाँच्नु पर्ने कुनै नैतिक अधिकार छैन।´ तीब्र आवेगमा उसले एक­एक गरी तीनैजना सेता मास्कधारीको कन्चटमा पेस्तोल पडकायो। तर त्यतिन्जेल अनिरुद्र पनि सुरक्षा गार्डको निशानामा परिसकेको थियो। टाउकोमा गोली लागेर ऊ पनि भुईंमा ढल्यो।

भोलिपल्टबिहान एकजना गाउँलेले सुनकोशी नदी किनारमा ती पहेँलो वस्त्रधारी र सेता मास्क लगाएका अन्य तीनजनाको मृत शरिर फेला पारयो। शान्ति खोज्न जङ्गल पसेको मानिसकोे अन्त्य यतिविघ्न अशान्त होला भन्ने अनिरुद्र आफैंले पनि कल्पना गरेको थिएन। एकाएक पत्रिका र टिभिमा उनीहरुको मृत्यु हेडलाइन बनेर छापियो। तर बेपत्ता पारिएका मानिसहरुको खबर भने रहस्यकै गर्तमा छुट्यो।
(१२ खरी बुक्सको उत्कृष्ट कथाहरुबाट साभार)

तपाईको प्रतिक्रिया