बबिता बस्नेत
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यान मात्र होइन हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले आँखा चिम्म गरी । आँखा चिम्लिनासाथ अगाडि उभिएर स्टिभले भन्यो—‘सिल्भिया, तिमी मलाई मार्न पनि सक्छ्यौ?’ उसले जवाफमा— ‘तिमीले त मेरो हत्या दुई वर्ष अघि नै गरिसकेका हौ, मेरो मनमा आउने सबै भावहरु तिमी र त्यो महिलाले खाईदिइसक्यौ, म बाँच्न चाहन्छु, स्टिभ !’ भनी र त्यहाँबाट हिँडी । माथि डाँडामा भएको सुन्दर बगैँचामा मन बिसाउन जाँदै गर्दा भेटिएका एक जोडीले फेरि उसलाई बिगतमा पुरयाए । युरोपको सानो मुलुक स्लोभेनियाको त्यो बगैँचामा स्टिभले सिल्भिया….भनेर चिच्याउँदा कसरी ऊ लपक्कै टाँसिएकी थिई भन्ने सम्झिएर मन विचलित भयो । कुनै बेला स्टिभले आफूमाथि त्यति ठुलो घात गर्ला भनेर सोचेकी पनि थिइन । तर नसोचेको त्यही कुरा जब उसको जीवनमा भयो, त्यसपछि जीवन डिस्टर्ब–डिस्टर्ब भएर ऊ डिप्रेशनमा गई ।
भाइ क्रिस्टोफर क्रोएशियामा थियो । दिदी बिरामी भएको खबरले हेर्न आयो । आमासँग सम्बन्धविच्छेद गरेको बाबुको उनीहरुलाई सम्झना छैन । आफू सानै छँदा आमाको मृत्यु भएपछि त्यही दिदीले उसलाई हुर्काएकी थिई । दिदीको अस्वाभाविक व्यवहारपछि उसले मानसिक उपचार गरायो, औषधी खाएपछि केही फरक भएकी उसले अकस्मात् नेपाल आउने निर्णय गरी । नेपाल जहाँ गोरखा र काठमाडौं गरेर उसले जिन्दगीका पाँच वर्ष बिताएकी थिई । गोरखामा बस्दा उसका मिल्ने साथीहरुले विपश्यनाको बारेमा चर्चा गर्दा जान पाए हुन्थ्यो जस्तोलागेको हो । तर आउने जाने दुई दिन र बस्ने दश दिन गरी १२ दिन कसरी जुटाउने भनेर जान सकिन । अकस्मात् अहिले उसलाई विपश्यना जाऊँ जस्तो लाग्यो । त्यसो त, विपश्यना केन्द्रहरु अरु मुलुकमा नभएका होइनन् तर नेपाल उसको मन पर्ने ठाउँ भएकाले अन्त जान सकिन ।
अनलाइन फर्म भरेर समय मिलाउँदा धेरै पछि मन रोमाञ्चक झैँ भयो । सम्झी, गोरखाको गाउँमा भेटिएका एक ज्योतिषले स्टिभको हात हेर्दै कसरी केटीहरुबाट जोगिनु पर्छ है भनेका थिए । त्यतिबेला उसले त्यो कुरालाई गम्भीरतापूर्वक लिइन । लिनु पर्ने अवस्था पनि थिएन । स्टिभ र उसको सम्बन्ध कसैले छुटाउने प्रकारको थियो जस्तो उसलाई लाग्दैन । एकार्काप्रतिको आदर सहितको आफन्त र साथीहरु नै छक्क पर्ने खालको गज्जबको सम्बन्ध थियो । नेपालमा बिताएका क्षणहरु सम्झिँदै फर्म भर्दै गर्दा उसले ‘केही परे आफू निकटको व्यक्ति’ भन्ने लेखिएको ठाउँमा अनायसै स्टिभको नाम र फोन नम्बर लेखी, जुन कुरा उसलाई अनलाइन फर्म पोष्ट गरिसकेपछि मात्र थाहा भयो । कहिलेकाहीँ उसलाई स्टिभले आफूलाई धोखा दिएर अर्कै केटी साथीसँग बसेकोमा खुशी पनि लाग्छ, कम्तिमा आफूलाई चिन्ने मौका पाई । नत्र त विगत धेरै वर्षदेखि ऊ हावामा उडिरहेकी थिई ।
दुई वर्षअघि स्लोभेनियाको गाउँमा गएको ठुलो हुरीपछि जुन प्राकृतिक विपद आइलाग्यो, त्यसले धेरैलाई बेघरबार बनायो । त्यस बीचमा अर्को गाउँमा रहेको स्टिभसँग उसको फोनमा कुराकानी मात्र भयो । पानी सहित आएको विनाशकारी हुरीले घरहरु भूकम्पले झैँ जरैबाट उप्काएर लडाएपछि मानिसहरु पालमा बसेका थिए । यातायात अवरुद्ध भएको थियो । आपत्–विपदका बेला उसले सम्झिने स्टिभ बाहेक खासै कोही थिएन । बेला–बेलामा फोन गर्थी, उसले पनि गथ्र्यो । केही समयपछि फोनमा संवाद कम हुँदै गयो । उसको घर भत्किएको थियो । सोची, घर मर्मतमा लाग्यो होला । पालमा बसेर चिया खाँदा देखि राती सुत्दासम्म ऊ स्टिभसँग मनमा कुरा गरिरहेकी हुन्थी । नजिकिएको दश वर्ष भइसक्दा पनि सँगै बस्न नपाएकाले त्यस बीचमा ऊ अब चाहिँ संगै बस्नुपर्छ भन्ने निष्कर्षमा पुगी । स्टिभकी एउटी छोरी थिई, श्रीमतीसँग डिभोर्स भएको केही महिनामैं उनीहरुको भेट भएको थियो । छोरीसँग पनि उसको सम्बन्ध राम्रै थियो । दिन बित्दै जाँदा स्टिभको फोन कम आउन थाल्यो । विपत्तिबाट सामान्य अवस्थामा पुगेपछिको भेट उसलाई केही फरक झैँ लाग्यो । त्यस बीचमा उसले आफू बिरामी भएको र विनाशकारी हुरीका कारण मनस्थिति अझै ठिक नभएको बतायो । सिल्भिया उसको मनस्थिति कसरी ठिक गर्ने होला भन्ने सोच्दै आफ्नो काममा लागी । ऊ बन्यजन्तु संरक्षणमा काम गर्थी । कन्सल्टेन्सी गर्ने भएकाले नियमित काम थिएन । कहिले महिनौँसम्म फिल्डमा बस्नुपथ्र्यो, कहिले राजधानी लुब्जियानामा । ऊ काम गर्ने संस्थाको मूख्य कार्यालय लुब्जियानामा थियो । त्यहाँ बस्दा प्रायः ऊ स्टिभसँगै हुन्थी । समय क्रममा उसले थाहा पाई हुरीपछि पालको बसाइमा उसको एउटी केटीसँग सम्बन्ध गाँसिएछ र उनीहरु केही महिना सँगै बसेछन् । उसका साथीहरुको सम्बन्ध टुटेपछि पुरै टुट्थ्यो, अल्झिएर बसेको थाहा छैन तर उसले सम्बन्ध टुटेको घोषणा नगरी अर्की महिलासँग बसेको घटनाले सिल्भिया मानसिक रोगीझैँ भई । सो महिलाको बारेमा सोध्दा उसले हो या होइन केही भनेन । प्रायः जवाफमा उसले त्यस्तो होइन, परिस्थिति त्यस्तो बनेको मात्रै हो भन्ने गथ्र्यो । सो महिलालाई भेटाइदेऊ न त भनेर उसले धेरै पटक भनी तर उसले भेटाएन । त्यस बीचमा सिल्भियाले आफूलाई यति असुरक्षित महसुस गर्न थालेकी थिई कि एक दिन उसको अपार्टमेन्टमा गएर ‘स्टिभ तिमीलाई नेपालका ज्योतिषले हात हेरेर अरु केटीसँग टाढा रहनु पर्छ भनेका थिए, तिमीलाई सम्झना छ ?’ भनी । यसो भन्दा उसका साथीहरु पनि थिए । स्टिभले ठुलो घृणायुक्त स्वर र लवजमा ‘हो, नेपालका ज्योतिषले तिमी जस्ता केटीसँग टाढा हौ भनेको हो मलाई’ भन्यो । त्यसै दिन देखि उसको मानसिक विक्षिप्तता बढेको थियो ।
उसले धेरै कोशिस गरी तर स्टिभलाई बिर्सन सकिन । जति बिर्सन खोज्यो ऊ त्यति आँखा वरिपरि आउँथ्यो । दश वर्ष प्रेममा हुँदाका कुरा भन्दा धोखा पछिका कुराहरुले मनमा बढी ठाउँ लिन्थे । विपद्का बेला आफूले त्यत्रो चिन्ता गरे आखिर ऊ अर्कै केटीसँगको घनघोर प्रेममा रहेछ भन्ने लाग्यो । फोनमा उसले बोलेका नाटकीय शब्दहरुले उसलाई थप दुखी बनायो । लुब्जियानाको नदी किनारमा बसेर एक पछि अर्को चुरोट सल्काएर बेहोस झैँ हुन्थी ऊ । साँझको हावाले चिसो बनाएपछि बासस्थानतिर लाग्थी । जिन्दगी अति नै खस्कीदै गएपछि उसले काठमाडौं गएर शिवपुरी स्थित विपश्यना जाने निधो गरेकी थिई ।
काठमाडौं उसको लागि नयाँ थिएन । चार वर्ष पछि नेपालको राजधानीमा पाइला टेक्दा उसलाई आफू नजिकको ठाउँ आएझैँ लाग्यो । भूकम्पपछि काठमाडौं ध्वस्त भएको सुनेकी थिई तर हेर्दा खासै त्यस्तो लागेन । पुगेकै साँझ ठमेलमा घुम्दै गर्दा दौरा सुरुवाल टोपी लगाएर पारिपट्टि उभिएको एउटा मान्छे देखेको, चिनेको झैँ लाग्यो । मनि एक्सचेन्ज नजिकै ऊ हात हल्लाई–हल्लाई कसैसँग कुरा गर्दै थियो । ऊ नजिकै गई, आँखा जुध्नासाथ उसैले बोलायो, सिल्भा नानी…तपैँ यतै हो ? यतिका वर्षपछि भेट्दा पनि उसले नामै लिएर बोलाउँदा आँखा आँसुले भरिए । भनी, बाजे नमस्ते, कस्तो हुनुहुन्छ ? उनी उही गोरखाका ज्यातिष थिए । उनले भूकम्पपछि आफ्नो घर भत्किएकाले अहिले छोरा बुहारीसँग काठमाडौंको बानेश्वरमा बसिरहेको बताए । उसले फोन नम्बर लिई र विपश्यनाबाट फर्किएर आफूले भेट्ने बताएपछि उनीहरु छुट्टिए । त्यस रात आफ्नो गोरखा बसाइलाई सम्झँदै ऊ निदाई ।
शिवपुरी पुग्दा दिनको चार बजेको थियो । वरिपरिको वातावरण सन्नाटाले भरिएको थियो । साथीहरु र आफन्तसँग खुलेर हाँस्नु पर्ने, नयाँ वर्ष, क्रिस्मस लगायतका चाडबाड र अवसरलाई रमाइलो गरेर मनाउनु पर्ने, सधैँ टिपटप परेर हिँड्नु पर्ने उसको हुलिया उसका पुराना साथीहरुले चिन्ने खालको थिएन । उदास–उदास ऊ ओइलिएको फूल झैँ भएकी थिई । विपश्यनाका सबै नियमहरु थाहा पाएर त्यहाँ पुगेकी उसलाई टेलिफोन र इन्टरनेटबाट टाढा रहन पाउँदा आनन्द झैँ लाग्यो । हिँड्ने बेलामा स्टिभसँग कुरा भएको थियो, विपश्यना जान लागेको बताउँदा उसले त्यहाँ त इन्टरनेट पनि हुँदैन भनेको थियो । ‘कुरा नै किन गर्नु परयो र ?’ आफूले आफैसँग प्रश्न गरी । साँझको छोटो मेडिटेशनले आनन्द दियो । तर भोलिपल्ट देखि चार दिनसम्म ऊ यति डिस्टर्ब भई कि उसलाई स्टिभ काण्डबाट जिन्दगीमा मुक्ति पाउँछु भन्ने कुरामा पुरै हरेस खाएझैँ भयो । आँखा चिम्लियो कि स्टिभ र त्यो केटी अगाडि आउँथे । कहिले सँगै, कहिले छुट्टाछुट्टै । सहयोगीको रुपमा चिनाइएकी त्यो केटीसँग उसलाई कुनै गुनासो थिएन । आफ्नै मान्छेले धोखा दिएपछि अरुको के दोष ? तर आँखाहरुले केटीको पनि पिछा छोडेनन् । आँखा चिम्लिएपछि दश वर्षसम्मका अनेक उतार चढावहरु सचित्र आँखा वरिपरि आए । ध्यानका क्रममा नाकले सास फेरिरहेको कुरालाई महसुस गर्नका लागि निर्देशन दिइएको थियो । तर सासमा बाहेक ध्यान अन्य धेरै कुरामा गयो, विशेष गरी स्टिभले दिएको धोखामै अल्झियो ।
घृणा गर्ने भनेको माया गरेका मानिसलाई नै रहेछ । उसको माया चित्त दुखाई हुँदै घृणामा परिणत भएको थियो । बिहान साढे चार बजेदेखि बेलुका ९ बजेसम्म ती दुई जनाले यति दुःख दिए कि उसलाई बेकार यो ठाउँमा आएछु जस्तो लाग्यो । जिन्दगी सहज बाँच्ने आशामा त्यति टाढादेखि आएकी उसले जीवन झन्–झन् जटिल हुँदै गएको पाई । विपद्का नाममा सम्बन्ध जोड्न आइपुगेकी त्यो महिलालाई उसले जम्मा एकपल्ट देखेकी थिई । जति बेला पनि आँखा अगाडि आएर ध्यानलाई डिस्टर्व गरेपछि उसले त्यसलाई हटाउन धेरै कोशिस गरी । नसकेपछि उसको मृत्युको कल्पना गरी र दाहसंस्कारको प्रक्रिया अगाडि बढेपछि केही सहजझैँ महसुस भयो । कसैको मृत्युमा जीवन त्यति हलुका हुन्छ भन्ने यसअघि उसले कहिल्यै सोचेकी थिइन । उसलाई पन्छाएपछि केटा आफैँ हटेर जान्छ भन्ने ठानेकी थिई तर त्यस्तो भएन । केटाको मृत्युको परिकल्पना उसको लागि टाढाको कुरा थियो । कुनै बेला आफूले त्यति धेरै माया गरेको मानिसको मृत्युको परिकल्पना कसरी गर्नु ? सम्झिई, आफूमाथि धोखाको महसुस भएपछि स्टिभसँग सोही विषयमा कुरा गर्दै जाँदा हातका औँंलाहरु कसरी थरथरी काँपेका थिए । रातभरि नसुत्ने, दिनभरि विक्षिप्त रुपमा कहिले कता कहिले कता पुग्ने उसको मानसिक हालत दिन प्रतिदिन खस्कीदै गएको थियो । त्यस्तो बेलामा उसले भनेकी थिई, ‘स्टिभ म तिमीलाई कति माया गर्छु भनेर म भन्दिनँ तर छोड्न नसक्ने रहेछु । तिमीले भनेझैँ ऊ तिम्री सहयोगी मात्रै हो भने तिमी उसलाई हटाएर अरु कोही मान्छे राख्न सक्छौ ?’ यसो भन्दै गर्दा उसको सास बढेको थियो र हातका औंलाहरु थरथरी काँपेका थिए । त्यस्तो शारीरिक र मानसिक अवस्था देख्दा पनि उसले कुनै जवाफ नदिई चुपचाप बसेको सम्झिएर त्यति बेला भन्दा अहिले उसलाई बढी दुःख लाग्यो । र, त्यो पीडा घृणामा बदलियो । उसले आफूलाई दह्रो बनाई, उसको मृत्युको कल्पना गर्ने निर्णय गरी र गोली चलाई । जानी–जानी निशाना चुकाएर अलि पर रहेको रुखमा गोली गाडियो । कल्पनामै उसले भन्यो, सिल्भिया तिमी मलाई मार्न सक्छुयौ ? उसले सक्दिन भनिन तर सक्ने अवस्थामा ऊ थिइन । दिउँसोको खाना खाने घण्टी लाग्दा ऊ ठुलो समस्यामा थिई, अब म के गरुँ ?
दिन बित्दै जाँदा विस्तारै–विस्तारै उसले आफूबाट उसलाई हटाउँदै लगी । आफू बाहेकको ऊ बाँचिरहोस् जस्तो लाग्यो । आम मान्छेको रुपमा उसको छवि आँखा अगाडि आएपछि बल्ल उसले ध्यानमा ध्यान लाउन सकी । त्यसपछिको ध्यान मग्न अवस्था बडो आनन्ददायी भयो । घरी–घरी आँखा खोलेर अरुलाई हेर्थी, सबै जना आँखा चिम्लिएर ध्यान मग्न देखिन्थे । यी सबै ध्यानमैं होलान् त ? उसलाई शंका लाग्यो । सोची, यीमध्ये कतिको मनमा डर लाग्दो आँधी–बेहरी चलिरहेको होला…आखिर यी सबै मान्छे नै त हुन् ! सपना, कल्पना कतै पनि ऊ आउन छोडेपछि संसार पीडा रहित लाग्न थाल्यो । विस्तारै–विस्तारै अब म एक्लै बाँच्न सक्छु भन्ने विश्वास पलाउन थाल्यो । जिन्दगीमा आत्मविश्वास धेरै ठुलो कुरा रहेछ, स्टिभ र त्यो महिलाले ढुङ्गा जस्तो उसको आत्मविश्वासलाई पुरै गिराइदिएका थिए । आफूमा आएको परिवर्तनसँगै बिहान, दिउँसो र साँझ विगतका भन्दा धेरै फरक लाग्न थाल्यो । दुई वर्षपछि उसलाई फूल र जुन देखेर रमाइलो लाग्यो । अब के गर्ने ? आफ्नो बारेमा सोच्न थाली । देश फर्कनु अघि एक पटक गोरखा जान पाए हुन्थ्यो जस्तो लाग्यो । तर धेरै भएको थियो राम्ररी काम नगरेको पैसा पनि खासै थिएन । ‘भैहाल्यो !’ भन्दै अर्को पल्ट जाने योजना बनाई । साँझको प्रवचन र ध्यानले उसलाई यसरी खिच्न थाल्यो कि संसार बिर्सिएझैँ भयो । स्टिभलाई प्रेमीबाट आम मानिसमा परिणत गरेपछि उसलाई केटीहरु कति स–साना कुरामा अल्झिएर जिन्दगी बर्वाद पार्छन् जस्तो लाग्यो । अरुको हातमा आफ्नो खुसी निर्भर रहुन्जेल मानिस भावनाको दास बन्छ भन्ने कुरा कसरी बताउने होला भन्ने कुराले निकै बेरसम्म मनमा ठाउँ लिइरह्यो ।
विपश्यना सकेपछि ठमेलको होटलमा फर्किएर भाइबर–अन गर्दा मोबाइल नै पड्केला झैँ गरी भरररर म्यासेजको चाङ्ग लाग्यो । मन झसङ्ग भयो, भाइलाई पो केही भयो कि ? यति धेरै म्यासेज गर्ने अब मलाई को छ र ? एक छिन म्यासेज हेर्न डर लाग्यो । दिनको पाँच वटाका दरले लेखिएका पचास वटा म्यासेज सबै स्टिभका थिए । धेरै जसो म्यासेजमा ‘चाँडै आऊ’ भन्ने लेखिएको थियो । एउटा लामो म्यासेज थियो— ‘तिमी बिना म एक्लो भएको छु । मलाई माफ गर सिल्भिया, तिमी बिना स्लोभेनिया खाली–खाली झैँ भएको छ । तिमी आएपछि विवाह गर्नका लागि मैंले आवश्यक सामान सबै किनिसकेँ ।’ ल हेर, सामानहरु भनेर औंठी र सेतो गाउनको फोटो पनि थियो । छक्क परेर म्यासेजहरु हेर्दै गर्दा फोन आयो, तिमी कुनै प्रकारको सम्पर्कमा नहँदा मैंले तिमीलाई भेट्न, देख्न, बोल्न नपाए पनि महसुस मात्र गर्न सकेँ र धेरै गरेँ सिल्भिया, मिल्छ भने आजै टिकट लिएर आऊ !’ जवाफमा— ऊ निःशब्द भई । दश दिनसम्म नबोली बस्दा तिमीलाई कस्तो भयो होला म अनुमान गर्न सक्छु भन्दै उसले आफूले भोगेकोएक्लोपनको व्याख्या गरयो ।
फोनमा व्यक्त उसका शब्द र म्यासेजहरु पढिसकेपछि थकित–थकित झैँ बनेकी उसले साँझको मधुरो प्रकाशमा जूनलाई हेर्दै भनी— ‘स्टिभ, जति बेला मैले तिमीले देखाए जस्ता कपडा र औंठी लाउने परिकल्पना गरेँ, तिमीले हाम्रो सम्बन्धलाई नै हो कि होइन झैँ दोधारको अवस्थामा पुरयायौ । विश्वास र भावनाको मृत्युपछि तिम्रो औंठी छिर्नै नसक्ने गरी मेरा औँलाहरु जडवत् भएका छन् । खुशी हौ, जसलाई जति बेला पनि बाँड्न सक्ने तिम्रो मन र बाटाहरु अब स्वतन्त्र छन् !’