नेपाली कविताको क्षेत्रमा दिपा राई पुन पछिल्लो समयमा कविता कथा र गीत लेखनमा सकृय नाम हो पुनको प्रकाशित कृतिहरु तिम्रो सपनाको म— कविता संग्रह २०६८ स्पन्दनका रागहरू— कविता संग्रह २०७० छुटेको बागदाता — कविता संग्रह २०७२ प्रतिरुप गीति एल्बम, २०७४ लगायतका कृतिहरु प्रकाशीत छ प्रस्तुत छ साताको तीन कविता ।
छुटेको बागदाता
सपनाहरू उडेर
समय स्तब्ध उभिएको बेला
सुनसान मलाई तिमीले प्रेम गरेको क्षण
म प्रतिको निश्चलता
मायालु लाग्यो मेरो नेप्टे !
दूर देशबाट पनि
चिम्सो आँखा अझ चिम्सै पारी
मायाको मीठो धुन सुनाउँदा
हत्केलाले आँसु पुछ्दै
मलाई हाँस्दै बाँच्नू भन्दा
तिम्रो त्यो सम्मान र आदर बुझेर
अझ बेसी माया लाग्यो मेरो चिम्से !
तिमी पो कहाँ–कहाँ बिरानो मुलुकमा
जहाँ म पुग्नै सक्दिनँ
यहाँ त हेर तिमीले हिँडेको गोरेटोमा
तिम्रै पाइतालाको डोब छ
नेवारो गगुन र भर्लाको पातमा
लहरे र डाले घाँसमा
तिम्रै हत्केलाको छाप छ
यादले आँखा रसाएको बेला
माथि गौचरणमा जान्छु
तिम्रो बाँसुरीको धुन सुन्न
साँच्ची, तिम्रो पटुकी खै ?
जहाँ मेरो माया बाँधेर
बाँसुरी भिरेको हुन्थ्यौ
हाँस्दै–हाँस्दै मलाई अँगालेर
सुईसुई पार्दै गाईबस्तु धपाइरहेका हुन्थ्यौ
एक दिन गोठालोबाट फर्कँदा
मलाई उपरतली लागेर
फत्र्याक–फत्र्याक भएको हेर्न नसकेर
जङ्गली नलागोस् भन्दै
कम्मरमा खुर्मी सिउरिदिएको
आज जस्तै लाग्छ
अहिले सम्झँदै छु
त्यही बेला
तिमीले मेरो अन्तस्करणमा मुटु पो सिउरिदिएछौ
सट्टामा मेरो मुटु लिएर घर लागेको तिमी
हुटहुटी भएर आमा र आपालाई भनेर
घाम डुब्दै गरेको एक साँझ
कोङ्पी र खिदीलाई दुई चिण्डो सगुन बोकाएर
मलाई माग्नु पठाएछौ
सगुन आपाले सारेर सबैलाई बाँडिदिँदा
स्वीकारोक्ति बुझेर छड्के नजरले मलाई हेर्दा
लाजले रातो भएको गाला सम्झँदा
अझ सेलाए जस्तो लाग्दैन
फुलबुट्टे रूमाल गाँठो पारेर
बैना मारी नौमती बाजा बजाएर साइतमै लगेथ्यौ
समयले कहाँ दियो र हामीले सोचे जस्तै बाँच्नु !
जूनले चिहाएको मन पर्थेन तिमीलाई
चिसोले गिज्याएको झनै मन पर्थेन
आमा र आपाको सपना
टोंङ्गमा र खुसेको घरजम हसाउने
माइती राजा भएर जिउनु थियो
रात भागेर घुम्ती काट्दा
मेरो चुल्ठोमा चाँप सिउरेर
देउरालीमा आँसुको फूलपाती चढाएर
तिमी हिँडेथ्यौ क्षितिज पारि कता–कता
प्रत्येक बिहानी मलाई छाडेर जाँदै गरेको देख्छु
तिमी कहाँ पुग्यौ कुन्नि !
समस्या ज्युँको त्युँ नै भेट्छु
त्यसबेला धरधरी आँसु खस्दा
चप्लेटी ढुङ्गा जस्तो तिम्रो छातीमा
बिसाएर सुस्ताउन मन लाग्छ
आऊ, अब त मेरो नेप्टे
मेरो आमा र आपा डाँडाको घाम जून जस्तै हुनुभयो
तिमी आएपछि मलाई ‘बागदाता’ दिने रे !
कोङ्पी खिदी केटी माग्नु जाने बुडौली
बागदाता—माइतीको कुलबाट निकाल्नु
टोंङगमा—जेठ्ठी छोरी
खुसे—कान्छी छोरी
खुर्मी—सुरक्षाको निम्ति बिम्वको रूपमा माइतीले बिवाहमा दिने हतियार ।
अन्तःप्रज्ञा
जीवन फुल्नको लागि त
काँडाहरूसँग समर्पित हुनुपर्छ
समयका प्रेमिल चोटहरू
जीवन पाठशालाको
जीवन बुझिलिने
यथार्थ प्रयोगशाला हो
जहाँ आफैँलाई अनेक
टुक्रामा भेटेँ र जोडेँ
सग्लो सम्झिएर पनि
फेरि टुक्रै टुक्राको ज्ञप्ति
टुक्रै टुक्राको अनुभूति
जीवन त
जोडिँदै थपिँदै बन्ने
पत्रै पत्रको तह पो रहेछ
आत्मविश्वास बोकेर
खुशीले प्रेम गर्छु
आँखा चिम्लिएर
कण–कणमा देख्छु
जीवन हाँसेकै छ
चलेकै छ
मान्छे तीललाई पहाड बनाउँछ
अनि त्यही पहाडको छाँयामा
ओझेल परेर
दुःख चिच्याउँछ
अ–चेतनाको भुमरीमा रुमल्लिएर
गुनासो गर्छ
तर,
दुःख कहाँ छ ?
सुख कहाँ छ ?
केवल भिन्न–भिन्न अनुभूतिका चाङहरु मात्र छन्
फरक–फरक स्वादमा
आफैँभित्र दबिएको खुशीको मूल
आफैँले भेट्न नसक्ने
बिचरा हामी कस्तुरी
जीवन जिउन कति सजिलो छ
प्राकृत् जीवन
कति सुन्दर छ
त्यही सुन्दरतालाई
परिवेश पिएर आफैँ
विषाक्त बनाउँछौँ
सांसारिक मोहले
त्यो विषाक्त भोकभन्दा पर
तिमी एउटा आत्मा
म एउटा आत्मा
सत्य युगबाट आजसम्म
कैयौँ शरीर फेर्दै आयौँ होला
कति संस्कार सिक्दै आयौँ होला
यसैले त हामी खण्ड–खण्ड
जीवन वृत्तहरुमा टुक्रिरहन्छौँ
केही बुझे जस्तो
केही नबुझे जस्तो
विस्मृतिको ब्ल्याक–होलबाट
स्मृति संगाल्न त
आज पनि आत्मालाई
शुद्धीकरण गरिरहनु पर्छ
अन्यथा,
जस्तो छरिन्छ मोहको बीउ
जस्तो रोपिन्छ द्वेषको राग
त्यस्तै फल्दछ स्वयंमा
अनि घट्दै जान्छ आत्मबल
खोसिँदै जान्छ खुसी
रित्तिँदै जान्छ माया
साहसी बन्न त
प्रेमभरि मनले
दुःखको लाठी बनेर
अरुको खुसीमा सहारा बन्नु पर्छ
अरुको सुखमा हाँस्न सक्नु पर्छ
अनि मात्र जाग्दछ अंतः प्रज्ञा !
आमा–बोधगम्य आत्मा
सम्पूर्णताले भरिएको
जीवनको सबै भारी बोकेर
हृदयभरि सपना फुलाउने
छातीकै भीरमा पनि
कसैलाई चोट नपुर्याई
उकालो उक्लन सक्ने
मेरी आमा
म एउटा आत्मा
तिमीलाई हेरिरहेछु
समयले कहिले बुझ्छ तिमीलाई ?
गोबर, माटो, घाँस, दाउराको रङ्गले
क्यानभास भई रङ्गिएका तिम्रा हातहरु
अँध्यारोमा सधैँ चम्कने तिम्रा आँखाहरु
जहीतहीँ फुल्ने तिम्रा मुस्कान फूलहरु
बगेकै छ हृदय नदीतरङ्ग
प्यास बुझाउन बगरलाई
अनुभूतिहरुले कति–कति मगमगाएका छौ
यो सुवास तिम्रो मात्र हो
यति भए काफि छैन र ?
धरतीमा स्वर्ग ब्यूँझिनु ?
पिँढी र चोटाको
विरही सुस्केराहरु
आफैँलाई भूलिदिएर
भोगेका सबै यातनाहरु
मनभरि संग्रहालय खोलेर
शक्तिमा रुपान्तरण गर्नु पर्छ
अनि ब्यूँताउनु पर्छ आफ्नै आत्मालाई
जीवनको आलापहरु खुसीले गाउनु पर्छ
एउटा महाकाव्य मेरी आमा
अब तिमीलाई पढेर जीवन बुझून्
ती हेय दृष्टि आँखाहरुले !
आमा, तिमी अदभूत् आत्मा हौ
चेतन आत्मा
रहरहरु कुदाएर गोरेटो बनाउने
चेतना फैलाएर तृष्णा बुझाउने
दुरुहमार्गी चिन्तन भएको
कमजोर छैनौ तिमी कहीँ पनि
जीवनलाई पढी–बुझी
जीवनको उत्सव मनाउन सिकाउने
तिमीलाई खुम्च्याएर जहाँ राखून्
बोधताको अमृत घुट्का
तिमीले नै हो पिलाउने !