सबै भन्दा कान्छो पुस्ताकी कवि सुस्मिता वानिया नेपाली कविता लेखनको क्षेत्रमा उदाउदै गरेकी एक प्रतिभाशाली कवि हुन । उनका कविताले बिशेषगरि पितृसत्तामत्क व्यवस्थाको बिरोध गरेका हुन्छन । उनका सबै जसो कविताहरुले समानतामुलक समाज स्थापनाको लागि बिद्रोह गरिरहेका हुन्छन । अनि अर्को चाहिँ कुनैपनि हिंसाको उनको रचनाले खुलेरै बिरोध गरिरका हुन्छन । प्रस्तुत छ साताको तीन कविता ।

महंगो वेश्यालयकी महंगी वेश्या

चियाघर छिरें
अगाडि रहेछ एक थान पत्रिका
पल्टाउने बित्तिकै देखें
एक अर्धनग्न युवतीको तस्वीर
जहाँ लेखिएको थियो
“महंगो वेश्यालयकी महंगी वेश्या”

जिन्दगीमा अहिलेसम्म
यस्तो भडकिलो हेडलाईन देखेकै थिइँन
बाफ्रे! अब नपढी कसरी बस्न सकौंला?

पहिलो हरफमै लेखिएको थियो-
महोदय
दिनभरको प्यास मेटाउन
पुरै रातले नपुगे
अर्को एक दिन लिनुहोस,
म निर्वस्त्र भैदिन्छु
म लमतन्न पल्टिदिन्छु
तपाईलाई के के गर्न मन लाग्छ
चिमोटनुस / चुस्नुस
दराल्नुस / दोबारनुस
तपाईले किनेको समय
तपाईको मर्जी हुने छ !

तर याद राख्नुहोस ,
तपाईलाई सर्वस्व ठान्ने
तपाईंकै श्रीमतीलाई धोकामा राखेर,
ती अबोध बालिका र छोरी चेलीमाथी
गिद्दे नजर लगाउनेहरु
मेरो कोठासम्म नधाउनुहोला!

यो वाक्यांस सबैसम्म लागू नहोला केहि छैन
म उनीहरुलाई पनि एक अवसर दिन्छु
जसमा-
नारीको नयाँ महाभारत सुनाउछु
हजारको बदलामा शुन्यमा झरेर
यौनका प्यासीहरुलाई प्रेम नामको काँध हालेर
नारी प्रती हुने अन्याय र आक्रोसलाई
यौन मार्फत यौनकै अग्नि परिक्षा लिन्छु !

जहाँ मेरो जित होस या हार त्यसमा कुनै सर्त राख्दिन किनकी,
जित त सोहिको हुन्छ जसले परिक्षा लिने आँट राख्छ !
जसले गर्दा यौनका भक्तहरु
मलाई छोडेर
अर्की एक नारीप्रती नजर पुर्याउन नसकुन
म अचानो बनेर थापिदिन्छु
तिम्रा पुरुष अस्त्रका चोटहरू
र म जोगाउने छु
अर्की एउटी चेलीको
कलिलो योनी च्यातिनबाट !

यो हरफले एकछिन रनभुल्ल परें
फोनमा घण्टी बज्यो – उठाएँ
उतैबाट सुरिलो आवाज आयो “हाइ”
यत्तिकैमा फोन अफ भयो
भने “दाइ एकछिन चार्ज गर्छुनी”
फोन राखें
फेरि पत्रिकामा घोत्लिएँ
शब्दकोषमा अटेजति
सबैसबै शब्दहरू
आँखै अगाडी यसरी खेलिरहेका थिए कि
मानौँ-
वर्षौ देखि म
यही पत्रीका र

यही केटीको खोजिमा थिएछु या अरु केही
यस्तै यस्तै प्रश्नहरु तछाडमछाड गरेर आइरहेका थिए
यस्तो लाग्यो-
वेश्या हुनु भनेको त देवी हुनु पो रहेछ
जहाँ आफ्नो कम अर्काको ज्यादा सोचिदो रहेछ
सायद यसैले भनिएको होला
महंगो वेश्यालयकी महंगी वेश्या !

यसरी त कहिले कोहि नआउनु

हिउँदको चिसोमा कठ्याङग्रीएर
आफ्नो अस्तित्व नै कुरुप बनाएर
बसन्तको आगमनलाई पर्खिरहेका पतझड
रुखहरु झैं त कहिले कोहि नआउनु

बरु आउनु-
बिहानिको शीत जसरी
जसले लिएर आउछ अनेकौं बिम्ब
बरु आउनु पात जसरी
जसले लिएर आउँछ अर्को अवसर
बरु आउनु फूल जसरी
जसले छोपेर आउँछ एक कुरुप आकृति
तर कहिले
कोहि नआउनु आँखाको गाजल जसरी
जसले बिना कारण भिजाइदिन्छ सानीको जवानी

बरु आउनु-
गोधुलिको माधुर्य किरण बनेर
जसले लिएर आउँछ नयाँ जीवन
बरु आउनु-
एक झर पानी झैं
जसले मेटाउछ जमिनको प्यास
तर नआउनु कुहिरो जसरी
जसले लुकाएर आउँछ देखिनुपर्ने चेहराहरु

बरु आउनु
फाउ पुर्णिामा रंग जसरी
जसले लिएर आउँछ खुसीका उत्सवहरु
बरु आउनु
घामपानी जसरी
जसले लिएर आउछ सप्तरङ्गी इन्द्रेणीका रङ्ग
तर नआउनु दिपावली जसरी
जसले लुटेर आउँछ जुनकीरीको दिप

हो यसरी त कहिले कोहि नआउनु
जसरी आउने गर्छ याद बेखबर भएर
जसरी झर्ने गर्छ आँसु चुपचाप भएर
जसरी टुक्रिने गर्छ दिल गुमनाम भएर !

ऋतुस्राव

ओए,
त्यो मन्दिर छेउमा उभिरहेकी
केटिको पछाडिपट्टी हेर्न
मिन्स भाकी रहिछे क्यारा
नछुने हुँदा त पर बस्न पर्छ नि,

त्यसको हातमा हेर्न प्याड
कस्तो लाज नभाकी हौं
पत्रीका,प्लास्टिक वा रुमाल
केहिले बेरेर ल्याउन पर्छ नि

म अझ केहिबेर बसिरहन्छु
मन्दिरको पिढिमा
र तेर्स्याउछु हातमा प्याड

जब देख्छन
मेरो मुहारमा एक बुंद खुसी
लाउँन थाल्छन उपनामहरुको ताती
– बेशरम, संस्कार नभाको, चरित्रहीन……

म गर्छु नदेखे झैं,नसुने झैं
र लाग्छु आफ्नै ख्यालमा

घुसार्छु रक्ताम्य योनिमा
हरेक घण्टाको फरकमा
डाइ-अक्सिन फ्री लेखिएको
2XL का सेनिटरी न्याप्किन्स
र च्यात्न थाल्छु तिम्रो,खोक्रो आदर्शका वस्त्रहरु
बा’को सिरकको खोल च्याते झैं

फाल्न थाल्छु
छाउ घरका छानाहरु
जसले हरेक दिन खाइरहेछ
कलिला सपनाहरू, रहरहरु

जलाउँछु/ बगाउँछु
ऋषि पंचमीमा जम्मा पारिएका पापको पोकाहरु
त्यो परको नदि छेउमा गएर

र हरेक बिहान फेर्छु शान्तिको सास
देखाउँछु आफू भएको अस्तित्व
पुजेर योनि एकमुठी अक्षताले

चपाउँछु मकै भटमास जसरी
हरेक पल मेफ्नाफिक एसिडका चक्किहरु
र निल्छु एक सुस्केरा जीवन

सासै रोकिएला जस्तो भएको बेला
जब देख्छु रक्ताम्य भएका न्यापकिन्स
लाग्छ- केही रहरहरु यतै छोडिएका छन
-केही जिन्दगीहरु यतै अल्झिएका छन
र त प्यारो लाग्छ हरेक महिना

प्रणाम भन्छु एकफेरा
प्रोजेस्टेरोन ,एस्ट्रोजन,
फोलिकल स्टिमुलेटिङ
र लुटाइनाइजिङ हर्मोन लाई
जसले मलाई पाठेघर दिएर पठायो
जसले मलाई नारी बनायो
जसले अर्को एक युगलाई जन्म दियो

र अन्तिम पटक भन्छु
प्रिय! समाज
चढाउन छ भने जल
लिनु छ भने प्रसाद
समय मिल्दा खेरि दिनु एकथोपा पानी
र प्रसादमा लिनु एकथान मुस्कान
किनकि
आमाहरू अछुत हुदैनन
देवीहरु कहिले पर सर्दैन्न
बरु सबैभन्दा
पवित्र हुन्छन ऋतुस्राव भर !

तपाईको प्रतिक्रिया