रिमन लिम्बु

सांकेतिक चित्र । चित्रकार दीपेन्द्र राई, हङकङ ।

आज मेरी आमाको जन्मदिन अर्थात चैत १९ गते । २००१ सालमा जन्मनु भएकी मेरी दिवंगत आमालाई चैत १९ गते २०७८ सालमा जन्मदिनको शुभकामना दिदैछु फेसबुकबाट । कसरी बिर्सन सक्छु आमाको जन्मदिन ! यही अवसर पारेर फेसबुककाे कभर फाेटाे बदल्छु । साथीहरूको कमेन्ट र लाइक आइरहेका छन जसलाई म निशब्द हेरिरहन्छु । यो बेला मेरो मानसपटलमा  हुर्हुर्ती दन्केको आगोको मुस्लो नाचिरहेको छ । मेरी  आमाको शरीर त्यो आगोको चिता भित्र  सुतिरहेको छ चिर  निन्द्रामा । म त्यो आगोको रापले मेरी आमालाई पोलेको सहन नसकी आमा ! भन्दै असहय्य पीडाले   रोइरहेको हुन्छु ।  गाडीको टायरबाट निस्केको  आगोको लप्काले मेरी आमालाई कति साह्रो  पोल्यो होला मलाई त्यो पिडा झनै असहय्य भैरहेकाे थियाे । मलाई यती साह्रो  पिडा भएको थियो कि मानाैं म स्वयं त्यो आगोमा जलिरहेकी थिएँ ।

आमाको अन्तिम ईच्छा थियाे “खनारकाे बुढि  खाेलामा  दाहसंस्कार गर्नु अनि तेहि खाेलाकाे पानीसंगै  बगेर सागरमा पुग्नु अनि धुँवा बनेर हावासंगै उडनु । ” वहाँकाे याे ईच्छालाई मैले नकार्न सकिन। भदौ महिनाको अविरल बर्षाकाे कारण बुढि खोलामा धमिलो पानीको भेल कोशी नहरको पुल मुनीबाट अटि नअटि बगिरहेको थियाे। आमाको चिताको मुनिबाट त्यो पानी बगिरहेको थियो । वहाँको ईच्छा पूरा गर्नु मेराे धर्म थियाे। मैले त्यसै  गरें। म  झस्किन्छु । आमाको फोटो हेरेर टोलाइरहेको रहेछु आँखाहरु कहिले भिजेछन थाहै भएन । हरेक पटकको आमाको सम्झनामाहरुमा मेरो यहीँ हालत हुने गर्छ ।

जब यथार्थमा आफुलाइ पाउँछु तब बितेर जानु भए पनि वहाँका सम्झनाहरु जीवन्त  राख्ने रहर जागेर आउँछ । आखिर मानव जीवन ढिलो चाँडो सकिएर जाने वस्तु हाे। आमाको जीवनीबारे  एउटा डायरी लेख्न मन लागेर आउँछ । यति  पनि नगरे मलाइ आमाले पढाउनु भएकाे कर्मले सराप्ने छ। वहाँकाे आत्मालाई सुख मिल्ने छैन। मलाई पाप लाग्ने छ । अहिले म जे छु जस्तो छु मेरो आमाको त्याग तपस्या र आशिर्वादले छु। मेरो आत्मशान्तिको लागी भए पनि मैले लेख्नु पर्छ । मेरो विवेकले यही भनिरहेको छ।

मलाई सम्झना भएसम्म हामी झापाको तोपगाछी  भन्ने ठाउँमा माइली  फुपूकाे घरमा २०३६ ,३७ साल तिर आयौं । फुपूको घर छेउमा सानो झुपडी बनाएर अस्थायी रूपमा बस्न थाल्यौं । केही महिना बसेपछि अलि पर ढ्याङग्री  खाेलाकाे नजिकै एउटा अलि राम्रो झुपडी बनाएर बस्न थाल्यौं । त्यो घर जम्मा  एउटा कोठाको थियो भुइँ अलि माथी उठाएको वरिपरि सन्ठी  र बाँसको बार थियो ।माटोले लिपेको परालको छानो थियो । अगाडि  सिकुवामा एउटा खटिया थियो । तल्लो पट्टि कुखुराको खोर , घरको आगन मै पानीको कुलो  बग्थ्यो। मेरो बाबा आरावाल हुनुहुन्थ्यो । जाँड रक्सी बढी खाने, घरपरिवार वास्ता नगर्ने। बाहिर बाहिर कमायो बाहिरै खायो गर्नु हुन्थ्यो ।

मेरो लालन पालन  सबै आमाबाटै हुन्थ्यो । एक दिनको कुरो मेरो बाबा राती मातेर घर आउनु भयो । अनि हातमा खुकुरी बाेकेर उज्याउदै आमासंग  पैसा माग्न थाल्नु भयाे। आमासंग पैसा थिएन। त्याे बेला आमाले रुँदै ढाेकामा बसेर थैलो टक्टकाईदिनु भयाे । यति गर्दा नि चित्त नबुझे पछि आमालाई खुकुरीसंग खेदाउँदा आमाले मलाई तानेर धान बारीमा एउटा रुखको ठुटामा लुकाउन लानु भाे । त्याे बेला बाबा चाहिँ एउटा हातमा आगोको राँको र अर्को हातमा खुकुरी बोकेर बाटो बाटोमा खोजीरहेका थिए हामीलाई । त्यो दृश्य हामीले धानबारी बाट हेरिरहेको थियौं ।

प्राय जसो राति घर आउने बाबाले कहिले राँगाको मासु , कहिले बङ्गुरकाे मासु त कहिले जिउँदै  कुखुरा बाटाेमै घाँटी निमाेटदै क्वाक क्वाक गर्दै ल्याउहुनथ्याे। ल्याएपछि फेरि पकाईदिनु पर्थ्यो। जति राति भए पनि नपकाए आमालाई कुटपिट गरिहाल्ने । बाबाको यस्तो व्यबहारको प्रत्यक्षदर्शी थिएँ म । बाबाले दिएकाे हरेक चाेट पिलाे निचाेरिएपछिकाे खाेट बनेर मेराे बाल मानसपटलमा रहेकाे छ ।
एक दिन त कुखुराकाे भुत्ला पनि राम्राे नपोली आमाले काटेर पकाईदिनु भयाे । अनि भुत्ला भुत्ला भएकाे मासु बाउले खाकाे देखेर म हाँसेकाे थिएँ। अनि मट्टीतेलकाे बाेतललाई रक्सी  ठानेर बाबाले खाकाे देखेर पनि मरि मरि हाँसेकाे थिएँ ।

बाबासंग  बिताएको क्षण सम्झिनु पर्दा एक दिन बिहिवार केम्पा बजार भर्न हामी तीन  जना गएका थियाैं। हटियामा जाँडरक्सी  किनेर दिने, खाने चलन हुन्थ्याे । मेराे आमा र बाबालाई पनि धेरै जनाले दिए । आमा बाबा मात्छन भनेर ज-जसले दिन्छन मैले पो अघि सरेर स्वाट स्वाट खाइदिएँ। तेसपछि त म नै मातेर हिंडन नसक्ने भएपछि  बाबा र आमाले दुइपट्टी हातमा समातेर  घर ल्याउनु भयो।  बाटोमा पालाे पालाे ढाडमा बाेक्नु भयो । घर पुग्ने बेलामा ढ्याङग्री  खाेला तर्नु पर्थ्याे। त्यहाँ ठुलो रूख ढालेर पुल बनाइएकाे थियाे । आमाको ढाडमा थिएँ म। बाबाले खाेई तैंले लडाउछस म बाेक्छु भनेर बाेक्नु भयाे। खाेला त तार्नु भयाे तर अलि वर आएपछि बर्षाकाे पानीले धरधरे गएर बाटाेकाे छेउ मै ठुलो  खाडल बनाएकाे थियाे, बाबा र म तेहि खाल्डोमा गम्ल्याङ गुम्लुङ झरिम । आमाले बाबालाई बेस्सरी गाली दिनु भयो। त्यसपछि बाबाले मलाई बाटै बाटो नलगेर पाटा घारी घारी घिसार्दै घर पुराउनु भयो । घर अगाडि कुलो बग्ने भएकोले त्यहाँ पानी जमेको थियो । मलाई त्यही पानीमा हालिदिनु भयो जाडले छाडोस भनेर । आखिर जड्याँहाको छोरी न परियो ।

आमाछोरी

जिन्दगी यसरी  नै दुख सुख  चलिरहेको थियो। जीवनको सबै भन्दा ठुलो आनन्द आफुलाई कसैले माया गर्छ भन्ने बिश्वास हुनु हो रे । तर बाबाले आमालाई माया गरेको पल अहिले सम्म सम्झिदा पनि पत्तै पाउदिन। सायद मेरी  आमाले पतिको माया कहिल्यै पाउनु भएन। खै ! बाबाले आमालाई माया गरेको मलाई सम्झनामा छैन । अरुका बाबाहरु परिवारको मेरुदण्ड हुन्थे । काम गरेर परिवार सुखसंग पाल्थे। कहिल्यै आमालाई कुटपिट पनि गर्दैन थिए। त्यो देखेर मेरो बाबा पनि यस्तै भैदिए हुन्थ्यो जस्ताे लाग्थ्यो । तर मेरो बाबा एक हिंस्रक राक्षस जस्तो लाग्थ्यो । बाबाले गर्नु भएको मायाको महसुस कहिले नगरेकी मलाई बाबा कहिले प्यारो लागेन ।

एक दिन बाबा फेरि आसाम जान लाग्नु भयो।  थाहा छैन किन बाबाको मन हामीसंग  रमाउन सकेन । फेरि हामीलाई छाेडेर जाने निधाे गर्नु भयाे। जादाजाँदै हाम्रो घरदेखि पश्चिम पट्टी सानाे खाेल्सा थियाे, त्यहाँ पुगेपछि बाबाले मलाई बाेलाउनु भयाे । बाबाले मलाई कान्छी भनेर बाेलाउनु हुन्थ्यो । म बाबाकाे छेउमा पुगेपछि वहाँले हातमा लाउनु भएको  चाँदीको  औँठी फुकाएर आमालाई दिनु भन्नू भयो।
“म पछी आउछु राम्ररी बस्नु है” भन्नू भयो ।
अनि पश्चिम पट्टि लाग्नु भयाे। मैले  बाबालाई देखुन्जेल हेरिरहेँ।  त्यसपछि घर आएँ ।आमालाई त्यो औँठी दिएँ।  त्यो औंठीको चार कुनामा सानो सानो फुल जस्तो थियो। मलाई अझै त्यो औँठीको आकार प्रकार याद छ ।  त्यस पछि आमालाई आफ्नो जीवन साथी  टाढा जाँदा कस्तो महसुस भयो म बुझ्न सक्दिन थिएँ। तर मलाई भने एक प्रकारको आनन्द भयो।  किनकि बाबाले फेरि फेरि आमालाई खुकुरी उज्याएकाे देख्नु पर्दैन थियाे । आमा रूएकाे देख्नु पर्दैन थियाे। मलाई आनन्द भयो । यसरी नै आमाछोरी दुख सुख जिबिकोपार्जन गर्न थाल्यौं ।

मेरो आमा  तानमा धागोको झोला बुन्नु हुन्थ्यो अनि बजारमा लगेर बेच्नु हुन्थ्यो । बुधबार दमक बजार ,बिहीवार केम्पा बजार , शनिबार  केर्खा बजार । कुनै बेला  गौरादह बजार पनि लानु हुन्थ्यो  यती मात्र हैन हाट बजारमा जाँडरक्सी  पनि बेच्नु हुन्थ्यो । म पनि आमासंग  बजार जान्थेँ। घरमा सुङ्गुर  पालेका थियौं। अनि कुखुराहरु पनि  पालेका थियौं । जे भए नि  हामी खुसीसाथ बाँच्न थाल्यौं ।

समय बित्दै गयो । मेरो स्कुल पढने बेला पनि भयाे । म एक्ली  छोरी  भएकाे कारण मायाले केम्पासम्म एक्लै पठाउन आँट गर्न  सक्नु भएन आमाले। तेहि भएर स्कुल जानू भन्दा पहिला म गाउँमै ट्युसन पढन थालेँ। पढाउने मादले माईलाकाे छाेरी चिरिमाया थियाे। पछि छिमेकीको माईला छाेरासंगै स्कुल लगाईदिनु भयाे कक्षा १ मा। त्यो  बेला पुस महिनामा नयाँ भर्ना लिईन्थ्याे मलाई सम्झना भएसम्म । म स्कुल पढन पाएर मख्ख थिएँ। आमा मलाई स्कुल पढाउनु पाएर खुसी हुनुहुन्थ्यो ।

म स्कुल जादा आमाले मेरो कपालमा तोरिको तेल लगाएर रातो रिबनले दुई पट्टि चिटिक्कै बाटिदिनु हुन्थ्यो। खाजाको लागी कहिले गहुँको पिठोको सुख्खा रोटि किताबमा च्यापिदिनुहुन्थ्यो। कहिले मकै भटमास मात्र भुटेर  आमाले तानमा बुन्नु भएको झोलामा किताबसंगै राखिदिनुहुन्थ्यो। म सेतो सट, निलो फ्रक, भुक्के चप्पल लाएर चिरी च्याट्ट भएर स्कुल जान्थेँ । हरेक शुक्रबार चार आना पैसा पनि दिनुहुन्थ्यो मिठाई खान भनी। म साह्रै  खुसी हुन्थेँ । यसरी केम्पाको स्कुलमा कक्षा १ बाट मेरो औपचारिक शिक्षा शुरु भयो ।
स्वर्गीय आमा जन्मदिनको अशेष शुभकामना !!

तपाईको प्रतिक्रिया