नेपाली साहित्यको क्षेत्रमा लेखक महेश पौड्याल एक परिचित स्रष्टा, अनुवादक तथा समालोचक हुन । २०३८ सालमा सतासीधाम गाविस तथा हालको शिवसतासी नगरपालिका , दूधेमा जन्मिएका पौड्याल त्रिभुवन विश्वविद्यालयको अङग्रेजी विभागमा उप–प्राध्यापकको रूपमा कार्यरत छन । अँग्रेजी भाषा र साहित्यमा पनि गहिरो दखल भएका लेखकको हालसम्म दर्जन भन्दा धेरै बिभिन्न विधामा लेखिएको कृतिहरु प्रकाशित छन भने कैयौं पुरस्कार र सम्मानबाट सम्मानित भएका छन । प्रस्तुत छ साताको तीन कविता ।

दोधार
सानो छँदा,
जता टेके पनि ठूलाहरूको छाया टेकिन्थ्यो
हैकम टेकिन्थ्यो
हिँडन डराउँथे ।
अहिले ठूलो भएपछि
जता टेके पनि बालकहरूका आँखा टेकिन्छन
सपना टेकिन्छन
हिँडन डराउँछु ।
किन हुँदैन आकाशमा कुनै पुल,
कुनै बाटो?

छटपटी

सम्झेँ, “वसन्त मेरै हितमा निमग्न भो ।”
अनि पुनः सम्झेँ
वसन्तले बिथोलेका सयौँ कवि
र तिनले आँसुले लेखिछोडेका
मुटुछेडने काव्यहरू ।
अन्त्यमा ती आमालाई सम्झेँ —
जसले झिरिमिटी अगेनोमा बालेर
फुकाउन नपाउँदै
हातमा तुसारोले खोपेका किरिङमिरिङ रेखाहरू
थाहै पाइनन वसन्त आएको–गएको ।
अन्ततः बुद्ध सम्झेँ, र निदाएँ ।

धुन

दार्जेलिङका घुम्तीहरूमा
आफ्ना गोडाका एकपत्र छाला बेचेर
मैले छोरीका लागि किनेका जुत्ताले
चुइँ चुइँ आवाज गरिरहँदा म
श्रृष्टिको सबैभन्दा मिठो सङ्गीत सुन्छु ।

उसकी आमा आफ्नै विगत सुन्छु भन्छे ।
मेरी छोरीलाई त त्यो आश्चर्य–सङ्गीत हो ।

दार्जेलिङ भने हरेक रात
बाटा–दोबाटामा त्यही धुन सुनेर निदाऊँ भन्छ ।

तपाईको प्रतिक्रिया