रमेश के.सी
१. किसीन्जर कुटनीतिको शल्यक्रिया :
यो यस्तो महारणनीति र खेलको कथा हो जसले सम्पूर्ण विश्वलाई परिवर्तन गरिदियो । कुटनीतिको यस असाधारण कदमले ल्याएको तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन नयाँ ध्रुवीकरण ल्याइरहेको छ । त्यो खेल थियो सन १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको गोप्य चीन भ्रमण । यस भ्रमणको उदेश्य उत्तरी क्षेत्रमा सैन्य द्वन्द गराएर दुई साम्यवादी मुलुकहरु तत्कालिन सोभियत संघ र चीन बीच फाटो ल्याउनु थियो ।
सैन्य शक्तिले मजबुत यी दुई भूगोलका राष्ट्रहरु यदि एक भए भने अमेरिकालाई शीत युद्ध जीत्न सम्भव हुने थिएन । चीनलाई अमेरिकाको अप्रत्यक्ष मित्र बनाउने र सोभीयत संघलाई एक्ल्याउने रणनीति थियो यो । जसमा हेनरी किसिन्जर र राष्ट्रपति रिचर्ड निक्शन सफल भए ।
सन १९७१ को किसिनजर भ्रमणले दुबै देश बीच सम्बन्ध सुधार गरयो । यस बेलासम्म अमेरिकाले चीनलाई मान्यता दिएको थिएन । सन १९४९ को क्रान्तिका बेला भुख्यभूमीबाट भागेर गएका राष्ट्रवादी चाङ काइसेकको ताईवान प्रान्तलाई अमेरिकाले मान्यता दिएको थियो । ताईवानलाई अमेरिकाको वैधताले सुरक्षा गरिषदको सदस्य पद उपलब्ध थियो । तर चीन अमेरिकको नयाँ सम्बन्धले विश्व भूराजनीतिमा आधारभूत परिर्तन ल्याइ दियो । सन १९७२ मा राष्ट्रपति निक्शनले चीनको भ्रमण गरे । माओ र चाउ एनलाईसंग वार्ता भयो । त्यसपछि ताईवानलाई होइन चीनलाई मान्यता दिने सहमती भयो । संघाई वक्तव्य जारी हुँदा कुटनीतिको यो खेलबारेको यथार्थ प्रकट भएपछि जापान, भारत, दक्षिणपुर्वी एसीया र रुसमा यसले नयाँ संसय पैदा गरायो । अब ताईवानको सट्टा चीन सुरक्षा परिषदमा आयो ।
अमेरिकाबाट चीनले आर्थिक लगानी,प्रविधी र शैक्षीक ज्ञानमार्फत आधुनिकीकरण गर्ने मौका पायो । हुन त राष्ट्रपति जोन एफ केनेडीको पालादेखि नै चीनसँग सम्बन्ध सुधारका सोचहरु नआएका होइनन । तर चीनसंग सम्बन्ध सुधारबारे राष्ट्रपति निक्शनले प्रतिष्ठित अन्तरााष्ट्रिय मामला “फोरेन अफेयर्स” मा लेख लेखे ।
चतुर किसीन्जर अमेरिकाका शीतयुद्धकालिन विदेशनीति निर्माणका प्रमुख व्यक्ति थिए । दुवैको साथ मिलेको हुनाले यो भ्रमण सम्भव भयो । त्यो बेला अमेरिका भीयतनाम युद्धमा नराम्ररी फसेको थियो । कोरीया प्रायद्विपको युद्धमा चीनसंग लडेको थियो ।सोभीयत संघसँग आणकि हतियारको होडबाजीमा थियो । माओको महान छलाङ नामक आर्थिक योजना लागु हुँदा ३० लाख मानीस भोकैले मरेका थिए त्यसकारण चीनमा दरिद्रता छाएको थियो । साँस्कृतिक क्रान्तिले राष्ट्रिय मनोसंरचना ध्वस्त थियो । उता सोभीयत संघसँग सीमा युद्ध थियो । यस्तो संकटको बेला पनि सन १९६२ को भारतसँगको सिमायुद्धमा चीन विजयी भएको थियो । सन १९५९ मा दलाई लामा तिब्बत छोडेर भारतमा शरण लिइरहेका थिए । यस्तो उथलपुथलको समयमा चीन आफै असुरक्षीत महशुस गरिरहेको थियो । तसर्थ उ अमेरिका जस्तो महाशक्तिको सान्तवना र सहयोग लिन वैचारीक मतभेदका बाबजुद राजी पनि भयो । जसबाट विगत ५० वर्षको अवधिमा चीनले असाधारण सहानुभूति र फाइदा लियो ।
आज त्यहि चीन अमेरिकालाई चुनौती दिने राष्ट्र भएकोछ । के किसीन्जरको कुटनीति आज अमेरिकालाई प्रत्युत्पादक भएको हो या छ ? के सन ७२ को सम्बन्ध सुधार नभएको भएदेखि चीनको उदय सम्भव थियो ? यस्तै इतिहास र वर्तमानका प्रश्नहरुको विश्लेषण गरिएको १९ जना विद्वानहरुको रचनाको संकलन हो “अ न्यू कोल्ड वार, हेनरी किसीन्जर एण्ड दि राइज अफ चाइना” । हालसालै प्रकाशित भएको यस पुस्तकको सम्पादन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार रहेका डा. संजय बारु र राहुल शर्माले गरेका हुन । संकलनमा भारत, पाकिस्तान, सीङ्गापुर, दक्षिण कोरिया, रुस र फ्रान्सका विदेशमामलाका विद्वानहरुको लेख परेका छन । प्रसिद्ध “दि इकोनोमीस्ट” सप्ताहिकका पूर्व सम्पादक विल इमोटको पनि लेख छ ।
किसिन्जर अन्तराष्ट्रिय मामलामा यथार्थवादी व्यवहारवादका अभ्यासकर्ता हुन । अहिले अमेरिकाले आफ्नो विदेश नीति अन्तर्गत यो विचारधारालाई त्यागी उदार आदर्शवादको नीति शीतयुद्ध यता अवलम्वन गरेको कारणले क्षयोन्मुख हुँदै पतन तर्फ लागेको निष्कर्ष सीङ्गापुरको कुटनीतिज्ञ किशोर महाबुवानीले गरेका छन । शीतयुद्ध यताका अमेरिकी कदमहरु इराक युद्ध, अफगानीस्तान कब्जा र आतंकवाद विरुद्धको लडाईका गलत क्रियाकलापबाट चीनले फाइदा लिएको उनी बताउछन । आज विश्व पुनः दुई ध्रुवमा आइपुगेको भारतीय विद्वान क्रान्ति बाजपेयीको कथन छ । भारतका विदेशमन्त्री एस. जयशंकरले बहुध्रुविय विश्वको निष्कर्ष निकाले पनि त्यो सहि नभएको टिप्पणी गर्छन । जापानका तुसुटोमी किकोची चीनको अन्तराष्ट्रिय नियम नमान्ने व्यवहारले जापानले खतरा महशुस गरेको धारण राख्छन ।
आखिर वर्तमान चीन के हो त ? चीन आफुलाई वेस्टफेलियाको राष्ट्र राज्यको अवधारणा भन्दा बेग्लै सभ्यतागत राष्ट्र मान्दछ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र पनि हो चीन । एक अरब चालीस लाख जनसंख्या लिएर १४ छिमेकीहरुसँग सीमाना गाँसीएको मुलुक हो चीन । कम्युनिष्ट पार्टी मार्फत शासन गरिएको चीनका शासकहरु चीन अमेरिका जस्तै अपवादको देश भन्न रुचाउछन । आज सन ७१ को भ्रमण पश्चात ५० वर्षमा उदाएको चीन सैन्य, प्राविधीक, आर्थिक शक्ति आदिले सुसज्जीत राष्ट्र भएको छ । पुस्तकमा कतिपय विद्वानहरुले अमेरिकी नीति निर्माताहरुले शीत युद्धपछि चीनलाई शीत पुलपुलाएको दाबी गरेका छन । जस्तोकी राष्ट्रपति क्लिन्टनको पालामा चीनलाई विश्व व्यापार संघको सदस्यता दिइयो । जसमा अमेरिकी राजनीतिक वृतमा किसीन्जरले लवि गरेका थिए । उनले सन १९८९ को तीयानमेन नरसंहार पछि चीनलाई नाकाबन्दी गर्नु हुदैन पनि भनेका थिए । उनी किसिन्जर एसोसीयटस नामक संस्था मार्फत चीनबाट आर्थिक शुल्क लिई लविइङ गर्छन । उनी निक्शन देखि ट्रम्प र चीनका माओ देखी सी सम्म पहुँच भएका राजनेता हुन । किसिन्जरले “अन चाइना” पुस्तक नै लेखेका छ्न । जसमा उनले चीन–अमेरिका सम्बन्धको विवरण दिदै दुवै राष्ट्रहरु सह-विकासमा प्रशान्त समुदाय बनाएर अघि बढनु पर्ने धारणा राखेका छन । हार्वड विश्वविद्यालयमा बीस वर्ष प्राध्यापन गरेका किसीन्जर कुटनीति र विद्वताको संगम हुन ।
आज चीनको अप्रत्यासीत उदयले भारत, एसियामा सबै भन्दा चिन्तीत रहेको छ । भारत–चीन सिमा विवाद, दलाई लामाको उपस्थिति र सबै मौसमको मीत्रता आदि भारतका चिन्ताहरु हुन । जसलाई भारतीय लेखकहरुले पुस्तकमा उठाएका छन । सम्पादक संजय वारुले त चीनलाई किसीन्जरले अमेरिका विक्री गरेको आरोप सहित उत्तेजक लेख लेखेका छन । चीन-अमेरिकाको मीत्रताले गर्दा सन १९७१ मा भारत तात्कालिन सोभीयत संघसँग रणनीतिक सैन्य गठबन्धन गर्न गएको थियो ।
वंगलादेशको स्वतन्त्रता संग्राममा पाकिस्तानको तर्फबाट अमेरिकी हस्तक्षेपको भय पनि थियो । आज चीनको आक्रामक अन्तराष्ट्रिय व्यहारबाट पुर्वी एसिया, भारत, जापान, अष्ट्रेलिया सबै चिन्तित छन । वेल्ट एण्ड रोड अभियान मार्फत चीन विश्व महत्वकांक्षा र परियोजनामा लागेको छ । अमेरिका चीन द्वन्दका बाछिटाहरु विश्वमा पर्न थालेको छ । तर चीन अमेरिका आर्थिक सम्बन्ध यसरी जोडीएका छ कि दुवै एक अर्कालाई अलग्याउन सक्दैनन । तर नयाँ शीतयुद्ध शुरु भैसकेको छ । जसको संकेत दक्षिण चीन समुद्र, ताइवान क्षेत्र, उत्तर कोरियाका आणविक प्रकरणहरुमा देखिसकिएको छ ।
राष्ट्रपति बराक ओबामाले एसिया “पिभोट” रणनीति ल्याए । अमेरिका चीनको उदय रोक्न इन्डो प्यासिफीक रणनीतिमा लागेको छ । जहाँ अमेरिकाका सहयोगी राष्ट्रहरु लगायत भारत समावेश छन । के सन ७२ को महाखेलबाट अमेरिका अब पछुताउछ ? कि अर्को महाखेलको तयारीमा लाग्छ । यो प्रश्न रहस्य मै छ । तर इतिहासको र वर्तमानका विविध आयामहरुको रहस्य भने यस पुस्तकले खोलेको छ ।
पुस्तक : अ न्यू कोल्ड वार
सम्पादक : सन्जय वारु र राहुल शर्मा
पेज : २३५
मूल्य : ७९९ भा.रु.
प्रकाशक : हार्पर कोलिन्स, इण्डिया ।