किशोर गुरुङ
विक्रम संम्वत २०१२ तिर धरान नुन बोक्नु झर्दा भोजपुर, हतुवा दुङबा, चिउरीबास हुदै धरान आईन्थ्यो ।
म त्यतिबेला १७ बर्षको अल्लारे लक्का जवान थिएँ ।धरानको फुस्रेमा केही घरहरु भनाैं या सानो बजार थियो । त्यहीँबाट नुनको भारी बोकेर घर फर्किनु पर्थ्यो ।
त्यतिबेला धरानमा वास बस्नु भनेको लगभग मृत्युुसँग जुहारी खेल्नु जस्तै मानिन्थ्यो ।
धरानमा वास बस्यो भने औलो लाग्छ भन्थे र साँझ पर्न पर्न लाग्दा नूनको भारी बोकेर चिउरीबास नै बास बस्ने गरि फर्किन्थ्यौं ।
नून लिन आएको अल्लारे ठिटो साथीभाईको लहै लहैमा एकदिन म त गान्तोक पुग्छु।
त्यतिबेला गान्तोकमा बाटो बनाउने काम पाईन्थ्यो।
म पनि साथीहरूसँगै बाटो बनाउने काम गर्न थालें।
२-४ महिना काम गर्दागर्दै एकजनाले, “लाहुर जाने हो ?” भनेर सोध्यो ।
मैले पनि, “हुन्छ !” भनी हालें।
त्यतिबेला दोरजिलिङ-गान्तोकबाट पनि सिधै लाहुरे लैजान्थे । ख्याल ख्यालमा म पनि भर्ती भएँ। र केही महिनाको ट्रेनिङपछि हामीलाई मलाया पठाइयो। युद्धको चापमा भर्ती भएको हामीले ४-५ वटा छिटपुट युद्धहरु लड्याैं।
केही समयपछि हाम्रो पल्टनलाई फिजी आइल्यान्ड लगियो । त्यतिबेला सम्म मेरो लाहुरे जीवन भनाैं या भर्ती भएर सर्भिस गर्न थालेको १२-१३ बर्ष भई सकेको थियो ।
म प्रोमोसन हुँदै सार्जन मेजर पनि भईसकेको थिएँ ।
मेरो जिम्मेवारी कम्पनी कमान्डरको रुपमा कर्तव्य निर्वाह गर्नु रहेको थियो ।
फिजी आइल्यान्डको बसाइमा एक जना युवतीसंग मेरो हृदयमा प्रेम बस्न थाली सकेको थियो । उनको नाम थियो करालाइनी । हाम्रो माया बिस्तारै झाँगिदै गईरहेको थियो ।
करालाइनीले मलाई मेरो वास्तविक देश, घर,परिवारको बारेमा सोध्न थालिन । त्यतिबेला मात्रै मैले लाहुरे जीवनमा पसे पश्चात आफुले बिर्सिसकेको गाउँघर, साथीभाइ, परिवारलाई सम्झिन थालेँ।
फिजी बसेको लगभग २ बर्षपछि हाम्रो पल्टन हङकङ सरुवा हुने खबर आयो । एकातिर आफ्नो मायालु करालाइनीलाई छोडन नसक्ने पीडा थियो भने अर्कोतिर पल्टन हङकङ जाने चटारो । यो समय मेरो लागि निकै पिडादायी थियो ।
करालाइनीलाइ दिनहुँ जस्तो सम्झाउँथे, “म हङकङ गए पनि तिमीलाई लिन चाँडै आउछु है ” भनेर। उनले पनि सधैं मलाई नै पर्खि रहने निधो गर्थिन ।
समय आयो। म भन्दा बढी आँसु उनको झरेको थियो छुटिदा। परदेशको ठाउँमा धेरै बस्न पाइदैन मलाई थाहा थियो । तर मायाको जातै कस्तो ! छुट्टिन नपाए हुन्थ्यो लागिरहने।
हाम्रो पल्टन हङकङ पुग्यो । शुरुका दिनहरुमा खुब याद आयो उनको। विस्तारै आकाशको सेतो बादल पातलिदै हराए जस्तै उनको यादहरु हराउदै गयो। याद आएर पनि भुल्नु पर्ने थुप्रै सम्बन्धहरु जीवनमा हुँदारहेछ्न।
मेरो लाहुरे जीवनको नोकरी सकियो । म पेन्सन गएँ। अब म मेरो परिवारसँग नेपालमा नै रमाउन थालेँ। करालाइनीको यादहरु कसैलाई नसोधी ठेलेर ढोका खोल्दै आउने हावा जस्तो आउँथ्यो मन मस्तिष्कमा ।सिनेमाको रिल जस्तो केहि दिन सम्म घुमी रहन्थ्यो उनिसंग बिताएका पलहरु। “लेखेको मात्रै पाईन्छ कान्छा देखेको त पाईन्न !” आमाले भन्ने गर्थिन । करालाइनी र मेरो सम्बन्ध तेस्तै भयो। उनको सम्झना अब मेरो मन-मस्तिष्कमा मात्र सिमित रहन थाल्यो ।
एक पटक पश्चिम नेपाल भ्रमणको क्रममा म रारा ताल पुगेको थिएँ । रारा तालले मलाई फिजी आइल्यान्डमा भएको भोल्केनिक लेकको झल्यास्स याद दिलाइ दियो। फिजीको आग्नेय ताल र रारामा केहि कुराको अन्तर देखिन । फेरि करालाइनीका यादहरु रारा ताल ढाक्दै उठेर आएका हुस्सु झैं मेरो मन मस्तिष्क ढाक्ने गरि आयो।
रात ढल्दै थियो । म टेन्टभित्र ढल्किरहेको थिएँ। मन भरी , आँखा भरी करालाइनी बोलिरहेकी थिइन। “मलाई लिन आउ है।”