डा. गोविन्दराज भट्टराई
दुबाई छोडेर एकघण्टाको हवाई उडानपश्चात्ताप उनीहरुले हाम्रो दिवा भोजन (लञ्च) वितरण गरे । आकाश एक सीमा–क्षेत्रमाथि पुगेको थियो होला । एउटी ‘लुमिनिता’ नाम टाँसेकी परिचारिकाले सर्वप्रथम हामी शाकाहारीजतिका भोजन व्याक ल्याइन् ।
एउटा फराकिलो किस्तीमा सजाएर ल्याइएका सर्दाममा एक ससनो प्लाष्टिक बट्टाभरि मिश्रित फलफूलका चाना, अर्काे बट्टामा हरियो सलाद, ब्राउन ब्रेडका दुई टुक्रा, एउटा बौलभरी भर्खर उमाले जस्तो वाफ आइरहेको ‘इस्लाम नूडल्स’, एक कप ‘टमाटो’ जूस, अनि एउटा ससानो चकलेटको टुक्रा । अनि जसलाई जे मन लाग्यो त्यही पेय पदार्थ पु¥याउँथे । मैले चाहिँ एक कप सादा पानी मागेँ । अनि आधाघण्टा लगाएर ती सबै स्वादिष्ट र नौला सर्दाम सेवन गरेँ ।
हामीले खानपिन सिध्याएपछि उनै लुमिनिता आइन् एउटा ठूलो कालो प्लाष्टिकको धोक्रो घिस्याउँदै । उनी जुठा भाँडा प्लेट कप आदि (ट्र्याश) उठाउँदै हिँडेकी । मेरा छेउका मित्रसँग उनले मिठो अंग्रेजी लवजमा बोलेको सुनेर हाम्रा सामुन्ने आइपुगेको बेला मैले पनि सोधेँ—
तपाईं कुन देशकी हुनुहुन्छ लुमिनिता बैनी ?
उनले ‘रोमानिया’ उत्तर दिइन् ।
शब्दमा व्यक्त नगरे पनि मेरो हृदयमा एक संदीप्त उज्यालो दौडियो— रोमानिया भन्ने देश यता निकटमै छ, ग्रीसदेशको उत्तरी सीमापर्तिर । मैले पनि लुमिनिताको देश भ्रमण गर्ने अवसर पाए हुने, त्यो कति सुन्दर होला नि ! अनि मैले सोचेँ— मानिसका इच्छाहरु कुनै बञ्जरभूमिमा चारैतिर दौडिने वन–घोडा झैँ कसरी सीमाहीन जगत्मा दौडिन चाहन्छन् नि । खटाएर दिएकोले कदापि नपुग्ने । मेरा मनमा त्यस्तै अनियन्त्रित इच्छा उम्लेर उठेका थिए किनभने कल्पनाले उडाएर मन कताकता परिभ्रमण गर्न थालेको थियो । तर मैले लगाम तानेँ, ती जंगली कामनालाई पक्रिएर बलियो गरी समातिराखेँ ।
दुबाईबाट ग्रीसको एथेन्स पुग्नलाई पाँच घण्टाको हवाइमार्ग रहेछ । हेर्दाहेर्दै अब गन्तव्य पुग्न एकघण्टा मात्र बाँकी थियो । त्यसबेलादेखि टाढा पुगेका सूर्य किरणमा, धेरै टाढा दक्षिणतिर हो कि, गाढा नीलो सागर प्रतिविम्बित हुन थाल्यो । भोलि सामोस टापूमा पुगेपछि चित्र हेरेर मात्रै त्यो कुन दिशातिर टल्केको रहेछ भन्ने कुरा सच्याऔँला । अहिले उडौँ मात्र ।
अब अग्ला अग्ला चट्टानहरु देखिन थाले । तिनको फेदैदेखि शुरु भएको बालुवानी बगर सेतो गएर पर्तिरको नीलो र असीम जलराशीमा चोबिएको देखिनथाल्यो । त्यो खैरो वालुवानी पेटीले जलराशी वरिपरि परिक्रमा गरेको देखिन्थ्यो । त्यो खैरो बगर वालुवानीको पटुका पछिल्तिर भने समशीतोष्ण प्रदेशीय वनजंगलको हरियो गाढा पटुका देखिन्थ्यो । कताकति चाहिँ डरलाग्दा पहरा र चट्टानहरु उभिएर त्यो नीलो सागरलाई एकटक हेरिरहेका देखिन्थे । मैले त्यस्तो वन्य र मन लोभ्याउने दृश्यको कल्पना पनि गरेको थाहा छैन ।
हामी जति जति त्यो समुद्रको नजिकतिर जान्छौँ त्यति त्यहाँ घरैघरका ‘गुच्छा’ पनि देखिन थाले । सबै राता लाग्ने गृह–समूहको वास्तुकला त्यस नीलो समुद्री क्यान्भासको माथि पाखा, वरिपरि पेटीमा टाँसेको जस्तो देखिन्थ्यो । समुद्रले जोडले गर्जेर आकाशतिर मुड्की उठाएको देखिन्थ्यो । मलाई लाग्यो दिनको यो समयमा समुद्रले उग्र रुप लिएको होला, मानिसका कान बन्द पार्ने गर्जन निकालेर । दिनान्तको समय छ, सन्ध्या झन्झन् वर सर्दैछ । ती घरका निरन्तर लहरहरु पानीकै छेउबाट उम्रेर पलाएजस्ता देखेर हामीले त्यो के होला भन्ने अनुमान गर्नै सकेनौँ ।
अब नजिकबाट हेर्दा सेतो फीँज आकाशसम्म छुनेगरी उठेको, फेरि ओर्लेर समुद्रमै बसेको देख्न सकिन्थ्यो । ती सेता पर्वतहरु माथि उचालिँदै तल नीलो जलाराशीमा ओर्लेर त्यहीँ बिलाउने गर्थे । त्यसपछि ता ग्रीसेली सागरमा एक हजारजति स्टिमर बोट (डुङ्गा) देखिए । ती चम्किने, टल्किने, पानीलाई सरर चिर्दै, पानी दुईतिर फ्याँकेर आफ्नापछि एक प्रक्षेपपथको धागो एकैछिनले छोडेर जन्थे । यो धुवाँको धर्को हो कि पानीको धागो छुट्याउन नसकिने लाग्यो । त्यो प्रक्षेपपथ बिस्तारै परपर पुगेर समुद्रको नीलोमा विलीन हुन्थ्यो । एक भूपरिवेष्ठित मुलुकको यात्री म यी सामुद्री दृश्यहरु यसका अनेक छटा कस्तो चित्ताकर्षक थिए भने देखेर म उत्तेजित भएँ अनि निःशब्द । त्यसपछिको हाम्रो जहाज झन्झन् तल होचा आकाशमा जमिनकै छेउमा झरेर उड्न थाल्यो ।
त्यसपछि होचा डाँडा आए, पर्वत र ढिस्का देखिन थाले । दक्षिण भारततिर देखिने जस्ता गेग्र्यान र चट्टानका ढिस्का देख्न थाल्यौँ । कतै कुनै वनजङ्गल छैन, हरियाली वनस्पति छैन, छ केवल ढुङ्गेनी, ढाँडजस्तो, बालुवानी र पत्थरिलो । ससाना वनस्पतिका बुच्काहरु पानीबाट पलाएका हुन् कि जस्तो पनि लाग्छ । यसपछि देखिने घरहरु अघिका राता हराए, सारा सेता, सेतैसेता भए । यी घर पनि त्यही पानीकै गराबाट पलाएको भन्नुजस्ता छन् । कसरी समुद्रमै चोबिए जसरी बनेका ? कुनै आपद ् आइलाग्दैन ?
अन्त्यमा हामी एथेन्स अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लियौँ । सन्ध्या खस्ने बेला छ । त्यो विमानस्थल कति सफा र कति आकर्षक थियो ! पाले–पहरा जस्तरी उभिएका ती वरिपरिका थुम्की र ढिस्काहरु, वीचमा एक सुन्दर हवाइ मैदान । ती ढिस्का टाढाटाढा थिए, कस्तरी उभिएका ! कम्ती हरियाली ओढेर बसेका ती थुम्कीहरु । हेर्दा यो ठाउँ नेपालको सुर्खेत उपत्यका जस्तै लाग्यो । त्यो उपत्यका भन्दा माथि पर सामान्य उचाइका पर्वतहरु लहरै उभिएका थिए ।
हामी ग्रीसको यस अन्तर्राष्ट्रिय हवाइअड्डामा ओर्लियौँ त्यहाँबाट सामान जिम्मा लिन, चेक जाँच गरिमाग्न र अर्काे उडानको बोर्डिङ पास लिन गर्दा एक घण्टा समय खर्च ग¥यौँ । त्यहाँबाट फेरि अर्काे उडान पक्रिनु थियो । अरु एक घण्टे आकाश–मार्गबट ग्रीसेल टापू समोसतिर उ्ड्नु थियो । त्यो अन्तिम गन्तव्य । पाँचसय टापूले बनेको ग्रीसमा यो एउटा ठूलो टापू थियो । विश्वको मानचित्र हेर्दा हाम्रो गन्व्य सामोस एउटा ससानो थोप्लो मात्र देखिन्छ टर्कीको सिधै वारिपट्टि समुद्र बीचमा बसेको ।
अब सन्ध्याकालीन अति स्वच्छ हावाको बेला आएजस्तो । सूर्य ती वरिपरिका होचा पर्वततिर ओर्लिन थालेको समयमा हामी अर्काे एउटा ससानो चीलगाडीमा चढ्यौँ । यसमा त्यस्तै अठार बीस यात्री होलान् । आज एकै दिनमा तीनवटा जहाज फेरिए । आश्चर्य मान्दैछु, त्यस जहाजिकाले हामीलाई पचास मिनेटको हवाइमार्ग चढाएर पूर्वतिर उडाउनेछ भन्छन् उनीहरु ।
आज बिहानको पाँच बजे मैले घर छोडेको थिएँ । यतिखेरसम्ममा १६ घण्टा व्यतीत भएछन् । अझै टाढाको पश्चिमी क्षितिजमाथि सूर्य पर्खिरहेको छ; यो सबै समयान्तरले हो । आफ्नो अघिल्तिर कोइला बालेर रातो राप निकाल्दै सुन्तले आभाको बीचमा बसेको छ । अब बिस्तारै ऊ आफ्नो ओछ्यानमा पल्टिने तयारीमा छ । हुनसक्छ अरु आधा घण्टा समय त्यही क्षितिजमाथि बसेर कोइला तापेपछि मात्रै सूर्य बास बस्न ओर्लिन्छ होला ।
यो आँखीझ्यालबाट देख्तैछु हाम्रो सानो जहाजिकाको पखेटा चमकदार स्वर्ण रङ दलेजस्ता भएर आकासमाथि टल्केका छन् । सूर्यले आफँै यस्तो जादू गरेको होला । त्यो महान् माष्टरलाई एउटा अज्ञात वृक्षको हाँगामाथि टुक्रुक्क बसेर यत्रो कलाकारिता गरिरहेका देख्न पाउँदा म अभिभूत छु । अब सिधै तल उम्लिने सागर अघिभन्दा झन्झन् गाढा हुँदैगयो । अनि अलिक क्रूर जस्तो पनि । एउटा भव्य र असीम प्रकृतिको, एक अमापनीय रात्री ओछिनमा सुत्न लागेको बेला जस्तो भावनाले छोयो । बिस्तारै त्यो बाह्य जगत् एक तिरमिर तिरमिर गर्ने अँध्यारो क्यान्भासमा परिणत हुँदै गयो ।
कतै कुनै भूखण्डको थोप्लो पनि छैन आँखामा, केवल एक नीलो गाढा मान्द्रो छ फैलिएको असीम भएर । धेरै टाढा हामी उही आगाको मुस्लो धपधप गरेको देख्छौँ । हुनसक्छ त्यति विघ्न घोडाहरुले उसैको रथ तान्दैछन् । ऊ सुत्न जानेबेलासम्म त्यो रातो रथलाई यसैगरी तानिरहन्छन् । त्यो सुनौलो वृत्ताकार पनि बिस्तारै अलिक मधुरो हुन थल्यो । अहंकार र वृथा अभिमान पग्लिन थालेको एक बुढेसकालको नागरिकझैँ । तल होचो जमिनका घरहरु अदृश्य हुन थाले । अघि देखिएका अंगुर बगानले सुसज्ति होचा डाँडाहरु पनि हराए । पाखैभरि टल्केको देखिने ओलिभ वृक्षका चाँदी–पातहरु पनि हराए । अनि त मैले आफ्ना अतृप्त आँखालाई फकाएर जहाजभित्रै हुलेँ ।
त्यसपछि जहाज बिस्तारो गर्दै ओर्लियो र सामोस टापूमै घँुडा टेक्यो । कति सानो हवाइ मैदान, हाम्रो फाप्लू जत्रै अनि आ–आफ्ना झिटिगुन्टा उठायौँ । बाहिर निस्कनासाथ भित्तैमा उभिएको एउटा ठूलो बाहन प्रतीक्षारत देख्यौँ ।
त्यसको अनुहारमा एक स्वागत व्यानर टाँसिएको थियो— माथिबाट एउटा ठूलो भवनका नक्सा, त्यसको तल फेदमा अक्षहरु आजान विश्वविद्यालय ग्रीस हाम्रा त्रिभुवन विश्वविद्यालयबाट आएका अतिथिहरुको हार्दिक स्वागत गर्दछ ।
त्यो फ्लायर–व्यानरले बसको ठूलो छानामुनि हूडमा अडिएर हाम्रो स्वागत ग¥यो । हामी अब त्यो डबल डेकरभित्र पस्यौँ । आआफ्ना सीटमा बस्नासाथ चालकले एकएक बोतल पानी बाँड्यो । साथै एक एक ठूल्ठूला लाँक्रा चकलेट पनि हातहातमा चढायो । तर त्यो युनभर्सिटी बसमा खलासी थिएन; कुनै हेल्पर थिएन, अर्काे व्यक्ति थिएन ।
त्यसपछि सो साधन उत्तरदिशा ताकेर बिस्तारै चल्न थाल्यो । ग्रीस भूमिको पाखैपाखा नाप्तै त्यो सर्पील मार्गमा । त्यस गाडीको इञ्जिन पछिल्तिर थियो, उतै कराउँथ्यो उतै छुसछुसाउँथ्यो भित्रपट्टि कति शान्त र आनन्दकर थियो । बेलाबेला उतैतिर खोक्थ्यो उतैतिर मेरा कलानिधि भाइले जसरी धूवाँ निकाल्थ्यो । त्यसैले बसभित्र शान्त र एकान्त थियो । ती सीटहरु कति आरामदायी कहिल्यै नचढेजस्तो । तर त्यो चालकसित हाम्रो दोहोरो संवाद छैन । बोलिँदैन । ऊ अंग्रेजी जान्दैन ग्रीसेली बाहेक, हामीलाई त्यो आउँदैन । नत्र बाटाका गाउँ ठाउँ सोधखोज गर्दै जान्थ्यौँ होला । बाटो कतिबेला सम्म परेको ठाउँमा चल्छ फेरि घुम्ती बाटो पक्रेर बिस्तारै करेम करेम उकालो चढ्छ । फेरि घुम्ती पर्तिर अर्काे बस्ती आउँछ पातलो बसोबासले सजिएको । अनि आउँछ बंजर पाखो जसले केही जंगली पुष्प बोटलाई फुलाइरहेको देख्छौँ । अनि आश्विनको महीनामा घाँस–पात सुकेर खरमा परिणत हुन थालेको देखिन्छ ।
हामी त्यहाँदेखि परपरसम्मका डाँडाका आकार हेर्छाैं । त्यो भू–दृश्य हेर्दा विशाल आकृतिमा गरिएको कलाकर्म लाग्छ । ईश्वरको ‘ल्याण्डस्केप पेन्टिङ’ भन्नु जस्तै । आज ता पूर्णचन्द्रको रात्रि पूरै ओर्लियो–सोरश्राद्ध पूर्णिमा नामको । एकछिनमा हामीले आफ्ना देब्रेतिरका डाँडाको काँधैमा चढिरहेको चन्द्रमा देख्यौँ । कस्तो आश्चर्य ! अघि कहिल्यै नदेखिएको दृश्य यो ग्रीसमा देखियो ! धेरै टाढा जमिनमा भन्नु जस्तो दश हजार जुनकीरी पिलपिलाएको पनि देखियो । एकपल्ट पिलिकपिलिक तिनीहरु चम्किन्थे, टल्किन्थे, एकैचोटि चमकचमक । त्यसपछि बिस्तारै यो प्रस्ट भो— ती ता लाखवटा बिजुली बत्ती रहेछन् सम्पूर्ण यस टापूलाई नै एक प्रज्वलित दिनमा परिणत गरिरहेका ।
आज आकाश कति सफा देखिन्छ, तल धर्ती कति शान्त, कति भिन्नै हाम्रा वरिपरिका सम्पूर्ण अस्तित्वलाई ढाकेर एक मौनता व्याप्त छ । यो सिर्सिरे बतास कहाँदेखि छुटेको होला, थाहा छैन तर आइरहेछ कुनै आश्चर्य भूमिदेखि होला । थाकेर हामी भुतुक्क छौँ । हाम्रो बाहन अब झन चम्किने झिलिमिल बाटामा पस्यो । तर पनि कहिल्यै पुगिँदैन कि क्या हो ?
धेरै समय व्यतीत भएपछि अचानक एउटा घुम्ती आइपुग्यो । हामीले पछिल्तिरको कम उज्यालो जगत् छोडेर दाहिने बाटो लियौँ । त्यसपछि सम्पूर्ण झल्झलाकार संसारमा प्रवेश ग¥यौँ । पक्कै पनि यो शहर नै हाम्रो गन्तव्य हुनुपर्छ यद्यपि कसैलाई त्यो कुरो थाहा छैन, नबोल्ने चालकलाई मात्रै । हामीमध्ये कसैले पनि यो ग्रीसेली भूमिमा टेकेका थिएनौँ । यद्यपि मैले यस भूमिको दश हजारपल्ट भन्दा बढी नै भ्रमण गरेँ हुँला— केवल पुस्तकका पानामा, बीएदेखि विद्यावारिधिसम्ममा ।
त्यस घुम्तीबाट बाटाछेउको एउटा होर्डिङ–बोर्ड देख्यौँ त्यसैमा वेल्कम टु सामोस ग्रीस लेखेको थियो । माथिपट्टि ग्रीकमा, तल्तिर अंग्रेजीमा । त्यसले हामीलाई प्रशन्नता ल्यायो । त्यसपछि बिस्तारै चल्ने हाम्रा बसभित्रै शितल बतासका झोँका पसे । त्यसले सन्ध्याकालीन समुद्रको वासना ल्यायो । देब्रेतिर धेरै पर देख्यौँ— समुद्रका विशाल छाल र तरङ्गहरु आकाश छँुँदै तल बगेर गेग्रेनी तटलाई हिर्काउने गर्दैथिए । किला–दाम्लामा बाँधिएको भोको, रिसाहा गोरुले दाम्लो चुँडाउन खोजेजस्तो गर्दै थियो । यो पूर्णचन्द्रको साँझ कति आनन्दमय थियो । ती ज्वारभाटाले त्यो प्राचीन चट्टानलाई हिर्काउँथे । अनि पार नलाएर क्रुद्ध भै आफ्नै घर फर्किन्थे । फेरि हान्दै फेरि फर्किंदै । एकछिन गाडी रोकिएको बेला त्यो दृश्यले हामीलाई अद्भूत आनन्द दियो ।
अन्त्यमा हाम्रो गाडी गन्तव्यमा पुग्यो । त्यो थियो सामोस टापूको होटेल आजान । त्यो आजान समुद्रभन्दा चारसय मिटर टाढा थियो होला । त्यसबेला क्रूद्ध समुद्रले तटमा एउटा उग्र प्रकृतिको (ताण्डव) नृत्य देखाइरहेको थियो । हामी भोलिदेखि यहीँको आजान विश्वविद्यालयमा एक कार्यक्रममा भाग लिन आएका थियौँ ।
अब होटलवालाले हाम्रा लगेज झोला जम्मा गर्नेछन्, हामीलाई स्वागत–कक्षसम्म बाटो देखाउने छन् । त्यसबेला समुद्र झनै क्रूद्ध पाराले गर्जेको सुनिदै थियो । होटल सामुन्नेबाटै समुद्रीलीला सुनिन्थ्यो । म नजिकैबाट समुद्र हेर्न अधैर्य थिएँ तर आज यति ढिला भइसकेको छ, अरु ढिला गर्ने समय छैन । अनि यो थकित शरीरले एक आरामदायी ओछिनको कल्पना गर्न लाग्यो, त्योभन्दा पहिले केही खान पाए यस्तरी जागेको भोक शान्त पार्न सकिन्थ्यो होला । तथापि त्यसबेला मलाई त्यो आजान समुद्रले नै ध्यान तानेको बेला थियो । मैले कवि चिन्तक म्याश्यु आर्नाेल्डको डोभर बीच नामक एक मास्टरपीस रचना सम्भेँ । यो कविता मैले बीएडको अंग्रेजी साहित्यको पाठमा सिकेको थिएँ अनि एक विश्वविद्यालय शिक्षक भएर मैले कम्तीमा पनि दशहजारपल्ट पढाएँ हुँला । तलका हरफले आजान समुद्रलाई छुन्छ ः
डोभर बीच
यो रात, समुद्र शान्त छ
पूरै ज्वार उठेको छ, माथि पूर्णचन्द्रमा छर्लङ्ग छ
फ्रान्सेली किनाराको जलसन्धीमा
प्रकाश चम्किन्छ अनि हराउँछ,
बेलायततिरका चट्टानहरु त्यो मन्द प्रकाशमा
कति भव्य देखिन्छन्
झ्यालमा आएर तिमी पनि हेर न
उतातिरको शान्त खाडीतिर
कति मीठो रात्रिकालीन बतास
चन्द्रमाले भिजेको भूमि छ जहाँ समुद्र
उनीसित भेट गर्न
आउँछ
त्यहाँको लामो फीँजको माला
सुन ! समुद्रले नजिक तान्ने र पर झ्याँक्ने गरेका
कंकडमा तिमी एउटा रुखो गर्जन सुन्नेछौ
जब ती फर्किन्छन् उच्च जलसन्धीतिर
ती जान्छन्, रोकिन्छन्, फेरि पुग्छन्, फर्किन्छन्
तिनीहरुले एउटा डरलाग्दो सुस्त ताल
अनन्त सन्देश सुनाइरहेछन्
धेरै अघि सफोक्लिजले
आजान समुद्रको किनारमा यो सुने अनि
उनका मनमा यसले
मानव दुःखको
डरलाग्दो ज्वार–भाटा ल्यायो
तिमी पनि आज यस स्वरमा एउटा विचार लगाऊ
यो दूरभूमिको
उत्तर समुद्रको गर्जन सुनेर !
ड्ड
८ सितम्बर २००६
सामोस ग्रीस
गोविन्द राज भटटराई त्रिभुवन विश्वविध्यालयका अंग्रेजी प्राध्यापक हुन ।