इन्द्र नारथुङे
विहानको साढे एघार बजे सुपर किन्ता स्थित द स्टोर अगाडिबाट हामी चार भाइ ट्याक्सी चढ्यौं । चाइनिज न्यू इयरले बजार–सडक जताततै झ्याप्प छोपेको थियो । अन्यत्रको कुरौ छोडौं, किन्ता आसपास रहेका आधा दर्जन नेपाली रेष्टुरेन्टहरुमा समेत खुट्टा टेक्ने ठाउँ थिएन । सडक उसै जाम हुने भै हाल्यो । ट्याक्सी ड्राइभरले समेत मौकाको फाइदा उठाउन पछि परेन । गुनिङ लाङसम्मको भाडा पन्ध्र रिङ्गिट हो तर उसले बीस रिङ्गिट छोडदै छोडेन ।
इपो आसपासमा घुम्न लायक एकान्त ठाउँ भनेकै गुनिङ लाङ हो । अघिल्लो बर्ष इपोका होटल ब्यवसायी नेपालीहरुको निमन्त्रणामा पिक्निक खान पहिलोपल्ट त्यो ठाउँ पुगेको थिएँ । त्यसयता करिब दर्जन पटक पुगिसकेको छु ।
सामान्य उचाई भएका पहाडहरुको फेदिमा कुइनेटो परेर बसेको छ त्यो पार्क । ट्याक्सीबाट उत्रने बित्तिकै अगाडिको थुक्कोमा ठूलठूला अक्षरले लेखेको बोर्ड देखापर्छ । अक्षरहरु उभिएकै छेउबाट समय–समयमा झर्ने गर्छ कृतिम झर्ना । पार्कसम्म पुग्न सानो तर निक्कै रमणीय ताल पार गर्नुपर्छ । ताल वारपार गर्न क्षण–क्षणमा विद्युतीय डुङ्गा लाग्ने गर्छ । जाँदा तीन रिङ्गिटको टिकट काटे पुग्यो । भित्र पसलहरु नभएको हुँदा खाने कुरो भने बाहिरै किनेर बोक्नुपर्छ । हामीले सुपर किन्ताबाटै एक दर्जन टाइगर वियरको सानो क्यान र स्न्याक्सका केही पोका बोकेका थियौं । यद्यपि ती सबै झोलामा थिए । नियम अनुसार मादक पदार्थ भित्र लाने अनुमति छैन तर झोला चेक नहुने हुनाले जो कोहीले सजिलै लान सकिन्छ । हामीले एकपटक होइन हरेक पटक भित्र लगेर मस्तिले पिएका छौं ।
माथि नै भनेको छु, त्यो ठाउँमा पहिलो पटक म पिक्निक खान पुगको थिएँ । दोश्रोपटक कोठाका साथीहरुलाई घुमाउन । त्यसपछि भने कथा फरक छ । अर्थात हामी पन्ध्र दिनमा आउने एक दिने छुट्टीमा रमाउन त्यहाँ पुग्ने गर्छौं । हामीसँग रमाउनको लागि सिङ्गो प्रकृति त हाजिर हुन्छ नै साथमा वियरका केही क्यान र तीन बुङ तास । करिब चार घण्टा म्यारिज खेल्ने, तीन–तीनवटा क्यान वियर पिउँने र आधा घण्टा जस्तो पार्कमा टहलिने, तारजाली भित्र बन्द रहेका मृगलाई रुखको डाली भाँचेर ख्वाउने, अस्ट्रिचलाई केही बेर जिस्काउने, जङ्गली बाँदरहरु आइहाल्यो भने स्न्याक्सका केही टुक्रा उनिहरु तिर हुत्याउने र हातमा भएको तास हेर्दै पार्कमा टहलिरहेकाहरुतर्फ आँखा फ्याँक्ने, प्रायः नियमित जस्तै हुन्छ ।
म पियक्कड होइन, न त तासको अम्मली नै । तर यी दुवै चिजसँग कहिलेकाँही जम्काभेट गर्दा साह्रै आनन्द लाग्छ । त्यो आनन्द प्रेमिकासँगको जस्तो पनि होइन, न त कुनै घनिष्ट नाता सम्बन्धका ब्यक्तिहरुसँगको जस्तो । नियमितता वा बानी केही पनि होइन । बरु हिंडदा हिंडदा लखतरान परेको बेला भेटिएको चौतारो जस्तो । प्यासले हिरिक्कै हुन लागेको बेला पाएको एक अंखोरा मोही जस्तो । साना केटाकेटीले गालामा सुस्तरी खाने म्वाइँ जस्तो । सितल, निर्मल, निर्दोष ।
अघिल्लोपटक मलेसिया आउँदा, उसबेलाका रुम पार्टनारहरुसँग घुम्न पुलाउ केताम पुगेको थिएँ । पोर्ट क्लाङबाट समुन्द्रको सानो सोतोलाई पछ्याउँदै विद्युतीय डुङ्गाले करिब एक घण्टामा त्यहाँ पुर्याएको थियो । त्यो एक घण्टामा मैले जीवनका अनेक विस्मृत स्मृतिहरुलाई खोतलेको थिएँ । एकातिर घनघोर जङ्गलबीच समुन्द्रको सानो सोतोको यात्रा आफैमा रोमाञ्चक थियो । तर त्योभन्दा विद्युतीय डुङ्गा भित्र तीन छोरा–छोरीसँग बाउआमा तास खेलिरहेको दृश्य गज्जबको देखिन्थ्यो । त्यसबेला मैले आफ्नो विगतलाई मज्जैले सम्झिएँ । लुकीलुकी जुटपत्ती तास खेल्न सिकेको, तास खेलिरहेको ठाउँमा बुवाले भेटनु हुँदा भकुर्नु भकुरेको । यस्तै र अनेक ताससँगको प्रशंगहरु मानसपटमा ओहोरदोहोर गरिरह्यो । परन्तु ती छोराछोरी र बाउआमाबीच चलिरहेको तास खेलले मलाई सोच्न बाध्य बनायो कि उपयोग गर्न जाने तासबाट पनि मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।
हामी कसैलाई कसैको पैसा मार्नु छैन । तर पनि थोरै बाजी राखेरै खेल्छौं । जसले मार्छ उसैले वियर र ट्याक्सीको भाडा तिर्ने सर्तमा । अहिलेसम्म त्यही नै भैरहेको छ । करिब चार घण्टा तासमा ध्यान केन्द्रीत गर्दा सबै थोक बिर्सिएको भान हुन्छ । कम्पनीको कामको चाप, बोसको तीतो बचन, घरीघरी चस्काइरहने घरको सम्झना, फेसबुकमा साथीहरुले अपलोड गर्ने स्टाटस, आफ्नो फोटो र स्टाटसले पाउने लाइक र कमेन्ट जम्मै–जम्मै।।।।। । लाग्थ्यो जाँदा दिमागमा ठूलैभारी बोकेर गइन्दैछ र फर्किन्दा रित्तै । साँच्चै रिङ्गिट खर्च गरेर जवानी बिसाउने चौतारीको यात्राभन्दा गुनिङ लाङको यात्रा धेरै अर्थमा उचित छ । त्यसैले त हामी चार भाइ हरेक पन्ध्र दिनपछिको आइतबार उतै भेटिन्छौं ।
यहाँ अचम्म लाग्नसक्छ, पार्कमा पनि तास ? गुनिङ लाङको लागि त्यति अचम्मको विषय होइन । पार्क भित्र ठाउँ ठाउँमै उभ्याइएका बिश्राम गृहमा मज्जाले गड्डी जमाउन सकिन्छ । बाहिर जस्तो असुरक्षित पनि छैन त्यहाँ । घुम्न आउनेहरुको लर्को निक्कै ठूलो भए पनि लुटेराहरु हतपत्त छिर्दैनन, छिरे पनि पार्क भित्र लुटने हिम्मत गर्दैनन । पार्कमा बरु सुरक्षा गार्डहरु भने बेला बेलामा डुलिरहन्छन । त्यसले पनि सुरक्षाको आभाष हुन्छ । सायद त्यही भएर होला पार्क भित्र नवयौवनाहरुको जोडी प्रशस्तै देख्न सकिन्छ । खोज्दै जाने हो भने ओल्टोकोल्टो लागेर एक आपसमा ओंठ जोल्ठाइरहेका दृश्यहरु प्रशस्तै भेटिन्छ ।
साविकभन्दा हामी अलिक ढिला पुग्यौं । कारण बाटोमा जाम हुनुले नै हो । विशेषगरी चाइनिज न्यू इयरमा मलेसियाका सडकहरु अत्याधिक जाम हुने गर्छ । सडकमा सामान ढुवानी गर्ने ठूला–ठूला ट्रकहरु उस्तो नगुडे पनि प्राइभेट कारको अत्याधिक चाप हुन्छ । अधिकांश कम्पनीहरु हप्ता दिनसम्मको लागि बन्दभएको कारण स्थानीयहरु प्राइभेट सवारी साधन चलाएर आउ–जाउ गर्ने हुँदा सडकमा सवारी साधनको चाप बढने गरेको हो । पहिला–पहिला करिब पच्चिस मिनेटमा पुगिने बाटो नाप्न ट्याक्सीलाई चालिस मिनेट लाग्यो । ट्याक्सीबाट ओर्लने बित्तिकै कुमारले टिकट लिएर आयो । हामी सरासर डुङ्गा लाग्ने ठाउँतर्फ गयौं । डुङ्गा पारी जान तयार थियो, हामी चारै भाइ चढ्यौं । चाइनिज न्यू इयरको बिदाको कारणले पनि हुनसक्छ, भिडभाड राम्रै थियो । करिब पन्ध्र जना यात्रु भएपछि डुङ्गा पानीमा पौडन थाल्यो । साविक झैं आइफोनको क्यामरा अन गरेर केही स्न्याप फोटो खिचें । जति पटक आएपनि त्यो सुन्दर ताल, वरिपरीको हरियाली र डुङ्गाले फाल्ने पानीको छाल मलाई पुरानो लाग्दैन । ल्यापटपको डिस्क डीमा सेभ गरेका फोटोहरु केलाएर हेर्ने हो भने ताल माथिबाट खिचेका उस्तै लाग्ने दृश्यहरु भएको फोटो दर्जन नाध्न लाग्यो होला ।
करिब पाँच मिनेटको ताल यात्रापछि पारी उत्रियौं । फर्कनेहरुको भिडभाडलाई पन्छाउँदै अलिकति भित्र छिर्यौं । खै किन हो मलाई पछाडि फर्किएर हेर्न मन लाग्यो । सायद भिडमा कसैमाथि मेरो आँखा परेको हुनसक्छ । तर हेर्न खोजेको दृश्य देखिएन । साथीहरुलाई अलिक पर रहेको चिल्ड्रेन पार्कमा एकछिन जाउँ भनि आग्रह गरें । उमेर र ब्यवहारले पनि अलिक केटाकेटी देखिने कुमार खुर्रर दौडेर पिङ समाती हाल्यो, गोविन्द र बीरेन्द्र चाकाचुलीमा । म जोकर फाल्टो रहें । अघि भिडमा देखेको अनुहार कतै देख्छु कि भनेर तालको नजिकै पुगें । अलिक पर एकजोडी तालपट्टी फर्किर उभिरहेको देखें । पछाडिबाट हेर्दा लाग्यो कुनै नेपालीहरु नै हुन । नजिकै गएर बोलाउने हिम्मत त जागेन तर उत्सुकताले उतै डोर्याइरह्यो । उनीहरुको ध्यान भङ्ग गर्ने इरादाले पिङ्गमा झुण्डिरहेको कुमारलाई फोटो खिच्न बोलाएँ । मैले चर्को कराएर हो वा नेपाली बोलेको कारणले हो उनीहरु दुवैले पुर्लुक्क मतिर हेरे । मैले अघि भिडमा देखेको र फेरि हेर्न चाहेको अनुहार त्यही केटीको थियो । जुन अनुहार परिचित जस्तै थियो । उनले पनि मलाई केहीबेर क्वारक्वार्ती हेरिन । सँगै उभिएको केटोले खै के भन्यो कुन्नी उनी अर्कोतिर फर्किइन । एक मनले नजिकै गएर सोधीखोजी गरौं झैं लाग्यो तर अर्को मनले आ।।। होस है भन्यो । त्यहीबेला चाकाचुलीमा मच्चिरहेको गोविन्दले छिटो जाउँ भन्दै बोलायो । कुमार र म दुवै फर्कियौं ।
साविक झैं हामी मृग र अस्ट्रिचको बन्द घर नजिकै पलेटी मारेर तासका चक्कीहरु फिटन थाल्यौं । केहीबेरपछि वियरको क्यान खोलियो, स्न्याक्सको प्याकेट फोरियो । घुम्न आउनेहरु घुमीनै रहेका थिए । अस्ट्रिचको अगाडि उभिएर सेल्फी खिच्ने र मृगलाई रुखको डाला भाँचेर दिनेहरुको कमी थिएन । हामीले जमाएको म्यारिजको अड्डासँग कमैले सरोकार राख्थे । करिब एक घण्टापछाडि ताल किनारमा उभिएको जोडी अस्ट्रिज र मृगको घर नजिकै आइपुगे । उनीहरुले पनि अस्ट्रिजसँगै उभिएर केही सेल्फी खिचे । त्योबेला रुखको हाँगा–हाँगामा ढेंडु बाँदरहरु पनि उफ्रिरहेका थिए । सायद मान्छेले खानेकुरा दिने भएको हुनाले होला ती बाँदरहरु मानिसको नजिकै दौडिरहेका हुन्थे । केटीको नजिकै एउटा बाँदर उफ्रियो, कहालिएर अलिक ठूलो स्वरमा ‘आब्बुइ’ भनिन । उनको त्यही वाक्यले थाहा भो तिनीहरु नेपाली हुन । र, अर्को के कुरामा पनि विश्वास भो भने ती केटी मैले चिनेकै मान्छे हुन । त्यहीबेला मेरो बाँडने पालो आयो । एकाइस–एक्काइस चक्की चार ठाउँ भाग लाउँदालाउँदै उनीहरु हामीलाई नाघेर निक्कै पर पुगेछन । नबोलाएकोमा थकथकी लाग्यो ।
करिब आधा घण्टापछि उनीहरु त्यही बाटो हुँदै फर्किए । म उनिहरु पट्टि नै फर्किएर तासको चक्कीमा नजर दौडाइरहेको थिएँ । अचानक हामी दुईको नजर जुध्यो । उनी हल्का मुस्कुराईन । अब भने बल्ल मेरो दुविधा अन्त्य भयो । हतारिन्दै उनीहरुतर्फ हानिएँ । बहिनी कै साइनो लगाएर बोलाएँ । उनी पनि उसैगरी दाजुकै साइनो जोडेर बोलिन । हालखबर सोधासोध भयो । सँगै हिंडने पुरुष बारे सोध्न मन थियो, तर सोधिन । फोन नम्बर भने लिएँ-दिएँ र बिदा गरें । केही समयपछि हामी पनि वियरको अन्तिम घुटको निल्दै तास पोको पारेर तालको छेउतिर केही स्न्याप्स सेल्फी हान्न थाल्यौं ।
एकदिन साँझ ड्यूटीबाट फर्किएर खाना खाएवरी ओछ्यानमा पल्टन लागेको बेला फोनको रिङ बज्यो । फोन उनैको थियो, उठाएँ । हालखबर सोधासोध भयो । एकान्तमा भेटेर केही कुरा गर्नु छ भन्ने आसय प्रकट गरें । उनले सजिलै हुन्छ भनिन । इपो गार्डेन, सन वे, सुपर किन्ता हुँदै अन्ततः गुनिङ लाङ नै हाम्रो रोजाइमा पर्यो । भेटने मिति, स्थान र समय फिक्स गरेर फोनबाट बिदा भयौं ।
साथीलाई भेटन कतै जानु छ भन्दै कम्पनीमा बिदा लिएर शनिबार दश बजे म गुनिङ लाङतर्फ हानिएँ । सामान्यभन्दा ज्यादा भिड थिएन बाटोमा । ट्याक्सीले ढिला नगरी पुर्यायो । उत्रिएँ र यताउता आँखा दौडाएँ । तर उनलाई कतै देखिन । आइनपुगेको अनुमान लगाउँदै बाहिरैतिर टहलिन थालें । कृत्रिम झर्नाले थकाई मारिरहेको थियो, त्यसैले त्यो भित्तोमा कुनै आर्कषण थिएन । बरु पर।।।परका ढुङ्गेनी पहाडहरुले मन लोभ्याइरहेको थियो । केही सेल्फी हानौ भनेर फोन खल्तीबाट निकाल्दै थिएँ, उनको फोन आयो । उनी त मभन्दा पनि अगाडि आएर टिकट काटन काउन्टरतिर पो छिरेकी रहिछिन । हामी डुङ्गा लाग्ने ठाउँतर्फ गयौं र चढेर पार्कमा पुग्यौं । हरेकपटक ताल र वरिपरीका पहाडको दृश्य क्यामरामा कैद गर्न हतारिने म चुपचाप बसें । उनी डुङ्गाले फालेको पानीको तरङ्गलाई हेर्दै अल्मली रहिन । पार्कमा पुगेर हामी सिधैं पल्लोपट्टी गयौं र एउटा कटेजको बाहिर टुसुक्क बस्यौं ।
असहज त म पनि थिएँ, तर स्वभाविकरुपमा म भन्दा ज्यादा असहज उनी थिईन । अरुको नजरमा हामी डेटिङमा आएका जोडी थियौं तर वास्तविकता भिन्नै थियो । असहज अवस्थालाई सहज बनाउन मैले नै कुरा अगाडि बढाएँ र कथा बारे सोधें । उनको आँखामा अलिकती आक्रोश जस्तो देखियो तर मुखले खासै प्रतिक्रिया दिइनन । मैले नै भने तिमीहरुको कथा सुनाउने पात्र म नै हुँ । जति थाहा थियो, त्यति नै सुनाएँको थिएँ । कथा अपुरो नै थियो, त्यसैले त्यहाँ नारी पात्रको दोष ज्यादा देखिएको छ । त्यो कथा पूरा गर्नको लागि पनि कथाकारसँग तिमीलाई भेटाउने निक्कै जमर्को गरें तर सम्भव भएन । संयोग नै भन्नुपर्छ मलेसियामा हाम्रो भेट भो । फेरि म माध्यम बनेर तिम्रो कथा, कथाकारसम्म पुर्याउने भएँ । पक्कै यसपटक कथाकारले तिम्रो न्याय गर्ने छन ।
मैले यति बोल्दा नबोल्दै उनको अनुहारको रङ्ग अलिक फेरियो, स्वासको गति अलिकती बढे जस्तो लाग्यो तर सम्हालिइन र थोरै व्यंग्य कसिन, ‘सायद बाहिरी आँखाले देखिने कुरो नै त्यहि थियो । तपाईले त्यही देख्नु भो र त्यही सुनाउनु भो ।’ म एकछिन अवाक भएँ ।
कथा बारे मैले धेरै स्पष्टिकरण दिनुको कुनै औचित्य थिएन । बरु कथालाई कथाकारसम्म पुर्याएर लेखाउनु हतारो थियो । त्यसैले मध्यरातमा नवजात शिशुलाई बोकेर हिंडेपछिको घटना खोतल्नतर्फ अग्रसर भएँ । त्यसदिनको घटनालाई सम्झाउने बित्तिकै उनको अनुहार एकाएक कालो–निलो भयो । अर्कोतर्फ फर्किएर एकछिन भुइँ कोट्याईन । रुखले पालुवा फेरेपछि भुइँमा झरेको पातको सुकेको डन्ठी विस्तारै टिपिन र पिटिक्क भाँचिन । त्यसपछि मतर्फ फर्किएर आद्रता भरिएको आवाजमा विगत सम्झन थालिन ।
‘परालका केही त्यान्द्रो माथि म पल्टिरहेकी थिएँ । पुरानो तर एकसरो थाङनामा नानीलाई गुटमुट्याए पनि जाडोले बेलाबेला रोइरहेको थियो । गाउँलेहरुको थुकाई र गाली गराई सकिएको थिएन । म के गरौं र कसो गरौंको दोधारमा थिएँ । एकमनले चुपचाप बसौं र जे पर्छ त्यही भोगौं भन्दै थियो तर अर्को मनले अपमान सहेर बाँच्नुभन्दा मर्नु मै भलाई छ भन्दै थियो । भरखर जन्मिएको बच्चाको माया रतिभर पनि थिएन तर अरु दुई नानीहरुको मायाले भने मुटु गाँठो पर्दै थियो । आफ्नो बारे मलाई कुनै चिन्ता थिएन, तर ती अबोध नानीहरुको भविश्य सम्झेर बढि विचलित भइरहेकी थिएँ ।’
यति भनिसक्दा नसक्दै स्याँक्क नाक बजाइन र पछाडि फर्किइन । देब्रे हातले छेवैमा रहेको ब्यागबाट रुमाल झिकिन र आँखा पुछिन । ‘दाइ साँच्चै त्यो बेला बाँच्छु भनेर त मैले सोचेकै थिइन ।’ फेरि उसैगरी नाक स्याँक्क बजाईन र पछाडि फर्किइन ।
सायद साढे एक बजेको हुँदो हो, रात चकमन्न थियो । मलाई रुँगेर बस्ने महिलाहरु झकाउन थाले । खै कताबाट हो ममा एकप्रकारको साहस आयो । भरखरै कठोर प्रशव वेदना सहेको ज्यान हलुङ्गो जस्तो भयो । बिस्तारै नानीलाई आफुतिर ताने र जुरुक्क उठें । यसो आँखा डुलाएको त पण्डितनी काकीको छेउमा सानो टर्चलाइट रहेछ, विस्तारै टिपें र सुटुक्क डिलमुनी झरें ।
मलाई लागेको थियो, बनपाला जङ्गलभन्दा पर जाँदिन । नानीलाई रुखको फेदमा राखेर कम्मरको पटुकाले पासो लाग्छु । तर जतिजति पाइला अगाडि बढदै गयो, म उति कायर बन्दै गएँ । यहिबेला झल्याँस्स खतिवडा बुढोलाई सम्झन पुगेछु । दुनियाँले खतिवडा बुढोको लासलाई थुकेको र लास पोको पार्दा लात्तले थिचेको आँखैअगाडि नाच्न थाल्यो । डुङडुङी गन्हाएको लास बोकेर सदरमुकाम पुर्याउनेहरुले ब्यक्त गरेको पीडा र आक्रोश कानैमा गुञ्जन थाल्यो । मरेपछिको अपमानलाई त वास्ता गरिन तर आफ्नो कारणले गाउँलेहरुमाथि पर्ने दुःख सम्झिएर पासो लाग्ने कुराबाट हच्किएँ । कहाँ जाने र के गर्ने, दोधारकै बीच कतिबेला धारापानी झरेछु पत्तै भएन ।
धारापानी बजार मस्त निन्द्रामा थियो । डिलमाथीको पुलिस चौकी नाघेर बजार झरें । त्योबेला कुनै मान्छे भेटिने सम्भावना त थिएन तर कुकुरहरुले छोप्न सक्थ्यो । बजार नाघेर बुढीपिपलको फेदसम्म पुग्दा कुनै अवरोधको सामना गर्नु परेन । थकित पाइलाहरुलाई पिपलको फेदमा बिसाएँ । त्यस्तो बेला पिपललाई छुनु अधर्मको विषय हो भन्ने समाजले सिकाएको पाठलाई पूर्णतयाः बिर्सिएर करिब पन्ध्र मिनेट थकाई मारें । त्यसबीचमा मनमा अनेकौं विचारहरुले झुत्तिखेली रहेको थियो । बाँच्नुभन्दा पनि मर्नु कै तानाबाना ज्यादा थियो, तर कसरी ? पासो लाग्ने कुरा फेरि सम्झन चाहिँन । सुनकोशीमा हामफाल्ने विचार प्रगाढ बन्दै गयो, यही बिचारले माइति गाउँ जाने बाटोलाई नाघेर अगाडि बढें । केही पर पुगेपछि खडका सरको श्रीमतिलाई सम्झन पुगेंछु । सुनकोशीमा हाम फालेर बेपत्ता भएकी खडका सरको श्रीमतिकी आमा रुँदारुँदै बेहोस बनेको घटना झलझली आँखामा आयो । म मरेपछि मेरी आमाको हाल पनि त्यस्तै होला भन्ने सोच्दा सोच्दै प्राण त्याग्ने विचार नै बदल्न पुगेछु । माइती गाउँ जाने बाटो छोडेर करिब आधा घण्टा पर पुगिसकेकी म फर्किएँ र माइती गाउँतर्फ पाइला चाल्न थालें ।
भोक, निन्द्रा र थकाईले लखतरान परेकी म, झिसमिसेमा तुवाखोला झरिसकेकी थिएँ । साथमा लगाएको बाहेक न कुनै बस्त्र थियो न खाने कुरा नै । लगाएको बस्त्र रगतले भिजेको थियो । उज्यालोमा त्यति कै हिंडनु सम्भव थिएन । यदि अपरिचित ठाउँ भए बहुलाईको हुलियामा हिंडन पनि सकिन्थ्यो होला । तर माइती आउजाउ गर्दा थुप्रैसँग राम्रै चिनजान भएको थियो । अगाडिको यात्रा सम्झिएर अतालिएँ । फेरि एकमनले आत्महत्या नै गरौं लाग्न थाल्यो । यसैबीच नानी बेस्सरी रुन थाल्यो । जन्मिएपछि त्यसलाई नुहाईदिएको थिइँन । सामान्य पुछपाछ मात्र पारेकीे थिएँ । खै कतिबेला हो एकपटक दुध चुसाएको झैं लाग्छ । भोकले रोएको होला भनेर अनुमान गर्न गाह्रो थिएन । खोलाको किनारामा एउटा ढुङ्गामाथि अडेस लागेर बसें र नानीलाई दुध चुसाएँ । विस्तारै धर्तिमा उज्यालोको आगमन हुन थाल्यो तर मन भने झन्झन अन्धकार हुँदै थियो । नाता तोडिएका छोराछोरीको बेस्मारी याद आयो, हिक्का छोडेरै रोएँ । निक्कै बेर रोइसकेपछि हिक्का विस्तारै कम हुँदै गयो । मनमा अलिकति स्फूर्ति उत्पन्न भयो । दुध चुसेर शान्त बनेको नानीलाई थाङनामा गुटुमुटु बेह्रेर ढुङ्गामाथि छोडी पानीको नजिकै गएँ र अञ्जुलीमा उघाएर बेस्मारी पिएँ । पानी पिएपछि मन अलिक हलुङ्गो भयो ।
वरपर आँखा डुलाएँ, अलिक पर एउटा कटेरो देखियो । चैते धान रोप्ने बेला हुन लागेको हुनाले गाउँबाट मानिसहरु झरेर कटेरोमा बसेका छन कि भन्ने आश पलायो तर त्यहाँ जाने हिम्मत भने हतपत्त जुटेन । मुख धोएँ, कम्मरमुनी लागेको रगतलाई सकेसम्म पखाल्ने प्रयास गरें । सुकेर कटकटिएको रगत हतपत्त जानेवाला थिएन, रगत अझै बगिनै रहेको थियो । लुङ्गी र पेटिकोट फोहोरै फोहोर थियो । के गर्ने र कसो गर्नेको दोधारमा मन फेरि बेचैन बन्यो । लाजसरम पचाएर त्यही डेरातर्फ अगाडि बढें । डेरामा मानिसहरु त थिएनन तर केही पुराना कपडाहरु भने झुण्ड्याई रहेका रहेछन । यसो हेरें एउटा अर्धनो लुङ्गी र तौलिया रहेछ । मान्छे कोही थिएनन, दुईटै पोको पारें र खोला किनारामा आएँ । नानीलाई तौलियाले बेह्रें र फोहोर कपडा पोको पारेर पानी बगिरहेको ठाउँमा गएँ । आफूले लगाइरहेको कपडा समेत खोलें र पानीमा पखालें । ज्यानमा लागेको फोहोरलाई सकेसम्म सफागरी डेराबाट ल्याएको लुङ्गी लगाएँ । यति गरिसक्दा घाम झुल्कन लागेको थियो । भोकले पेट बटार्दै थियो । वरीपरी गाउँ थिएन । वस्ती नै नभएको ठाउँमा खानेकुरा के पो पाउनु र ? खेतमा कतै कतै केराको झ्याङ छ भन्ने कुरा पहिलाबाटै थाहा थियो । पसाएर पाकेको हुनसक्ने अनुमानमा वरपर नजर डुलाएँ । अलिक माथि जङ्गलको छेवैमा पसाएको केराको बोट देखियो । यसो हेर्दा निक्कै छिप्पिएको हो कि जस्तै देखिन्थ्यो । सबै नभए पनि केही कोसा पाकेको छ कि भन्ने आशा पलायो र उकालोमा घिस्रिन्दै निक्किएँ । होचो डिल भएको हुनाले घरी भेट्टाउन गाह्रो भएन । नभन्दै माथिल्लो काइँयोमा केही कोसा पाक्न लागेका रहेछन । त्यो काइँयोबाट आठ–दस कोसा छोडाएँ र नानी भएको ठाउँमा झरें । कटमेरो रहेछ, भोकको सुरमा केही कोसा खाएँ । सायद भोकले हुनुपर्छ मीठै लाग्यो ।
नानीलाई बोकेर हिंडनु त कुनै समस्या थिएन तर भिजेको कपडा बोक्नु समस्या भयो । फालेर हिंडौं भने लगाएको कपडा केही बेरमै फोहोर बन्न सक्थ्यो । कुनै जुक्ति नलागेपछि नानीलाई तौलियाको झोलङ्गो पारेर गलामा भिरें । एउटा हातले भिजेको कपडा र केराका केही कोसा बोकेर उकालो चढन थालें । गाउँको बाटो हिंडनु लाज मर्दो त थियो नै तर परेपछि लाजसरम आफै भाग्दोरहेछ । सकेसम्म छेलिन्दै छेलिन्दै माइती गाउँको पुछारमा पुगें । अब भने मुटुको धडकन ढुकढुक गर्न थाल्यो ।
भिजेको कपडा सुकिसकेको थियो । लगाएका लुङ्गी फोहोर भैसकेको हुनाले छेल परेर फेरें । फेरेको फोहोर कपडालाई बोक्नु आवश्यक थिएन । अलिक खाल्डो जस्तो ठाउँमा राखेर पत्करले छोपिदिएँ । मूलबाटो भएर जाँदा धेरैले देख्ने निश्चित थियो, त्यसैले खोल्सै खोल्सा निस्किएँ । मध्यान्नको करिब बाह्र बजेतिर म माइती आँगनमा पसारो पर्न पुगें ।
माइतीघरमा पुगेको प्रशंग निकाल्दा उनको अनुहारमा एकप्रकारको सन्तुष्टी नाचिरहेको थियो । साँच्चै त्यस्तो अवस्थामा माइतीघर पुग्नु नै ठूलो कुरो थियो । त्यसैको प्रतिक्रिया उनको नजरले ब्यक्त गरिरहेको हुनुपर्छ सायद । एकछिन रोकिने छाँट देखाईन । उनको हातमा प्लाष्टिकको झोला पहिलादेखि नै थियो तर त्यसमा के छ भन्ने कुरा मलाई थाहा थिएन । ‘दाइ पानी पिउँ है’ भनेर एक बोतल मिनरल निकालिन र मलाई दिइन । मैले समातें र केही घुडको निलें । उनले पनि पिईन र कुरा शुरु गरिन ।
दाइ, गल्ती त दुवै जनाको थियो तर सजाएँ जम्मै मैले बेहोरें । सायद सृष्टिले नै महिलाहरुलाई यो मामलामा ठगेको हुनुपर्छ । यदि त्यो गल्तीको सजाय दुवैले मिलेर भोग्न पाएको भए केही हल्का त हुन्थ्यो होला । तर केही छैन, गल्तीले नै पाठ सिकाउँदो रहेछ, जीवन के हो भन्ने कुरा बुझाउँदो रहेछ । उसले त्यसबेला सजाय भोग्नु त परेन, तर त्यो गल्तीको सजाय सायद भोगिरहेको होला बारम्बार । म पनि अझै पीडामा छटपटिन्छु कहिलेकाँही । खासगरी छोडिएका ती नानीहरुलाई धेरै सम्झन्छु । उनीहरु कति अभागी रहेछन नि दाइ।।।।।?
यति भनिसक्दा नसक्दै फेरि उनको गला अवरुद्ध बन्यो । पछाडि फर्किएर स्याक्क गरिन र बोल्न थालिन । माइतीमा पुग्दा पहिला त सबै आत्तिए । आमा खाटमा घोप्टो परेर रुन थाल्नु भयो । बुवा लौ न यो के आइलाग्यो भन्दै भगवान पुकार्न थाल्नु भो । मैले भएको सबै वास्तविकता बेली बिस्तार लगाएँ । बुवाले बाटोमा आउँदा कसैले देख्यो कि देखेन भनेर सोध्नु भो । खोल्सै खोल्सा आएको र कसैले नदेखेको बताएपछि बुवा अलिक ढुक्क हुनु भो र मतानको भुइँतलामा गएर बस्न अह्राउनु भो । बुवाले अह्राउनु भएजसरी नै म भुइँतलामा गएँ र भुइँमा थचारिएँ । एकछिन पछि आमा केही पुराना कपडाको पोको बोकेर कोठामा आउनु भो र नानीलाई न्यानो पारेर राख्न अह्राउनु भो । आमा मसँग अरु धेरै बोल्ने अवस्थामा हुनुहुन्न भन्ने कुरा उहाँ कै अनुहारले प्रष्ट्याउँदै थियो । मैले केही भन्नु अगाडि नै वहाँ कोठाबाट निस्कनु भो । केहीबेर पछि तातो जाउलो र मनतातो पानी लिएर फेरि आउनु भो र खा है मात्र भनेर निस्कनु भो ।
त्यो दिन त्यसरी नै बित्यो । साँझपख राजधानीमा रहनु भएको ठूलो दाजुसँग बुवाको फोनमा कुरा भएछ । पहिला त दाजु बेस्मारी रिसाउनु भएछ, रिश नउठोस पनि कसरी । पछि दाजुले नै बुवालाई सम्झाई बुझाई गर्नु भएछ । गाउँका जान्ने सुन्नेहरुसँग सल्लाह गर्न अह्राउनु भएछ । उता गाउँबाट मलाई खोज्दै आउने निश्चित नै थियो, त्यही भएर पूर्वतयारी त गर्नै थियो ।
भोलिपल्ट बिहानै बुवा गाउँ जानु भो । नभन्दै केही बेरमा हेडसर, गाविसका पूर्व अध्यक्ष, जिम्मावाल काका र अन्य एकदुई जना सहित बुवा घरमा आइपुग्नु भो । केही बेर मेरो बारेमा सोधखोज भो । मैले भएको सबैकुरा बताएँ । कार्की साइँलाको बारेमा सोधखोज गर्नु भो हेडसरले । ऊ मलेसिया छ भन्ने कुरो बताइदिएँ । उसको फोन नम्बर पनि थियो मसँग, दिएँ । सायद त्यो फोन नम्बर काठमाण्डौमा ठूल्दाइलाई टिपाईदिनु भयो क्यार बुवाले ।
अब के गर्छेस त ? जिम्मावाल काकाले अलिक रुखो स्वरमा यसै भन्नु भो । म केही बोलिन । ‘बाउ–माइतीको नाक काटिहालिस’, काका अलिक जङ्गिनु भो । त्यस्तो बेलामा रुनभन्दा अरु नजानिन्दो रहेछ, म रुन थालें । केहीबेर पछि हेडसरले सम्झाउने हिसाबमा भन्नु भो—‘अब जे हुनु भै हाल्यो सम्हालिनु पर्छ । अब के गर्न सकिन्छ ? तिम्रो विचार के छ र?’
खै कताबाट हो बोल्ने हिम्मत ममा आएछ, ‘आफ्नो ज्यान बचाएर तपाईहरुको शरणमा आएको छु, के गर्न ठिक हुन्छ अब तपाईहरुको हातको कुरो ।’ मैले यति बोल्नसाथ सबै मुखामुख गर्न थाले । केही समयपछि भुपु गाविस अध्यक्षले मौनता तोडदै भन्नु भयो, ‘यसका घरपट्टीकाहरु खोज्न त पक्कै आउलान, उनीहरुले के भन्छन, सबैकुरा सुनौ र जे गर्नुपर्छ गरौंला ।’
त्यसदिन करिब एघार बजेतिर उताबाट मलाई खोज्दै माइतीघरमा आइपुगे । म मतानको भुइँतला मै थिएँ । मैले उनीहरुलाई खोज्दै जानुको कुनै औचित्य थिएन, त्यसैले ओछ्यानमै सुतिरहें । केहीबेरमा सबै गाउँलेहरु जम्मा भए र सबैको बीचमा अब तपाईहरुको छोरी तपाईहरुकै जिम्मामा छोड्यौं भन्दै उनीहरु बाटो लागे । तारापती काकाले भने जानेबेलामा मसँग बोल्ने इच्छा गर्नु भएछ, बुवाले जस्केला घरक्क उघारी दिनु भो । जस्केलाबाट यसो टाउको छिराउँदै बुहारी भनेर बोलाउनु भयो । मैले सकी नसकी हजुर भने । ‘जे हुनु भै हाल्यो, अब पुरानोलाई बिर्स र नयाँ जीवन सुरुवात गर । उताका नानीहरुलाई केही गाह्रो भैहाल्यो भने म हेरिहाल्छु, जेठो पनि चाँडै आएर घर सम्हाल्ला । त्यो कार्की साइँलालाई चाहिँ नछोड है ।’ यति भनेर तारापती काका बाटो लाग्नु भो । ‘उताका नानीहरु’ भन्ने शब्द सुन्नसाथ म भक्कानिएँछु । साँच्चै अरुलाई भुल्न सकेपनि आफ्ना सन्तानलाई भुल्न नसकिने रहेछ । अचेल पनि बेलाबेलामा उनीहरुलाई सम्झिएर आँशु झर्छ । फेरि एकपटक उनले आँशु पुछिन, म भावुक भएँ । फेरि पानी पियौं र कुरा अगाडि बढायौं ।
एक महिनाको माइती बसाईपछि हामी सबै काठमाण्डौ आयौं । काठमाण्डौमा दाजुले पहिलै घर बनाउनु भएको थियो । भाउजू धेरै समझदार हुनुहुन्छ, उहाँकै कारणले म बिस्तारै मानसिकरुपमा सबल बन्दै गएँ । भाउजूले नै परामर्शको लागि मनोचिकित्सक र आध्यात्मिक केन्द्रहरुमा लिएर जानु भो । विवाहपछि रोकिएको पढाईलाई पनि भाउजूकै प्रेरणाले अगाडि बढाएँ र प्लस टु पास गरें । घरमा खास काम थिएन तर समय कटाउनकै लागि भएपनि छतमा तरकारी लगाएँ । खासमा मैले एउटा पत्रिकामा पढेको समाचारबाट प्रभावित भएर त्यसो गरेकी हुँ । सिजनसिजनको तरकारी लगाउने हो भने त एक परिवारलाई किन्नै पो नपर्ने रहेछ । नानी भने सानैबाट अलिक रोगी भयो । सायद त्यो रात उसलाई न्यानोमा राख्न नसकेकोले हुनुपर्छ अलिकती चिसोले पनि थलापारी हाल्छ । मैले त त्यसलाई जन्माएँ मात्र । हुर्काउने–बढाउने सबैकाम आमाले नै गर्नु भयो । मलाई त वास्तै पो गर्दैन, त्यही भएर त मलेसियामा आउन सके नि ।
कार्की साइँलाको बारेमा म अपडेट छु । ऊ अहिले गाउँ मै छ । तर मेरो चासो भने उनी किन कार्की साइँलासँग नगएर मलेसिया आइन भन्नेमा थियो । समय निक्कै गैसकको हुनाले उनी पनि हतारिन्दै थिइन । अनि कार्की साइँलासँग चाहिँ भेट भएन ? मैले नै कुरो अगाडि बढाएँ ।
आ ! दाइ भेटेर पनि पो के गर्नु ? फोनमा चाहिँ कुरा गरियो । ऊ पनि घरजम भएकै मान्छे हो । दुईदुईवटा बच्चाहरु छन, उसको पनि । मैले चाहेको भए उसकै साथ लागेर उसकै घरमा भित्रने थिएँ । दाजु र बुवाले त त्यसै गर्नुपर्छ पनि भनेकै हुन, तर भाउजूले मान्नु भएन । खासमा मैले नै भाउजूलाई सबैकुरा भनेकी थिएँ । साइँलासँग कुनै प्रेम थिएन । त्यही हो मनलाई सम्हाल्न नसक्दा अचानक घटना घट्यो । घटना बानीमा परिणत भयो र अन्तत दुर्घटना निम्तियो । बच्चाको बाऊ कार्की साइँला नै हो र उसले स्वीकार गर्छु पनि भनेर कबोल गरेको छ । तर मेरो हकमा म स्वतन्त्र छु, तिम्रो घरमा भित्रिएर फेरि अर्को दुःख निम्त्याउन र तिमीलाई पनि दुःखमा पार्न चाहन्न भनिदिएँ । उसले पनि मानिरहेको थिएन, तर मैले नै सम्झाएँ र पछि घर निस्कियो । ‘अचेल राम्रै होला नि दाइ उसको खबर ?’ ‘ठिकै छ, बजारमा घर बनाएर बस्न थालेको छ’, मैले यसै भनिदिएँ ।
‘अनि कसरी मलेसिया आइपुग्यौ ?’, मैले कुरालाई अलिक तिब्रता दिएँ । खासमा मलाई त कतै जान मन थिएन । टेलरिङ ब्यवसाय शुरु गरौं भनेर तालिम लिदैं थिएँ । उता रामेछापतिरको एउटा साथीसँग तालिमकै क्रममा भेट भयो । उसको पनि ब्याथा झण्डै मेरै जस्तो रहेछ । हामी निक्कै घनिष्ठ भयौं । तालिम सकेर सँगै टेलरिङ खोल्ने सल्लाह गरेका थियौं । अचानक उसको बुवाको मृत्युको खबर आयो गाउँबाट । म पनि ऊसँगै रामेछाप पुगें । काजक्रिया नसकिन्जेलसम्म म उतै बसें । उसको दाइ मलेसियामा रहेछ, काजक्रिया गर्न घर फर्कियो । उसको दाइको श्रीमति केही बर्ष अगाडि सडक दुर्घटनामा मरेको रहेछ । एउटी छोरी रहिछिन, निक्कै ठूली भैसकेकी । उनीहरु किरियामा बसेका थिए, त्यसैले घरायसी कामहरु मैले सक्दो सघाएँ । त्यस्तो दुःखको घडिमा अन्यथा सोच्नु मेरो मनले कताबाट देखोस । उसको दाइले भने मलाई मनपराउन थालेको रहेछ । हुन त एकदुईपटक आँखा जुधेको पनि हो तर मैले वास्ता गरेको थिइँन । काजकिरिया सकेपछि हामी सँगै काठमाण्डौ फिर्यौं । केही दिनपछि उसको दाजु पनि काठमाण्डौ आयो र भेट भयो । त्योबेला निक्कै बेर सुख–दुःखका कुरा गर्दै बस्यौं । डेढ महिनाको छुट्टी सिध्याएर उसको दाजु मलेसिया फर्कियो । फर्किने बेलामा मेरो फोन नम्बर लिएको थियो उसले ।
एकदिन साँझपख विदेशको नम्बरबाट फोन आयो मेरो मोबाइलमा । त्यसबेला म नानीलाई दुध पिलाउँदै थिएँ । पहिलो घण्टी उठाउन नपाउँदै काटियो । फेरि केही समयपछि त्यही नम्बरबाट फोन आयो । नानीलाई आमाको काखमा राखेर फोन उठाएँ । फोन त्यही साथीको दाइले गरेको रहेछ । हालखबर सोधासोध भयो । त्यसदिन तिम्रो सम्झना आयो र फोन गरेको भन्न बाहेक अरु कुनै त्यस्तो कुरा गरेन उसले । तीनचार दिन–तीनचार दिनको अन्तरमा उसले नियमित फोन गर्न थाल्यो । सामान्य खालखबर सोधासोध गर्ने हामीहरु बिस्तारै जिस्कन थाल्यौं । सायद मेरो मनभेउ पाएर नै होला उसले एकदिन फोनबाटै बिहेको प्रस्ताव राख्यो । म त सुनेको सुनेकै भएँछु । मैले कुनै जवाफ नदिएपछि उसले फोन राख्यो । उसलाई लागेछ कि, उसको कुराले म रिसाएँ ।
भोलिपल्ट तालिम सकिएपछि साथीले खाजा खानको लागि रेष्टुरेन्ट जाउँ भनेर आग्रह गर्यो । हामी अलिक शान्त जस्तो देखिने रेष्टुरेन्टमा पस्यौं । अरुबेला फतरफतर बोल्ने साथी त्यो दिन चुपचाप छ । कुनै गम्भिर दुविधामा फसेको जस्तो, छटपट मात्र गर्छे । मैले नै तिमीलाई के समस्या पर्यो भनेर सोधें । उसले अन्कानाउँदै अन्कनाउँदै उसको दाइको प्रशंग निकाल्यो । अघिल्लो साँझ उसको दाइले मसँग राखेको विहेको प्रस्ताव बारे उसलाई सुनाएको रहेछ । मैले त त्यो प्रस्तावलाई उस्तो गम्भिर रुपमा लिएको पनि थिइँन । सायद एउटा ठट्टा नै हो कि भन्ने पनि लागेको थियो । उसको कुरा सुनेर पो म छाँगाबाट खसे जस्तै भएँ । वास्तवमा उसको दाइलाई मैले पनि मन पराउन थालेको थिएँ । सबैकुरा उसलाई भन्नुको अर्थ थिएन । त्यसैले साँझ दाइलाई फोन गर्नु भनिदेउ भनेर ऊसँग छुट्टिएँ ।
त्यो साँझ निक्कै छटपटीमा बित्यो । उसको दाइले फोन पो नगर्ने हो कि भनेर आत्तिन्थे पनि । एक प्रकारको बेचैनी मनमा थियो । साँझ करिब साढे आठतिर फोन आयो । म हतारहतार घरको छतमा निस्किएँ र फोन उठाएँ । उताबाट ऊ निक्कै गम्भीर भावमा बोलिरहेको थियो । कतै तिम्रो भावनामा ठेस पुग्ने कुरा गरेको छु भने माफ गर भन्न पनि भ्यायो उसले । म अवाक भएँ । के बोल्नु र नबोल्नुको दोसाँधमा अल्झिरहेको बेला अचानक भन्न पुगेछु, ‘तपाईका हरेक कुराहरु मलाई मनपर्छ’ । त्यसपछि उनले हठात सोध्यो, ‘हिजो भनेको कुरा पनि ?’ मैले ‘अँ’ मात्र भनिदिएँ । त्यसपछि उसैले धेरै कुरा भन्यो । कतिकुरा सुने, कति कुरा सुनिन । सुनेका कुराहरु पनि कति बुझें, कति बुझिन । यसरी नै हाम्रो कुरा नियमित हुन्थ्यो । भाउजूलाई बाहेक अरुलाई यसबारे भनेको थिइँन । ‘मन राम्रो छ भने के भो त, सम्बन्ध अगाडि बढाउँदा भै हाल्यो’, भाउजू यसै भन्नु हुन्थ्यो ।
अचानक एकदिन उसले मलेसिया आउन प्रस्ताव गर्यो । उसको कम्पनी नजिकै गार्मेन्टसको कम्पनी रहेछ, जहाँ थुप्रै नेपाली महिलाहरु कार्यरत रहेछन । त्यही कम्पनीमा भिसा लाएर आउन उसले अनुरोध गरेको थियो । पहिला त मनले मानेन तर पछि सोंच्दै जाँदा ठिकै पनि होला भन्ने लाग्यो । अरुलाई त भन्न सकिन, भाउजूलाई भने । भाउजूले पनि शुरुमा त ठिक हुँदैन नै भन्नु भएको थियो । भाउजूको सो भनाईपछि मन मारेर बसेकीे थिएँ । तर भाउजूले त बुवा–आमा, दाइ सबैलाई कुरा राखी सक्नुभएको रहेछ । एकदिन बेलुका खाना खाइवरी बसिरहेको बेला दाइले अचानक त्यो कुरा झिक्नु भो । पहिला त म बोल्नै सकिन, पछि भाउजूले नै बोल्न उत्प्रेरित गर्नु भयो । आमा बाहेक अरुले खास नराम्रो मान्नु भएन । सायद आमाको मन नै आफ्ना सन्तानहरु आँखाबाट टाढा नजाओस भन्ने हुँदो हो । तीन बर्षको छोरोलाई आमाको काखमा लगाईदिएर छ महिना अगाडि मलेसिया आइपुगेको हुँ दाइ ।
‘अनि त्यो साथीको दाइले भनेकै कम्पनीमा आयौ कि, अन्यत्र’ ?, उनको लामो प्रष्टिकरणलाई बीचैमा बाधा दिंदै मैले प्रश्न राखें ।
‘हजुर त्यही कम्पनीमा आएको’, उनले पनि छोटै जवाफ दिईन । ‘अनि साथीको दाजु नि।।।’, सायद मेरो प्रश्न अलिक अस्वभाविक थियो, तर उनले सहजै जवाफ दिइन, ‘अस्ती नै हामी सँगै डुलिरहेका थियौं नि’ ।
समय चिप्लिरहेको थियो । उनीसँग सोध्नु पर्ने कुराहरु लगभग सकिसकेको थियो । अब जाउँ कि, भन्ने संकेत गरें । उनले पनि हुन्छ को टाउको हल्लाइन । डुङ्गामा चढ्यौं र अगाडि आयौं । गेटैमा पुलिस भेटियो । हामीलाई रोक्यो र पासपोर्ट माग्यो । दुवैले पासपोर्ट र भिसाको फोटोकपी देखायौं । पुलिसले हामी दुवैको अनुहारमा पुर्लुक्क हेर्यो र कुटिल मुस्कान फ्याँक्यो । मैले भने उनको पासपोर्टको फोटोकपीमा नजर दौडाएँ, जहाँ लेखिएको थियो।।।विन्दा पोखरेल । मैले उनको थरबारे उस्तो वास्ता त गरेकै थिइनँ । तर उनैले भनिन, ‘दाइ हामी नारीहरुको बाध्यता नै यस्तै छ, जोसँग विवाह गर्यो उसैको थर जोडिन्छ, सायद अब दुई बर्षपछि विन्दा तामाङ हुनेछु ।’