कालेबुंग समालबोंग गाउँका कवि निर्मल तामाङ एक शक्तीशाली कवि हुन । आफ्नो पुस्ताबीच गहिरो रुपमा राजनितिक चेत राख्ने तामाङ कविताको क्षेत्रमा लामो रेसका घोडा हुन । उनको भर्खरै ‘जब हावा चल्छ’ कविताकृति प्रकाशित भएको छ । उनको कविताहरुले भारतीय नेपाली समाजको अवस्थालाई सुक्ष्मरुपमा बिश्लेषण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
रोटी
धेरै नै सेकाइयो भने चाहिँ
रोटी पनि डढछ।
त्यसपछि त हामी सबै जान्दछौँ
कोही खान मान्दैन फेरि
डढेको रोटी।
बेला-बेला याद गर्दै गर्नु तिमी पनि
कि तिमीले सेकाउँदै आएको रोटी
कति डढी सक्यो।
उनीहरूका निम्ति
उनीहरूका निम्ति
र केवल उनीहरूका निम्ति
म तिम्रो कुरा गर्न चाहन्छु।
नत्र त्यसै त म
तिम्रो कुरा गर्न पनि चाहन्नँ
र मलाई तिम्रो कुरा गर्ने कुनै इच्छा पनि छैन
र फुर्सद पनि।
किन कि म तिमीलाई
राम्रैसित चिन्दछु
र तिमी नै भन अब
राम्रैसित चिनेको तिम्रो
म के कुरा गरूँ?
तर मेरा यी छिमेकीहरू
जो तिमीलाई नचिनेर
सधैँ ठुलो सपना पालेर बस्छन तिमीमाथि
उनीहरूले पनि चिनुन भनेर
म तिम्रो कुरा गर्न चाहन्छु।
चुनाउ चिह्न
आफै केही सोच्न सक्दैन भन्ने कुरा थाहा पाएरै
उनीहरूले आफूहरूसम्म बोलाए मानिसहरूलाई
र सुनाए
आफूहरूले सोचेको कुरा।
आफै कतै हिँडन सक्दैन भन्ने कुरा थाहा पाएरै
उनीहरूले हिँडाए मानिसहरूलाई
आफूहरूको पछि पछि।
आफै अलिकति बोल्न सक्दैन भन्ने कुरा थाहा पाएरै
उनीहरूले कराउन भने मानिसहरूलाई
आफूहरूको समर्थनको नारा।
आफै लिन सक्दैन निर्णय भन्ने कुरा थाहा पाएरै
उनीहरूले देखाए मानिसहरूलाई
आफूहरूको चुनाउ चिह्न
र लगाउन भने त्यसैमा भोट।
त्यसपछि नै हो
उनीहरूबारे सबै कुरा थाहा भएर पनि
नसकेको मानिसहरूले –
आफै केही सोच्न
आफै कतै हिँडन
आफै अलिकति बोल्न
र आफै निर्णय लिन आजसम्म।