कैलाली । धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको छ ।
तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरी बीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।